माओवादीहरुमा रुपान्तरणका लागि !


जेठ ३१ गते राती अबेलासम्म एकराज भट्टराईजीले फोनमा पटक–पटक माफी माग्नु भएको, आत्मालोचना गर्नु भएको कुरा सम्झिरहँदा मलाई नमीठो लागिरह्यो । त्यही साँझ हामीबीच फोनमा कुरा गर्दा उहाँले त्यसो गर्नु भएको थियो । 

माओवादी सम्वद्ध कानून व्यवसायी तथा संविधानसभा सदस्य एकराज भट्टराईको नेतृत्वमा गठित ‘राज्यद्वारा वेपत्ता योद्धा परिवार समाज, नेपाल’ द्वारा जेठ ३१ गते एउटा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तरक्रियाको शीर्षक थियो –‘वेपत्ता नागरिक सार्वजनिकिकरणको प्रश्न’ । उक्त कार्यक्रममा तीन प्रमुख राजनीतिक पार्टी – माओवादी, कांग्रेस र एमालेका तर्फबाट क्रमशः पुष्पकमल दाहाल ‘प्रचण्ड’, रामचन्द्र पौडेल र मलाई आमन्त्रण गरिएको थियो । अन्य अतिथिहरुमा राष्ट्रिय मानव अधिकार आयोगका गौरी प्रधान र संयुक्त राष्ट्र संघ मानव अधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयका प्रतिनिधि रिचर्ड बेनेटलाई पनि विशेष अतिथिको रुपमा आमन्त्रण थियो । 

एकराजजीले मलाई कार्यक्रमबारे जानकारी दिंदै पार्टीको तर्फवाट औपचारिक सहभागिताका लागि निम्ता पत्र समेत पठाउनु भएको थियो । उहाँको कुरा सुनेपछि मैले कार्यक्रममा सहभागी बन्ने सहमती जनाएको थिएँ । पछि आमन्त्रित मध्येका रामचन्द्र पौडेल र मबीच हिंसात्मक द्वन्दमा परी वेपत्ता पारिएका नागरिकहरुको समग्र सन्दर्भको साटो केवल ‘राज्यद्वारा वेपत्ता पारिएका’हरुको सन्दर्भमा मात्र कुरा उठाउनु तर गैर राज्य पक्षद्वारा अपहरण गरिएका– वेपत्ता पारिएकाहरुका सन्दर्भमा चाहिं केही उल्लेख नगरिएको कार्यक्रममा जाने–नजाने भनेर छलफल पनि भएको थियो । तर जे भए पनि, हिंसात्मक द्वन्दको एउटा अविवेकी र आपराधिक परिणामको रुपमा नागरिक वेपत्ता पारिने घटनालाई लिंदै, कार्यक्रममा स्वयं उपस्थित भएर आफ्नो दृष्टिकोण राख्ने कुरा ठीकै होला भन्ने ठानेर हामीहरु कार्यक्रम स्थल– राष्ट्रिय सभा गृहमा पुगेका थियौं । 

कार्यक्रम स्थलमा पुग्दा देखियो – त्यहाँ अघिल्लो पंक्तिमा मानव अधिकारको क्षेत्रमा परिचीत केही ब्यक्तित्वहरु हुनुहुन्थ्यो । बाँकी टनाटन भरिएको हलमा माओवादी नेताहरु, माओवादी सांसदहरु, त्यसकै जनवर्गीय संगठनका नेता–कार्यकर्ताहरु, बाहिरवाट समेत आएका माओवादी कार्यकर्ताहरु, माओवादी शिवीरमा रहेका केही लडाकुहरु र वाइसीएलको संगठित पंक्ति पनि त्यहाँ रहेको देख्न–बुझ्न सकिन्थ्यो । स्वभावैले द्वन्दकालमा वेपत्ता परिवारका सदस्यहरुको समेत उपस्थिति थियो । कूल मिलाएर त्यहाँ माओवादीकै कार्यकर्ताहरुको आधिक्यता मात्र होइन– पूर्ण उपस्थिति र नियन्त्रणमा थियो । मैले हलमा पुगेपछि ठानें – ‘राज्यद्वारा वेपत्ता योद्धा परिवार’को नाममा माओवादीले राम्रै जमघट गराए छन् । फैलँदो निराशाका बीचमा आफ्नो पंक्तिलाई आशा जगाउने एउटा काम माओवादीले गरेछन् । 

कार्यक्रमको औपचारिक प्रारम्भ ठीकैसित अगाडि बढ्दै थियो– प्रारम्भमै एकराज भण्डारीले ‘वेपत्ता नागरिक सार्वजनिकिकरणको प्रश्न’ नामक एउटा लिखित ‘विषयप्रवेश पत्र’को रुपमा प्रस्तुत गर्नु भयो । उक्त ‘पेपर’ संगठीत रुपमा त थियो – तर माओवादी राजनीति, त्यसको विश्लेषण र निस्कर्षद्वारा निर्देशित थियो । यहाँसम्म कि द्वन्दकालमा वेपत्ता पारिएका नागरिकहरु बारे उल्लेख गरिरहँदा राज्यपक्षद्वारा भएका घटना र संख्या बारे त उल्लेख गरिएको छ– तर गैरराज्य पक्ष खासगरी माओवादीहरुले अपहरण गरी अहिलेसम्म वेपत्ता पारिएकाहरु बारे भने कहीं कतै उल्लेख समेत गरिएको छैन । झापामा राज्यपक्षद्वारा वेपत्ता पारिएका ६ जनाको उल्लेख गरिएको छ, तर त्यहीं इलाममा स्वयं माओवादीहरुले अपहरण गरी वेपत्ता पारिएका ६ जना नागरिक बारे उल्लेख गरिएको छैन, मोरङमा राज्यपक्षद्वारा वेपत्ता पारिएका ६ जना बारे उल्लेख गर्ने एकराजजीले त्यहीं माओवादीका तर्फबाट ४ जनालाई वेपत्ता बनाइएको कुरालाई वास्ता गर्नु भएको छैन । राज्यपक्षद्वारा वेपत्ता बनाइएकाहरु बारे उल्लेख गर्न सक्ने एकराजजीहरु तीसौं जिल्लामा माओवादी पक्षबाट गरिएको अपहरण र वेपत्ता बारे उल्लेख नगरी अविवेकी मौनता साध्न पुग्नु भएको छ । कस्तो बिडम्वना ! राज्यपक्षद्वारा नागरिकहरु वेपत्ता पारिएको घटनाप्रति रुने मन स्वयं माओवादीद्वारा यस्तै घटना घटाइँदा किन थोरै पनि चह¥याउन सकेन ? के राज्यद्वारा आपराधिक तरिकाले वेपत्ता पारिएको घटना ‘प्रतिक्रियावादी राज्यसत्ताका अपराध’ तर माओवादीहरुद्वारा गरिएका यस्तै घटना चाहिं ‘क्रान्तिकारी काम’ हुन सक्छन् ? हिंसात्मक द्वन्दकालमा भएका मानवताबिरोधी आपराधिक घटना बारे अत्यन्त साहसिक किसिमले खबरदारी गर्न तम्सिनु भएका एकराजजीहरु किन त्यति अविवेकी बन्नु भएको होला भन्ने कुराले त्यसबेला मेरो मन चिमोटिरहेको थियो । 

यसपछि मानव अधिकारवादी आन्दोलनका अगुवाको रुपमा परिचित केही व्यक्तिहरुलाई बोल्ने–टिप्पणी गर्ने औसर प्रदार गरियो । उहाँहरु सबैले ‘राजनीतिक पार्टीहरु खासगरी तिनटा प्रमुख पार्टीहरुले द्वन्दकालमा वेपत्ता पारिएका नागरिकहरुबारे छानवीन गरी सत्य–तथ्य पत्ता लगाउने, सार्वजनिक गर्ने काम गर्न नसकेकोमा’ आलोचना गर्नु भएको थियो । सत्तासाझेदारीको खेलमा लाग्न सक्ने– तर विगतमा आफूले यस सम्बन्धमा गरेको प्रतिबद्धतालाई कार्यान्वयन भने गर्न नसक्ने, किन (?) आदि प्रश्नहरु उठाइएका थिए । उहाँहरुका यस्ता प्रश्नले पछि बोल्ने हामीहरुलाई विषयमा केन्द्रीत हुन सहयोग पु¥याएको थियो । तर यसै क्रममा त्यही पंक्तिमा बसेका एकजना माओवादीको रुपमा चिनिएका बुद्धिजीविले रामचन्द्र पौडेललाई लक्षीत गर्दै आपत्ति लाग्ने हिसाबले केही छिचरा प्रश्नहरु राखेका थिए । तिनका ती छिचरा प्रश्नहरु सुनिरहँदा राजाको नेतृत्वको पञ्चायत काल छँदै तिनले कस्ता कस्ता घाटको पानी खाँदै हिंडेका थिए भन्ने विगतको प्रशंगको झल्झली सम्झना भइरहेको थियो – मलाई ।

रिचर्ड बेनेट र गौरी प्रधानले बोल्नु भएपछि मेरो बोल्ने पालो थियो । मैले कार्यक्रमको सान्दर्भिकता र महत्व बारे बताउँदै ‘वेपत्ता नागरिकहरु बारे अनुसन्धान गरी सार्वजनिकिकरण गर्ने विषयमा दलहरुबीच सहमती भए पनि कार्यान्वयनमा भने गंभीरता नदेखिएको, प्रमुख नेताहरु स्वयं सरकार र सिङ्गो मुलुककै कार्यकारी प्रमुख हुँदा पनि यस विषयमा ध्यान नपुगेको (वा उहाँहरु स्वयंले महत्व नदिएको ?), स्वयं कमरेड प्रचण्ड नौ महिना मुलुकको प्रधानमन्त्री बन्नु भयो– तर उहाँमा पनि त्यस विषयलाई कार्यान्वयन गर्ने तत्परता नदेखिएको, उहाँलाई समेत यो काम गर्न केले रोक्यो ?’ आदि कुराहरु राखेको थिएँ । ‘मुलुकले राजनीतिक सहमती खोजीरहेको छ र वेपत्ता नागरिकहरु बारे छानबीन गर्ने– यो काममा संलग्न हुनेहरुलाई दण्डीत गर्ने कुरा पनि राष्ट्रिय सहमतीसितै गाँसिएर आएको छ, यसकारण अहिले सहमतीको राजनीतिका लागि बाधक बनेका चिन्तन, प्रवृत्ति र पात्रहरुलाई चिन्हित गर्नु पर्दछ’ आदि कुराहरु राखेको थिएँ । यसैक्रममा हलको खासखास ठाउँमा बसेका केही व्यक्तिहरु उठेर ‘वेपत्ता नागरिक सार्वजनिकिकरण गर्ने कुरा गर्नुपर्छ– राजनीतिक भाषण गर्न पाइँदैन’ आदि भन्न थाले । ती उठेकाहरुमध्ये केहीलाई मैले माओवादीद्वारा आयोजित केही–केही कार्यक्रममा देखेको थिएँ– यस अर्थमा चिनेको थिएँ । यो अशिष्टता उनीहरुले देखाइ नै रहे । कार्यक्रम संचालिका र अध्यक्षता गर्ने एकराजजी आएर यस खालका अशोभनीय गतिविधि नगर्न आग्रह गर्नु भयो । त्यसपछि केही थामिए जस्तो भयो । त्यसपछि पनि मैले– यो संवेदनशील विषय कसरी समग्र राष्ट्रिय राजनीतिसित गाँसिएको छ, भन्ने कुरामा विशेष जोड दिंदै आफ्नो भनाइलाई अन्त्य गरेको थिएँ । माओवादी ‘स्कूलिङ्ग’बाट प्रशिक्षित भएका कार्यकर्ताहरुको एकदलीय, असहिष्णु र सर्वसत्तावादी चरित्र कसरी प्रकट हुने गर्छ भन्ने कुरालाई म त्यसबेला महसूस गर्दै रहें । केही दिन पहिले मात्र माओवादी नेता वावुराम भट्टराईकी छोरीले आयोजना गरेको यस्तै कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले अपमानित हुँदै सभास्थल छोडेर हिड्नु परेको थियो । र, एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई माओवादी निकट ‘राष्ट्रिय कर्मचारी संगठन’ले केही दिन पहिले आयोजना गरेको यस्तै कार्यक्रममा त्यसका प्रमुख अतिथि बनेका प्रचण्ड स्वयंले अमर्यादित गर्नु भएको थियो । प्रचण्डले गरेको त्यस्तो व्यवहारप्रति त्यहाँ सहभागी माओवादी कार्यकर्ताले खुशी भएर ताली पिटेका थिए । वामदेव, जो एमाले–माओवादीबीच सहकार्य र एकताको प्रबल हिमायती भनेर चित्रित हुनु भएको छ, लाई गरिएको त्यस्तो अमर्यादित व्यबहारबारे स्वयं वामदेवले सार्वजनिक रुपमै बोल्नु भएको छ । ......

३१ गते जेठमा माओवादी सभासद् एकराज भट्टराइले आयोजना गर्नु भएको यो कार्यक्रममा गरिएको त्यस्तो व्यवहारलाई कसरी बुझ्ने ? यसले माओवादीहरुमा रहेको ‘एकदलीय अधिनायकवादी सर्वसत्तावादी’ चिन्तन–आचरणलाई देखाउँछ । माओवादीपंक्ति आफूलाई गरिएका आलोचनाबाट तर्सिने गरेको छ र सुन्न नसक्ने, सहन गर्न नसक्ने, आफूमात्र ठीक– अरु सबै बेठीक भन्ने दम्भपूर्ण व्यवहारका लागि चिनिन्छ । यो कार्यक्रममा पनि उनीहरुले यस्तै आचरण प्रकट गरेका हुन् । कमरेड प्रचण्ड स्वयं उपस्थित भएका, उहाँ स्वयंले अभिव्यक्ति दिने कार्यक्रमहरुमा समेत यस्तो हुने गरेको छ । माओवादीहरुको यस्तो चरित्रप्रति कसैले भ्रम राख्नु हुन्न भन्ने मेरो बुझाइ छ । 

माओवादीहरुसितको संवाद र सहकार्यको सिलसिलामा म लामै समयदेखि संलग्न रहँदै आएको छु । उनीहरु हिंसात्मक विद्रोहमा रहेकै बेला उनीहरुलाई उक्त बाटो छोडेर शान्तिपूर्ण राजनीतिको प्रक्रियामा ल्याउने एमालेको प्रयत्नमा प्रायः म सहभागी बन्दै आएको छु । सिलिगुढी, गोरखपुर, पटना, बनारस आदि भारतका शहरहरुमा उनीहरुसित एमालेले घनिभूत संवाद गरेकै हो । उनीहरु यो ठाउँसम्म आइपुग्नमा नेकपा (एमाले)का विभिन्न नेताहरुले महत्वपूर्ण भूमिका समेत खेल्दै आउनु भएको छ । त्यसमध्ये म पनि एकजना हुँ । खुल्ला भइसकेपछि पनि सयौं पटक उनीहरुसितका द्वीपक्षीय तथा बहुपक्षीय वार्ताहरुमा बसेको पनि छु । त्यसक्रममा अनेक अन्तरङ्ग कुराकानीहरु पनि भएका छन् । यहाँसम्म कि स्वयं प्रचण्ड–वावुरामहरु मेरै निवासमा आएर पनि गंभीर वार्ताहरु गरेका छन् । कस्तो विडम्बना ! माओवादीहरु खुला भइसकेपछि तीन पटक म उनीहरुको सांघातिक हमलाबाट बच्दै आएको छु । ३१ गतेको कार्यक्रममा प्रशिक्षीत माओवादी कार्यकर्ताहरुबाट हुटिङ्ग भइरहँदा विगतका तिनै सांघातिक हमलाका प्रशंगहरु मेरो दिमागमा नाचिरहेका थिए । 

पहिलो सांघातिक हमला– २०६६ साल जेठ ३ गते । रामेछापको सदरमुकाम– मन्थलीबाट ‘मदन–आश्रित स्मृति दिवस’ मनाएर फिर्दै गर्दा तिल्पुङको अक्करे भीरमा योजनावद्ध र संगठीत ढंगले ममाथि हमला गरियो । म त्यही बाटो फिर्छु भन्ने थाहा पाएका त्यहाँको माओवादी नेता राजन दाहालको योजना र नेतृत्वमा अक्कर भीरबाट ढुङ्गा लडाएर म चढेको गाडी क्षतिग्रस्त बनाउने र गाडीसहित हाम्रो टोलीलाई तल वगिरहेको तामाकोशीमा झार्ने योजना थियो । संयोगले म अगाडि रहेको गाडी क्षतिग्रस्त भएर पनि सुरक्षीत अगाडि बढ्न सफल रह्यो– यसबीच म चढेको गाडीले भने कसो कसो सुरक्षित हुने मौका पायो । यो घटनाबारे एमाले नेतृत्वले औपचारिक विरोध जनाउँदा– उक्त राजन दाहाललाई कारवाही गर्ने कुरा गर्दा– माओवादी नेताहरुले ‘घटनाबाट आफू दुःखित भएको– लज्जित भएको, राजन दाहाललाई कारवाही गर्ने’ कुरा त गरे । तर राजन दाहाललाई थप स–सम्मान गर्दै सिन्धुली जिल्लाको पार्टी काममा जिम्मेवारी दिए । अहिले उही राजन दाहाल माओवादी नेताको हैसियतले सिन्धुली जिल्लामा अराजकता र आतंकपूर्ण गतिविधिलाई संगठित गरिरहेका छन् । मलाई अहिले पनि सम्झना छ – त्यो घटना पछिको एउटा भेटमा घटना सम्बन्धमा उहाँ (हरु)को निस्पृयता देखेपछि मैले भनेको थिएँ – ‘तपाईहरुद्वारा दीक्षित अराजक कार्यकर्ताहरुद्वारा हामीहरु कोही पनि मारिन सक्छौं, तर तपाईहरुले जित्नु हुने छैन’ । त्यसबेला कमरेड प्रचण्ड अस्वाभाविक मौनता साँधेर बस्नु भएको थियो । 

दोश्रो सांघातिक हमला– नेकपा (एमाले) त्यसबेला माओवादी सहित अन्य दलहरुसित संवादमा व्यस्त थियो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवास वालुवाटारमा बैठक चलिरहेको थियो । म त्यसैबेला सितापाइलामा पण्डित दीनबन्धु पोखरेलको प्रमुख आतिथ्यतामा आयोजना भइरहेको सप्ताहको कार्यक्रममा थोरै समयका लागि भएपनि सहभागी भइदिन, शुभकामना दिन (किनभने त्यहाँ कुनै सार्वजनिक कामका लागिका लागि चन्दा संकलनको उद्देश्य राखी त्यो आयोजना भएको थियो) दीनबन्धुजीले नै बोलाउनु भएको थियो । मैले त्यहाँ पुगेर त्यो पुनीत कार्यको सफलताको शुभकामना तथा ऐक्यबद्धता व्यक्त गरें, यस्तो ‘सामाजिक सुधार’ अभियानका अभियन्ता स्व. नारायणप्रसाद पोखरेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, उहाँले थालनी गर्नु भएको सत्कर्मलाई निरन्तरता दिनु पर्ने, उहाँको हत्यामा संलग्न आतंककारी अपराधीहरुको खोजी हुनु पर्ने, तिनीहरुलाई सार्वजनिक गर्नुपर्ने र राज्यको कानून अनुसार कडा कारवाही गर्नुपर्ने, आदि कुरा राखेको थिएँ । त्यो धार्मिकजनहरुको भीड भित्रबाट मैले बोली सक्ने बित्तिकै केही उत्तेजीत व्यक्तिहरुले ममाथि आक्रमण गरे । म त्यहाँबाट निस्कँदै गर्दा ममाथि हुलहुज्जत गर्दै शारिरिक रुपमा हमला गर्ने, ढुङ्गा प्रहार गर्ने, किन त्यस्तो भाषण गरिस् भन्ने आदि अमानवीय र आपराधिक कामहरु गरे । त्यो धार्मिक समारोहमा उपस्थित श्रद्धालुजनहरुले खासगरी धेरै आमा,  दिदी–बहिनीहरुले रुँदै – कराउँदै ती आततायीबाट मलाई बचाउनु भएको थियो । केही समयपछि आएका सुरक्षाकर्मीहरुको टोलीले मलाई सुरक्षीत गर्न सघाएको थियो । पछि माओवादी नेताहरु–प्रचण्ड, बाबुरामलाई यो घटनाप्रति आपत्ति जनाउँदा ‘त्यस्तो नहुनु पर्ने, हाम्रो त त्यस्तो केन्द्रीय नीति छैन, जनताले गरेका होलान्, हामी बुझ्छौं’ आदि जवाफ दिएर झारा टारेका थिए । अहिले धेरैलाई थाहा भैसकेको छ – आफ्ना उद्दण्ड, अराजक र आपराधिक कार्यमा संलग्न कार्यकर्ताहरुका त्यस्ता कामप्रति जवाफदेही लिनु सट्टा माओवादी नेताहरुले यस्तै ‘रेडिमेड’ उत्तर दिने गरेका छन् ।

तेश्रो हमला– २०६६ माघ ८ गते कैलाली जिल्लाको लम्की बजारमा नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले एउटा जनसभाको आयोजना गरेको थियो । त्यहाँ केही दिनदेखि माओवादीहरुका तर्फबाट जनतालाई तर्साउने, नेकपा (एमाले)का कार्यकर्ताहरुलाई कुटपीट तथा सांघातिक हमला गर्ने, आतंक सृजना गरेर एमाले कार्यकर्ताहरुलाई विस्थापन गराउने, जंगल तथा सार्वजनिक–ऐलानी– पर्ती जमीन जवर्जस्ती कब्जा गर्ने, अस्थायी शिवीरमा रहेका लडाकुहरु बाहिर निस्केर गाऊँ बस्ती त्रसित बनाउने काम भइरहेको थियो । यस्ता गतिविधिहरुको एमालेले विरोध गर्दै आएको थियो । यसैक्रममा लम्की बजारमा एमालेको जिल्ला कमिटीद्वारा विरोध सभाको आयोजना गरिएको थियो । र, म त्यसै कार्यक्रमका लागि त्यहाँ पुगेको थिएँ । मैले त्यहाँ देखें– केही दिन अगाडि अपहरण र हत्या गर्ने धम्की दिएपछि टिक्न नसकेर भाग्नु परेका एमाले कार्यकर्ता तथा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला सचिव नेत्रप्रसाद खनालको घर परिवार आतंकित छ, उहाँको सानो छोरो त घरमा कोही आए पनि तर्सिने गरेको छ, वा आम आतंकित हुनुहुन्छ, माओवादी कार्यकर्ता रातसाँझ त्यहाँ पुगेर बच्चालाई समेत अपहरण गर्ने कुरा गर्छन् रे ! केही दिन अगाडि मात्र माओवादीको निर्मम कुटाइका कारण पसल समेत हटाउन बाध्य नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा स्थानीय लोकप्रीय नेता महादेव बजगाइँ. निराश र आतंकित समेत हुनुहुन्थ्यो भन्ने कुरा म त्यहाँ पुगेपछि मात्र चाल पाएँ । सामुदायिक बन उपभोक्ता महासंघकी स्थानीय नेतृ जयन्ती शर्मा घर छोडेर हिड्नु भएको थियो । यिनै र यस्तै वातावरणका बीच त्यहाँ जनसभाको कार्यक्रम राखेको थियो– एमालेले । त्यस दिन थाहा लाग्यो– सभामा आउने जनतालाई आतंकित पारिंदै छ र आतंकित पारिंदैछ र गौंडा गौंडामा रोकिंदैछ । तर पनि विरोध सभामा झण्डै दस हजार जनताको उपस्थिति रह्यो, जुलुशले बजार परिक्रमा ग¥यो, सभामा परिणत भयो । जनसभामा जब मैले बोल्न थालेको थिएँ– राजमार्गमा शिवीरबाट आएका लडाकुहरु हातहतियार सहित सभास्थलतिर आउन थाले । सभा भाँड्ने र हमला गर्ने उनीहरुको योजना प्रस्टै बुझिन्थ्यो । तर धन्य– त्यहाँका सुरक्षाकर्मीहरु र सभाको लागि तयार पार्टीका स्वयंसेवकहरुले प्रतिवाद गरेका कारण माओवादीहरु पछाडि हट्न वाध्य भए । त्यहाँ अप्रिय स्थिति हुनबाट जोगियो । राजमार्ग रोकेर–बन्द गरेर पछिसम्म पनि माओवादीहरु बसिरहेका थिए । सुरक्षाकर्मी र स्वयंसेवकहरुको सहयोगमा मलाई अर्को बाटो लगिएको थियो । यस घटनाका सम्बन्धमा पनि माओवादी नेताहरुको कुनै जिम्मेवारीपूर्ण ‘रिस्पोन्स’ थिएन ।

जब पार्टीका अध्यक्ष, उपाध्यक्ष लगायतका वरिष्ठ नेताहरुलाई सभा गोष्ठीहरुमा अपमान गरिन्छ– हुटिङ गरिन्छ, जब उनीहरुमाथि शारीरिक रुपमै हमला गर्न समेत पछि परिदैन– स्थानीय तहमा जहाँ माओवादीहरु संगठित ढंगले गतिविधि– अराजकता र आतंकपूर्ण गतिविधिहरु गरिरहेका हुन्छन् – ती ठाउँमा अन्य पार्टीका कार्यकर्ताहरु, एमालेका कार्यकर्ताहरु कसरी प्रतिवाद–संगठित गरिरहेका होलान् ? कसरी जीवनको सुरक्षा गरिरहेका होलान् ? 

हिंसात्मक विद्रोहको बाटो परित्याग गर्दै शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गरी यो ठाउँसम्म आइपुगेको एकीकृत नेकपा (माओवादी) यस्ता चिन्तन, आचरण र व्यवहारबाट कहिले सुध्रिएला ?

३१ गतेको कार्यक्रममा भएको व्यवहारका बारेमा एकराज भट्टराईले मसितको संवादमा क्षमा माग्नु भयो, आत्मालोचना गर्नु भयो, आफूले आफ्नो पार्टी पंक्तिमा देखिने गरेका यस्ता चिन्तन र व्यवहारबारे नेतृत्व समक्ष गंभीर चिन्ता प्रकट गरेको कुरा पनि गर्नु त भयो – तर माओवादी नेतृत्व खासगरी कमरेड प्रचण्ड स्वयं यसप्रति कति गंभीर हुनुहुन्छ ? अराजकता, असहिष्णुता, एकदलीय अधिनायकवादी– सर्वसत्तावादी सोचबाट माओवादी अघि बढ्न सक्दैन, संभवै छैन– यो उसको लागि विनाशको बाटो हो । हामी सबै चाहन्छौं – माओवादी सप्रिऊन, अर्थात् लोकतन्त्रको सच्चा मार्गमा अगाडि बढुन्– रुपान्तरित होऊन् !

२०६७ / ३ /१

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0