पार्टी एकता : उत्तर दिनुपर्ने प्रश्नहरू

 
हामी अहिले माओवादी र काङ्ग्रेससँग सहकार्यमा छौँ । अर्थात् यी दुवैसित हामी राजनीतिक सहकार्यमा छौँ । तर, सहकार्य सँगसँगै उनीहरूका गलत विचार, व्यवहार, चिन्तन र प्रवृत्तिका विरुद्ध जुध्न पनि जरुरी छ । हामीहरूले विश्वासका साथ भन्न सक्नुपर्दछ– माओवादी आज सबैभन्दा ठूलो शक्ति भए पनि दर्शन, सिद्धान्त, कार्यक्रम र समग्र आचरणका हिसाबले ऊ यही रूपमा स्थायी शक्ति हुन सक्दैन । विचारमा रहेको अतिवाद र व्यवहारमा रहेको अराजकतापूर्ण क्रियाकलाप छोडेर माओवादी पूर्णरूपमा रूपान्तरित हुनुपर्दछ । हामी चाहन्छौँ– ऊ रूपान्तरण होस् । यदि आवश्यकताअनुसार रूपान्तरण हुन सक्दैन भने माओवादी यही रूपमा रहन पनि सक्दैन । माओवादी वामपन्थी शक्ति हो भनेर लहसिने चिन्तन राख्छौँ कि उसका गलत विचारका विरुद्ध जुधेर उसलाई रूपान्तरण गर्ने कोसिस गर्छांै ? यो हाम्रा अगाडि रहेको महत्त्वपूर्ण प्रश्न हो ।
हामीले नेपाली काङ्ग्रेससँग पनि सहकार्य गरिरहेका छौँ । शान्ति प्रक्रिया नटुगिन्जेल र लोकतान्त्रिक संविधान घोषणा नहुन्जेल यो सहकार्य आवश्यक छ भनिरहेका छौँ । यति हुँदाहुँदै पनि समग्र चरित्रका आधारमा विश्लेषण गर्दा काङ्ग्रेस यथास्थिति र नवउदारवादको पक्षमा उभिने अनि परिवर्तनका कतिपय ‘एजेन्डा’लाई आत्मसात गर्न नसक्ने शक्तिका रूपमा रहेको छ । राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत नगरुन्जेल काङ्ग्रेससितको सहकार्य जति आवश्यक छ, त्यति नै उसको त्यो चरित्र वा कमजोरीसित जुध्न सक्नुपर्छ ।
हामी यस्ता शक्तिका बीचमा सहकार्यमा रहेका बेला उनीहरूका गलत विचारका विरुद्धमा जुध्छौँ कि जुध्दैनौँ ? हामी सहकार्य अगाडि बढाउन चाहन्छौँ । तर, गलत विचार र अनुचित व्यवहारहरूका विरुद्धमा जुधेनौँ भने माओवादीसँगको सहकार्य परिणामदायी हुन सक्दैन । त्यस्तै, यथास्थितिको पक्षपोषण गर्ने काङ्ग्रेसको विचार र व्यवहारका विरुद्धमा जुधेनौँ भने ऊसँगको सहकार्य पनि परिणामदायी हुन सक्दैन । त्यसैले आज हामी जुन सहकार्यको कालखण्डमा छौँ, हाम्रो लडाइँ पनि सँगसँगै चल्छ भन्ने कुरा बुझ्नुपर्दछ । त्यसकारणले पनि एमाले सुदृढ हुनैपर्छ–एकताबद्ध हुनैपर्छ र जनतालाई परिचालन गर्ने अभियानमा जुट्नैपर्दछ । यदि हामीले यी कुरा गर्न सकेनौँ भने अतिवादको प्रभावबाट हामीले मुलुकलाई मुक्त गर्न सक्दैनौँ, जनताले चाहेको परिवर्तन संस्थागत गर्न सक्दैनौँ । सङ्गठन सुदृढीकरण र जनपरिचालनलाई अभियानका रूपमा अगाडि सारिरहेका बेला हामीले अहिलेको यो राजनीतिक वास्तविकतालाई बुझ्नुपर्छ ।
अहिले अभियान चलाइरहेका बेला सबैतिरबाट एमाले एकताबद्ध हुनुपर्दछ भन्ने आवाज उठिरहेको छ । एमाले एकताबद्ध भयो भने मात्रै सङ्गठन सुदृढ बनाउन सकिन्छ र आत्मविश्वास जगाएर जनपरिचालनलाई सकारात्मक परिणाममा पुर्‍याउन सकिन्छ । यदि विभिन्न कारण र बहानामा एमाले एकताबद्ध हुन सकेन भने यो अभियान पूरा हुन सक्दैन भन्ने आमकार्यकर्ता र एमालेलाई माया गर्ने जनताको पनि विश्लेषण छ । त्यसैले हामीले घोषणा गरेको अभियान हाम्रो पार्टीको सुदृढ एकतासँग पनि गाँसिएको छ । एकताको कुराले हाम्रो अभियान सफल बनाउने कुरा पनि सुनिश्चित गर्न सक्दछ ।
भावनात्मक कुरा गरेर मात्रै एमाले एकताबद्ध हुन सक्छ कि सक्दैन ? यो गम्भीर छलफलको विषय हो । हामीले लिएका विचार, निर्णय र कामका बारेमा हजारौँ कार्यकर्ताले छलफल गर्न चाहेका छन् । यदि यी विषयहरूको समीक्षात्मक आधारमा उभिएर नेकपा (एमाले) आउँछ भने यसको सुदृढ एकतालाई कसैले भत्काउन सक्दैन । यिनै मान्यता, चेतना र अडानका साथ हामी जनताका बीचमा पुग्न सक्नुपर्छ । एकताको कुरा गर्दा लेनिनले एक ठाउँमा भन्नुभएको छ– ‘एकता बडो राम्रो चीज हो । तर, एकता लामो–लामो भाषणमा प्राप्त गर्न सकिँदैन, एकता कुनै राम्रो र लामो लेख लेखेर मात्रै प्राप्त गर्न सकिँदैन । एकता भनेको कम्युनिस्ट पार्टी वर्गीय विचार तथा संस्थागत परिचालनबाट च्यूत हुन्छ कि हुँदैन भन्नेमा निर्भर हुन्छ । यी कुराबाट विमुख हुँदा  कम्युनिस्ट पार्टी कमजोर हुन पुग्छ र त्यसभित्रको एकता पनि असम्भव हुन पुग्छ ।’
हामी एमालेभित्र एकताको कुरा गर्छौं भने एमाले वर्गीय विचार र भावनाबाट निर्देशित हँुदै अगाडि बढ्न सक्छ कि सक्दैन र संस्थागत ढङ्गले चल्न सक्छ कि सक्दैन भन्ने कुरालाई प्रमुख रूपमा जोड दिनुपर्ने हुन्छ । यी कुराबाट निर्देशित भएर मात्र एमाले एकताबद्ध भइरहन सक्छ । वर्गीय विचार र संस्थागत परिचालन हाम्रो एकताको आधार हुनै पर्छ ।
हामी एकता चाहन्छौँ । तर, त्यो एकता भनेको के हो र त्यो कसरी प्राप्त गर्न सकिन्छ ? हामीले बुझ्नुपर्दछ– एकता भनेको विचारमा आधारित हुन्छ, नीतिमा आधारित हुन्छ र आचरणमा आधारित हुन्छ । विचार र नीतिभन्दा फरक रहेर एकताको कुरा गर्नु ढोँग र पाखण्ड मात्र हो, एकताको चाहनाले प्रयोग गरिएको ‘प्रिय’ शब्दलाई दुरुपयोग गर्नु मात्रै हो । यस्तो हुँदा एकता व्यावहारिक जीवनमा लागू हुन सक्दैन । हामीले आठौँ राष्ट्रिय महाधिवेशन गर्‍यौँ, लोकतान्त्रिक विधिद्वारा विचारको फैसला गर्‍यौँ र लोकतान्त्रिकरणलाई आत्मसात गरेर आफ्नो साङ्गठनिक जीवनलाई नियमित गर्न चाह्यौँ । र, त्यसैअनुसार विधान निर्माण गर्‍यौँ । त्यसयता हामी सरकारमा गएका छौँ, हामीले दुई पटक सरकारको नेतृत्व गरेका छौँ । यसक्रममा सरकार निर्माण र सञ्चालन प्रक्रियामा राम्रा काम पनि गरेका छौँ । तर, जनताले देख्ने र उनीहरूलाई घोच्ने गरी हाम्रा केही कमजोरी पनि प्रकट भएका छन् । एकताको कुरा गर्दा हामीले गरेका कमी–कमजोरीहरूका बारेमा जनता र कार्यकर्ताका बीचमा छलफल गर्नुपर्छ कि पर्दैन ? त्यसमा खुलस्त आत्मालोचना गर्नु पर्दछ कि पर्दैन ? जबसम्म हामी ती कमजोरीका बारेमा कार्यकर्ता र जनताका बीचमा खुलस्त छलफल गर्न सक्दैनौँ, तबसम्म एमालेभित्र चाहेर पनि राम्रो एकता हुन सक्दैन । 
लोकतन्त्र आइसकेपछि संसद् र संविधानसभामा हाम्रो भूमिकालाई लिएर अनेक ढङ्गले कुराहरू उठेका छन् । हामीले राम्रा काम पनि गरेका छौँ, हाम्रा केही कमजोरीहरू पनि प्रकट भएका छन् । ती कमजोरी कुनै सीमित कमिटीभित्रका लागि मात्रै होइनन्, सिङ्गो मुलुकलाई प्रभावित बनाउने हिसाबले समेत प्रकट भएका छन् । हामीले एकताको कुरा गरिरहेका बेला ती कमजोरीहरूका बारेमा कार्यकर्ता र जनताका बीचमा खुलस्त रूपमा प्रस्तुत हुन सक्छौँ कि सक्दैनौँ ? मेरो विचारमा हामी खुलस्त हुनैपर्छ ।
आठौँ राष्ट्रिय महाधिवेशन पछाडि हामीले नयाँ ढङ्गले पार्टी सञ्चालन गर्ने अभ्यास गर्दै आएका छौँ । यसक्रममा केही उल्लेखनीय राम्रा काम पनि भएका छन्, केही कमजोरी पनि भएका छन् । हाम्रा कमजोरीका कारणले पार्टीभित्र अनेकखालका प्रश्नहरू पनि उठेका छन् । त्यसका बारेमा हामी सम्पूर्ण कार्यकर्ताका बीचमा आत्मसमीक्षात्मक ढङ्गले प्रस्तुत हुन सक्छौँ कि सक्दैनौँ ? मेरो विचारमा हामीले यस्तो गर्नैपर्छ ।
यसबीचमा एमालेका नाममा अनेक खालका अभिव्यक्ति सार्वजनिक भएका छन् । अत्यन्त विसङ्गत र आपत्तिजनक व्यवहारहरू पनि देखिएका छन् । म यो वा त्यो नेताको कुरा गर्न चाहन्न, विचारका नाममा अनेक खाले अभिव्यक्ति आएका छन्, जुन अभिव्यक्तिले एमाले पङ्क्तिलाई धेरै मात्रामा अन्योलमा पुर्‍याएका छन् र विचलित पनि गराएका छन् । आज ‘सुदृढीकरण अभियान’ चलाइरहेका बेला ती तमाम कुराहरूका बारेमा खुलस्त उल्लेख गर्न सक्छौँ कि सक्दैनौँ ? हाम्रा कमजोरी र सबल कुराहरू कहाँ–कहाँ रहे ? हामी प्रस्ट रूपमा प्रस्तुत हुनैपर्छ ।
कम्युनिस्ट पार्टीभित्र संस्थागत परिपाटी कमजोर भएमा नेताहरूले जति भाषण गरे पनि एकता हुन सक्दैन । कम्युनिस्ट पार्टी र यसका प्रत्येक नेता–कार्यकर्ता संस्थागत ढङ्गले चल्नुपर्दछ । मन परेको बेलामा मात्रै संस्थागत निर्णय मानिन्छ र चित्त नबुझेको बेलामा संस्थागत ढङ्गले गरिएका निर्णयहरूलाई तिलाञ्जली दिइन्छ भने त्यसबेला कम्युनिस्ट पार्टीभित्र एकता कमजोर हुन पुग्छ । यसबीचमा एमालेभित्र विभिन्न ठाउँमा माथिदेखि तलसम्म यस्ता समस्याहरू देखिएका छन् । ‘हामी लामो इतिहास बोकेका मान्छे हौँ, इच्छा पर्‍यो भने निर्णय मान्छौँ, होइन भने मान्दैनौँ’ भन्ने चिन्तन, प्रवृत्ति र अभिव्यक्ति जुन–जुन ठाउँमा देखिएका छन्, ती सबै गलत हुन् भन्छौँ कि भन्दैनौँ ? हामीले ती कुराहरूप्रति खबरदारी गरेर मात्र एमालेभित्रको एकतालाई व्यावहारिक साङ्गठनिक जीवनमा अनुवाद गर्न सक्छौँ ।
मान्छेहरूले एमालेमा विचारको पक्ष कमजोर भयो भनिरहेका छन् । जनताको बहुदलीय जनवादलाई ‘जुनबेला जे–जे आइपर्छ, त्यही गर्दै जाने’ जस्तो बनाइयो भन्ने आलोचना भइरहेको छ । मान्छेहरूले प्रश्न गर्दै छन्– ‘जब एमाले सरकारमा जान्छ, त्यसबेला ‘जबज’लाई बिर्सन्छ कि सम्झन्छ ? अनि, जब सरकार छोडेर बल्खुमा आउँछ, त्यसबेला अलिअलि सम्झिएजस्तो गर्छ, जब प्रतिपक्ष बनेर बेला–बेलामा अप्ठ्यारो सहनुपर्छ, त्यसबेला गाउँबस्तीका कार्यकर्ताहरूका बीचमा गएर ‘जबज’लाई ‘क्रान्तिकारी’ रङ चढाएर एमाले बोल्छ ।’ यी प्रश्नहरू बिनाकारण जन्मिएका छैनन् । हाम्रो मनमा जे–जे आउँछ, त्यही–त्यही गर्दै जाने अनि त्यसैलाई विचारको नाम दिने जस्तो कुरा हुन सक्दैन । जबज समाजको शान्तिपूर्ण प्रगतिशील रूपान्तरण गर्ने विचार हो । सिंहदरबारमा गएको बेला, सिंहदरबार छोडेर बल्खुमा फर्केको बेला वा गाउँबस्तीमा कार्यकर्ता/जनताका बीचमा गएको बेला– सधैँ जनताको बहुदलीय जनवादका सन्दर्भमा हाम्रो बुझाइ एउटै हुनुपर्छ । जनताको बहुदलदीय जनवादको अवसरवादी व्याख्या गर्ने अधिकार  कसैलाई पनि छैन र हुन सक्दैन । 
त्यसैले एकताको कुरा गर्दा यी विषयहरूमा वस्तुनिष्ठ समीक्षा हुन जरुरी छ । यसबाट मात्रै एमालेलाई नयाँ स्तरमा एकताबद्ध बनाउन सकिन्छ र एकताबद्ध एमालेले मात्रै मुलुकबाट अतिवाद र यथास्थितिलाई पराजित गर्दै मुलुकलाई अगाडि बढाउन सक्छ । अहिले यिनै कुरामा आधारित भएर नेकपा (एमाले)को पङ्क्तिले आफ्नो अभियानलाई अघि बढाउनुपर्छ ।
(एमाले महासचिव पोखरेलले गत मंसिर २८ गते केन्द्रीय कार्यालयमा आयोजित ‘पार्टी सुदृढीकरण तथा जनपरिचालन अभियान–२०६८’ घोषणा कार्यक्रममा व्यक्त गरेका विचारहरूको सम्पादित अंश)
पबलतष्उगच जभचभ।।।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0