मेरो संझनामा मुकुन्दबहादुर श्रेष्ठ

मैले जनकपुरमा विद्यार्थी राजनीति गर्न थालेपछि मुकुन्दबहादुर श्रेष्ठका बारेमा सुन्न थालेको थिएँ । उहाँ ‘कम्युनिष्ट विचार लिएको विद्यार्थी नेता हो’ भन्ने थाहा पाएर म उहाँप्रति आकर्षित भएको थिएँ । त्यसवेला हामीलाई जनकपुरमा कम्युनिष्ट सिद्धान्तका सम्बन्धमा क्लास लिनु हुने स्व. लेखनाथ शर्माले उहाँका वारेमा कहिलेकाहीं सुनाउनु हुन्थ्यो । त्यसवेला हामीले मुलुकमा कम्युनिष्ट राजनीतिबाट विशेष प्रभावित केही ठाउँहरु मध्ये पाटन (ललितपुर) लाई एउटा महत्वपूर्ण ठाउँ हो भन्ने सुनेका थियौं । २०१५ को प्रथम संसदीय आम निर्वाचनमा जम्मा चार सिटमा विजयी बनेका कम्युनिष्ट पार्टीका उम्मेदवारहरु मध्येका एक तुलसीलाल अमात्य पाटनकै हुनुहुन्छ भन्ने कुरा पनि हामीले थाहा पाइसकेका थियौं । यस्तै, त्यसवेला सिद्धिलालसिंहलाई एउटा चर्चित र उदयमान युवा कम्युनिष्ट नेता भन्ने कुरा पनि हामी बीच विशेष चर्चा हुने गथ्र्यो । यसै प्रशंगमा, त्यहींका नौजवान विद्यार्थी नेता भनेर हामीले मुकुन्दबहादुर श्रेष्ठको नाम सुनेका थियौं । 

 २०२७ मा मुकुन्दबहादुर श्रेष्ठ एकपटक जनकपुर आउनु भएको कुरा मलाई संझना छ । उहाँ त्यसवेला जनकपुरका लेखनाथ शर्माको सम्पर्क र व्यवस्थापनमा आउनु भएको थियो । त्यसवेला लेखनाथजीकै पहल र योजनामा कम्युनिष्ट समर्थक अनेरास्ववियूका अगुवा विद्यार्थीहरुसित उहाँको भेटघाटको व्यवस्था मिलाइएको थियो । हामी त्यसवेला पन्ध्रजना जति उपस्थित भएका थियौं । उहाँले त्यसवेला मोटामोटी रुपमा विद्यार्थी राजनीतिका साथै राष्ट्रिय राजनीतिका सन्दर्भमा केही कुराहरु सुनाउनु भएको थियो । अहिले मलाई लाग्छ – कुराहरु त्यति धेरै स्तरीय नभए पनि त्यसवेला हामी त्यहाँ उपस्थित भएकाहरुका लागि भने अत्यन्त प्रेरणादायी थिए । मैले त्यसवेला भरखर कलेज प्रवेश गरेको थिएँ । त्यसवेला मेरो बुझाइको आधारमा कृयाशीलता भने उल्लेखनीय नै थियो । मेरो त्यस किसिमको सकृयता र पहलकदमीका कारण म सानोतिनो नेता नै भइसकेको थिएँ । मुकुन्दबहादुरजी सितको भेटघाट पछि मेरो कृयाशीलतामा बृद्धि भएको थियो ।

 २०२८ मा म आन्दोलन कै सिलसिलामा झण्डै २ महिना जति जेल परें । पंचायती व्यवस्थाका विरुद्धमा पर्चा छरेको र गतिविधि गरेका कारण म लगायत केही साथीहरुलाई गिरफ्तार गरिएको थियो । त्यसवेला दिइएको यातना र वर्णन गरी साध्य नै छैन । औंलामा पिन रोप्ने, विजुली पंखामा झुण्ड्याएर घुमाउने, बोरामा राखेर लात्ते भकुण्डो गर्ने – के मात्रै गरिएन ! हिरासतको चरम यातना पछि हामीलाई जेल लगिएको थियो । जेलमा रहँदा हाम्रो मनोवल झन् उच्च बनेको थियो । 

 जेलबाट छुटेको केही समयपछि नै मुकुन्दबहादुर फेरि जनकपुर आउनु भयो र त्यसवेला गिरफ्तार भएका केही साथीहरुसित भेटघाट गर्नु भयो । यसपटकको भेटमा मैले उहाँसित धेरै विषयमा खुलेर कुराकानी गरेको थिएँ । 
 पछि हामीले मुकुन्दबहादुर श्रेष्ठ अनेरास्ववियूको राष्ट्रिय अध्यक्ष पदमा निर्वाचित हुनु भएको कुरा थाहा पायौं । आफैंले चिनेको व्यक्ति अनेरास्ववियूको नेता बनेको कुराले हामीलाई खुशी तुल्याएको थियो । पछिसम्म पनि अफशोच लागिरहेको कुरा के छ भने, उहाँलाई अध्यक्ष पदमा निर्वाचित गर्ने राष्ट्रिय सम्मेलनमा हामी जनकपुरका विद्यार्थीहरु प्रशासनिक धरपकडका कारण प्रतिनिधि समेत बन्न सकेनौं । खै, के के चाँजो नपरेर हो – उहाँ अध्यक्ष पदमा रहुञ्जेल मेरो भेट हुन सकेन । पछि, म काठमाडौंमा आएर पढ्न थालेपछि, यहाँको व्यस्तता, जटीलता र विद्यार्थी राजनीतिमा लागेको प्रतिबन्धका कारण सम्पर्क हुन सकेन । त्यसवेला यहाँको जटिलता र नेपालको कम्युनिष्ट आन्दोलनमा शुरु हुन लागेको पृथक क्रान्तिकारी धारको प्रभावले मलाई उहाँसित सम्पर्क गर्ने, सल्लाह गर्दै अगाडि बढ्ने स्थितिको नजिक बन्न दिएन । म, यहीं काठमाडौंमा अध्ययन गरिरहेको भएपनि झापाली क्रान्तिकारीहरुसितको सम्पर्कमा पुगिसकेको थिएँ । म त्यही ‘क्रान्तिकारी लाईन’ को आधारमा आफुलाई राजनीतिमा अगाडि बढाउनु पर्ने निर्णयमा पुगिसकेको थिएँ । 

 २०४७ पुसमा, नेपालको कम्युनिष्ट आन्दोलनका दूइटा महत्वपूर्ण धार – नेपाल कम्युनिष्ट पार्टी (माले) र नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) बीच सम्पन्न एकीकरण पश्चात् गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को साँगठनिक जिम्मेवारी लिने सिलसिलामा जब म उपत्यकाको पार्टी कामको जिम्मेवारीमा पुगें – त्यसवेला मेरो पुनः मुकुन्दबहादुर श्रेष्ठसित भेटघाट भयो ।  पुराना परिचितका नाताले हामीले धेरै विषयमा छलफल ग¥यौं । उहाँ त्यसवेला त्रिभुवन विश्वविद्यालय अन्तरगत पाटन संयुक्त क्याम्पसमा प्राध्यापनको काम गरिरहनु भएको रहेछ । उहाँ नवगठित एमालेको बौद्धिक क्षेत्रमा कृयाशील हुन थालिसक्नु भएको रहेछ । मलाई उहाँप्रतिको पुरानो सम्झना र श्रद्धा जागेर आयो । उहाँ पेशामा रहँदा रहँदै पनि, पार्टीले आफू सरकारमा पुगेको बेला उहाँलाई राजनीतिक नियुक्ती गरी केही संस्थानहरु संचालन गर्ने जिम्मेवारी समेत सुम्पिएको थियो । मलाई अहिले पनि सम्झना छ – एमालेको नौ महिने सरकारको बेलामा म प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएको बेलामा उहाँले आफु कार्यरत संस्थाहरुभित्र देखापरेका समस्याहरुका वारेमा गंभीरताका साथ छलफल गर्नु भएको, त्यसवेला उहाँले ती सस्ंथाहरुमा रहँदै आएको अनियमितता, चुहावट र अन्य किसिमको भ्रष्टताका वारेमा व्यवस्थित रिपोर्टिङ गर्ने, तिनलाई रोकथाम गर्नका लागि विशिष्ट उपायहरु प्रस्तावित गर्ने काम गर्नु हुन्थ्यो । एमालेको भ्रष्टाचार विरोधी छविलाई कायम राख्ने कुरामा उहाँले आफ्नो ठाउँबाट सक्दो भूमिका खेल्नु भएको थियो ।

 पछि उहाँ किड्नीको विमारीबाट थला पर्नु भयो । दुवै किड्नीमा असर परेको थियो । धेरैले उहाँ बाँच्न सक्नुहुन्न भन्दै थिए । तर पार्टीको तर्फबाट उहाँको जीवन रक्षाका लागि संगठित पहल शुरु गरियो । उहाँको जीवन रक्षाका लागि ‘सहयोग समिति’ निर्माण गरियो । त्यसले आर्थिक सहयोग संकलन गर्ने र उपचारको अन्य व्यवस्था गर्ने काम ग¥यो । साथीहरुको एउटा सानो टीम अत्यन्त गंभिर रुपमा काममा जुट्यो । यही प्रयत्नका कारण उहाँ केही महिना लगाएर भारतमा गई गरिएको उपचारबाट तँग्रिनु भयो । कडा औषधीहरुको प्रयोग र विशेष परहेजका कारण उहाँको स्वास्थ्य अत्यन्त कमजोर त भयो तर उहाँको मनोवल तथा पार्टी प्रतिको आस्था र विश्वासमा कुनै कमी आएन । यसमा त उहाँ झन् खरो बनेर देखापर्नुभयो । नियमति औषधी सेवन गर्नुपर्ने, औषधीका कारणले शरीरमा बढ्दै गएको शिथीलता, अपनाउनु पर्ने विशेष सजगता र (कुनै पनि किसिमको प्रदुषणले उहाँलाई ठाडै असर पार्ने हुनाले उहाँको मास्क लगाएर मात्र हिंड्नु पर्ने बाध्यता) आदि कारणले गर्दा उहाँको स्थिति संवेदनशील बन्दै गएको थियो । तर विचित्र ! यस्तो स्थिति हुँदा पनि राजनीतिक गतिविधि र क्याम्पसको प्राध्यापन कार्यबाट उहाँ अलग हुनै सक्नु भएन । हामीले भेट हुँदा उहाँलाई स्वास्थ्यको बारेमा सोधबुझ गरेपनि, पीठ पछाडि भने – उहाँ यति कृयाशील नभए हुन्थ्यो, स्वास्थ्यको ख्याल गरे हुन्थ्यो भन्ने टिप्पणी गरिरहन्थ्यौं । एकदिन यसै प्रशंगमा उहाँसित कुरा हुँदा उहाँले आफू “नाफाको जिन्दगी” बाँचिरहेको, त्यसैले कुनै परबाह छैन भन्नु भएको थियो ।

 मैले उहाँमा एउटा विशिष्ट स्वभाव देखेको थिएँ – जहिले पनि पार्टी र राजनीतिक समस्याकै बारेमा चिन्तित भैरहने स्वभाव देखेको थिएँ । पार्टीको लागि कृयाशील भैरहने, त्यसप्रतिको निष्ठामा नचुक्ने, अटल आस्थामा कुनै कमी आउन नदिने, साँच्चै मुकुन्दबहादुर श्रेष्ठ कमरेडका विशिष्ट गुणहरु थिए । मैले उपत्यकाको पार्टी काममा प्रमुख भएर जिम्मेवारी लिएको बेला उहाँमा यी गुणहरु देखेको थिएँ । मैले उहाँबाट सधैं हार्दिक सहयोग नै पाएको थिएँ ।  

 पार्टीको सातौं राष्ट्रि महाधिवशेनमा उहाँ प्रतिनिधिको रुपमा छानिनु भयो । अस्वस्थ्यताका बाबजुद पनि उहाँ महाधिवेशन स्थल– जनकपुर पुग्नु भयो । उहाँको अस्वस्थ्य स्थितिलाई ख्याल गर्दै उहाँको लागि बस्ने विशेष व्यवस्था मिलाइयो । तर उहाँको स्वास्थ्य स्थिति विग्रँदै गएकाले उहाँ कार्यक्रम स्थलबाट बीचैमा फिर्नु भयो ।

 हामीले जनकपुरको महाधिवेशनबाट फिरेपछि उहाँको स्वास्थ्य स्थिति गंभिर हुँदै गएको थाहा पायौं । उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । पार्टीका प्रायः सवै नेता कार्यकर्ताहरु उहाँलाई भेट्न गइरहनु भएको थियो । पछि त्यहाँ गएर पनि उहाँसित भेट गर्न नसक्ने भएपछि धेरै साथीहरु बाहिरबाट हेरेर फिर्ने गर्न थाल्नु भयो । म दोस्रो पटक अस्पताल जाँदा उहाँलाई बाहिरबाटै हेरेर फिर्नु पर्ने भयो । तर कस्तो संयोग ! त्यस्तो सिकिस्त भएको मानिस सिसाले छेकिएको झ्यालबाट हेरिरहनु भएको रहेछ । मलाई देख्नासाथ बेडबाटै हात उठाउनु भयो । म आफ्नो मनलाई थाम्न सकिन र ‘कमरेड’ भन्दै चिच्याएँ छु । उहाँले सुन्नु भयो – भएन, मलाई थाहा छैन । तर उहाँले हाँसेर हात हल्लाएको भने हेरिरहें । 

 यस पटकको थलापराइबाट उहाँ तंग्रिन सक्नु भएन । केही समयको गम्भिर अस्वस्थ्यता झेल्दै उहाँ वित्नु भयो । उहाँ जस्तो विमारीबाट आक्रान्त बन्नु भएको थियो, त्यसबाट बच्न त प्रायः संभव थिएन नै । तर रोगको आक्रमण पछि पनि, उहाँ जति समय बाँच्नु भयो र जसरी कृयाशील भएर तथा दृढ ईच्छा शक्ति लिएर बाँच्नु भयो – त्यो भने उल्लेखनीय नै मान्नु पर्दछ । धेरैले रोगका बारेमा थाहा पाएपछि ‘अब मुकुन्दबहादुर सकिए’ भन्ने ठानेका थिए । कतिलाई लागेको थियो – उपचार गर्न भारत गए पनि त्यहाँबाट जीवीत फिर्न मुश्किल छ । तर उहाँमाथि मृत्युले तुरुन्तै हात हाल्ने आँट गरेन । उच्च मनोवल कै कारण भारतको लामो उपचारपछि उहाँ फिर्न सक्नु भयो । यहाँ आएपछि पनि रोग झन् संक्रमित नहोस् भनेर मुखमा मास्क लगाएरै, दैनिक रुमपा अत्यन्तै सावधानीपूर्वक सेवन गर्नु पर्ने औषधीहरु नटुटाई मुकुन्दबहादुरजी पार्टी राजनीति र संगठनको काममा कृयाशील बनिनै रहनु भयो । उहाँको सिंगो जीवन आस्था र आदर्शको फहराइरहेको झण्डार जस्तो बनिरह्यो । कृयाशीलतालाई उहाँले कहिल्यै छोड्न चाहनु भएन ।

 हरेक मानिस मरेर त जान्छन् । तर उनीहरुको लोकप्रियता र उनीहरुप्रति जनताले प्रकट गर्ने सम्मान बाँचिरहेको हुन्छ । उसको रिक्ततामा त यी कुराहरु झन् उर्लिएर प्रकट हुने गर्छन । मानिसहरुका भावना र अभिव्यक्तिहरुमा यी छचल्किएर देखा पर्दछन् । कमरेड मुकुन्दबहादुर श्रेष्ठको निधन पश्चात् विभिन्न राजनीतिक पार्टीका नेता – कार्यकर्ताहरु, नागरिक समाजका प्रवुद्ध व्यक्तित्वहरु, बुद्धिजीवीहरु, भूतपूर्व विद्यार्थी नेताहरु र विद्यार्थी आन्दोलनसित सम्बन्धित नेता कार्यकर्ताहरुका साथै दर्जनौं–दर्जन विभिन्न संगठन, संस्थाका प्रतिनिधिहरुबाट प्रकट भएका भावनामा कमरेड मुकुन्दबहादुर श्रेष्ठको लोकप्रियता र सम्मानको उचाईलाई बुझ्न सकिन्थ्यो । निष्ठामा अविचल, आस्थामा दृढ, कृयाशीलतामा बाँच्न खोज्ने र निरन्तरताको अर्को नाम – मुकुन्दबहादुर श्रेष्ठ नेपालको कम्युनिष्ट आन्दोलनका विद्यार्थीहरुका लागि सधैं सधैं प्रेरणाको स्रोत बनिरहनु हुनेछ । मुकुन्दबहादुर श्रेष्ठ मरेर त जानु भयो, तर उहाँले उठानु भएको आदर्शको झण्डा नौजवान क्रान्तिकारीहरुका लागि मार्ग दर्शक बनिरहने छ । 

०६१/०२/१७

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0