चुनावी घरदैलो कार्यक्रम–कार्तिक १२ गते

नरिवल चढाएर प्रचारमा पोखरेल

बिहान ६ देखि ९ बजेसम्म 
मंगलबार बिहान ६ बजे धुम्बराही पुग्दा एमाले महासचिव ईश्वर पोखरेल उसिनेको चनामा नुन छर्केर खाँदै थिए । बाहिर डेढ दर्जनजति कार्यकर्ता पनि चना चिया खाएर गाडीवरिपरिका मोटरसाइकलमा झन्डा फिट गर्दै थिए । केहीबेरमै अरू कार्यकर्ता आइपुगे । पोखरेलपत्नी मीराले उनीहरूलाई पनि चना पस्किइन् । पोखरेल निस्कनै लाग्दा नमस्ते गर्दै आइपुगे नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा । खतिवडासँग हतारमै केहीबेर गोप्य कुरा सकेपछि उनी हतारमा जुत्ता लगाए र निस्के ।

 

बिहान ७ बजे पोखरेलको टोली बूढानीलकण्ठका लागि घरबाट छुट्यो । अघिपछि डेढ दर्जन मोटरसाइकलको स्कर्टिङमा । महाराजगन्ज नारायणगोपाल चोक हुँदै बूढानीलकण्ठतिर अघि बढ्दा बाँसबारीमा उनको स्वागतार्थ बूढानीलकण्ठबाट करिब डेढ सय मोटरसाइकलमा कार्यकर्ता आइपुगे ।

 

बाजागाजासहित सयौँको भीडबीच उनी बूढानीलकण्ठमा स्थापना गरिएको निर्वाचन प्रचार कार्यालय पुगे, त्यहाँ अर्काे भीड थियो । उनलाई पर्खेर बसेका कार्यकर्ताको समूहले उनलाई खादा र माला पहिर्‍याइदिए । पार्टी प्रवेशका लागि आएको समूह र आफ्नै कार्यकर्ताको समूह कार्यालयमा जम्मा भएपछि नवप्रवेशीमध्येका अगुवा प्रकाश श्रेष्ठले पोखरेललाई भद्रकाली मन्दिरमा पूजा गर्न र बलि चढाउन आग्रह गरे । उनीहरूले नै पूजासामग्री र बलिको बन्दोबस्त गरेका थिए र पोखरेलले भद्रकालीको पूजा गरेर नरिवल चढाए ।

 

पूजा सकेर निस्किँदा बाहिर करिब हजारजतिको भीड जम्मा भएको थियो र भीड नाचगानमा रमाइरहेको थियो । मन्दिरनजिकै सडकमै स्थानीयले तत्कालै केही कुर्सी र ड्यास ल्याएर मञ्च खडा गरे र त्यहीँ पार्टी प्रवेशको कार्यक्रम आयोजना गरियो । पोखरेलसँगैको टोलीमा बूढानीलकण्ठ गाविसका पूर्वअध्यक्ष तथा एमालेका समानुपातिकतर्फका उम्मेदवार बालकृष्ण श्रेष्ठ, पूर्वसभासद् रत्ना गुरुङलगायतका स्थानीय नेताहरू थिए । कोणसभामा पोखरेलले कांग्रेसका क्रियाशील सदस्य तथा स्थानीय अगुवा प्रकाश श्रेष्ठ, मधुसूदन श्रेष्ठ र रवि श्रेष्ठलगायतलाई पार्टी प्रवेश गराए । एक सय २० जना कांग्रेसबाट एमाले प्रवेश गरेको भनिए पनि त्यहाँ ६४ जनाको नाम बोलाएर टीका र माला लगाइएको थियो 

 

मञ्चमा पोखरेलले छोटो भाषण गरे र नवप्रवेशीहरूलाई आफ्नो पार्टीका तर्फबाट गाउँमा थप योगदान गर्न आग्रह गरे । ‘अब हाम्रो पार्टीमार्फत यस ठाउँका लागि अझ योगदान गर्नुस्,’ पोखरेलले भने, ‘यो क्षेत्रमा सशक्त प्रतिनिधि छान्नुस् । चुनाव हारूँ वा जितुँ म यहीँको बासिन्दा भएकाले यो क्षेत्रको शिर गिर्न दिन्नँ र यहाँको विकासका लागि आफ्नो राजनीतिक हैसियत पनि प्रयोग गर्छु ।’

 

कोणसभा सकेपछि पोखरेललाई नवप्रवेशी प्रकाशले आफ्नो घरमा लगे र कांग्रेसमा सक्रिय हुँदाका आफ्ना तस्बिरहरू देखाए । उनले कांग्रेसका स्वर्गीय नेताहरू गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईसँग खिचाएका आफ्ना थुप्रै तस्बिर देखाए र पोखरेलसँग पनि तस्बिर खिचे । ८: ३० मा बूढानीलकण्ठमा केही घरदैलोसमेत सकेर पोखरेल फेरि फर्किए धुम्बराहीतिरै फर्कंदा उनलाई बाँसघारीसम्म पुर्‍याउन करिब दुई सय मोटरसाइकलमा कार्यकर्ता आएका थिए ।

 

बिहान ९ देखि ११ बजेसम्म 
अपार्टमेन्ट सोसाइटीले पोखरेलको स्वागतका लागि कार्यक्रम राखेको थियो । पोखरेल अपार्टमेन्ट पसे । बाहिर धुम्बराही क्षेत्रका कार्यकर्ता खैँजडी र मादलमा नाचगान गरिरहेका थिए । 
त्यस अवसरमा अपार्टमेन्ट सोसाइटीका पदाधिकारीले अपार्टमेन्टको मेलमिलाप हेरेर मुलुकलाई जातीय झगडाबाट बचाउन आग्रह गरेका थिए । ‘हामी विभिन्न जातिका एक सय ६४ परिवार अपार्टमेन्टमा मिलेर बसेका छौँ, हाम्रो मिलाप देखिहाल्नुभयो,’ सोसाइटीका पूर्वअध्यक्ष रामचन्द्र आचार्यले भने, ‘यसबाट सिक्नुस् देशलाई जातीय हिसाबले विभाजित हुन नदिनुस् ।’ उनले देश टुक्रिन नदिन एमालेले पार्टी टुक्रयाउनसमेत तयार भएको भन्दै प्रशंसासमेत गरे । अपार्टमेन्टमा केहीले लालपुर्जा नपाएको समस्यामा सघाउन उनीहरूले आग्रह गरे । ‘हामी तपाईंका छिमेकी पनि हौँ । नेताका हिसाबले भन्दा पनि छिमेकीका हिसाबले अपार्टमेन्टका समस्या समाधान गर्न सहयोग चाहन्छौँ,’ आचार्यले भने ।

 

पोखरेलले चुनावी नेताभन्दा बेग्लै जवाफ दिने कोसिस गरे र भोट नमागीकनै भने, ‘तपाईंहरूका समस्या घुइरो–घुइरो सुनेको छु । मेरो छिमेकी पनि हुनुहुन्छ । भोटको नाता छाडिदिनुस् छिमेकीको नाताले सक्दो सहयोग गर्नु मेरो कर्तव्य हो, म त्यो पूरा गर्छु । चुनाव आउँछ जान्छ, हारिन्छ जितिन्छ चुनावसँग यसको सम्बन्ध छैन ।’ पोखरेलले चुनाव हारेका वेला पनि आफूले सामाजिक नाता नतोडेको बताए । ‘अब पनि वचन दिन्छु चुनावमा हारे हारिएला जिते जितिएला तर, तपाईंहरूसँगको सामाजिक नाता तोड्दिनँ,’ उनले वाचा गरे, ‘भोटको कुरा तपाईंहरू आफैँ निर्णय गर्नुस् ।’

 

अपार्टमेन्टमा कार्यक्रम चलिरहँदा बाहिर एमाले कार्यकर्ताहरूको नाचगान चलिरहेकै थियो । पोखरेल बाहिर निस्केपछि जुलुससहित उनीहरू धुम्बराही क्षेत्रमा घरदैलोमा निस्के । केही मतदाता कारण खुलाएर भोट दिन्छु वा दिन्नँ भन्ने प्रतिक्रिया दिन्थे भने केही फेरि पनि संविधान बन्ने ग्यारेन्टी खोज्थे । ‘पहिले दिइनँ, यसपालि भोट तपाईंलाई नै दिन्छु । मेरो घरमा आठ भोट छन् । एकपटक एउटा क्षेत्रमा उदाएर अर्काेपटक त्यहाँबाट अस्ताउनेलाई होइन स्थायी नेता र स्थायी पार्टीलाई भेट दिनुपर्छ अनि समात्ने ठाउँ हुन्छ,’ चन्डोलका प्रकाश पोखरेलले ईश्वरसँग भने । अर्की एक मतदाता भने सबै पार्टीहरूसँग खुबै रिसाएकी रहिछन् । उनी राजनीतिज्ञप्रति तीतो पोख्दै थिइन् । ‘गएको चुनावमा जितेर के गर्नुभयो ? हेर्नुस् यो सडक भत्केको कहिले बनाउने ? अनि हामीले भोट किन दिने ?,’ धुम्बराही पिपलबोटकी रजनी श्रेष्ठले भनिन् । पोखरेलले मतदाताको माग पूरा गर्ने वाचा गरे । ‘एमालेले एक घर एक रोजगार सुनिश्चित गर्छ त्यसका लागि ठूला उद्योग र विद्युत् उत्पादनको काममा राज्यले लगानी गर्नुपर्छ र रोजगारीको अवसर सिर्जना हुन्छ,’ उनले भने ।

मतदातालाई हात जोड्दै प्राय: उनी एउटै कुरा गर्थे, ‘तपाईंहरूको आशीर्वाद लिन आएको ।’ भोट माग्दा वृद्धवृद्धा भने वृद्धभत्ताको कुरा गरिरहेका देखिन्थे । ‘वृद्धभत्ता कति पुर्‍याउने हो सर ? मनमोहन अधिकारीजस्तै भए पो भोट दिनु,’ चन्डोलकै देवनारायण पराजुलीले भने । जवाफमा पोखरेलले आफू मनमोहनको पार्टीकै उम्मेदवार भएर चुनावमा आएको बताएका थिए । पोखरेलको जवाफसँग सन्तुष्ट भएपछि ती वृद्ध एकैछिन् खुट्टा खोच्याउँदै केही घरदैलोमा पनि सहभागी भए । अर्की एकजना वृद्धा बिन्दा गौतमले पनि वृद्धभत्ता पाएको जस एमालेलाई दिइन् र आफूले प्रौढ कक्षा पढेर अक्षर पनि चिनेको सुनाइन् । घरदैलोमा प्राय: मतदाताको एउटै प्रश्न हुन्थ्यो, ‘संविधान किन बनेन ?,’ जवाफमा पोखरेल एमाले तेस्रो पार्टी भएको र उग्रवामपन्थी शक्ति ठूलो हैसियतमा भएकाले संविधान नबनेको बताउँथे । ‘अब हामीलाई संविधान बनाउन सक्नेगरी मत दिनुस्, संविधान बनाउने पक्का वाचा गर्छाैं,’ उनी भन्थे ।

 

घरदैलोका क्रममा पोखरेल कांग्रेस नेता विनयध्वज चन्दको निवासनजिकै पुगेपछि चन्दनिवासको बरन्डामा लुगा धोइरहेकी एक महिलाले पोखरेल आएको चन्दलाई खबर गरिन् । पोखरेल गेटनजिकैबाट फर्किन लागेका थिए । चन्दले भित्रैबाट ठूलो स्वरले कराए, ‘ईश्वरजी पख्नुस् †’ पोखरेल रोकिए । चन्दले गेट खोलेर भित्र बोलाए र भने, ‘तपाईंलाई मेरो शुभेच्छा छ ।’ पोखरेलले उनलाई तिहार कता मनाउने भनेर सोधे । जवाफ दिए, ‘गाउँ जान्छुहोला ।’ पोखरेलले फेरि सोधे, ‘तपाईं त यसपटक समानुपातिकमा पो जानुभयो होइन ?’ चन्दले जवाफ दिए, ‘म परिनँ । कांग्रेसले यसपटक ‘कांग्रेस’लाई टिकट दिएन । सुशील कोइराला र शेरबहादुरका मान्छेले कांग्रेसमा टिकट लिए तर कांग्रेसलाई दिएनन् ।’ चन्दले यसो भनेपछि पोखरेल चुप लागे । चन्दले फेरि भने, ‘तपाईंलाई मेरो शुभेच्छा छ, तपाईं जित्नुहुन्छ ।’ पोखरेलले भने, ‘धन्यवाद ।’

 

११ बजेदेखि ३ बजेसम्म 
११ बजेतिर कार्यकर्ताको एउटा पंक्ति पोखरेलसहित धुम्बराही पार्टी प्यालेसमा खाना खान गयो । त्यहाँ लाइन लागेर कार्यकर्तासँगै पोखरेलले खाना खाए । उनीहरूको खानामा दाल, भात तरकारी र ब्रोइलरको मासु थियो । खाना खाएपछि उनी कार्यकर्तालाई त्यहीँ छाडेर निवासतर्फ लागे । निवासमा जाँदा भेटघाटका लागि केही कार्यकर्ताको पंक्ति आएको थियो । उनीहरूसँग केहीबेर कुरा गरेर उनी सांग्रिला होटेलतिर लागे । त्यहाँ व्यवसायीहरूसँग पोखरेलको भेटघाट कार्यक्रम थियो । व्यवसायीहरूलाई भेटेर पोखरेल फेरि निवास फर्के फर्किंदा उनको निजी सचिवालयका सहयोगीहरू र पोखरेलपत्नी मीरा गफ गरेर बसेका थिए । त्यसवेलासम्म पोखरेलको मोबाइल पनि साइलेन्समा राखिएको रहेछ । पोखरेलले निवास आएर मोबाइलका मिस्डकल र म्यासेजहरू हेरे र पालैसँग कलब्याक गरे । उनले पूर्वसभासद् शान्ति अधिकारी भर्‍याङबाट लडेर घाइते भएको त्यतिवेला थाहा पाए । स्वर्गीय मनमोहन अधिकारीकी बुहारी शान्ति तीन दिनअघि लडेकी रहिछन् । अधिकारी लडेको सूचना समयमै नदिएको भन्दै पोखरेलले आफ्नो सचिवालयका सहयोगीहरूलाई एकफेर गाली गरे र तत्काल अधिकारीलाई फोन गरेर स्वास्थ्य अवस्था बुझे ।

 

३ बजेपछि 
दिउँसो ३ बजेसम्म निवासमै बस्दा उनले आफ्नो क्षेत्रमा बसोबास गर्ने सरकारी उच्च अधिकारी, पेसाकर्मी र व्यवसायीहरूलाई फोन गरेर चुनावमा भोट दिन आग्रह गरे । ‘मैले त तपाईंहरूले सहयोग गरिदिनुपर्‍यो भनेर फोन गरेको,’ यस्तै–यस्तै कुरा गर्थे उनी । फोनवार्तामा उनीहरूबीच भेटघाटको समय पनि तय हुन्थ्यो । दिउँसो ३ बजे पोखरेल फेरि निस्के धुम्बराही पिपलबोट चोकमा । त्यहाँ चुनाव प्रचार समितिको कार्यालय उद्घाटन गरेपछि उनी फेरि घरदैलोमै निस्के कार्यकर्ताको नाचगानसहित । बाहिरी जिल्लाबाट आएर बसोबास गरेका कांग्रेसका पुराना नेता पोखरेललाई भेट्न बाटोमै समय मागिरहेका थिए । पोखरेलले घरदैलोकै क्रममा उनीहरूसँग भेट्ने समय मिलाएका थिए । दिउँसो ३ बजे सुरु भएको घरदैलो साँझ ७ बजेसम्मै चलाएर उनी निवास फर्केका थिए ।

 

प्रस्तुति : रामशरण बजगाईं/नयाँ पत्रिका

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0