जनकपुरका जनप्रिय नेता– पाण्डवराज घिमिरे

मैले जनकपुरमा स्कूल पढ्दाका प्रारम्भिक दिनमै पाण्डवराज घिमिरेलाई जनकपुरका चर्चित नेताको रुपमा थाहा पाएँ । जनकपुरमा चर्चा पाएका धेरै नेताहरु प्राय ः सवै ‘काँग्रेसी नेताहरु’ का रुपमा चिनिन्थे । तर पाण्डवराज घिमिरेलाई भने सवैले ‘कम्युनिष्ट नेता’ भन्ने गरेका थिए । मैले सरस्वती हाई स्कूलमा पढ्न शुरु गरेपछि एकदिन धोती–कुर्था–हवाई चप्पल लगाएर त्यतै गल्लीमा दुईचार जना मानिससँग कुरा गर्दै हिंड्दै गरेको बेला पाण्डवराज घिमिरेलाई पहिलो पटक देखेको थिएँ । केही परैबाट उहाँलाई चिनाईदिने संगै पढ्ने साथीले भनेको थियो –‘बुझिस् – कम्युनिष्टका ठूलो नेता हुन्, उनकोमा त मानिसहरु कति आउँछन् – कति !’ उसको यो भनाईले मेरो मनमा एकै पटक अनेकौं प्रतिकृयाहरु उत्पन्न भएका थिए । कम्युनिष्ट भनेको को हुन् – के हुन् – पाण्डवराज जी कस्ता मानिस हुन्, आदि ।
 पाण्डवराज जी बेलाबेलामा मात्र जनकपुर आउनु भएको म चाल पाउँथे । अरु बेला उहाँ कहाँ जानु हुन्छ – के गर्नु हुन्छ – अरुलाई त्यति पत्तो हुन्नथ्यो, शायद । जनकपुरको ब्रम्हपुरी – पिंडारीचोक बीचमा रहेको उहाँको स–सानो घर छेउको बाटो हिंड्दा म प्रायः सधैं एक दुई पटक पुलुक्क त्यता हेरेर हिंड्थें । त्यहाँ प्रायः सधैं मानिसहरुको भिडभाड नै देख्थें । कहिलेकाहीं भने त्यहाँ कोही देखिन्नथ्यो । चकमन्न हुन्थ्यो । यहाँ किन यस्तो भएको होला – मलाई लागिरहन्थ्यो ।

 पछि, म कक्षा दशमा पुग्दा नपुग्दै बेदराज सित परिचय भयो । विद्यार्थी भएर पनि कम्युनिष्ट पार्टीको कुरा बुझेका र सामान्यत, अरुलाई बुझाउन सक्ने, यस बारेमा देश विदेशका धेरै कुरा भन्न सक्ने व्यक्ति थिए – वेदराज ! प्राय ः अनेक गतिविधिमा देखिने – जहाँ पनि पुगिरहने वेदराज त्यसवेलाका दौतरी विद्यार्थीहरुका बीचमा अगुवा नै थिए । मित्रवत रुपमा हामीले संवोधन गर्ने वेदराज – अरु कोही थिएन, स्व. कमरेड विनोद घिमिरे नै हुनुहुन्थ्यो । कम्युनिष्ट पार्टीका बारेमा म लगायतका दौतरीहरुलाई कुरा बताउने क. विनोद पाण्डवराज जीका माहिला छोरा हुनुहुन्थ्यो ।

 क. विनोदकै साथ लागेर म त्यसवेला पटक पटक पाण्डवराज जीको घरमा समेत पुगेको छु । यसरी आउने – जाने क्रम मै पाण्डवराजीले मलाई चिन्न थाल्नु भएको थियो । मलाई उहाँले चिने देखिनै शायद छोरा जस्तै ठानेर  ‘ईश्वर बाबु’ भन्ने गर्नुहुन्थ्यो । मलाई उहाँले गर्ने यो संवोधन आखिरी दिनसम्म पनि कायम रह्यो । त्यसवेलाका जनकपुरमा आयोजना गरिने आन्दोलनका कार्यक्रमहरुमा पाण्डवराज जी देखा पर्ने गर्नुहुन्थ्यो । यही क्रममा उहाँ बेलाबेलामा पक्राउ समेत पर्नु भएको थियो । उहाँ बेला बेलामा पक्राउ पर्नु भएको कुरा म सुनिरहन्थे । एउटा कुरा पाण्डवराजजीको घरमा थरिथरिका यति धेरै मानिसहरुको आवतजावत हुन्थ्यो कि छिमेकका प्रायः सवै मानिस अचम्म पर्थे । कति मानिसहरु आएका होलान् ! कस्ता कस्ता मानिसहरु आएका होलान् ! प्रायः सवैको यही टिप्पणी हुन्थ्यो । 

 पाण्डवराजजीको सिराहामा पारिवारिक सम्बन्ध सम्पर्क थियो । एक समयमा झापा संघर्षको प्रभाव र सम्पर्कका कारण सिराहाको विष्णुपुरकट्टी गाउँलाई चर्चित बनाएको थियो । मणिलाल राई, नरेन्द्र पोखरेल र लहानका हरिहर उपाध्याय आदि ‘झापाली लाइन’ सित सम्पर्कित भएका कारण गतिविधिमा तीव्रता देखिन्थ्यो । त्यहाँ आवतजावत गर्ने क्रममा विनोद घिमिरेले ‘झापाली क्रान्तिकारीहरु’ सित सम्पर्क गर्न पुग्नु भएको थियो । त्यही सम्पर्क अगाडि बढ्दै गएर केही समयपछि नै उहाँ भूमिगत पूर्णकालिन कार्यकर्ता समेत बन्न पुग्नु भएको थियो । पाण्डवराजजीको परिवारको एकजना विनोद घिमिरे झापाली लाइनमा सम्पर्कित भएका कारण उहाँकी दुईटी छोरीहरु जया र विजया समेत त्यो राजनीतिबाट प्रभावित बन्नु भएको थियो । पछिल्लो एउटा काल त यस्तो पनि रह्यो कि पाण्डवराजजीको एउटा परिवारबाट तीनजना भूमिगत पूर्णकालिन कार्यकर्ताको रुपमा जनताको बीचमा राजनीतिक कामका लागि निस्किएका थिए । यो घटनाले त्यो परिवार विभिन्न किसिमले प्रभावित बन्यो । स्वयं पाण्डवराजजी उपर प्रशासनको दृष्टि पहिले पहिले जस्तो उदार देखिन छोड्यो । उहाँ प्रहरी प्रशासनको नजरमा गड्न थाल्नु भएको थियो । २०३२ माघ १७ गते धनुषाको इकराही गाविस अन्तर्गतको मुडिवा गाउँबाट भूमिगत अवस्था मै गिरफ्तार हुनु भएका माधव नेपाल जलेश्वर जेलमा रही राजकाज मुद्दामा बन्दी बनेको बेला पाण्डवराजजीको त्यहीं सम्पर्क भएको थियो । पछि उहाँहरु दुवैजना जेलबाट रिहा भएपछि उहाँहरु बीच एक किसिमको सम्पर्कमा नियमितता मैले देखें । मेरो भूमिगत कालको कार्यक्षेत्र पनि त्यहीं भएका कारण उहाँहरु बीचको सम्बन्ध सम्पर्कलाई मैले बुझेको थिएँ । पछिल्लो कालमा के कुरा प्रष्ट भैसकेका थियो भने पाण्डवराजजी २०३५ पुसमा गठन गरिएको नेकपा (माले) को समर्थक भैसक्नु भएको थियो । एउटा कुरा अहिले पनि म सम्झन्छु, त्यसवेला बेला बेलामा भेट हुँदा तत्कालिन माले पार्टीका कतिपय कुरासित भने उहाँ स्पष्टतः विमति राख्नु हुन्थ्यो । यसरी हाम्रो अभियानमा उहाँ एउटा भरोसा लाग्दो सहयोगी बनिसक्नु भएको थियो । 

 २०३६ भदौको एउटा प्रशंगको सम्झना हुँदा अहिले पनि पाण्डवराजजीको सम्झना ताजा हुन आउँछ । त्यसवेला विद्यार्थीहरुबाट शुरु भएको आन्दोलनले पंचायती व्यवस्था विरोधी राष्ट्रव्यापी आन्दोलनको स्वरुप लिइसकेको सन्दर्भमा राजा विरेन्द्रले “जनमत संग्रह” को घोषणा गरेका थिए । बहुदलीय व्यवस्था वा सुधारिएको पंचायती व्यवस्था यी दुईमा जनमत संग्रह हुँदै थियो । प्रतिवन्धित अवस्थामा रहेका प्रायः सवै राजनीतिक पार्टीहरु बहुदलीय व्यवस्थाको पक्षमा उभिएका थिए । तिनीहरु सवै आफ्नो दलको नाम अगाडि ‘प्र. (प्रतिबन्धित)’ लेखेर काम चलाउन थालिसकेका थिए । यहीवेला नेपालका विभिन्न कम्युनिष्ट समूहहरुले पाँच पूर्व शर्तहरु सहित जनमत संग्रहमा भागलिने राजनीतिक घोषणा गरेका थिए । उनीहरुले ‘जनमत संग्रह’ लाई निर्दलीय पंचायती व्यवस्था विरोधी एउटा अभियानको रुपमा अघि बढाउन चाहेका थिए । सम्पूर्ण राजबन्दीहरुको रिहाई, मौलिक अधिकारहरुको बहाली लगायतका पाँच पूर्वशर्तहरुका साथ राष्ट्रव्यापी आन्दोलनको घोषणा गरिएको थियो । यसरी विरोधस्वरुप आयोजना गरिने विभिन्न कार्यक्रमहरु देशका विभिन्न शहरहरुमा केन्द्रित गरिएको थियो । यी मध्ये जनकपुरलाई पनि एउटा केन्द्र तोकिएको थियो । पाँच पार्टीहरुको संयुक्त विरोध सभामा विभिन्न ठाउँमा विभिन्न नेताहरु तोकिएका थिए । जनकपुरका लागि मनमोहन अधिकारी तोकिनु भएको थियो र जनकपुरको कार्यक्रमको मुख्य संयोजक पाण्डवराज घिमिरे हुनुहुन्थ्यो । 

 अरु ठाउँका जनसभाहरुमा जनताको उपस्थिति के कस्तो रह्यो मलाई यकिन छैन । तर जनकपुरको सभामा पंचायतको विरोधमा नारा लगाउँदै एक लाखभन्दा धेरै मानिसहरुको उपस्थिति थियो । सर्लाही, महोत्तरी, सिन्धुली, सिराहादेखिका हजारौं मानिसहरु त्यहाँ जम्मा भएका थिए । पाण्डवराज घिमिरेको सभापतित्वमा जनकपुरको रंगभूमिमा सम्पन्न उक्त जनसभाले चरौतिर एउटा सन्देश प्रवाहित गरेको थियो । पंचायती शासकहरु तथा तिनका स्थानीय मतियारहरु आत्तिएका थिए । जनताको उत्साहमा उल्लेखनीय रुपमा बृद्धि भएको थियो । यस्तो स्थितिमा, कार्यक्रम आयोजना भएको केही दिनमा नै, कार्यक्रमका मुख्य व्यवस्थापक पाण्डवराज घिमिरेमाथि वारेन्ट जारी भयो, उहाँ केही दिन त्यतै वरिपरि लुक्दै छिप्दै रहनु भयो । त्यसरी बस्न संभव नभएपछि उहाँ अरु निर्वासित नेताहरुसंगै भारतको दरभंगामा निर्वासित हुनु भयो ।

 पाण्डवराजजीको निर्वासित जीवन, थोरै भएपनि, उहाँले त्यसलाई त्यति सहज रुपमा लिनु भएन । असहज अवस्थामै उहाँ देशभित्र आउनु भयो । यसो भनौं – उहाँले विदेशमा निर्वासित भएर बस्नुभन्दा मुलुकभित्रै आउनु पर्ने आवश्यकतालाई महशुस गर्नु भयो । उहाँलाई थाहा थियो – मुलुकभित्र आएमा पंचायती शासकहरुले सहन गर्ने छैनन् । तर पनि उहाँले अवश्यम्भावी गिरफ्तारीलाई स्वीकार गर्नुभयो । 

 तत्कालिन भूमिगत रुपमा कृयाशील नेकपा (माले) ले आफ्नो आधारलाई विस्तार गर्न अनेकौं, आवरणीय संगठन – संस्थाहरु बनाउने र त्यसै अनुसारका गतिविधिहरुलाई अगाडि बढाउन थालेको थियो । खासगरी २०३६ सालको जनआन्दोलनबाट तत्कालिन माले पार्टीमा यो चेतना विकसित भएको थियो । अनेकौं किसिमको जनवर्गीय, पेशागत तथा व्यावसायिक–सामूदायिक संगठनहरु निर्माणमा मालेको ध्यान जान थालेको थियो । यो अभ्यासका कारण तत्कालिन मालेको संगठन विस्तार अत्यन्त उल्लेखनीय रुपमा भइरहेको थियो । यसैक्रममा, मानव अधिकारको विषयलाई पनि महत्वकासाथ उठाउनु पर्ने विषय मालेले ठान्यो । प्रजातन्त्र र मानव अधिकारको विषयमा विशेष किसिमले लाग्नु पर्ने आवश्यकतालाई देखेर ‘मानव अधिकार संरक्षण मंच’ को गठन गर्ने काम तत्कालिन नेकपा (माले) ले ग¥यो । पाण्डवराज घिमिरे उक्त मंचको संस्थापक अध्यक्ष बन्नु भएको थियो । भनिरहनु पर्दैन्, भूमिगत रुपमा कृयाशील माले पार्टीको खुला फाँटको एउटा चर्चित नेता बन्न पुग्नु भएको थियो पाण्डवराज घिमिरे । बहुदलीय व्यवस्थाको पुनस्र्थापनाको आन्दोलनमा ‘मानव अधिकार संरक्षण मंच’ को उल्लेखनीय भूमिका रहेको छ । 

 पंचायती निरंकुशता विरोधी प्रजातान्त्रिक आन्दोलनमा तत्कालिन नेकपा (माले) ले गरेको एउटा अभ्यास विशेष उल्लेखनीय रहेको छ । पंचायतलाई ढाल्न पंचायतलाई नै उपयोग गर्ने, भन्ने निर्णय अनुसार नेकपा (माले) ले त्यसवेला पंचायतका विभिन्न तहमा ‘जनपक्षीय उम्मेदवार’ उठाएको थियो । २०४३ को राष्ट्रिय पंचायत तथा स्थानीय तहका पंचायती निकायमा पार्टीले आफ्ना मान्छेहरुलाई ‘जनपक्षीय’ उम्मेदवारको रुपमा उठाएको थियो । त्यसवेला ‘माले’ पार्टीले ७५ जिल्लाहरु मध्ये ५४ जिल्लामा झण्डै २० हजार जनपक्षीय उम्मेद्वारहरुलाई उठाएको वा समर्थन गरेको थियो । राष्ट्रिय पंचायतदेखि स्थानीय तहका पंचायती निकायहरुमा उठाइएका उमेद्वार मध्ये एउटा उल्लेखनीय संख्याले पनि जीत हासिल गरेको थियो । भूमिगत पार्टीले शुरु गरेको यो अभियानमा पाण्डवराज घिमिरे एउटा योद्धा बनेर मैदानमा उत्रिनु भएको थियो । २०४३ को पंचायती आम चुनावमा धनुषा जिल्लाबाट पार्टीले उहाँलाई राष्ट्रिय पंचायत सदस्य पदको लागि जनपक्षीय उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो । त्यो चुनावमा पंचायती व्यवस्थाका संगठित अपराधीहरुका अगाडि उहाँले विजय हासिल गर्न सक्नु भएन तर सिंगो धनुषा जिल्लामा ‘जनपक्षीय’ राजनीतिको लहर भने उठेको थियो । यो अभियानपछि पाण्डवराजजीको प्रतिष्ठामा थप बृद्धि भएको थियो । 

 २०४६ को ऐतिहासिक जनआन्दोलनको बेला जनकपुर क्षेत्रमा पाण्डवराजजीको भूमिका उल्लेखनीय रह्यो । उहाँले त्यस क्षेत्रमा संयुक्त जनआन्दोलनका लागि खासगरी नेपाली काँग्रेससितको सहकार्यका लागि एउटा स्रोतको रुपमा काम गर्नुभयो । काँग्रेसी वृत्तभित्र पनि पाण्डवराजजीको एउटा सम्मानजनक चिनारी थियो । उहाँको भूमिकालाई स्वीकार गर्नै पर्ने स्थिति थियो, त्यसवेला उहाँको संयोजनकारी भूमिकालाई सवैले सह«ाएका पनि थिए । 

 बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि २०४८ मा सम्पन्न प्रथम आम निर्वाचनमा नेकपा (एमाले) ले पाण्डवराजजीलाई धुनषा क्षेत्र नं. ५ बाट पार्टीको उम्मेद्वार बनायो । नेपाली काँग्रेसको चरम धाँधली र गुण्डागर्दीका बाबजुद उहाँ निकट्तम प्रतिद्वन्दी बनेर पराजीत बन्नु भयो । तर उहाँको मान्य व्यक्तित्वमा काँग्रेसीहरुले कुनै आँच पु¥याउन सकेनन् । 

 २०४९ माघमा सम्पन्न नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशनमा उहाँ प्रतिनिधिको रुपमा सहभागी बन्नु भएको थियो । त्यसवेला पार्टीभित्र प्रजातान्त्रिक विधिद्वारा निर्देशित हुँदै संचालन गरिएको वैचारिक छलफललाई उहाँले स्वीकार त गर्नु भयो, तर विवादको क्रममा देखापरेको अस्वस्थ्यतालाई भने उहाँले उचित ठान्नु भएन ।  

 पछिल्लो कालमा, पार्टीभित्र संचालन हुने वैचारिक विवादले उहाँलाई केही केही अलमल बनाएकै हो । उहाँ वैचारिक विवाद स्वस्थ्य किसिमले संचालन होस् र तिनले पार्टीलाई नयाँ स्तरमा सुदृढ बनाउन सकोस् भन्ने चाहनु हुन्थ्यो । वैचारिक विवाद पार्टी नेतृत्वमा रहनु भएका यो वा त्यो नेताको व्यक्तित्वको टक्करको रुपमा प्रस्तुत हुनुहुन्न, त्यसरी चित्रित हुनुहुन्न भन्ने चाहनु हुन्थ्यो । त्यसवेला पार्टीभित्र चलेको वैचारिक विवादमा प्रकट भएको अस्वस्थ्यताले उहाँलाई नराम्ररी चोट पु¥यायो । यसैको परिणाम स्वरुप उहाँमा केही केही निराशा र निस्कृयता पनि देखा पर्दै गयो । 

 छैटौं राष्ट्रिय महाधिवेशनले उहाँलाई पार्टीको केन्द्रीय सल्लाहकार समितिको सदस्यमा चयन ग¥यो । उहाँले आफ्नो पदीय जिम्मेवारीलाई राम्ररी बहन गर्न थाल्नु भयो । खासगरी पार्टी विभाजनको विरोधमा उहाँ दृढताका साथ उभिनु भयो । तर केही समयपछि भने छैटौं राष्ट्रिय महाधिवेशनको सेरोफेरोमा एमालेभित्र चलेको अस्वस्थ्य विवाद र त्यसको दुःखद परिणामले उहाँलाई एक किसिमले विचलित नै तुल्यायो । विभाजनको प्रशंगमा गाँसिएर प्रकट भएका केही संवेदनशील विषयले उहाँलाई नराम्ररी आक्रान्त पा¥यो । उहाँले खासगरी राष्ट्रियता सित गाँसिएर उठाइका विषयलाई अत्यन्त गंभीरतकासाथ लिनु भएको थियो । एउटा स्थितिमा क. पाण्डवराज त्यो विन्दुमा पुग्नु भएपनि उहाँ विभाजनबाट अत्यन्त दुःखीत हुनुहुन्थ्यो । त्यसको केही समयपछि नै उहाँले आफुलाई “कतै पनि छैन” भन्ने स्थितिमा पु¥याउनु भयो । त्यही वीचमा, एक पटक मसितको भेटमा, आफु कतिपय विषयमा असन्तुष्टि भएपनि विभाजनबाट दुःखीत भएको र विभाजित अवस्थामा कुनै पनि जिम्मेवारीमा नरहेको कुरा समेत बताउनु भएको थियो । त्यसवेला पनि समय समयमा हामी बीच भेटघाट भइनै रह्यो । उहाँले “ईश्वर बाबु” भन्दै मसित धेरै कुराहरु गरिरहनु हुन्थ्यो । त्यही बेला एकपटक मैले आफु बसेको ठाउँमा समेत लिएर गएँ । हामीले त्यस राती अवेलासम्म बसेर कुराकानी ग¥यौं । मैले उहाँको निराशामा केन्द्रित हुँदै कतिपय कुराहरु राख्न चाहें । उहाँले आफुले प्राप्त गरेका अनुभवहरु सुनाइरहनु भयो । 

 पछि, अस्वस्थ्यताकै बीचमा कमरेड पाण्डवराज घिमिरेको देहावसान भयो । दुर्भाग्यवश पार्टी राजनीतिको लामो यात्रामा भेटघाट र कुराकानी भैरहे पनि उहाँको निधनको बेला उहाँप्रति मैले अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाइन । म जबजब कमरेड पाण्डवराजलाई सम्झन्छु, त्यो कुरा मलाई खट्किरहन्छ । पाण्डवराज कमरेडलाई सम्झानासाथ म उहाँको जनकपुरको सामान्य घर, त्यहाँ आईरहने थरिथरि मानिसहरुको घुईंचो, सवैप्रति उहाँको समान किसिमको उदार ब्यबहार, हामी सवैले आदरपूर्वक आमा भनी संवोधन गरिने अत्यन्त सरल स्वभावकी उहाँकी अर्धाङ्गिनी, स्व. कमरेड विनोद घिमिरे, कमरेड जया र विजया आदिको सम्झना आइनै हाल्छ । घरमा आक्कलझुक्कल भेटिनु हुने उहाँका कान्छा छोरा कुमार अजु र सञ्जुलाई पनि म सम्झन पुग्छु । कुलराजजीसित जब जब भेट हुन्छ – एउटा पुरानो साथी भेटिएको अनुभव हुन्छ ।

 अहिले हामीबीच कमरेड पाण्डवराज घिमिरे त हुनुहुन्न । तर उहाँको जनपक्षधरता र सादा जीवनले हामी सवैलाई प्रभाव पारिरहेकै छ ।


२०६०/११/१५

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0