म कसरी कम्युनिष्ट भएँ ?

 मैले थाहा पाउँदा मेरो परिवारको वर्गीय स्थिति निम्न मध्यम किसान वर्गमा खस्कंदै थियो । झण्डै दश जनाको परिवार संख्या, गंभीर अस्वस्थताले आज होकि भोली हुनु भएको बा, नहुर्किसकेका तीन जना– दाई, दिदी र मैले खासै उत्पादनमूलक श्रममा भाग लिन सक्दैनथ्यौं । दुई जना हुर्किएका दाईहरु भविष्य सपार्न मधेशतिर झरिसक्नु भएको थियो । चालिस वर्ष भरखर पूरा गर्नु भएकी मेरी आमाले घर धन्धादेखि मेलापातका काम समेत भ्याउनै पर्ने बाध्यात्मक स्थिति थियो । खेतवारीमा बाली नाली लगाउने र उठाउने बेलामा केही केही खेताला खोज्नै पथ्र्यो । यसको जोहो गर्न पनि आमा प्रायः भालेको डाकमा घरबाट निस्कीसक्नु हुन्थ्यो । कतिपटक त विहानीपख हामीले आमालाई ओछ्यानमा नभेट्दा ‘आमा, आमा’ भन्दै रोएको सम्झना अहिले पनि आउँछ ।

 पन्ध्र मुरी जति धान फल्ने खेत थियो । झण्डै यतिनै जति पाखा बाली फल्ने बारी थियो । परिवारको अरु आयश्रोत केही थिएन । बस् .... यतिले नै हामी परिवारिक गुजारा चलाइरहेका हुन्थ्यौं । पुग नपुग अरु सितको सरसापटमा हाम्रो परिवार धानिदै थियो ।

 मेरा बा आखिरी जीवनतिर आइपुग्दा स्थिति खस्केर यो ठाउँमा पुगेको थियो । पुराना ऐतिहासिक अभिलेखहरुमा समेत उल्लेख गरिएको छ – पृथ्वीनारायण शाहले शुरु गरेको नेपालको पुनः एकिकरणमा हाम्रा पुर्खाहरुले उल्लेखनीय सहयोग पु¥याएका थिए र त्यसबापत मनग्गे विर्ता समेत पाएका थिए । उक्त विर्ताको रहलपहल मेरा बाको समयसम्म आइपुग्दा विभिन्न कारणले करिव सकिएको थियो । यसरी विपन्नताले हाम्रो परिवार गाँजिदै गएको थियो । म परिवारको कान्छो छोरा भएकाले पनि निरन्तरको आफ्नो खस्कक्दो अवस्थाको भुक्तभोगी बनेको थिएँ । बाबु–बाजेहरु विर्तावाल भएको, आर्थिक हैसियत भएको, सम्पन्नताकासाथ रहेको कुरा मैले कहिलेकहीं सुनेपनि खस्कक्दो आर्थिक अवस्था र पारिवारिक विपन्नताका कारण मेरो बाल्यकाल त्यो स्थितिबाट प्रभावित बनेको छ । यही अवस्थामा २०१८ पुसमा मेरो बाको निधन भएको थियो । 

 मैले आफ्नो पढाईको प्रारम्भ जनकपुरमा न्यून वेतनिक सरकारी कर्मचारीको रुपमा रहनु भएको दाइकोमा बसेर गरें । 
 म आफ्नो जन्मथलो विकट पहाडी जिल्ला ओखलढुंगाबाट जनकपुर झर्दा १० वर्ष पुगेर ११ वर्ष लागेको थिएँ । विलकुल पहाडको सामाजिक परिवेशमा वाल्यकालका प्रारम्भिक दिनहरु विताएको मलाई त्यसवेला जनकपुरको वातावरण अनौठो लागेको थियो । भौगोलिक बनौट, मानिसहरु, रहनसहन, बोली भाषा आदि सवै मेरा लागि अत्यन्त अनौठो लाग्ने खालका थिए । जनकपुर बजारमा पहिलो पटक प्रवेश गर्दै गर्दा मलाई लागेको थियो – म एउटा अजंगको घना वस्तीमा प्रवेश गर्दैछु । त्यसवेला तत्कालिन सोभियतसंघको विशेष सहयोगमा जनकपुर चुरोट कारखानाको निर्माण भैरहेको थियो । यसरी, २०२० को पुस महिनामा जनकपुर रुपी अनौठो संसारमा मेरो प्रवेश भएको थियो । 

 पहाडबाट झरेको ६ महिना वित्दा नवित्दै मलाई त्यहींको एकजना भारतीय शिक्षकले पढाउने गरेको ‘घरेलु पाठशाला’ मा भर्ना गरिएको थियो । डेरा नजिकै रहेको, त्यही पढ्ने गरेको मेरै उमेरका वृषेशचन्द्रलालको सहयोगमा म त्यहाँको ‘निमगाछी’ मा पढ्न जान थालें । अग्लो, कालो अनुहार, व्यवहारमा कठोर देखिने ‘काइस्त मास्टर’ ले मलाई पढाएका थिए । म प्रत्येक दिन ओछ्याउने बोरा, झोलामा काठको पाटी, एउटा–दुईटा किताव र कापी बोकेर डराउँदै डराउँदै ती माष्टर सामु पुग्थे । सम्पूर्ण रुपमा हिन्दी भाषामा पढाउने ती माष्टरको कुरा मैले धेरै समयसम्म बुझ्दै बुझिन । ‘मूँहजमानी’ (किताव नहेरी कण्ठ सुनाउनु पर्ने पाठ) छ कि छैन भनेर उनले सोद्धा मेरो एक किसिमले सातो नै जान्थ्यो । म पहाडे केटोले, भाषा नै नबुझ्ने विद्यार्थीले कसरी हिन्दीमा लेखिएको कितावको पाठ ‘मूँह जमानी’ सुनाउनु ! पाठ सुनाउन माष्टरका अगाडि उभिनु मलाई कालका अगाडि उभिए जस्तो हुन्थ्यो । त्यसवेलाका पाठका अरु कुनैपनि अंश म अहिले सम्झन्न तर त्यसवेलाको एउटा कुराको भने संझना अहिले पनि ताजै छ । पढाई शुरु हुने बेलामा ती माष्टरले हिन्दीमा हामी सवैलाई उभ्याएर राष्ट्रिय गीत गाउन लगाउँथे – “जनगण मन हे नायक भारत भाग्य विधाता ......” र पाठको बीच बीचमा “हमारा प्रधानमन्त्री जवाहरलाल नेहरु .....” भन्ने लेखिएका अंश उनले हामीलाई सुनाउँथे । यी कुराको, त्यसवेला मैले खासै केही अर्थ बुझ्न सकेको थिइन । बेलाबेलामा जनकपुर भारतकै अंग पो हो कि जस्तो पनि लाग्थ्यो । ती माष्टरले हामीलाई प्रत्येक दिन क्लास छुट्ने बेलामा ‘पाहाडा’ घोकाउँथे । शुरुका केही दिन मलाई अप्ठेरो लागेपनि लयात्मक लाग्ने भएका कारण पछि पछि मन पर्दै गयो । एक किसिमले यातनादायी पढाईका ती दिन मैले विताएँ । 

 त्यहाँबाट निस्कँदा मैले कक्षा चार पास गरेको प्रमाणपत्र पाएको थिएँ । त्यसपछि जानकी मिडिल स्कूलमा कक्षा ५ मा मेरो नाम लेखाइयो । म अहिले पनि संझन्छु – जानकी स्कूलमा पुग्दा मैले स्वतन्त्राताको सुखद सास फेरेको थिएँ । त्यहाँ पढ्ने विद्यार्थी तथा शिक्षकहरु, पाठ्य पुस्तकहरु, अन्य समग्र वातावरणले मलाई अत्यन्त प्रभावित बनायो । त्यहाँ पुगेपछि मात्र मलाई जनकपुर नेपालकै भूभाग हो भन्ने लाग्यो ।

 पाँच र छ कक्षाको पढाई पछि मैले जानकी स्कूल छोडेर जनकपुरको चर्चित सरस्वती हाइस्कूलमा कक्षा ८ मा नाम लेखाएँ । सरस्वती हाई स्कूलमा पुगेपछि मेरो ज्ञान, चेतना र गतिविधिहरुको क्षितीज केही उघारिएको थियो । त्यहाँ हामी सहपाठी – दौंतरीहरुका बीचमा मुलुकको राजनीतिक स्थितिको वारेमा केटौले हिसावले नै भएपनि कुराकानीहरु हुने गथ्र्यो । हामी प्रजातन्त्रका वारेमा पनि कुराहरु गथ्र्यौ । यही सिलसिलामा वि.पी. कोइराला, मनमोहन अधिकारी आदिका वारेमा कुराहरु हुने गर्थे । 

 केही समयपछि नै त्यस्ता कुरा गर्नेहरु मध्ये धेरैका विचार र आचरणलाई देखेपछि ती व्यक्तिहरु मलाई ठीक लागेनन् । सामान्य जनतासित र महिलाहरुसित उनीहरुको व्यवहार राम्रो हुँदैनथ्यो । उनीहरु मध्ये धेरै गुण्डागर्दीमा पनि संलग्न हुने र कहिलेकहीं त लुटपाटमा समेत संलग्न हुन्थे । भेषभुषा र खानपानमा पनि उनीहरु ठीक थिएनन् । तर कुरा भने प्रजातन्त्रका – काँग्रेसका गर्ने गर्थे । विस्तारी त्यस्ता साथीहरुको साथ मैले छोड्दै गएँ । मैले थाहा पाएँ – ती साथीहरु मध्ये धेरैजना नेपाली काँग्रेससित सम्बन्धित रहेछन् । तिनीहरुको मुखबाट मैले वि.पी. कोइराला, नेपाली काँग्रेस, प्रजातन्त्र, भारत आदिको खुवै नाम सुन्ने गर्थे । म त्यस्ता व्यक्तिहरुबाट टाढिंदै गएँ । नेपालजस्तो सानो मुलुकलाई चीनले हेप्दैन रे भन्ने थाहा पाएपछि म चीनप्रति आकर्षित भएँ । काम गरी खाने मानिसलाई माया गर्ने र साना ठूला सवैलाई बरावरीको दृष्टिकोण कम्युनिष्टले राख्छन् भन्ने थाहा पाएपछि म कम्युनिष्टप्रति आकर्षित हुँदै गएँ । कम्युनिष्ट पार्टी गरीव दुःखीको पार्टी भन्ने थाहा पाएपछि म त्यसैको नजिक हुनुपर्छ भन्ने ठान्न थालें । त्यस्ता साहित्यहरु खोजी खोजी पढ्न थालें । यसै क्रममा जनकपुरका चिनिएका कम्युनिष्ट नेता लेखनाथ शर्मासित मेरो परिचय भयो । उहाँसित म धेरै कुरा सिक्न, बुझन् थालें । यसरी सरस्वती हाईस्कूलको कक्षा आठ देखिनै मेरो संगत कम्युनिष्टहरुसित हुन थाल्यो । 

 जनकपुरको सरस्वती हाई स्कूलमा कक्षा ८ मा पढ्दा म पहिलो पटक राजनीतिक कारणले पुलिसको हिरासतमा पुगेको थिएँ । भारतले नेपालको अविछिन्न भूभाग – सुस्ता र महेशपुरमाथि अतिक्रमण गरेको थियो र त्यसवेला भारतको विस्तारवादी कार्यको देशव्यापी विरोध गरिएको थियो । विभिन्न समूहमा विभाजित भएपनि आ–आफ्ना ठाउँबाट राष्ट्रियता र प्रजातन्त्रका लागि कृयाशील कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु खासगरी नौजवान युवा विद्यार्थीहरु विरोध अभियानमा जुटेका थिए । जनकपुरको विरोध जुलुशमा पुलिसले टियर ग्याँसका धेरै गोला फालेको थियो र लाठी चार्जमा धेरैले कुटाई खाएका थिए । जुलुशको पछि पछि नै लागेको भए पनि पुलिसले दुई लाठी हिर्काएर मलाई पनि मुन्ट्याउँदै लगेको थियो । यो २०२५ को माघ वा फागुनतिरको कुरा हो । त्यसवेला मलाई २ दिनमै छोडिएको थियो । यही सिलसिलामा केही दिन पछिको अर्को कार्यक्रममा मैले पुलिसबाट नराम्ररी कुटाई खाएको थिएँ । त्यसवेला म एक किसिमले थलै परेको थिएँ ।

 २०२६ को आखिरीतिर भारतले नेपालसितको व्यापार तथा पारवाहन सन्धीको म्याद नथपी नाकाबन्दी गरेको थियो । भारतको यस किसिमको कार्यको विरोधमा पुनः देशव्यापी विरोध प्रदर्शन गरिएको थियो । जनकपुरका प्रगतिशील तथा देशभक्त व्यक्तिहरुले भारतीय नाकाबन्दीको विरोधमा प्रदर्शन गरेका थिए । कतिपय भारतीय उत्पादनहरुलाई सार्वजनिक ठाउँमा जलाइएको थियो । म त्यसमा संलग्न भएको थिएँ । पुलिसले प्रदर्शनकारीहरु मध्ये केहीलाई गिरफ्तार गरेर यातना समेत दिएको थियो । त्यसवेला म एस.एल.सी. परीक्षाको सम्मुख थिएँ । झण्डै मेरो परीक्षामा समेत असर गरेको ! कसो – एक हप्ताको सेरोफेरो मै मैले हिरासतबाट छुटकारा पाएको थिएँ ।

 एस.एल.सी. पास भएपछि, म जेहेन्दार विद्यार्थीमा गनिए पनि, प्रमाणपत्र तहमा आर्टस् लिएर पढ्न थालें । विज्ञान विषय लिई अध्ययन गर्न विराटनगरको महेन्द्र मोरङ कलेजमा गएपनि त्यहाँ विद्यमान द्वन्दग्रस्त विद्यार्थी राजनीतिका कारण मैले जनकपुर नै फिर्नु परेको थियो । कलेजमा पुगेपछि मेरो राजनीतिक कृयाशीलता बढेको थियो । कलेजको खुला राजनीति गर्न पाउने वातावरणले मलाई निकै प्रेरित गरेको थियो । म घोषित रुपमा अनेरास्ववियूको सानोतिनो नेता नै बनिसकेको थिएँ । कविता तथा निवन्ध प्रतियोगिता, गोष्ठी तथा सभाहरु, भाषण तथा जुलुशहरुमा मेरो अनेरास्ववियूको विद्यार्थी नेताको हैसियतले उपस्थिति तथा सहभागिता हुने गरेको थियो । 

 २०२८ को विद्यार्थीहरुको राष्ट्रव्यापी संयुक्त आन्दोलनमा मेरो सकृय सहभागिता रह्यो । उक्त आन्दोलनमा हामी अनेरास्ववियूका विद्यार्थीहरुले आन्दोलनलाई अगाडि बढाउन विशेष योजनाकासाथ लागेका थियौं । त्यसवेला संभवतः जनकपुरमा पहिलो पटक हामीले पंचायती सरकारको विरोधमा मसाल जुलुश निकालेका थियौं । म लगायतका केही विद्यार्थी साथीहरु लुकिछिपी आन्दोलनमा नेतृत्व गरिरहेको बेला गिरफ्तारीमा प¥यौं । त्यसवेला हामीले प्रहरी कष्टडीमा पाएको चरम यातनाको वर्णन गरी साध्य छैन । उँधोमुन्टो पारेर पैतालामा कुट्ने, पंखामा झुण्ड्याउने, हातखुट्टा बाँधेर लात्ते भकुण्डो गर्ने – के मात्रै गरिएन ! पहिलो पटक हप्ता–दस दिनको पुलिस कस्टडीको यातनापछि हामीलाई जलेश्वर जेल लागिएको थियो । हाम्रो तर्फबाट जेलमा रहनुभएका विष्णुबहादुर राउत लगायत नेविसंघका अन्य केही विद्यार्थीहरु पनि थिए । झण्डै दुई महिनाको जेल बसाइले मलाई भित्रैदेखि झन् मजबुत बनाएको थियो ।

 २०२९ को शुरुमा कलेजको विद्यार्थी चुनावमा पहिलो पटक सभापति लगायत बहुमत सीट अनेरास्ववियूले जितेको थियो । जनकपुरको रा.रा. क्याम्पसको इतिहासमै यो पहिलो पटक भएको थियो । त्यसवेला आइ.ए.को फाइनल वर्षमा भएकोले म सदस्यको रुपमा मात्र उम्मेदवार बनेको थिएँ । मैले त्यस चुनावमा विजयी विद्यार्थीहरुमध्ये सवैभन्दा ज्यादा मत प्राप्त गरेको थिएँ ।

 मैले जव एस.एल.सी. पास गरी आई.ए. मा अध्ययन गर्न शुरु गरेको थिएँ – त्यसैवेला कम्युनिष्ट सिद्धान्त सम्बन्धी कितावहरु खासगरी चिनियाँ प्रकाशनहरुको मैले अध्ययन गर्न थालेको थिएँ । बेजिङको कम्युनिष्ट प्रकाशन केन्द्र क्योजी सुद्यानसित मेरो आफैं पत्राचार हुन्थ्यो । त्यसैमार्फत म विभिन्न प्रकाशनहरु मगाउने गर्थें । भियतनामी जनताको अमेरिकी आक्रमण विरोधी देशभक्तीपूर्ण युद्धले त्यसवेला मलाई साह्रै प्रभावित बनाएको थियो । यस सम्बन्धी रचनाहरुको अध्ययनबाट मलाई कम्युनिष्ट बन्ने प्रेरणा मिलेको थियो । जनकपुरका प्रतिष्ठित कम्युनिष्ट नेता लेखनाथ शर्मा मार्फत पनि म त्यस्ता कितावहरु पाउँथे । उहाँ कहिलेकहीं हामीलाई क्लास पनि लिने गर्नुहुन्थ्यो । यही क्रममा उहाँले नै मलाई पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो । त्यसवेला रसिद काटेर पार्टी सदस्यता दिइन्थ्यो । मैले त्यसवेला गोजी टक्टक्याएर उहाँलाई पाँच रुपैयाँ बुझाएको छु ।

 मैले जनकपुरबाट आई.ए. पास गरुन्जेल कम्युनिष्ट विचारप्रति मेरो प्रतिबद्धता झन् दृढ बनेको थियो । यसरी २०२१ देखि २०२९ सम्म नौ वर्षको अवधिमा मैले कम्युनिष्ट पार्टीको प्रारम्भिक राजनीति मात्र होइन जनकपुर मै कृयाशील हुने सिलसिलामा कम्युनिष्ट पार्टीको सदस्यता समेत जनकपुरमै प्राप्त गरेको थिएँ । यसरी जनकपुरमा मेरो प्रारम्भिक कम्युनिष्ट राजनीतिको शुरुवात भएको थियो । 

 २०३२ को शुरुदेखि जब मैले ‘को–अर्डिनेशन केन्द्र’ को क्रान्तिकारी राजनीति बोकेर भूमिगत पेशेवर कार्यकर्ताको रुपमा भुमिहीन–गरीव किसानहरुको वस्तीमा जानु प¥यो, संयोगले नै भन्नु पर्छ, मलाई धनुषा नै कार्यक्षेत्र तोकियो । काठमाडौंको पढाई सकेर म घरै नगई सिधै धनुषाका भूमिहीन–गरीव किसानहरुको वस्तीमा पुगेको थिएँ । गरीव–भूमिहीन किसान जनताका बीचमा जाने, उनीहरुसित एकाकार हुने र यसैक्रममा आफुलाई रुपान्तरित गर्नुपर्ने अनिवार्यतालाई आत्मैदेखि स्वीकार गरेर म गाउँ आएको थिएँ । हो, मेरो यो अग्रसारितामा सैद्धान्तिक – राजनीतिक स्पष्टता कम र क्रान्तिकारी भावना ज्यादा प्रकट भएको थियो । म अहिले पनि संझन्छु – त्यसवेला मेरो त्यो भावना यति प्रचण्ड र वेगवान थियो की मैले आफ्ना सवै व्यक्तिगत चाहना र आकाँक्षालाई विर्सेको थिएँ । एक जोर लगाएका लुगा, एउटा लुँगी, कम्युनिष्ट सिद्धान्तका केही रचनाहरु, एउटा नोटबुक र एउटा कलम भएको झोला बोकेर म हिंडेको थिएँ । 

 खुला रहँदा धनुषा, जनकपुरबाट मैले जे कुरा थाहा पाएको थिएँ, सिकेको थिएँ, त्यसले मलाई खासै केही काम नदिने भयो । त्यहाँ मैले विल्कुलै नयाँ शुरुआत गर्नुप¥यो । भूमिहीन–गरीव किसानहरुसित एकाकार भएर मात्रै बुद्धिजीवी–विद्यार्थी क्षेत्रबाट आएका नौजवानहरुले आफुलाई रुपान्तरित गर्न सक्छन् भन्ने कुरालाई मैले मूल मन्त्र बनाएर भूमिगत भएको थिएँ । विद्यार्थी बुद्धिजीवीहरुका लागि श्रमजीवी जनतासित एकाकार हुने कुरा ठूलो परीक्षा तथा चुनौतीको विषय थियो – त्यसवेला । आफुलाई रुपान्तरित गर्न श्रमजीवी जनतासित एकाकार हुनै पर्छ र एकाकार हुन नसक्नेहरु रुपान्तरित हुन सक्तैनन् भन्ने मान्यता थियो । मेरो अनुभवमा श्रमजीवी जनतासित त्यो व्यक्ति मात्र एकाकार हुन सक्छ जसले उनीहरुलाई श्रद्धाको नजरले हेर्न सक्छ र जो उनीहरुसित सिक्न सधैं ललायित रहन्छ । मैले भूमिगत कालका प्रारभ्मिक दिनहरुमा अनेकौं कष्टकर तथा रोमान्चकारी अभ्यासका क्रममा श्रमजीवी जनतासित एकाकार हुने कुरालाई बुझ्न सकें – सिक्न सकें । म कम्युनिष्ट बन्ने यही ऐतिहासिक प्रारम्भ थियो ।


                                                                                                                                                                               ०६०/१२/२७

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0