ईन्द्र, ‘सबैको जय होस्’ !

ईन्द्र सित टेलिभिजनको ‘टक शो’ ‘बहस’ कार्यक्रमबाट म परिचित हुन थालेको हुँ । त्यो भन्दा पहिले उनलाई मैले देखेको थिइन– उनका बारेमा खासै सुनेको पनि थिइन ।
 

ईन्द्रले संचालन गरेको टेलिभिजनको ‘टक शो’ ले नजानिंदो र अनौठो किसिमले मेरो ध्यान आकृष्ट हुन थालेको थियो । तिखो किसिमले प्रस्तुत हुने, (यसै कारणले केही छुचो प्रस्तुति जस्तो पनि लाग्ने !) ईन्द्रको आँखा, अनुहार र बेलाबेलाको भाव भंगिमाले समेत यही लाग्थ्यो – मलाई । (तर उनीप्रतिको यो मेरो समग्र मूल्याङकन भने थिएन– त्यसबेला पनि) । उनी कार्यक्रमका लागि विषय– सन्दर्भको जानकारी राख्ने र राम्रै तयारीका साथ उपस्थित भएका हुन्थे । अभिव्यक्ति–प्रस्तुतिमा मात्र होइन, सन्दर्भ सामग्रीहरुको संकलनका साथ उपस्थित हुने उनको ‘बानी’ प्रति पनि मेरो ध्यान तानिंदै थियो । यस्तै यस्तै कुराको आधारमा कार्यक्रमका ‘गेस्ट’ सित अलि बेसी नै ‘आक्रामक’ भए जस्तो पनि लाग्थ्यो– कहिलेकाहीं त !
 

कार्यक्रमहरु कै माध्यमबाट ईन्द्रलाई चिन्दै गर्दा हाम्रो पार्टी सितै सम्बन्धित एकजना जिम्मेवार कानून व्यवसायीले उनको बारेमा केही जानकारी गराएका थिए– घर झापा, ‘ल क्याम्पस’बाट बी. एल. गरेको, राजनीतिक हिसावले अलिक अस्थिरता भएका (कहिले मण्डलेहरु तिर पनि नजिक हुन अप्ठेरो नमान्ने, नेपाल विद्यार्थी संघको साथसंगत पनि रुचाउने, अखिलका कुनै कुनै साथीहरु सित पनि ‘हाइ हेलो’ चल्ने गरेको आदि) । यी कानुन व्यवसायी साथीबाट पाएको जानकारीले त ईन्द्रका बारेमा किरिङ्ग मिरिङ्ग विम्ब पो बन्न पुग्यो मेरो दिमागमा । अर्थात् ‘क्यारिरिष्ट’ र ‘औसरवादी’ चरित्र  रहेछ ईन्द्रको भन्ने लाग्दै गयो मलाई । ल क्याम्पसबाट अखिलको राजनीति गर्दै एकस्तरको अखिलको नेता भैसकेका एकजना भाइले पनि उनका बारेमा यस्तै सूचना र जानकारी भरिदिएका थिए– मेरो दिमागमा । माथि उल्लेख गरिएका कानून व्यवसायी साथीले त एकदिन यस्तो पनि भनेका थिए– ‘ईन्द्रले संचालन गरेको टी. भी. को ‘टक शो’ कार्यक्रममा त म जाँदा पनि जान्न, किनभने उसले कानून व्यवसायीको ‘इथिक्स विपरित’ गएर कार्यक्रम संचालन गरिरहेको छ’ । मैले उनको भनाइमा रहेका सबै अन्तर्य त बुझ्न सकिन, कानून व्यवसायीभित्र हुनु पर्ने– रहनु पर्ने ‘इथिक्स’ को संसार बारे मलाई राम्ररी थाहा हुने कुरै थिएन । तर आमरुपमा नेपाली समाजमा ‘वकिलहरु’बाट हुने गरेका कतिपय नकारात्मक कामहरु बारे ती ‘वकिल’ साथीले ‘वकिलहरुका इथिक्स’ बारे भन्दै गर्दा दिमागमा भने एकाएक सिनेमाका रिल जस्तै घुमेका थिए । यस्तै यस्तै परिप्रेक्ष्य र प्रसंगसहित ईन्द्र लोहनीको व्यक्तित्वको एउटा ‘विम्व’ मेरो दिमागमा विकसित हुँदै थियो ।
 

संचार माध्यमहरुमा विशेष रुचि राख्ने खास खालका साथीहरुको संख्या हाम्रो पार्टीमा नभएको होइन । त्यस्ता साथीहरुले आफुलाई संचारकर्मीहरुका विशेष रुचिका विषय बनाउनु स्वभाविक नै भयो । यसै क्रममा ईन्द्रले ती साथीहरुलाई आफ्नो कार्यक्रममा ल्याउने काम गरिनै रहे । ईन्द्रका कार्यक्रममा ती साथीहरु कति खरो उत्रिन सक्नुभयो – त्यो बेग्लै कुरा हो । तर प्रायः ती सबै कार्यक्रममा ईन्द्रलाई भने मैले खरो किसिमले प्रस्तुत भएको देखें । राष्ट्रिय राजनीतिको विश्लेषणमा मात्र होइन, पार्टीभित्रकै कतिपय राजनीतिक–सांगठनिक प्रशंगहरुमा समेत गहिरिंदै गएको उनको बुझाइलाई ईन्द्रले देखाउन थालेको मलाई लाग्न थालेको थियो । कार्यक्रम प्रस्तुतिका क्षणमा ईन्द्रबाट देखाइने खरोपन (वा एक हदसम्म छुचो स्वभाव र शैली) लाई ‘इन्काउण्टर’ दिने सोचाइ बलशाली बन्दै थियो ममा त्यसबेला । मेरो यो सोचाइ ‘इन्काउण्टर’ का लागि मात्र थिएन, अनावश्यक देखिएको स्वभाव र शैलीलाई सच्याउन सघाउन पाए हुन्थ्यो भन्ने भावनाले पनि काम गरेको थियो ।
 

दर्जनौंपटक उनको ‘टक–शो’ मा ईन्द्रसित मेरो ‘इन्काउण्टर’ भएको छ । प्रत्येक पटकको कार्यक्रममा ईन्द्र जसरी मसित प्रस्तुत भए वा जसरी आक्रामक र अप्ठेरो पार्ने गरी प्रश्न गरे – मेरो प्रत्युत्तर पनि त्यस्तै त्यस्तै भएको जस्तो लाग्छ । अलिक पछि पछि त ‘टक शो’ मा अलिक खरो खरो किसिमले प्रस्तुत नहुँदा त कता कता कार्यक्रम खल्लो भए जस्तो पो लाग्न थाल्यो । ‘टक शो’ हरु को सन्दर्भमा ईन्द्रसित गाँसिएर मैले आफ्नै मान्यता र अनुभूति हुर्काएको छु ।
 

ईन्द्रले जहिले मलाई आफ्नो कार्यक्रममा बोलाए – मैले उनीसित कार्यक्रमको मूल विषय, सोधिने संभावित प्रश्नहरु, अन्य सहभागीहरु बारे राम्ररी सोधपुछ गर्ने गर्थे । मेरो यस्तो बानी देखेर उनी मलाई प्रायः सोध्ने गर्थे – ‘होइन सर ! मेरो कार्यक्रमदेखि तपाईं डराएको हो कि सजगता अपनाएको ?’ उत्तरमा म हाँस्थे मात्र – के उत्तर दिने म आफै अलमलमा पर्थें । कहिलेकाहिं यस प्रशंगमा ईन्द्रले भनेको म संझिरहन्छु – ‘मेरो कार्यक्रममा आउनु भएको हो कि लडाइको लागि तयारी गरेको !’ ईन्द्रले रमाइलो गरी सोध्ने गरेका भए पनि उनको त्यो प्रश्नले केही सारलाई उठाउन खोजेको जस्तो लाग्थ्यो । मैले उनलाई प्रायः भन्ने गर्थें – कार्यक्रमका लागि तपाईंले गर्ने गर्नुभएको तयारीबाट म पनि प्रभावित भइरहेको कुरा मान्नुस् न ! 
 

ईन्द्रले कहिले मसित एक्लै कार्यक्रम गरेका थिए, कहिले समूहमा विभिन्न पक्षका प्रतिनिधिहरुसित सामूहिक रुपमा । जुनसुकै कार्यक्रममा पनि उनी सहभागी हुन आउनेहरुसित तथ्य–प्रमाणमा आधारित भएर खराखरी प्रश्नहरु गर्थे । यसो गरेर शायद उनी आम जनताले सम्ब्न्धित पक्षसित जान्न चाहेका प्रश्नहरुको सही उत्तर आओस् भन्ने चाहन्थे । म सहभागी भएको प्रायः सबै कार्यक्रमपछि उनले भन्ने गर्थे – ‘आजको कार्यक्रममा बडो मजा आयो सर !’ त्यसो भनेर शायद उनी प्रश्नले मागे अनुसार नै उत्तर आयो भन्न खोजिरहेका हुन्थे । कहिलेकहिं केही दिक्क मानेर ईन्द्रले मलाई यसो पनि भन्ने गरेका थिए – ‘होइन सर ! कतिले त आफ्नो कुरा स्पष्टसित भन्न पनि सक्तैनन् ! नेतैहरुको समेत त्यस्तो दुर्गति देखेको छु ।’ यसो भनेर शायद उनी कार्यक्रम संचालनको क्रममा झेल्नुपरेको अन्तरविरोधलाई व्यक्त गर्न चाहिरहेका हुन्थे ।
 

मैले पटक पटक ईन्द्रको खरो र आक्रामक शैलीबारे कुरा उठाउने गरेको थिए । तर कुनै कुनै बेला भने उल्टै उनले मसित भनेका थिए – साथीहरुले यसपटकको कार्यक्रममा त उल्टै ईश्वर पोखरेलबाट पेलाइ खाइस भनेर साथीहरुले पो भने ।’ उनको त्यो टिप्पणीबाट म आपूmले पनि आफ्नो प्रस्तुतिमा केही सुधार गर्नुपर्छ कि भन्ने लाग्न थालेको थियो ।
 

एकदिन एउटा कार्यक्रममा म कसैसित हात मिलाएर कुरा गर्दै थिएँ – पछाडिबाट कसैले मेरो बायाँ हात समात्यो । हेरेको त ईन्द्र रहेछन् ! हात मिलाउने साथी मसित छुट्टिने बित्तिकै ईन्द्रले केही गम्भीर भएर मसित भने – ‘सर, किताव निकाल्ने, किताव वेस्ट सेलर बनाउने, अनि मैले चाहिं हेर्न पनि नपाउने ? मैले आजै पाउनु प¥यो ।’ कुरा के परेछ भने – कान्तिपुर दैनिकको कुनै शनिवारीय परिशिष्टाङ्कको नयाँ कितावको परिचय दिने क्रममा राजाराम गौतमले मेरो “माघ १९” बारे केही लेखेका रहेछन् र ईन्द्रले त्यो पढेका रहेछन् । संयोगले त्यसैको भोलिपल्ट उनले मलाई भेटेर आफ्नो प्रतिकृया र माग, आफ्नो स्वभाव अनुसार, खरो रुपमा राखेका थिए । मैले उनलाई किताव दिने कबुल गरें । 
 

भोलिपल्ट नै कुण्दालिनी हेल्थ क्लवमा भेटेर उनलाई मैले आफ्नो किताव दिएँ । उनलाई किताव दिंदा मलाई केही खुशी लागेको भए पनि अलि अलि संकोच पनि लागिरहेको थियो । संकोच भावलाई प्रकट गर्ने हिसावले मैले भनेको थिएँ – ‘हेर्नुस् ईन्द्रजी ! म किताव लेख्ने मान्छे होइन, मेरो पहिलो प्रकाशन हो, धेरै कुरा नमिलेका हुन सक्छन्, तपाईंसित टिप्पणीको आशा गरेको छु ।’ मेरो भनाइ सुनेपछि ईन्द्रले आफ्नो स्वभाव अनुसार भनेका थिए – ‘ह्या सर ! देख्दै यति राम्रो किताव निकाल्ने, अनि नजान्ने भन्ने – यो त मिलेन सर !’ त्यसको एक हप्ता नबित्दै ईन्द्रले मलाई फोन गरे – राती झण्डै साढे नौ बजेको हुँदो हो ! फोन किताबको प्रतिकृयाको लागि रहेछ । ईन्द्र आफ्नो स्वभाव अनुसार फोनमा बोल्दै थिए – किताव सारै राम्रो छ, सर ! खुला खुलस्त छ – सारै खुलेर आफैभित्रका समस्याहरुको पनि उल्लेख गर्नुभएको छ । तर केही केही ठाउँमा भने लेखक होइन – एमालेको खाँटी कार्यकर्ताको हिसाबले शब्दहरु प्रयोग गर्नुभएको छ । शब्द, भाषा प्रयोग गर्दा पनि उचाइको ख्याल गर्दा राम्रो हुन्छ सर ! राम्रो छ, अरु पनि यस्तै किताव लेख्नुपर्छ है सर ! कि नेताहरुले किताव लेख्न शाही प्रतिगमन नै आउनु पर्ने हो ?’ यसो भन्दै ईन्द्र फोनमै आफ्नो स्वभाव अनुसार ठूलै हाँसो हाँसेका थिए । त्यहीबेला मैले उनलाई ‘संभव हुन्छ भने आफ्नो प्रतिकृया लिखित रुपमा दिनुस् न’ भनेको थिएँ । कितावका बारेमा धेरै पाठकहरुका टिप्पणीहरु कतै छापिएर आएका थिए, कतिले लिखित रुपमा हातैमा दिएका थिए । ईन्द्रको प्रतिकृया यसै क्रममा मैले चाहेको थिएँ ।
 

नभन्दै, एकदिनको भेटमा ईन्द्रले आफ्नो तीन पेजको टिप्पणी मेरै हातमा दिएका थिए । यो टिप्पणी नछपाउनु होला, कितावको दोश्रो संस्करणमा सम्भव हुन्छ भने मिलाउन, नभए अर्को किताव निकाल्दा ख्याल गर्नुहोला भनी मित्रवत सुझाव दिएको’ आदि यस्तै आसय व्यक्त गरेका थिए, उनले । कस्तो विडम्वना ! आज मैले चाहेर पनि ईन्द्रलाई भेट्न सक्तिन, उनका टिप्पणी, सुझाव र आलोचनाहरु पाउन सक्तिन । उनी लगायत मेरो पुस्तकका बारेमा लेखिएका लगभग पचास प्रतिशत टिप्पणी लिखतहरु मेरो आफ्नै अव्यवस्थाका कारण हराइसकेका छन् । ईन्द्रको टिप्पणी त्यही समुहमा परी बेपत्ता भएको भर्खर मात्र थाहा पाउँदै छु । मेरो ‘माघ १९’ को दोश्रो पटक मुद्रण भएको छ, तर यही अव्यवस्थाका कारण मैले संपादन नगरी केबल पुनःमुद्रण मात्र गर्नु प¥यो । मेरो यो अयोग्यता ईन्द्रप्रति मैले गरेको अपमान पो हो कि भनेर बेला बेलामा आफैलाई घोच्ने गर्छ– दुख्ने गर्छ ।
 

ईन्द्रको कार्यक्रमको एउटा–दुइटा प्रशंगले मलाई भावविभोर र रोमान्चित तुल्याएको थियो । माओवादी लडाकुहरुका शिवीरहरुमा ईन्द्र जब आफ्नो कार्यक्रमको टीम सहित पुगेर उनीहरु सित प्रतिक्रिया– अन्तर्वाता लिइरहेका थिए– त्यो दृष्य र त्यो परिवेशले मलाई अत्यन्त भावविभोर तुल्याएको थियो । त्यहाँ उनले माओवादी छापामारहरुको स्थिति र अवस्था, उनीहरुका प्रस्तुति र आग्रहलाई अत्यन्त जीवन्त ढंगले प्रस्तुत गरेका थिए । यस्तै, पूर्वाञ्चलका खासगरी कोशी नदीको कटानको त्रासदी र त्यसका कारण विस्थापित हजारौं जनताको विचल्लीको कारुणिक दृष्य, त्यहाँका पीडितहरुको दृष्य र प्रतिक्रियालाई ईन्द्रले अत्यन्त जीवन्त किसिमले लाखौं दर्शक सामु ल्याएका थिए । उड्दै गरेको हेलिकप्टरको ढोकालाई एक हातले समाउँदै अर्को हात पीडितहरुलाई विदाइको अभिवादन गर्दै जब ईन्द्र उड्दै थिए – त्यो दृष्य साँच्चै अद्भूत र अविस्मरणीय थियो । ईन्द्रले प्रस्तुत गरेका यी दुइटा कार्यक्रमका विषयमा पछि केही साथीहरुका बीचमा छलफल चलेको थियो । प्रायः सबैले ती अद्भूत, रोमान्चकारी र अविस्मरणीय दृष्यहरु सहितको कार्यक्रमका बारेमा आफ्नो सकारात्मक प्रतिकृया नै व्यक्त गरेका थिए । तर केहीले भने कार्यक्रमको “इथिक्स” सित गाँसेर ईन्द्रले आपूmलाई त्यसरी प्रस्तुत गर्नु उचित नभएको कुरा समेत राखे । साथीहरुका यस्ता कुराप्रति मैले खासै प्रतिकृया त व्यक्त गरिन तर बहस–छलफलका क्रमम प्रयोग गरिने “इथिक्स” शब्दले भने ममा एक किसिमको तनाव र चिडचिडाहट पैदा गराएको थियो । असामयिक निधन हुनुभन्दा केही समय पहिले प्रशारण गरिएको त्यो कार्यक्रमका दृष्यहरुमा ईन्द्र पछि पछिसम्म पनि हाम्रा संझनाका तरेलीहरुमा बाँचिरहने छन् ।
 

ईन्द्रको असामयिक र दुःखद निधन भएको छ । उनीप्रति नागरिकहरुको सद्भाव, सम्मानलाई उनको शवयात्रामा स्वतःस्पूmर्त रुपमा हजारौंको उपस्थिति र व्यक्त श्रद्धाभावले प्रकट गरेको छ । धेरै मानिसले भनेको मैले सुनें – ईन्द्रको शवयात्रा कुनै लोकप्रिय राजनेताको शवयात्रा जस्तो देखियो !
 

काठमाडौं बाहिर रहेका कारण मैले ईन्द्रलाई अन्तिम श्रद्धाञ्जली दिन त सकिन । पछि पछिसम्म पनि यो संझनाले मलाई शायद चिमोटिरहने छ । ईन्द्रप्रति सच्चा श्रद्धा र सम्मान व्यक्त गर्न कृयाशील साथीहरुको प्रयत्न स्वरुप प्रकाशित हुन लागेको स्मारिकाका लागि तयार गरेको यो सानो संस्मरण तिनै ईन्द्रप्रति मेरो श्रद्धाञ्जलीस्वरुप चढाउन चाहन्छु ......
 

......ईन्द्र ! तिमी संधै भन्थ्यौ – जय होस् ! भौतिक शरीर त मरेर जान्छ, तर सपनाहरु संधै बाँचिरहेका हुन्छन् । तिम्रो ‘जय’ सबैको लागि थियो । त्यसैले म तिम्रो स्वरमा समवेत स्वर मिलाउँदै भन्न चाहन्छु – ‘सबैको जय होस् !’

२०६७ असार

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0