रामकृष्ण प्रजापति बांचिरहनु हुनेछ

कमरेड रामकृष्ण प्रजापतिको दुःखद निधन भएको एक वर्ष पुगेको छ । भौतिक रुपमा उहाँ हामी बीच नरहे पनि उहाँका उदात्त विचार, जनपक्षीय चरित्र, जनताको हीतमा देखापर्ने उहाँको कृयाशीलता, नौजवान–सुलभ जिज्ञासा र जागरुकता, हिम्मत तथा शाहस अनुकरणीय थिए । यिनै विशेषता र चरित्रका कारण उहाँ आफ्नो क्षेत्रका न्यायप्रेमी जनताका बीचमा अत्यन्त लोकप्रिय तथा स्थापित व्यक्तित्व बनिसक्नु भएको थियो । उहाँ परिवारको मात्र नभएर जनताको भरोसा लाग्दो छोरा तथा दाजुभाइको रुपमा समेत परिचित बन्न थाल्नु भएको थियो ।

  पार्टीमा उहाँ आफ्नो ठाउँको स्थापित कार्यकर्ता हुनुहुन्थ्यो । काठमाडौं महानगरपालिकाको सवैभन्दा ज्यादा जनसंख्या तथा विविध स्थिति र अवस्था भएको वडा नं. ४ को पार्टी कमिटीको सचिवको जिम्मेवारीलाई उहाँले अत्यन्त महत्वकासाथ पूरा गरिरहनु भयो । यो जिम्मेवारी उहाँले पटक पटक लिइरहनु प¥यो । यहाँका आम पार्टी कार्यकर्ता तथा सदस्यहरुले उहाँलाई जिम्मेवारीबाट उम्कनै दिएनन् । उहाँ सर्वसम्मत प्रिय कमरेड बनिरहनु भयो । उहाँले आफु दिवंगत हुने बेलासम्म पनि आफ्नो यो जिम्मेवारीलाई पूरा गर्ने कोशिस गरिहनु भयो । 

 कमरेड रामकृष्ण यहाँको स्थानीय किसानका छोरा भएका कारण काठमाडौंका किसानका समस्याहरुका वारेमा पनि राम्ररी बुझ्नु हुन्थ्यो । काठमाडौंका किसानका समस्याहरु कसरी परिवर्तित रुपमा प्रकट भइरहेका छन्, यी समस्याका परम्परागत स्वरुपमा कसरी फेरिंदैछन् र यसले यहाँका किसान जनताका चरित्रमा कसरी प्रत्यक्ष प्रभाव पारिरहेको छ भन्ने कुरालाई उहाँले बुझ्नु हुन्थ्यो र यस सम्बन्धमा उहाँ गहिरो रुचि पनि राख्नु हुन्थ्यो । उहाँमा रहेको यही जानकारी तथा रुचिका कारण नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनसंगठन अखिल नेपाल किसान संघ, काठमाडौं जिल्ला समितिको सचिवमा उहाँ निर्वाचित बन्नु भएको थियो ।

 संगठनमा कृयाशील भएर पनि रामकृष्ण अध्ययनको काममा पनि पछि पर्नु भएन व्यस्तता कै बीचमा उहाँले वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भयो । पढाईमा पनि राम्रै विद्यार्थीमा गणना हुने रामकृष्ण राजनीतिक साँगठनिक व्यस्तताका कारण छुटेको पढाईलाई केही दिनको स्वयं अध्ययन बाटै पूरा गर्नुहुन्थ्यो । स्थानीय तहका सामाजिक कृयाकलापहरुका कारण पनि उहाँलाई समयको व्यवस्थापनमा बढो चापाचाप पर्ने गथ्र्यो । अझ पछिल्लो कालमा त घरायसी जिम्मेवारीका कतिपय विषयमा उहाँले ध्यान पु¥याउनै पर्ने परिस्थिति विकसित हुँदै थियो । यी जम्मै कामका बीचमा समन्वय र तालमेल उहाँको लागि क्रमशः चुनौती बन्दै थियो । तर रामकृष्ण यो चुनौतिलाई स्वीकार गर्दै, यी सवैमा तालमेल मिलाउँदै अघि बढ्न दृढ प्रतिज्ञ देखिनु हुन्थ्यो ।

 भेला, सभा, जुलुश, नारा तथा धर्नाहरुमा मैले रामकृष्णलाई प्रायः सधैं अग्रिम मोर्चामा देखें । यी कार्यक्रमहरुमा साथीहरुलाई उत्साही बनाउँदै लागीरहेको, खटिरहेको रामकृष्णको तस्वीर मेरो अगाडि आउने गर्छ । जनसभाहरुमा उत्साही तथा जुझारु उद्घोषण गर्दै गरेको रामकृष्णको तस्वीर मेरो अगाडि टक्क अडिन्छ । पार्टी राजनीतिलाई सरल तथा सवैले बुझ्ने भाषामा व्याख्या गर्न तत्पर रामकृष्ण एउटा आशालाग्दो कार्यकर्ताको रुपमा विकसित हुँदै गरेको मैले देखेको थिएँ ।

 २०५६ को आम निर्वाचनमा मनमोहन अधिकारीले काठमाडौंका दुइवटा क्षेत्र १ र ३ नं. क्षेत्रबाट उम्मेदवारी दिनु भएको थियो । प्रचार अभियानकै सिलसिलामा बेहोस भई केही दिन पश्चात उहाँको दुःखद निधन भएको थियो । ती क्षेत्रमा उम्मेदवारीको रिक्तता कसरी भर्ने – पार्टी नेतृत्वको लागि एक किसिमले चुनौती नै थियो । परिस्थितिको सवै पक्षमा गंभीर विश्लेषण गरी पार्टी नेतृत्वले मलाई तीन नम्बर क्षेत्रको उम्मेदवार तोक्यो । साँच्चै भन्नु पर्छ – म पार्टी संगठनका क्षेत्रमा विशेष कृयाशील भएर काठमाण्डौ – उपत्यका लगायत देशका विभिन्न भागमा जिम्मेवारी लिएर पुगेको भए पनि जननिर्वाचित  हुने उद्देश्यका साथ कुनै एउटा यस्तो चुनौतीपूर्ण क्षेत्रमा पहिलोे पटक पुगेको थिएँ । मैैले त्यसवेला राष्ट्रिय सभाको ६ वर्षे कार्यकालमा भरखर २ वर्ष मात्र विताएको थिएँ । तर मनमोहन अधिकारीको निधन पश्चात सिर्जना भएको उम्मेदवारीको रिक्तता पूरा गर्न पार्टीले मलाई खटाएपछि मैले अन्य सवै कुरालाई विर्सेर लाग्नै पर्ने स्थिति पैदा भयो । निर्वाचनरुपी त्यो अभियानमा सरिक हुँदा रामकृष्णलाई मैले एउटा भरोसालाग्दो कमरेडको रुपमा पाएँ । उहाँ यति सकृृयताकासाथ लाग्नु भयो कि  अहिले पनि वहाँको त्यस क्षणको सकृयताका कतिपय दृश्य मेरो अगाडि सलबलाइरहेका छन् । गैरी टोलको जनसभामा उहाँले उम्मेदवारको रुपमा मेरो परिचय गराउँदै गर्नु भएको उद्घोषण तथा उहाँकै विशेष सकृयताका कारण त्यहाँ भएको जनताको विशेष उपस्थितिलाई म विर्सनै सक्दिन । त्योे सभामा रामकृष्णको जोशिलो उद्घोषणले त्यहाँ सहभागी धेरैलाई उत्साही तुल्याएको थियो । 
 मलाई अहिले पनि दुखः लागिरहेको छ – निर्वाचनमा  हाम्रो पार्टीले विजय त हासिल ग¥यो, तर परिणाम आएको केही दिनमै कमरेड रामकृष्ण अस्वभाविक रुपमा पेटको पिडाबाट छटपटिन थाल्नु भयोे । उपचारका प्रारम्भिक प्रयत्न त भए, तर ढिला भएका कारण पेटभित्र हुर्किदै गएको क्यान्सर रुपी महाकालले उहाँलाई नराम्ररी गाँजीसकेको थियो । स्थानीय पार्टी कमिटी, केही सामाजिक संघ, संस्था समर्थक शुभचिन्तकहरुको सहयोगका बाबजुद पनि उहाँ बच्न सक्नु भएन । अहिले पनि मलाई अचम्म लाग्छ – रामकृष्ण अवश्यमभावी मृत्युलाई थाहा पाएर पनि, पीडा कै बीचमा पनि, पार्टी प्रतिको निष्ठामा झन् अटल देखिइरहनु भयो, सकेसम्म हँसिलो भएर भेट गर्न जाने साथीहरुलाई, कमरेडहरुलाई उत्साही बनाइरहनु भयो । 

 त्यसवेलाको एकदिनको दृष्यले अहिले पनि मलाई मर्माहत पारिरहेको छ – एकदिन म असह्य पीडा सहिरहनु भएका रामकृष्णलाई भेट्न गएँ । उहाँ छट्पटाइरहनु भएको थियो । केही घण्टा पहिले मात्र खाएको ‘पेन किलर’ ले असर गर्न छोडिसकेको थियो । उहाँ ‘पेन किलर’ को नयाँ चक्की चाहिरहनु भएको थियो । त्यही बेला म उहाँको छेउ पुगें । परिवारका केही सदस्यहरु हुनुहुन्थ्यो । एकछिन पछि उहाँले लामो सास फेर्दै मेरो हात समाएर भन्नु भयो – “कमरेड पार्टी र आन्दोलनमा लागेर धेरै काम गरौंला भन्ने थियो । म चाँडै मरिहाल्ने भएँ । यति चाँडो मरौंला भन्ने लागेको थिएन । असमयमै मर्दैछु – यसैमा दुःख लागिरहेको छ ।” मैले उहाँको हात दह्रो गरी समाएँ, आँखामा छचल्किएका आँसुलाई रोक्नै सकिन । मलाई त्यसवेला भित्रैबाट भक्कानो फुटेर आएको थियो । मैले त्यसवेला लाचार भएर उहाँलाई भनेको थिएँ – केही हुँदैन, कमरेड नआत्तिनुस् ! तपाईसँग हामी छौं ।” उहाँ फिस्स हाँस्नुभयो । त्यसपछि ‘पेन किलर’ को असरका कारण उहाँ लट्ठीएर बोल्न छोड्नु भएको थियो । यो संझनाले अहिले पनि मेरो मन पिडाले बोझिलो हुन पुग्छ ।

 २०५८ जेष्ठ १८ गते नारायणहिटी राजदरवार हत्या काण्डको खवरले त्यसै रात सवै ठाउँमा सनसनी फैलाएको थियो । अनेकौं अड्कल, आशंका र खतराको संभावनाको कुरा गरिंदै थियो । १९ गते विहानै रामकृष्ण हरि अधिकारीसंगै मेरो डेरामा आउनु भयो । ‘परिस्थिति गंभीर छ के हो – के हो । नेताहरु सुरक्षीत रहनै पर्छ’ भन्दै मलाई सुरक्षाको लागि आफ्नो घरमा लिएर जानु भयो । मलाई आफ्नो घरको गोप्य कोठामा राखेर, मेरो लागि चाहिने सवै आवश्यक चीजहरुको व्यवस्था गरी उहाँ आफु भने बाहिरी परिस्थिति बुझ्न निस्कनु भयो । परिस्थिति आशंका गरिए अनुसार विकसित भएन्, तर कमरेड रामकृष्णको सजगताबाट म अत्यन्त प्रभावित नभई रहन सकिन ।

 जब–जब म कमरेड रामकृष्णलाई भेट्न उहाँको घर पुग्थें । उहाँले म माथि देखाउनु भएको हार्दिकतालाई विर्सनै सक्दिन । आफैं अगाडि बढेर सम्मान र सत्कार गर्ने, उठिरहेका राजनीतिक विषयमा आफ्ना जिज्ञासालाई राख्ने र चित्त नबुझुञ्जेल तर्क गरिरहने उहाँको बानीबाट म अत्यन्त प्रभावित बनेको छु । उहाँलाई म जब जब भेट्थें, मेरो मनमा ‘यस्तो मान्छेलाई पार्टीको–आन्दोलनको नेतामा विकसित गर्न पाए हुन्थ्यो’ भन्ने लोभ जागी हाल्थ्यो । तिनै लोभी आँखा अहिले पनि रामकृष्णहरुको खोजीमा भौतारिरहेका छन् । 

कमरेड रामकृष्ण प्रजापति हामी बीच सधैं सधैं बाँचिरहनु हुनेछ ।

०६१/०२/२७
 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0