दुई पटक विहे

मेरो दुई पटक विहे भएको कुरा संझदा मलाई नै अहिले अचम्म लागेर आउँछ । झन् अरुले सुन्दा त अचम्म नमान्ने कुरै भएन । दुवै औसरमा म र मिरा विधिवत बेहुला र बेहुली बनेका थियौं । पहिलोपटक २०३९ जेष्ठ १५ गते विहे भएको थियो र विहेको चाँजोपाँजो पार्टी हेडक्वार्टरले मिलाएको थियो । र, पूर्णभूमिगत रुपमा विहेको कार्यक्रम सम्पन्न भएको थियो ।


शुरुका दिनमा हाम्रो भूमिगत पार्टीमा पार्टीका नेता–कार्यकर्ताहरुमा पारिवारिक–निजी जीवन सम्बन्धी कुनै व्यवस्थित र सन्तुलित सोचाइ नै थिएन । जे जस्तो सोचाइ थियो – त्यो उग्रवामपन्थी अतिवादी मान्यता र विचारबाट नराम्ररी प्रभावित थियो ।  त्यसबेला धेरैले यस विषयलाई नितान्त ‘निजी स्वार्थ सित गाँसेर बुझ्ने गरेका थिए । आमूल परिवर्तनको उद्देश्य बोकेर क्रान्तिको बाटोमा लागेकाहरुले घर, परिवार, विहेवारीको बारेमा सोच्नु भनेको ‘निजी स्वार्थमा फँस्नु हो’ भन्ने भूल र गलत निस्कर्षद्वारा निर्देशित थिए धेरै नेता – कार्यकर्ताहरु । केही केही अलिक नेता खालकाहरु कोरा सैद्धान्तिक हिसावले विहेलाई ‘एउटा राजनीतिक काम’ भनेर संझन्थे र प्रशंग उठ्दा अरुलाई पनि संझाउने कोशिस गर्दथे । राजनीतिलाई सघाउन र आफूले बोकेको उद्देश्य पुरा गर्न विहेको वकालत हुने गरेको थियो, त्यसबेला । यदि कसैले, खासगरी कुनै कार्यकर्ताले विहे तथा घर परिवारका विषयमा कहिं कतै कुरा उठाइहालेमा, त्यसलाई त्यति सकारात्मक रुपमा लिइँदैनथ्यो । यस्ता व्यक्तिहरुका बारेमा नेतृत्वमा रहेकाहरुबाट आम रुपमा ‘निजी समस्यामा फँस्दै गएको’ वा ‘दृष्टिकोणमा समस्याहरु देखापर्दै गएको’ भन्ने टिप्पणी हुने गथ्र्यो । यदि कसैबाट यी विषयमा केही खुकुलो वा नैतिकता मै केही प्रश्न उठ्ने खालको व्यवहार पाइएको खण्डमा त त्यो अत्यन्त गंभीर विषय भइनै हाल्थ्यो । त्यस्तो व्यक्ति, संभवतः, त्यसपछि पार्टीमा टिकिरहन त्यति संभव हुँदैनथ्यो पनि । 

 

२०३६ को राष्ट्रव्यापी जनआन्दोलनको धक्काले नेपालको राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक, शैक्षिक आदि सबै क्षेत्रमा केही हलचल पैदा गराइदिएको थियो । दशकौंदेखि निर्विकल्प भनिएको राजनीतिक व्यवस्था नेपाली जनताको फैसलाको कठघरामा उभिन बाध्य भएको थियो । तत्कालिन व्यवस्थाका विरोधमा लाखौं नेपाली जनता खुला रुपले आफ्ना अभिव्यक्ति दिइरहेका थिए । राजनीतिक व्यवस्थाको छनौट गर्नु जनताको अधिकार हो भन्ने कुरा स्थापित भइरहेको थियो । राजनीतिक क्षेत्रमा देखापरेको यस्तो युगीन उथलपुथलले सामाजिक–सांस्कृतिक क्षेत्रलाई समेत तरंगीत तुल्याएको थियो । मूल्य–मान्यताहरुमा केही खुकुलोपनाले प्रवेश पाएको थियो । संचार जगत एउटा पृथक हैसियतका साथ नेपाली जनमानसमा प्रकट हुन शुरुगर्दै थियो । परिवर्तनको मीठो स्वादले नेपाली समाजलाई आकर्षित गर्दै थियो । यस्तो पृष्ठभूमि र परिवेशमा, त्यसबेला कडा भूमिगत रुपमा देशभित्रै खासगरी ग्रामिण क्षेत्रका विपन्न जनताका बीचमा राजनीतिक–सांगठनिक काममा कृयाशील हामी कम्युनिष्टहरुमा पनि त्यसको प्रभाव र असर पर्नु स्वभाविक थियो । हामी बीचमा पनि, हाम्रा चिन्तन तथा दृष्टिकोणमा, हामीले लिइरहेका विचार र व्यवहारमा पनि त्यसको प्रभाव नपरी रहने कुरै थिएन । भन्नुपर्छ – हाम्रो क्षीतीज केही उघारिएको थियो, केही फराकिलो हुँदै थियो । हामी आफ्नै निजी जीवन, घर–परिवारका सम्बन्धमा समस्या केन्द्रीत भएर कुरा गर्न सक्ने हुँदै थियौं । हामीमध्ये कतिलाई लाग्न थालेको थियो – आफ्नो जीवन घर्कंदै छ, उमेर छँदै विहे गर्नुपर्छ । कतिपय साथीहरु भन्ने गर्थे – ‘विहेले क्रान्ति र पार्टीको काममा कुनै बाधा दिंदैन, दृष्टिकोण सफा हुनुपर्छ’, आदि । पार्टीभित्रै पनि मन मिलेका र उमेर समूहका आधारमा साथीहरु विहेका बारेमा, संभावित जोडी को हुन सक्छ, फलाना साथीसित विहे गर्दा के होला – कसो होला, कसलाई कोसित विहे गराइदिन कसले  सघाइदिने आदि विषयमा केन्द्रीत भएर पनि कुराहरु हुन थालेका थिए । एक किसिमको उन्मुक्तिसित गाँसिएको गतिशीलता हामी बीच विकसित हुँदै गएको थियो । 

 

त्यसबेला हाम्रो भूमिगत पार्टीको हेडक्वाटर काठमाडौंमा थियो । सी. पी. मैनाली महासचिव हुनुहुन्थ्यो । ०३३ को चेत ११ गते ललितपुरको नखुजेल तोडेर बाहिर निस्कनेहरुका नेताको रुपमा गंभीर रुपमा खोजी गरिएका सी. पी. मैनाली केही वर्षदेखि काठमाडौं उपत्यकामा नै रहेर हेडक्वाटर संचालन गरिरहनु भएको थियो । हामीहरु त्यसबेला सी. पी. लाई ‘कमरेड जय’ भनेर चिन्थ्यौं र यही नामबाट औपचारिक–अनौपचारिक संवोधन गथ्र्यौं । मुलुकका विभिन्न क्षेत्रमा कार्यरत साथीहरु खासगरी क्षेत्रीय प्रमुखहरु ‘पार्टी हेडक्वाटर’सित संपर्क गर्न काठमाडौं आउँथे र ती सबैले प्रायः ‘कमरेड जय’सित भेट गर्थे नै । हामी त्यसबेला कुशलताका साथ यी कामहरु गरिरहेका थियौं । हाम्रो पार्टी कामको विस्तार पनि उल्लेखनीय रुपले भइरहेको थियो ।

 

ह्ेडक्वाटरमा आऊ–जाऊ कै क्रममा मेरो मिरासित भेट भएको थियो । २०३७ को चैत वा २०३८ को वैशाख हुनुपर्छ – त्यसबेला काठमाडौंमा भूमिगत पार्टीको राजनीतिमा क्रियाशील भएर देखापरेको महिलाहरुको एउटा समूह थियो, जसमा रविलक्ष्मी चित्रकार, पूर्णशोभा चित्रकार, मिरा ध्वंजु, सुलोचना मानन्धर, स्वस्ती वज्राचार्य, शारदा कोइराला१ शादि प्रमुख थिए । पढे–लेखेका, खासगरी शिक्षण पेशामा आवद्ध, यी स्थानीय महिलाहरु अत्यन्त गतिशील र राम्रो संभावना भएका पार्टी कार्यकर्ताहरु थिए । यी महिलाहरुको एउटा छुट्टै ‘अध्ययन दल’ थियो । यसले नियमित रुपमा अध्ययन कक्षा संचालन गरेको थियो । यसले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, समाजवाद लगायत मुलुकको समसामयिक राजनीतिक विषयलाई समेत आफ्नो अध्ययनको विषय बनाएको थियो । कहिलेकाहीं बाहिरी क्षेत्रबाट काम विशेषले त्यहाँ आइपुगेका नेताहरुले पनि त्यो  ‘अध्ययन दल’को लागि कक्षा लिने गर्थे । खासगरी भूमिगत काम गर्दाका अनुभवहरु उनीहरुले सुनाउने गर्थे । भूमिगत पार्टी काममा अचम्मसित आकर्षित भइरहेका ती महिला कमरेडहरुको लागि यो अनुभव अत्यन्त आकर्षणको विषय हुने गर्दथ्यो । यसै क्रममा उक्त ‘अध्ययन दल’ले संचालन गरेको एक दिनको कक्षामा मलाई ‘भूमिगत पार्टी कामका अनुभवहरु’ बताउन लागिएको थियो ।

 

पूर्णशोभा चित्रकारको दाजुको घर हुनुपर्छ । एउटा कोठामा ‘महिला अध्ययन दल’ले अयोजना गरेको कक्षामा म डा. सरोज धितालसित साथ लागेर पुगेको थिएँ । डा. सरोज धिताल केही समय पहिले मात्र चीनबाट एमवीवीएस पढाइ सकेर आउनु भएको थियो । वहाँसित संपर्क हुने जो सुकैले पनि वहाँलाई तीक्ष्ण तथा मेधावी व्यक्तिको रुपमा चिनीहाल्थ्यो । खासगरी दर्शन शास्त्रलाई वहाँले अत्यन्त सरल र रोचक किसिमले प्रस्तुत गर्नु हुन्थ्यो । द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादका सम्बन्धमा वहाँको सरल प्रस्तुति लोभलाग्दो थियो । सँगै, वहाँका क्रान्तिकारी, प्रगतिशील र परिवर्तनमुखी भाव भएका गीत, कविताहरु साँच्चै सूनूँ–सूनूँ लाग्ने खालका थिए । त्यसबेला डा. सरोज पार्टीको एउटा राम्रो बुद्धिजीवीमा पर्नुहुन्थ्यो र वहाँले डा. भरत प्रधानसित मिलेर एउटा सानो क्लिनिक संचालन गर्न शुरु गर्नु भएको थियो२ । यो क्लीनिकमा पार्टीका भूमिगत रुपमा कार्यरत पार्टीका नेता, कार्यकर्ताहरुको औषधी उपचार हुने गथ्र्यो । त्यहीं बेला–बेलामा औषधी–उपचारको लागि जाँदा डा. सरोजसित मेरो चिनजान भएको थियो ।

 

त्यस्तै बेलुकाको साठे छ वा सात बजेको हुँदो हो – डा. सरोज र म कक्षा संचालन कोठामा पुगेका थियौं । हामी प्रवेश गर्ने वित्तिकै त्यहाँ जम्मा भइसक्नु भएका महिला साथीहरु ज¥याक जुरुक उठ्नु भयो, मुठ्ठी कसेर लाल सलाम गर्नुभयो र अत्यन्त गरमजोशीका साथ हात मिलाउनु भएको थियो । कोठाभित्र पस्ने वित्तिकै टाँगिएको पार्टीको झण्डामा मेरो नजर परेको थियो ।

 

डा. सरोज त्यो अध्ययन दलमा दर्शनशास्त्र नियमित रुपमा पढाउने प्रशिक्षक नै हुनुहुन्थ्यो । वहाँको पालो परेको बेला वहाँ सँधै पुग्नुहुन्थ्यो । त्यसैले त्यो टिमको लागि वहाँ नयाँ हुनुहुन्नथ्यो । वहाँले नै त्यहाँ मेरो परिचय ‘कमरेड नवीन’ भनेर गराउनु भयो । यस्तै, त्यो कक्षामा रहनु भएका सबै साथीहरुले पनि आ–आफ्नो नाम भनेर परिचय दिनुभयो । वहाँहरु सबैले आ–आफ्नो ‘टेक नाम’ अर्थात् भूमिगत नाममा परिचय दिनु भएको थियो । त्यहीं मैले सर्वप्रथम ‘दिपा’को नामबाट मिरालाई चिनेको थिएँ । 



यसरी, कमरेड दिपा अर्थात् मिरासित मेरो पहिलोपटक औपचारिक परिचय भएको थियो । मैले ‘भूमिगत काम गर्दाका अनुभवहरु’लाई त्यस दिन व्यवस्थित रुपमा प्रस्तुत गर्ने कोशिस गरेको थिएँ । सहभागी सबै महिला साथीहरुले सुन्नु भएको थियो, कतिपय कुराहरु टिप्नु भएको थियो । त्यसदिन मैले मिरालाई मेरो प्रस्तुति राम्ररी सुन्ने र टिपोट पनि गर्ने एउटा जिज्ञासु कार्यकर्ताको रुपमा पाएको थिएँ । 

 

बेलाबेला म पार्टी कामले काठमाडौं आउँदा मिरासित कुनै खास कार्यक्रमहरुमा आक्कल–झुक्कल देखभेट हुन्थ्यो । फाट्फुट कुराकानी पनि हुन्थ्यो  । सञ्चो विसञ्चोको विषयमा सोधी खोजी गरिन्थ्यो । वैवाहिक जीवन सम्बन्धमा खुकुलिंदै गएको हाम्रो चिन्तन – परिवेशका कारण हुन सक्छ – मिराप्रति मेरो आकर्षण बढ्न थालेको थियो । कता कता देखुँदेखुँ– भेटुँभेटुँ जस्तो लाग्न थालेको थियो । यसैबीच, मैले मिराको पारिवारिक व्यक्तिगत जानकारी राख्न शुरु गरेको थिएँ । पढाइ, पेशा, उमेर, राजनीतिक स्तर, पार्टी सम्पर्क तथा पारिवारिक स्थिति आदि मिरासम्बन्धी मेरो जानकारीका विषय थिए । त्यसबेला हामी भूमिगत कार्यकर्ताहरुले राजनीतिक रुपमा सचेत, पार्टी काममा कृयाशील र आर्थिक रुपमा ‘आत्मनिर्भर’ भएकाहरुसित मात्र विहे गर्नुपर्छ – यस्तो स्थिति नभइसकेकाहरुसित विहे गर्दा पछि समस्या आइपर्छ र आफ्नो पार्टी काममै कठिनाई झेल्नु पर्छ भन्ने मान्यता बनाएका थियौं । आफ्नो हकमा भन्नु पर्दा, वास्तवमा मैले त्यसलाई अत्यन्त महत्वका साथ हेरेको थिएँ । यसरी वाहिरबाट सबै कुरा बुझ्दा, मिरासित विहे–बन्धनमा बाँधिनु मेरो लागि उपयुक्त हुने कुरा मलाई लाग्दै गएको थियो । यसै आधारमा केही नेता साथीहरु खासगरी माधव नेपाल र जीवराज आश्रितसित मैले आफ्नो आसय राखेको थिएँ र वहाँहरुले पनि उपयुक्त हुने कुरा बताउनु भएको थियो । नेता साथीहरुकै सहमतीमा एकदिन मैले मिरासित भेट गरी विहे, पारिवारिक जीवन, पार्टी–राजनीति आदि विषयमा धारणा बुझेको थिएँ र कुरैकुरामा विहेको प्रस्ताव समेत राखेको थिएँ । त्यसबेला मिराले कस्तो कस्तो मानेर सकारात्मक उत्तर दिएकी थिइन् । यसरी, हामी त्यसबेलैदेखि दाम्पत्य जीवनका लागि एक किसिमले अनुबन्धित बनेका थियौं ।

 

त्यो काल, खासगरी २०३७ देखि २०३९ सम्म, त्यसबेला हाम्रो पार्टी जीवनमा, खासगरी नेतृत्वदायी तहमा, अत्यन्त गंभीर रुपमा विवादहरु उत्पन्न भएका थिए । सि. पी. मैनाली पार्टीको महासचिव भए पनि नेतृत्वदायी तहका अरु साथीहरुसित वहाँको सम्बन्ध तिक्त हुन थालेको थियो । खासगरी वहाँको व्यक्तिवादी शैली, आत्मकेन्द्रीत चिन्तन र आलोचनालाई स्वीकार गर्न नसक्ने बानीका कारण वहाँ एक्लो पर्दै जानु भएको थियो । नेतृत्वका अरु साथीहरु वहाँमा देखिंदै गएको यस्ता कुराबाट विशेष चिन्तीत बनिरहनु भएको थियो । सी.पी.को यस्तो स्थितिका बारेमा छलफल समेत हुन थालेको थियो । ‘के गर्ने, सि.पी. कमरेडबाट तलमाथि भएमा पार्टीको नेतृत्व कसले गर्ने’ आदि विषयमा हामीहरु भेटघाटमा कुरा गथ्र्यौं । पार्टी तथा आन्दोलनको भविष्यका बारेमा हाम्रो छलफल केन्द्रीत हुने गथ्र्यो । यसक्रममा मेरो काठमाडौं आउने–जाने क्रम केही बढेको थियो । प्रायः प्रत्येक पटक म मिरासित भेटघाट गर्थें – केही कुराहरु हुन्थे । यसरी मिरा र मेरोबीच समझदारी झन्झन् गाढा बनिरहेको थियो । 

 

यसबीच, २०३९ असोजमा केन्द्रीय कमिटीको बैठकबाट सि.पी.मैनालीलाई पार्टीको महासचिव पदबाट हटाइयो र झलनाथ खनाल महासचिव बनाइनु भयो । सी.पी. बाहेकका अन्य सबै कमरेडहरु यो निर्णयमा एकमत हुनुहुन्थ्यो । यो निर्णयमा पुग्नुभन्दा पहिले सी.पी. स्वयंले आफूलाई कारवाही नगरियोस्, बरु आफैले स्वेच्छाले राजीनामा दिने कुरा गर्नु भएको थियो । र, वहाँको यो अनुरोधलाई बैठकले स्वीकार गरेको थियो । तर विडम्वना नै भन्नु पर्छ – महासचिवबाट हटेको कुरालाई सी.पी.ले आफूलाई ‘डि थ्रोन’ गराएको प्रचार गर्नु भयो, पार्टीपंक्ति नराम्ररी विभाजित हुन पुग्यो । यो पार्टीको सांगठनिक जीवनमा अस्तव्यस्तता र अराजकता सृजना गर्ने गंभीर घटना र शुरुआत पनि बन्यो । त्यसबेला मेरो काठमाडौं आवत–जावत निकै बढेको थियो । त्यसबेला हामी सि.पी.मैनालीका कारण पैदा भएका समस्यासित जुध्न कम्मर कसेर लागेका थियौं । 

 

०३९ को शुरुका महिनातिर मिरासित मैले विहेको कुरा टुंग्याउने विषयमा कुरा राखें । कहिलेकाहींका भेट र पार्टी च्यानलबाटै पठाइएका पत्रहरुबाट हामी आफ्नो सम्बन्धलाई गाढा बनाइरहेकै थियौं । यो क्रम एउटा अवस्थामा पुगेपछि पार्टीले औपचारिक रुपमा विहे गराइदिने निर्णय गरेको थियो । पार्टीको यो निर्णय थाहा पाएर हामी दुवैजना खुशी भएका थियौं । 
 

२०४० को जेष्ठ १५ गते– पूर्णशोभा चित्रकारका दाइको बसन्तपुर छेउको घरको एउटा कोठामा बेलुका एउटा सानो समारोह गरी हामी औपचारिक रुपमा दम्पती बन्यौं । पार्टीका केही नेता कमरेडहरु झलनाथ खनाल, माधवकुमार नेपाल, अमृतकुमार बोहरा, मुकुन्द नेउपाने लगायत सुरेन्द्र पाण्डे, सुरेश कार्की, युवराज कार्की, पूर्णशोभा चित्रकार तथा वहाँका दाइ भाउजुहरुको उपस्थितिमा त्यो सानो समारोह आयोजना गरिएको थियो । त्यो समारोहमा मिराको माइतीतिरका र मेरो घरतिरका एकजना सदस्यको पनि उपस्थिति थिएन । त्यसबेलाको प्रचलन अुनसार पार्टीको झण्डा अगाडि नव दम्पतिहरुले उभिएर मुठ्ठी कसेर शपथ लिनु पथ्र्यो । समारोहका प्रमुख व्यक्तिले शपथ ग्रहण गराउँथे । त्यसबेला पार्टीका महासचिव रहनुभएका झलनाथ खनालले हामीलाई ‘राष्ट्र, जनता र पार्टीको हीतमा जीवनभर लागिरहने...’ शपथ दिलाउनु भएको थियो । कार्यक्रममा उपस्थित प्रायः सबै साथीहरुले पालो पालो गरी शुभकामना मन्तव्य दिनु भएको थियो । वहाँहरु सबैले हाम्रो ‘दाम्पत्य जीवन क्रान्तिकारी परिवर्तनको अभियानमा जुटिरहोस्– दाम्पत्यजीवन सुखमय बनोस्’ भन्दै शुभकामना मन्तव्य दिनु भएको थियो । शपथ ग्रहण र साथीहरुका शुभकामना मन्तव्य पछि मिरा र मैले पनि पालो पालो गरी– त्यसै आसयका आफ्ना प्रतिवद्धताहरु व्यक्त गरेका थियौं । पार्टीको तर्फबाट हामी दुबैलाई ‘तपाईहरुको जीवन राष्ट्र र जनताको हीतमा समर्पित छ’ भन्ने उक्ति लेखिएको रातो पोलिष्टरको रुमालले बेरेर एउटा डायरी र कलम उपहार दिइएको थियो । विहेको संक्षिप्त कार्यक्रमपछि त्यहाँ उपस्थित सबै साथीहरुले सँगै बसेर ‘विहे भोज’ खाएका थियौं । न कुनै उपहार, न कुनै गहना, न त सिंदुर पोते – यसरी पहिलो पटक मिरा र मेरोबीच विहे भएको थियो । 

 

अहिले पनि सम्झना छ – विहेको रात विहे घर मै छुट्टै एउटा सानो कोठा हाम्रो लागि मिलाइएको थियो । त्यसैलाई, हामीले बेहुला–बेहुलीको लागि छुट्याइएको नयाँ कोठाको रुपमा स्वीकार गरेका थियौं । त्यस रात हामीले पति– पत्नीको रुपमा कम, औपचारिक र राजनीतिक रुपमा अझ खासगरी भावनात्मक रुपमा ज्यादा कुरा गरेका थियौं । यसरी त्यस रात सँगै विताएपछि भोलीपल्ट विहान म केही संकोच मान्दै मिरासित विदा भएको थिएँ । मिराले त्यसदिन स्कुलमा छुट्टी मिलाएकी रहिछन् – शायद दिनभरि सँगै बसौंला भन्ने थियो । तर मैले त्यस सम्बन्धमा कुनै कुरै गरिन, कुनै चासो नै देखाइन । मिरा भने शायद कस्तो कस्तो मन बनाएर नजिकैको ओमबहालमा रहेको आफ्नो माइतीघरतिर लागिन् । मेरो पहिलो विहेको यो संझनाले अहिले पनि कस्तो कस्तो लागिरहन्छ । 

 

विहेको एक–दुई दिनपछि म मेरो कार्यक्षेत्र– ‘मध्यदक्षिण’ तिर लागें । हिड्ने बेलामा हामीबीच भेटघाट समेत हुन पाएन । यस्तो अनौठो किसिमले हाम्रो पहिलो विवाह भएको थियो । विहेको बेलासम्म मिराले मेरो बारेमा ‘कम्युनिष्ट पार्टीको एउटा जिम्मेवार कार्यकर्ता’ भन्ने बाहेक व्यक्तिगत–पारिवारिक रुपमा केही जानकारी पाएकी थिइनन् । उनी चाहिं खुला अवस्थामा रहेका कारण मैले उनका बारेमा मोटामोटी रुपमा जानकारी पाएको थिएँ । तर म भूमिगत रुपमा काम गरिरहेको कारण थाहा हुने वा मिराले थाहा पाउने कुरै भएन । यसैकारण उनले सोधपुछ समेत गर्न उचित र आवश्यक ठानिन् । म कुन जातिको हुँ, मेरो के नाम हो, मेरो घर कहाँ हो आदि कुनै पनि कुरा विहे गरेको तीन वर्ष वितिसक्दा पनि उनलाई राम्ररी थाहा भएन । अचम्म– यत्रो अवधिभर यी विषयमा मिराले कुनै चासो समेत राखिनन् । कम्युनिष्ट पार्टी कै कार्यकर्ता भए पनि मिराले व्यक्तिगत– पारिवारिक रुपमा अपरिचित पुरुषसित विवाह गरेपछि अस्वभाविक रुपमा अलग्गिनु पर्दा एउटी महिलाको मानसिकताबाट के ठानिन् होला ! त्यसबेला त मैले खासै केही सोचिन । अहिले संझना गर्दा – मलाई नमीठो लागेर आउँछ । हामी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुमा त्यसबेला कस्तो अस्वभाविक र अव्यावहारिक कार्यशैली थियो भन्ने कुराको एउटा दृष्टान्त हो – त्यो प्रशंग !

 

पार्टीभित्र सि.पी. मैनाली प्रकरणका कारण अस्तव्यस्तता र अराजकता देखापर्न थालेको थियो । अत्यन्त कडा भूमिगत रुपमा काम गरिरहेको पार्टीले आफूभित्रका गोपनियताहरुलाई त्यसबेलासम्म कडाइका साथ बचाउँदै आएको थियो । सबै नेता तथा कार्यकर्ताहरु पार्टीको गोपनियतालाई जीवनभन्दा पनि मूल्यवान ठान्दथे । तर दुर्भाग्य, मैनालीलाई महासचिव पदवाट हटाएपछि वहाँवाटै केन्द्रभित्रका गोपनियता खोल्ने काम गरियो । आफूमाथि अन्याय भएको र ‘डिथ्रोन’ गरिएको भन्दै विद्यार्थी तथा सांस्कृतिक फाँटका नेता तथा कार्यकर्ताहरु समक्ष सबै कुरा वहाँले खोल्न थाल्नु भयो र उनीहरुसित आफ्नो लागि न्यायको आवाज उठाइदिन एक किसिमले आग्रहसमेत गर्न थाल्नु भयो ।

 

यो स्थितिबाट हामी बडो अप्ठेरो अवस्थामा पर्दै गयौं । पार्टीभित्रका सबै कुरा खुला खुलस्त भन्न पनि नमिल्ने– नभनौं भने सि.पी. मैनालीका तर्फबाट छरिएका कुराहरु बारे केही न केही नबोली–नभनी पनि नहुने अवस्था हाम्रो अगाडि थियो । यो अप्ठेरो स्थितिका कारण पार्टीमा – खासगरी आ–आफ्नो क्षेत्रको पार्टी काममा असर नपरोस् भनेर हामीहरु खासगरी भौगोलिक क्षेत्रको जिम्मा लिएका केन्द्रीय सदस्यहरु दिनरात नभनी आ–आफ्नो ठाउँमा खट्नु पर्ने स्थिति आयो । 

 

पत्तै नपाई विहे गरेर आफू कार्यरत ‘मध्य–दक्षिण’ क्षेत्र आएको एक महिना वितिसकेछ । त्यसबीचमा बेला बेलामा मिरालाई संझनेभन्दा बाहेक मैले अरु केही नै गर्न सकिन । कुनै चिठ्ठी–पत्र लेखिन । त्यसबेला टेलिफोनबाट संपर्क गर्ने कुरा त झनै संभव थिएन । पछि, झण्डै एक महिनापछि, म मध्य दक्षिणको आफ्नो कार्यक्षेत्रबाट पार्टी हेडक्वाटर काठमाडौं आइपुगें । त्यसबेला, म जति जति काठमाडौं नजिक पुग्दै गरेको हुन्थें, त्यति–त्यति मिराको संझना आइरहेको थियो । काठमाडौं पुगेको भोलिपल्ट मिरासित पूर्णशोभाकै दाइको घरमा भेट भयो । त्यसबेला मनमा धेरै कुराहरु भए पनि हामीले भेटेर पनि धेरै कुरा गर्न सकेनौं, सामान्य भलाकुसारीका कुराहरु भए, सञ्चो विसञ्चोका कुराहरु भए । त्यसबेला मिरासित भेट त भयो, तर हामी सँगै भेट्ने, सँगै बस्ने कहीं व्यवस्था थिएन । दुई चार पटक हामीले साथीहरुका डेरामा भेटघाट ग¥यौं । कति असजिलो– कति संकोच ! हाम्रो बीचमा विहे त भएको थियो, तर पार्टीभित्रका सीमित व्यक्तिहरु बाहेक त्यो सम्बन्ध कसैलाई थाहा थिएन, थाहा दिइएको थिएन । कति असजिलो र कति जोखिमपूर्ण पनि थियो त्यो सम्बन्ध ! यस किसिमले हामी बीचको सम्बन्धलाई कतिन्जेल अगाडि बढाउन सक्थ्यौं, हामीहरु !

 

एकदिन मिराले परिवारका सदस्यहरुलाई समेत जानकारी दिएर पुनः विवाह गर्नु पर्ने प्रस्ताव राखिन् । शुरुमा मलाई केही अनौठो त लाग्यो । तर मैले मिराको प्रस्ताव स्वीकार गरें र पार्टीका नेता साथीहरु समक्ष पनि राखें । त्यहाँ मैले मिराको प्रस्तावमा निहीत व्यावहारिक कठिनाइको पाटोलाई प्रष्ट पार्ने कोशिस गरेको थिएँ । मैले जो जोसँग यो कुरा राखेको थिएँ – वहाँहरुले मान्नु भयो । यसरी, दोश्रो पटक, परिवारका सदस्यहरुलाई जानकारी दिएर नै मिरासित विहे गर्ने टुंगो भएको थियो । 

 

तर यो विषयलाई मिराको परिवारसित खासगरी उनको बासित कुरा त गर्नुप¥यो । म मात्रै एक्लै गएर पनि भएन । के गर्ने ? मसित कुरा गर्न को जाने ? त्यसबेला काठमाडौंमा पार्टी कामको प्रमुख रहनु भएका माधव नेपाल तयार हुनु भयो । म एउटा स्कूलमा पढाउने शिक्षक – ‘प्रकाश शर्मा’ र वहाँ मेरो आफ्नो ‘साख्ये दाजु’ (त्यसबेलाको नाम विवेक थियो) जाने टुंगो ग¥यौं । एकदिन दिउँसोतिर हामी गएर कुरा ग¥यौं । माधव नेपालले आफ्नो स्वभाव अनुसार नै टाक्टुक कुरा मिलाउनु भयो । ‘शिक्षण पेशामा लाग्दा पहिलेदेखि नै चिनजान भइरहेको, अलि–अलि समझदारी पनि बनाइसकिएको बुझिन्छ, अब औपचारिकता दिनु आवश्यक छ– ढिलो किन गर्ने ?’ वहाँले यस्तै आशयमा कुरा राख्नु भएको थियो । बासितको हाम्रो कुरामा मिरा पनि सँगै थिइन् । त्यहाँ उनले केही नबोले पनि हाम्रो तर्फबाट राखिएका कुराप्रति उनको समर्थन नै छ भन्ने कुरा सँगै बस्नु भएका बाले पनि लख काट्न कुनै कठिनाई थिएन । बाले ‘अब दुवैजनाको समझदारी नै भइसकेको छ भने त हाम्रो भन्नु केही छैन । तर विहे गर्न साह्रै हतारो गर्दा हामीलाई कति कुरा मिलाउन अप्ठेरो पर्छ कि’ भन्ने कुरा वहाँले स्वभाविक रुपले राख्नु भयो । तर माधव नेपालले आफू ‘काठमाडौंमा साउन महिनासम्म रहने, त्यसपछि वाहिरको काममा केही समय निक्लनु पर्ने भएकाले विहेमा सहभागी हुन कठिनाइ पर्ने, सबै कुरा मिली सकेपछि किन ढिलाइ गर्ने, हामी परम्परागत किसिमले गर्ने होइन, खाली बा–आमाको हातको टिका लगाउने, आशिर्वाद लिने त हो नि ।’ भन्नु भयो । बाले हाम्रो तर्फको जवर्जस्त प्रस्ताव सुनेपछि मिराको राय बुझ्न उनलाई पनि ‘के गर्ने’ भनेर सोध्नु भयो । मिराको त्यसमा सहमति नहुने कुरै थिएन । हामी बीचमा त पहिले नै कुरा मिलिसकेकै थियो । यसरी मिराको घर परिवारमा गएर औपचारिक रुपमा साउन महिनामा विहे गर्ने टुंगो ग¥यौं । मलाई लाग्छ – मिराका बाले हामीबीच समझदारी भइ नै सकेको छ, टुंगोटांगी गरिनै सकेका छन्, प्रस्तावित मिति मान्नुमा नै कल्याण देख्नु भयो । यसरी यो विषयलाई हामीले सहज रुपले नै टुंग्यायौं । मलाई अहिले पनि संझना छ– यसरी कुरो टुंगिए पनि घरबाट बाहिर निस्की कुनै नजिकैको फोटो स्टुडियोमा माधव नेपाललाई बीचमा राखेर मिरा र मैले सँगै फोटो समेत खिच्यौं, जुन अहिले पनि हामीबीत सुरक्षित नै छ । 

 

यसपटकको मिरासितको औपचारिक विहेमा अत्यन्त सानो संख्या जन्तीको रुपमा गएका थियौं । मेरो दाजु बनेका माधव नेपाल, काखकी छोरी सुमनसहित वहाँकी श्रीमती गायत्री र बहिनी वसुधा, स्व. जीवराज आश्रित, अमृत वोहरा, सुरेन्द्र पाण्डे आदि गएका थियौं । बेलुकीको झण्डै सात बजिसकेको थियो । मिराका माइती परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो । संक्षिप्त रुपमा मिराका बा–आमाले टिका लगाई विहेलाई औपचारिकता पुरा गरिदिनु भयो । त्यसबेला भने, देखाउनकै लागि भए पनि मैले मिराका लागि सिंदूर–पोते ल्याइदिएको थिएँ । देखाउन कै लागि गायत्रीसित भएको सानो सुटकेश र वहाँसितै भएका केही गहना तथा लुगाहरु लगेको थिएँ । मिराका बाले मेरा लागि एउटा ‘थ्री पीस सुट’ सिलाइदिनु भएको थियो । कम्युनिष्ट पार्टीको भूमिगत कार्यकर्ता भएका कारण मलाई त्यसबेला त्यो सूट लगाउन कम्ती असजिलो भएको थिएन । 

 

यसपटकको विहेको प्रशंगमा पनि संधैभरि खट्किरहने कुरा भएको छ । मैले सिंदूर–पोतेको लागि सौ–पचास खर्च त गरें । मिराको घरमा देखाउनका लागि गायत्रीजीबाट केही गरगहना र लुगाफाटोको जोहो पनि गरें । तर मिराले नै प्रयोग गर्ने गरी कुनै कुराको व्यवस्था हुन सकेन । पार्टीगत रुपमा गरिएको विहेमा त केही नहुनु अस्वभाविक भएन । तर पार्टीगत परिचय लुकाएर पारिवारिक रुपमा गरिएको औपचारिक विहेको बेलामा समेत केही व्यवस्था नगर्नुलाई के भन्ने ? अव्यावहारिकपन ? वा, केटाकेटीपन ? क्रान्तिकारी धङ्गधङ्गीले यस्तो गराएको हुनुपर्छ । मलाई अहिले पनि अचम्म लाग्छ– यस्ता विहेमा मभन्दा अनुभव प्राप्त गरिसक्नु भएका साथीहरु, आफैले समेत यस्तै किसिमले विहे गरी अनुभव बटुलिसकेका नेता साथीहरुबाट समेत यस बारेमा केही सहज गराइएन । मिराले अहिले पनि त्यसबेलाको कुरा संझदा व्यक्तिगत जिन्दगीको त्यो ऐतिहासिक औसरमा समेत संझन गरिरहने कुराहरुबाट समेत आफू बंचित हुनु परेको भन्ने गरेकी छन् । 

 

मिरासित विहे त गरियो । तर जाने ठाउँ, उनलाई लैजाने ठाउँ कहीं थिएन । त्यस रात झलनाथ खनालले पार्टीको महासचिवको रुपमा भूमिगत रुपमा प्रयोग गरिरहनु भएको कालिमाटीको डेरामा गइयो । त्यो डेरा त्यसबेलाको भूमिगत पार्टीको ‘हेडक्वाटर’ थियो । जे.एन.की श्रीमती रविलक्ष्मी चित्रकार, त्यहींको अलिक धेरै सक्रियता राख्ने स्थानीय कार्यकर्ताका साथै अमृत साइन्स क्याम्पसजस्तो ठाउँमा पढाउने भएका कारणले वहाँ नियमित त्यो डेरामा रहँदा खुल्ने संभावनाको अंदाज गरिएकोले वहाँ चाहिं बेलाबेलामा त्यहाँ आउने तर मिरा भने काठमाडौंको दक्षिण–पश्चिम इलाका (थानकोटदेखि कीर्तिपुर, पाङ्गा हुँदै दक्षिणकाली गाविस क्षेत्र सम्मको इलाका) मा केन्द्रीत भएर पार्टी काम गर्ने, केही परको स्कूलमा पढाउने र खुला रुपमा शिक्षक संगठनमा संलग्न भएका कारण पार्टीको हेडक्वाटर रहेको त्यो डेरामा ‘कभर’का रुपमा रहने निर्णय पार्टीले गरेको थियो । यही व्यवस्था र योजनाअनुसार विहेको राती हामी महासचिव जे.एन.खनालको डेरामा बस्न पुग्यौं । मिराले उनको कान्छो भाइ दीपकलाई विश्वास गरेर डेरा देखाइदिने सहमती भएको थियो । अचम्म त के भने विहे गरेर बस्न आउने डेरामा ओड्ने–ओछ्याउने, पकाउने–खाने भाडाकुँडाहरुको समेत केही व्यवस्था थिएन । मिराले माइतमा आफूले प्रयोग गरेका कतिपय सामानहरु अघिल्लो दिन नै ल्याएर व्यवस्था गरेकी थिइन् ।  

 

यसपटक पनि मेरो अव्यावहारिकता नराम्ररी उदाङ्गिएको थियो । विहे गरेर झण्डै रातीको दश बजे डेरामा श्रीमतीलाई ल्याइयो । एक किसिमले नयाँ ठाउँमा, नयाँ व्यवस्थापनमा रहने बस्ने टुंगो भएको छ । तर आफू भने भोलीपल्ट विहानै कार्यक्षेत्रमा हिंडिहाल्ने योजना बनाइएको छ ! यो थाहा पाएपछि मिराले भनेकी थिइन् – ‘तपाई आजै हिंडिहाल्ने ?’ उनको यो प्रश्नमा एकै पटक धेरै कुरा निहित थिए । तर त्यसबेला मैले बुझ्ने–महसूस गर्ने कुनै प्रयास नै गरिन । पछि कुनै दिन मिराले मलाई सुनाएकी थिइन् – पारिवारिक समारेह गरी विहे गरेपछि उनले केही आफन्तजनहरु, आफूले पढाइरहेको स्कूलका शिक्षक–शिक्षिकाहरुलाई आफूले विहे गर्ने भनेर औपचारिक जानकारी दिइसकेकी रहिछन् । दुई–चार दिन छुट्टी लिएर बस्ने योजना बनाएकी रहिछन् । तर मैले भने यी स्वाभाविक कुरालाई ख्यालै नगरी कथित आफ्नो ‘कार्यक्षेत्र’मा हिंडिहाल्ने फैसला सुनाएको थिएँ । मेरो त्यस्तो अस्वभाविक र संगति नमिलेको व्यवहारका कारण मिरालाई लोग्नेले छोडेर हिंडेको खाली कोठामा न बसिरहनु, न विहे भनेर दुई–चार दिन नआउने भनी जानकारी गराइएको स्कूलमा जानु, न त माइत नै जानु– अत्यन्त असहज र अन्यौलमा रहनु परेको थियो । मलाई अहिले पन िसंझना गर्दा कस्तो कस्तो लागिरहन्छ । पार्टी कामको नाममा त्यसबेला हामीमा रहेको अव्यावहारिकता र काँचोपन बाहेक केही थिएन त्यस्तो व्यवहार । पछि पछि पनि मिराले त्यो प्रशंग उठाउँदा मलाई मनमा कता कता घोचे जस्तो भइरहन्छ, एक किसिमले मनै नमीठो भइरहन्छ । 

 

त्यसबेला मध्य दक्षिण क्षेत्रीय कमिटीको सचिव भएर काम गरिरहेको मैले अमृत बोहरा मेची क्षेत्रमा सरुवा हुनु भएपछि मैले ‘मध्य उत्तर’ भनिने वागमती क्षेत्रको प्रमुख भएर आउनु प¥यो । यो कामको हेरफेरले मिरासितको मेरो भेटघाटलाई केही सरल र सहज त बनायो । काठमाडौं वडा नं १९ स्थित पोडे टोलको डेरामा जहाँ हामी लामो समयदेखि भूमिगत काम गर्ने हेडक्वाटरको रुपमा प्रयोग गथ्र्यौं, त्यहींको एउटा कोठामा हाम्रो ‘डेरा’ बनाइयो । प्राप्त भएको यो ‘अनुकुलताबाट’ हामी दुबै खुशी भयौं । भेटघाट केही छिटो हुने, व्यक्तिगत कुराहरु पनि थोरवहुत गर्न पाइने औसरका कारण हामी दुबैजना खुशी भएका थियौं । त्यसबेला मिराले मैले निजी रुपमा प्रयोग गर्ने केही वस्तुहरु – एउटा न्यानो रेडिमेड कमिज, दारी काट्ने सेभिङ्ग सेट, सजिलोसित बोकेर हिड्न सकिने झोला आदि किनिदिएकी थिइन् । यसरी, त्यो डेराबाट हामी पारिवारिक जीवन बारे बोध गर्न थालेका थियौं । 

 

त्यो ‘डेरा’लाई पनि हामी अनौठो किसिमले प्रयोग गथ्र्यौं । हामी जस्तै अप्ठेरो झेल्दै गरेका अरु पनि केही जोडी थिए । प्रायः सबैका श्रीमतीहरु कुनै न कुनै पेशामा संलग्न थिए । त्यो पेशा भूमिगत कामको लागि एक किसिमले आवरण थियो । श्रीमानहरु प्रायः सबै पार्टीका पूर्णकालीन, भूमिगत कार्यकर्ता वा नेताहरु थिए । क्षेत्र–क्षेत्रको काम एक सरो सम्पन्न गरेर काठमाडौंस्थित पार्टीको हेडक्वाटरमा जो पहिले पुग्थ्यो– उसैले त्यो कोठा प्रयोग गथ्र्यो । कहिलेकाहीं एकैपटक त्यस्तो स्थिति भएका साथीहरु पुग्दा भने कठिनाइ हुन्थ्यो । जे होस्, विहे पश्चातको केही समय हामीले यसरी नै वितायौं । पारिवारिक रुपमा वैधानिकता प्राप्त गरी गरिएको मिरा सितको दोश्रो विहे पछिका दिनहरु केही अनौठो लाग्ने गरी धेरै अव्यावहारिकता, जोखिम र असहजताका साथमा व्यतित हुँदै गए । 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0