हामीले ‘को–अर्डिनेशन केन्द्र’ को तेस्रो सम्मेलन कसरी आयोजना ग¥यौं ?

निरंकुश र निर्दलीय पंचायती व्यवस्थाको जग्जगी चलेको बेला हामीले कडा भूमिगत तरिकाले कम्युनिष्ट क्रान्तिकारीहरुको एउटा भेला आयोजना गरेका थियौं । जसलाई हामीर्ल को–अर्डिनेशन केन्द्रको तेस्रो सम्मेलन’ भन्यौं । त्यो सम्मेलन सफलताका साथ सकिएको थियो र यसको ६ महिना नवित्दै हामीले राष्ट्रिय सम्मेलनको आयोजना गरी (११–१४ पुस २०३५ मा) विधिवत ‘नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)’ अर्थात् नेकपा (माले) गठनको घोषणा गरेका थियौं ।

 विभाजित नेपाली कम्युनिष्ट आन्दोलनलाई ‘नयाँ र क्रान्तिकारी ढंगले’ पुनर्गठित गर्ने उद्देश्य राखेर झापा संघर्ष भएको र त्यसैको आधारमा २०३२ जेष्ठमा – अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (माक्र्सवादी–लेनिनवादी)’ अर्थात को–अर्डिनेशन केन्द्र (छोटकरीमा (को.के.) को गठन गरिएको थियो । ‘को.के.’ को गठन संगै त्यसका राजनीतिक–साँगठनिक गतिविधिहरुमा तीव्रता आएको थियो । विभिन्न समूहमा विभाजित कम्युनिष्टहरु पनि सामुहिक रुपले नै एकताबद्ध बन्ने प्रकृया शुरु भएको थियो । यसै क्रममा ४–९ साउन २०३५ मा कोअर्डिनेशन केन्द्र (को.के.) को तेस्रो सम्मेलन आयोजना गरिएको थियो ।

 केही समय अगाडि मात्र पुष्पलालले नेतृत्व गर्नुभएको कम्युनिष्ट पार्टीबाट अलग भई गठन गरिएको ‘मुक्ति मोर्चा’ समूह को.के. मा समावेश भइसकेको थियो । यो एकीकरण पश्चात को.के. ले साँगठनिक रुपमै महत्वर्पूर्ण फड्को मारेको थियो । तेस्रो सम्मेलनमा ‘मुक्ति मोर्चा’ समूहबाट समावेश हुनु भएका कमरेडहरुको समेत औपचारिक प्रतिनिधित्व गराइएको थियो । मदन भण्डारी, जीवराज आश्रित र मोदानथ प्रश्रितले त्यसमा भाग लिनु भएको थियो ।

 को.अर्डिनेशन केन्द्रको यो तेस्रो सम्मेलनको आयोजना धनुषा जिल्लाको क्रान्तिकारी राजनीतिबाट अत्यन्त सचेत र लडाकु भावनाले ओतप्रोत ठेरा–कचुरी गा.वि.स. को कचुरी गाउँको उत्पीडित चमार जातिका भूमिहीन किसानको टोलमा भएको थियो । यो त्यही गाउँ थियो, जसमा मैले २०३२ को शुरुमा पूर्णकालिन कार्यकर्ताको रुपमा भूमिगत काम शुरु गरेको थिएँ । तीन वर्षसम्मको स्थानीय वर्ग संघर्ष र राजनीतिक गतिविधिमा खरो उत्रीएको उक्त गाउँलाई सम्मेलन स्थलको लागि हामीले चयन गरेका थियौं ।

 आजकल जस्तो पार्टीका भेला सम्मेलनहरु त्यती महंगा हँदैन  थिए । तर त्यस्ता कार्यक्रमहरु आयोजना गर्ने कुरा भने अत्यन्त जोखिमपूर्ण हुन्थ्यो । सहभागी कतिपय नेता– कार्यकर्ताहरुको टाउकोमा ईनाम ठोकिएको थियो । प्राय ः सवैलाई पंचायती सरकारले खोजी गरेको थियो । कुनै पनि बेला कोही पनि समातिन सक्थ्यो, मारिन सक्थ्यो । श्रमजीवी जनतामा भरोसा गर्ने र विशिष्ट किसिमले भूमिगत शैली अपनाएर मात्र हामी त्यसबेला आफ्ना गतिविधिलाई अगाडि बढाइरहका थियौं । केही समय पहिलेमात्र अत्यन्त चर्चित नख्खु जेल विद्रोहबाट सी. पी. मैनाली लगायतका कमरेडहरु बाहिर आउनु भएको थियो । सम्मेलनमा जेल ब्रेकबाट बाहिर आउनु भएका कमरेडहरुको महत्वपूर्ण संख्या त्यहाँ उपस्थिति हुँदै थियो । सी.पी. मैनाली, प्रदिप नेपाल, गोपाल शाक्य, माधव पौडेल, बीरबहादुर लामा आदिको उपस्थिति हुने कुराले धेरै सतर्कता अपनाउनै पर्ने भएको थियो । धनुषा मै गिरफ्तारीमा परी राजकाज मुद्दा खेपी भरखर मात्र रिहा हुनु भएका माधव नेपालको हिंड्डुलमा पनि विशेष सतर्कता अपनाउनै पथ्र्यो । भरखरै पुष्पलालको पार्टी छोडी “झापालीहरु” सित एकताबद्ध हुन पुगेका मोदनाथ प्रश्रित, जीवराज आश्रित र मदन भण्डारी माथि खतरै थियो । केही दिन पहिले मात्र संखुवासभाका व्यापारी नारायण श्रेष्ठको ‘एक्सन’ मा संलग्न बासु शाक्य, झापाली रेडगार्डका रुपमा प्रतिकृयावादीहरुले औधी आँखा गाडेका डिल्ली मैनाली, लिला कुँवर तथा धनुषाकै त्यसबेला अत्यन्त चर्चामा रहेका “नक्स्लाइट” अशेश्वर यादव माथि त्यत्तिकै खतरा थियो । धनुषा (जनकपुर) मै लामै विद्यार्थी जीवन विताएर, विद्यार्थी गतिविधिमा लाग्ने क्रममा पटकपटक गिरफ्तारीमा परेको र घर छाडी ‘नक्स्लाइट भएको’ भन्ने चर्चाका कारण म ईश्वर पोखरेललाई पनि हिंडडुल गर्न गा¥है थियो । यी बाहेक स्थानीय रुपमा शत्रुहरुद्वारा विशेष चियो चर्चोमा परेका कतिपय स्थानीय कमरेडहरुले पनि सतर्कता अपनाउनै पर्ने थियो । त्यसमाथि पनि सम्मेलनको लागि निर्धारित गरिएको कचुरीको चमरटोली “नक्स्लाइट गतिविधि” हुने ठाउँ भनेर चिनिएको र मूल बाटोमै परेका कारण कार्यक्रमका लागि जोखिमपूर्ण नै थियो । तर पनि हामीले सम्मेलन त्यहीं गर्ने निधो गरेका थियौं ।

 सम्मेलनमा प्रतिनिधि बनेर आउने कमरेडहरु मध्ये केहीलाई लिन मैले नै जानु परेको थियो । ‘मुक्ति मोर्चा’ समूहबाट को.केन्द्रमा समावेश हुनेहरु मध्ये एकजना ‘जीवन शर्मा’ लाई कार्यरत क्षेत्रमा गएरनै पत्तो लगाउने र ल्याउने जिम्मा मलाई नै दिइएको थियो । त्यसवेला झापामा कार्यरत कालीदास श्रेष्ठको सहयोगले म पूर्वी मोरङका दक्षिणका केही गाऊँ घुम्दै इटहरा पुगेर ‘जीवन शर्मा’लाई भेटेको थिएँ । फिका आकाशे रंगको कमीज र कालो हाफ पाइन्ट लगाएको, काँधमा झोला र कम्मरमा खुकुरी भिरेको र लामा जुँगा पालेको एकजना व्यक्तिलाई भेटेको थिएँ र त्यहाँ मलाई ‘जीवन शर्मा’ उही हो भनेर परिचय गराइएको थियो । दर्विला हात मिलाउँदै लाल सलाम गरेर, सामान्य कुराकानी पछि हामी त्यहाँबाट बाटो लागेका थियौं । उहाँलाई मैले विराटनगरमा रहनु भएका मधव नेपालसित भेट गराएको थिएँ । पछि मलाई थाहा भयो – मदन भण्डारीलाई नै जीवन शर्मा भनेर नाम राखिएको रहेछ ।

 म विराटनगर बाटै सम्मेलनमा प्रतिनिधित्व गर्ने केही कमरेडहरुलाई लिन भारत (उत्तर विहारको मुजफ्फपुर) पुगेको थिएँ । भारतको सी.पी. आई. (एम–एल) सित सम्बन्धित विजय केसरी र सकल ठाकुरको सम्पर्कमा पुग्नु भएका मोदनाथ प्रश्रित, गोपाल शाक्य, प्रदिप नेपाल, जीवराज आश्रित, बासु शाक्यलाई मैले त्यहीं रिसिभ गरेको थिएँ । त्यो दिन मुजफ्फरपुरबाट हिंडेर हामी मधुवनी पुगेका थियौं र धनुषाका नन्दकिशोर यादव नामका विद्यार्थीको डेरामा बास बसेका थियौं । त्यसको भोलीपल्ट मात्रै हामी जनकपुर हुँदै रात पारेर सम्मेलन स्थल कचुरी पुगेका थियौं । म अहिले पनि संझिरहेको छु– भारी वर्षाका कारण स्थानीय जलाद नदीमा आएको भीषण बाढीमा हामीले आफुले लगाएका सवै लुगा खोलेर झोलामा कोचेर तिनलाई टाउकोमा राखेका थियौं । त्यसपछि हिम्मतकासाथ हामीले नदि तरेका थियौं । बाटोमा अत्यन्त सतर्कताका साथ लुक्दै छिप्दै हामी रात छिप्पिई सकेपछि कचुरीको सम्मेलन स्थालमा पुगेका थियौं । सम्मेलनमा सहभागी हुन आउनु पर्ने प्रायः सवै कमरेडहरु आइसक्नु भएको थियो ।

 सानो परालले छाएको घरभित्रका घेरावार भत्काएर ठीकैको हल जस्तो बनाइको थियो । बाहिरको उज्यालोका लागि ढोका बाहेक खेततिर पर्ने बाँसको बार (टाटी) काटेर एक किसिमले झ्याल बनाएका थियौं । अत्यन्त सानो स्वरमा हामीले बोल्नु पथ्र्यो । श्रावण महिनामा वर्षापछि घाम लाग्दा हुने चरम बाफिलो गर्मीले हामी सवै एक किसिमले उसिनीएको महसूस गरिरहेका थियौं । महिला प्रतिनिधि लिला कुँवर र सीता खड्का मात्र हुनु हुन्थ्यो र उहाँहरु त्यस्तो अवस्थालाई कसरी सहन गरिरहनु भएको थियो, कुन्नी । तर प्रायः सवै पुरुष प्रतिनिधि कमरेडहरु भने शरिरका भित्री लुगा मात्र लगाएर बस्न बाध्य हुनुहुन्थ्यो । हरेकका हातमा बाँसले बनाइएका पंखाहरु थिए । लगातारको चार, पाँच दिनको बसाईपछि कतिपय कमरेडका शरीरका छाला उप्किएका थिए । पछि त कतिपय कमरेडहरु नराम्ररी विरामी समेत पर्नु भएछ ।

 पाँच दिनको सम्मेलन अवधिभरि सवै प्रतिनिधि कमरेडहरुले एक छाक एउटा–एउटा गहुँका रोटी खाएर गुजारेका थियौं । हामीले कुनै कुनै छाक मात्र भात खाएका थियौं । सहभागी कमरेडहरुका लागि घर घरबाट जनताले खान जुटाइदिएका थिए ।

 सम्मेलनमा सुरक्षाको प्रश्न हाम्रो अगाडि अत्यन्त गम्भीर थियो र त्यही गंभीरताका साथ हामीले त्यसको व्यवस्थापन गरेका थियौं । त्यसवेला हामीसिम त्यस ईलाकामा भएका दुईटा बन्दुक एउटा भरुवा र अर्को बारबोर (ट्वेल्भवोर) त्यहाँ ल्याएका थियौं । टवेल्वोरका हामीसित पाँचवटा मात्र गोली (टोटा) थिए । भरुवाको लागि केही बारुदको जोहो हामीले गरेका थियौं । लगभग पचास थान घरेलु हतियार (भाला, फर्सा, गँडासा, तरवार, गुप्ती (लामा लौराहरुभित्र लुकाउन सकिने गरी बनाइएका चुप्पी) आदि जम्मा गरिएको थियो ।) यी हतियारहरुलाई हामीले ‘सम्मेलन’ कक्षको वरिपरि उचित व्यवस्था गरी राखेका थियौं । घरेलु हतियार चलाउन जान्ने केही साथीहरुलाई आवश्यक पर्दा प्रयोग गर्ने – शत्रुमाथि जाइलाग्ने – निर्देशन सहित राखेका थियौं । सवै भन्दा बाहिरी घेरामा हामीले लडाकु महिला तथा पुरुषहरुको घेरा बनाएका थियौं । केही घरेलु हतियारकासाथ, हाडहरुद्वारा निर्मित घातक औजारहरु सहित यो घेरामा रहनु भएका साथीहरु तयारी अवस्थामा हुनुहुन्थ्यो । खासगरी लडाकु महिलाहरुको टीमले यसमा विशेष जिम्मा लिएको थियो । चमार जातिका जनताले, गाई गोरु, भैसी, राँगा आदि विभिन्न कारणले मरेपछि त्यसकै मासु खाने र हाडहरु आफ्नै करेसामा राख्ने प्रचलन भएकाले ती हाडहरुको यसरी सदुपयोग भएको थियो । त्यसवेला ‘सम्मेलन’ कक्षको द्वारमा हामीसित रहेका बन्दुक भने विशेष सुरक्षाका साथ राखिएका थिए । चौवीसै घण्टा कार्यक्रम र कमरेडहरुको विशेष सुरक्षाका लागि अनेक विन्दुमा साथीहरु खटिएर लाग्नु भएको थियो । यी बाहेक केही साथीहरु खासगरी ‘बाल रेड गार्डहरु’ लाई हामीले कचुरी गाउँ तथा त्यस वरपर समेत जाँचपडतालका लागि खटाएका थियौं । शत्रुहरुका प्रत्येक गतिविधिमाथि अत्यन्त कडा चियो चर्चो गर्दै उनीहरु कार्यक्रम स्थलको सुरक्षार्थ खट्नु भएका अगुवा कमरेडहरुलाई निरन्तर जानकारी गराइरहेका हुन्थे ।

 एकपटक कार्यक्रम चलिरहेकैबेला टोलमा पुलिसहरुको गस्ती आइपुग्यो । उनीहरु त्यही टोल छेउमा रहेको आराम गर्न बनाइएको सार्वजनिक मचानमा आएर बसे । त्यसको सूचना सुरक्षामा खटीरहेका सवै साथीहरुले थाहा पाउनु भयो । कार्यक्रम संचालन भइरहको स्थलसम्म पनि सूचना आइपुग्यो । सवैको अगाडि ‘अव के गर्ने ?’ भन्ने भयो । हामी सवैले घेराऊ तोड्ने विचार बनायौं । एकातिर कार्यक्रमको औपचारिक प्रकृयालाई जारी राख्ने र अर्कोतर्फ सवैले आ–आफ्ना झोला कस्ने, लुगा लगाउने काम पनि संगसंगै गर्दै थियौं । बन्दुक कसले प्रयोग गर्ने ? रत्नकुमार वान्तवा, मदन भण्डारी र बासु शाक्य अनुभव र कुशलताको आधारमा अगाडि बढ्नु भयो । घेरा तोड्ने र कसरी सुरक्षीत रहने भन्ने वारेमा केही योजनाहरु बनाइए । तर प्रहरीहरुको त्यो जत्था केही बेरको आरामपछि त्यो गाउँबाट बाहिरिएको थियो । वास्तबमा उनीहरु नियमित गस्तीमा आएका रहेछन्, कार्यक्रम वारेको कुनै सुईंको उनीहरुसित रहेनछ । त्यस राती छर्लङ्गै पारेर हामीहरु कार्यक्रम सकेर विदा भएका थियौं । यसरी असुरक्षाको स्थिति भएपनि लडाकु जनताको सकृय भूमिका र सहयोगका कारण हाम्रो त्यो सम्मेलन सफलताका साथ टुंगिएको थियो ।

 को–अर्डिनेशन केन्द्रको तेस्रो सम्मेलनमा राजनीतिक विषयमा अत्यन्त महत्वकासाथ छलफल भएको थियो । हामीहरु उग्रवामपन्थी विचारद्वारा निर्देशित भएर त्यसबेलासम्म सशस्त्र संघर्षको चुरो र तत्काल नगरी नहुने भनेर “वर्ग शत्रु खतम अभियान” लाई राजनीतिक लाईन भन्दै अगाडि बढिरहेका थियौं । सिंगो पंक्ति यसैबाट शिक्षीत–दीक्षित हुँदै आएको थियो । सम्मेलनले यस किसिमको उग्रवामपंथतालाई सच्याउने प्रयत्न गरेको थियो । “वर्ग–शत्रु खतम” लाई “अभियान” को रुपमा उल्लेख गर्न नहुने, वर्गीय तथा राजनीतिक हिसावले ‘शत्रु’ को कोटीमा पर्ने सवैलाई “खतम” गर्ने कुरा गर्नु नहुने, ‘खतम’ गर्नै पर्ने “शत्रु” लाई पनि ‘किटान’ ९क्उभअषथ० गर्नुपर्ने आदि विषयमा केन्द्रित रही सच्याउने कुरा भएका थिए । अन्त्यमा, “वर्ग शत्रु” लाई “खतम गर्ने” शब्दावलीलाई हटाउने र यसको ठाउँमा “जमीन्दार, दलाल” लाई “खतम गर्ने” शब्द प्रयोग गर्ने कुराको निर्णय भएको थियो । यो भन्दा पनि “खतम” लाई अभियानको रुपमा संचालन गर्ने “राजनीतिक लाइन” भन्दै आएकोमा सम्मेलनले “जमीन्दार दलाल खतमको कार्यनीति” भनेर प्रस्तुत हुने कुरा गरेको थियो । आफ्नो राजनीतिक लाइनमा रहँदै आएको गम्भीर कमजोरीलाई सच्याउने सिलसिलामा को–अर्डिनेशन केन्द्रको यो सम्मेलन ‘ऐतिहासिक महत्व’ को थियो । आफ्ना प्रचलित विचार तथा अभ्यासमा महत्वपूर्ण सुधार गरिरहेको बेला निकै धेरै कमरेडहरुले छलफलमा भाग लिनु भएको थियो । त्यसवेला मदन भण्डारी र सी.पी. मैनालीबीच चलेको छलफलले सवै सहभागीलाई विशेष ध्यानाकर्षण गराएको थियो । सम्मेलनले निकालेका राजनीतिक निस्कर्षले कतिपय सहभागी कमरेडहरुलाई एक किसिमले हलुङ्गो महशुस भएको थियो । अव हामी फराकिलो बन्दै छौं भन्ने लागेको थियो । उचित नलाग्दा नलाग्दै पनि अभ्यासका क्रममा बोझको रुमपा बोकेर हिंडिरहनु परेको उग्रवामपन्थतालाई विसाउने महत्वपूर्ण क्रम शुरु भयो भन्ने लागेको थियो, त्यस्ता कमरेडहरुलाई । तर ‘को–अर्डिनेशन’ कै कतिपय व्यक्तिहरुलाई ‘पार्टी’ ले दक्षिणपन्थी दिशा लिएकोमा गम्भीर आपत्ति थियो । त्यस्ता व्यक्तिहरुले “श्रद्धेय नेता चारु मजुमदारको वर्ग–शत्रु खतम लाइन छोडेको” “अन्धराष्ट्रवाद अँगाल्न पुगेको” आदि आरोप सहित पार्टी नेतृत्व प्रति गम्भीर आशंका उठाएका थिए । त्यसवेला नेतृत्वमा रहेका रामचन्द्र यादव र ‘चर्चित’ अशेश्वर यादवहरुले यसको अगुवाइ गरेका थिए । यिनै व्यक्तिहरुले केही समयपछि नेतृत्वका विरुद्धमा “गोलावारी” गर्न आम कार्यकर्ताहरुलाई आह्वान गर्दै पर्चा समेत निकालेका थिए । त्यसवेला एउटा पंक्तिले ‘पार्टी’ सित विद्रोह गरेको थियो, पार्टी छोडेको थियो र पछि पुनः ती सवै राजनीतिबाटै पलायन हुन पुगेका थिए ।

 को. केन्द्रको तेस्रो सम्मेलनले हामीले बोकेको उग्रवापन्थी विचार तथा अभ्यासलाई सच्याउने महत्वपूर्ण प्रारम्भ र प्रयत्न गरेको थियो । व्यवहारकै क्रममा प्राप्त भएका अनुभवहरुको बस्तुनिष्ठ विवेचना तथा सिद्धान्तको अध्ययनको क्रममा यो संभव भएको थियो । नयाँ उर्जा तथा गतिका साथ ‘पार्टी’ पंक्तिले अगाडि बढ्ने अठोट लिएको थियो र त्यसवेला यही सम्मेलनले जीवराज आश्रित र मदन भण्डारीलाई नेतृत्वमा चयन गरेको थियो । जीवराज आश्रित त पोलिट व्यूरोमा समेत चुनिनु भएको थियो ।

 झापा संघर्षमा प्रभावी रहेको उग्रवामपन्थतामा आधारित भएर को–अर्डिनेशन केन्द्रको गठन गरिएको थियो । को.के. को गठनको समयमा मूल रुपले कायम रहेका झापाकालिन उग्रवामपन्थतालाई तेस्रो सम्मेलनले सच्याउने महत्वपूयर्ण कामको औपचारिक थालनी गरेको थियो । नेपाली कम्युनिष्ट आन्दोलनमा बेलाबेलामा प्रकट हुने गरेको निम्न पूँजीवादी गलत प्रवृत्तिको निरन्तरता, राजनीतिक दमन उत्पीडन तथा आर्थिक शोषणको परिवेश तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट परेको अवान्छीत प्रभावका कारण हामीमा संक्रमित उग्रवामपंथतालाई समय मै सच्याउने र सच्याउँदै अगाडि बढ्ने प्रतिबद्धता र दृढताका कारण विभाजीत र विश्र्रंखलित नेपाली कम्युनिष्ट आन्दोलन एकताबद्ध हुँदै अगाडि बढेको र महान तथा ऐतिहासिक सफलता समेत प्राप्त गरेको हो । अहिले नयाँ स्तरमा, नयाँ उचाइमा उग्रबामपंथी विचारहरु अत्यन्त नराम्ररी विस्तारित भइरहेका छन् । यसले मुलुकको कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनलाई मात्र होइन, राष्ट्रियता माथि समेत गंभीर आँच पुग्ने संभावना देखापरेको छ । यस्तो बेलामा नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने सिलसिलामा उग्रवामपंथी विचार तथा त्यसद्वारा निर्देशित अभ्यासका कारण भएका वा हुने खतीका बारेमा अनुभव प्राप्त सवै कमरेडहरुले त्यसका दुस्परिणामलाई गंभीरताका साथ दिंदै वैचारिक प्रतिवादको सशक्त अभियानमा लाग्नै पर्छ । को.के. को ऐतिहासिक तेस्रो सम्मेलन आफैमा रहेको उग्रवामपंथी विचारको खण्डनको महत्वपूर्ण थालनी थियो । 
 
को – अर्डिनेशन केन्द्रको तेस्रो सम्मेलनमा सहभागी प्रतिनिधिहरु 
१) सी.पी. मैनाली
२) माधवकुमार नेपाल
३) जीवराज आश्रित
४) अमृतकुमार बोहरा
५) मदन भण्डारी
६) प्रदिप नेपाल
७) ईश्वर पोखरेल
८) मुकुन्द न्यौपाने
९) मोदनाथ प्रश्रित
१०) गोपाल शाक्य
११) माधव पौडेल
१२) वीरबहादुर लामा
१३) लीला कुँवर
१४) सीता खड्का
१५) डिल्लीकुमार मैनाली
१६) बासु शाक्य
१७) रत्नकुमार वान्तवा
१८) जीवन मगर
१९) हरि नेपाल
२०) अशेश्वर यादव
२१) रामचन्द्र यादव
२२) शीतल झा
२३) विनोद घिमिरे
२४) उत्तम महत
२५) मनोहर

को – अर्डिनेशन केन्द्रको तेस्रो सम्मेलनबाट नेतृत्वमा छानिनु भएका कमरेडहरु 
१) सी.पी मैनाली
२) माधवकुमार नेपाल
३) अमृतकुमार बोहरा
४) जीवराज आश्रित
५) रामचन्द्र यादव
६) मदन भण्डारी 
७) रत्नकुमार वान्तवा 
८) प्रदिप नेपाल
९) मकुन्द न्यौपाने
१०) ईश्वर पोखरेल

 

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0