current political situation

विकसित नयाँ परिस्थिति र हाम्रा दायित्वहरु
 
– ईश्वर पोखरेल 
महासचिव, नेकपा (एमाले)
 
अहिले विकसित राष्ट्रिय राजनीतिक परिस्थितिलाई हामीले ठीकढंगले बुझ्न सक्नुपर्दछ । एकीकृत माओवादीको सत्ताकब्जाको मान्यता, त्यसअनुरुपको आचरण तथा गतिविधिका कारण मूलतः यसखाले परिस्थिति आइलागेको हो । सँगसँगै लोकतन्त्रका पक्षधर शक्तिहरुका कमजोरीहरु पनि यसपछाडिका सहायक कारणहरु हुन् । खासगरी माओवादीहरुप्रतिको भ्रम र अलमलमा रहने, त्यसप्रति तुष्टीकरणको नीति लिने, आत्मकेन्द्रित सत्तालिप्साबाट प्रेरित भइरहनेआदि लोकतन्त्र पक्षधर शक्तिहरुमा देखापरेका समस्या र कमजोरीहरु पनि यस स्थितिका लागि अवश्य नै कारक तत्वहरु हुन् ।
माओवादीहरु आफ्ना गलत मान्यता र दृष्टिकोणलाई सफल बनाउन आपराधिक योजनाका तानाबाना बुन्न कहिल्यै पछाडि परेनन् । यता लोकतन्त्रका पक्षधर शक्तिहरुमा एकपछि अर्को गर्दै अकर्मण्यता देखा पर्दै गएको वास्तविकता पनि छिपेको छैन् । मुख्यतः यी दुबै कारणबाट अहिलेको स्थिति सिर्जना भएको हो । यस्तो अवस्था जति–जति देखा पर्दै गयो, त्यति नै बाह्य शक्तिहरुले आफ्ना अबाञ्छित रुचिहरु हामीमाथि देखाउँदै आए । र, त्यसलाई बलशाली बनाउँदै आए । यिनै अनुपयुक्त, हानिकारक र बिसंगतिपूर्ण चिन्तन एवम् व्यवहारका कारण अहिले शासन सञ्चालनबाट राजनीतिक दलहरु किनारा र नेपथ्यमा धकेलिनुपर्ने बिडम्वनापूर्ण स्थिति आइलागेको छ । फलस्वरुप आज सिंगो मुलुक यही बिडम्वनापूर्ण परिस्थितिभित्र जकडिन पुगेको छ । 
जे–जसरी भएपनि अहिले मुलुकलाई गैरदलीय तथा गैरराजनीतिक व्यक्तिहरुको नेतृत्वमा पु¥याइएको छ । यसका लागि जुन प्रक्रिया अगाडि बढाइयो र आजको परिणाम आइलाग्यो, यसको अब समीक्षात्मक सन्दर्भ मात्रै बाँकी रहेको छ । यस प्रक्रिया र परिणामको बारेमा अहिले बहसलाई केन्द्रित गर्न खोज्नु अबाञ्छनीय हुन्छ । भविष्यको कुनै उपयुक्त समयमा यसको वस्तुनिष्ठढंगले समीक्षा गर्ने गरी अहिले आइलागेको परिस्थितिलाई बुद्धिमत्तापूर्वक सामना गर्नुको विकल्प देखिंदैन । जुन नयाँ प्रक्रिया अहिले प्रारम्भ भएको छ, यसलाई अधिकतमरुपमा सकारात्मक उपलब्धिहरु प्राप्त होऊन् वा हुन सकून भन्ने कुरामा  अघि बढाउनध्यान केन्द्रित गर्नुपर्छ । जे भए पनि एकीकृत माओवादीले नेतृत्व गरेको राष्ट्रघाती÷जनविरोधी र चरम भ्रष्ट सरकारबाट देशले मुक्ति पाएको छ । कमसेकम अहिले यसै कुरालाई सकारात्मक ठानेर अगाडि बढ्नु आवश्यक छ । यसमा टेकेरमात्रै अन्य सकारात्मक उपलब्धिहरुका लागि आवश्यक पहलसमेत गर्नुपर्दछ र गर्न सकिन्छ ।
ताजा जनादेश ः अहिलेको आवश्यकता
ताजा जनादेशका लागि देशका सम्पूर्ण शक्ति एकताबद्ध भएर लाग्नु आजको आवश्यकता हो । नयाँ संविधानका लागि लोकतान्त्रिक मूल्य मान्यता बोकेका शक्तिहरुको बीचमा ‘बृहद् गोलबन्दी’ गर्दै लोकतान्त्रिक र अग्रगामी संविधान निर्माणका लागि ताजा जनादेशमा पुग्न जरुरी छ । स्थानीय निकायहरुमा जननिर्वाचित प्रतिनिधिहरु ल्याउनका लागि पनि ताजा जनादेशको खाँचो छ । विकास निर्माणका काममा जनतालाई व्यवस्थितरुपमा र बढीभन्दा बढी जनसहभागी बनाएर परिचालित गराउन र जनताप्रति जवाफदेही एवम् पारदर्शी संरचना बनाउनका लागि पनि ताजा जनादेश जरुरी छ । हामीहरु के उद्देश्यका लागि ताजा जनादेशमा लाग्ने हो ? र, यसको तयारीका लागि राजनीतिक दलहरु, खासगरी नेकपा (एमाले)ले के गर्ने हो ? कुरा स्पष्ट छ – अब एमालेका कार्यकर्ताहरु जनताको बीचमा जाने र ताजा जनादेशमार्फत देशलाई उपयुक्त निष्कर्षमा पु¥याउनका लागि ध्यान केन्द्रित गर्नुपर्छ । त्यसका लागि निर्वाचनसँग गाँसिएका कतिपय प्राविधिक पक्षमा ध्यान दिनु जरुरी छ । निर्वाचनलाई साँच्चिकै निष्पक्ष बनाउने हो भने बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका अबाञ्छित एवम् निर्वाचनलाई प्रभावित बनाउन गरिएका राजनीतिक नियुक्तहरुको खारेजी हुनुपर्छ । त्यस्तै, ऐन कानुनहरुलाई संशोधन गर्ने, फोटोसहितको मतदाता नामावलीलाई व्यवस्थित बनाउनेजस्ता कुराहरुलाई एमालेका हरेक नेता÷कार्यकर्ताहरुले महत्वका साथ लिनुपर्छ । र, आफ्नो ठाउँबाट यी यावत् क्षेत्रका कामहरुमा सक्रिय भूमिका खेल्नुपर्छ ।
निर्वाचनलाई राजनीतिक प्रचारको नारामा मात्र केन्द्रित गरेर हुँदैन, बरु आवश्यक वातावरण बनाउने कुरामा लाग्नुपर्छ । यसो भन्दै गर्दा ऐन÷कानुनको संशोधन, सहमतिविपरित सत्ताको दुरुपयोग गरेर गरिएका राजनीतिक नियुक्तिहरुको खारेजी तथा निष्पक्षढंगले ती ठाउँहरुमा नयाँ नियुक्ति र त्यसबेला गरिएका निर्णयहरु खारेज गर्नुपर्छ । हामीले यी र यस्ता गलत कुराहरुलाई खारेज गर्ने कार्यक्रमहरुलाई अगाडि बढाउनुपर्ने जरुरी छ । सँगै निर्वाचनलाई आम सहमति र सहभागिताका साथ अगाडि बढाउनु पर्नेछ । अहिले विभिन्न राजनीतिक दलहरुले उठाइरहेका प्रश्नहरुलाई छिटोभन्दा छिटो सरकारको तर्फबाट सम्बोधन गर्ने हिसाबले आवश्यक पहल गरिनुपर्छ । यसो गरेर मात्रै संविधानसभाको निर्वाचन परिणामदायी र सफल हुनसक्छ । साथै, लोकतन्त्र पक्षधर शक्तिहरुको बीचमा सहमतिका साथ अगाडि बढ्ने वातावरण बन्नसक्छ ।
अबको खाँचो ः राजनीतिक गोलबन्दी
संविधानसभाको निर्वाचन गरिरहदा प्रगतिशील–लोकतान्त्रिक शक्तिहरुको बृहद् गोलबन्दी हुनुपर्छ । हामीले चार वर्ष संविधानसभामा बितायौं तर नयाँ संविधान बनेन । यसबेला हाम्रो सम्पूर्ण लडाइँलाई नयाँ संविधान लोकतान्त्रिक बन्ने कि नबन्ने भन्नेमा केन्द्रित गर्नुपर्दछ ।
हिजो नयाँ संविधान निर्माणको हाम्रो प्रयत्न वास्तवमा नेपालको राष्ट्रियता र नेपाली जनताको हितमा हुने कि नहुने भन्ने विषयमा केन्द्रित रह्यो । नेपाली जनताको बीचमा रहेको सामाजिक सद्भावलाई कायम गराउने कि नगराउने भन्ने विषयमा केन्द्रित रह्यो । तसर्थः अब बन्ने नयाँ संविधान अग्रगामी, लोकतान्त्रिक मूल्यमान्यताबाट निर्देशित हुनेछ, सामाजिक सद्भावलाई कायम गराउन नै केन्द्रित हुनेछ, राष्ट्रिय एकतालाई मजबुत बनाउने खालको हुनेछ भन्ने कुरामा सजग हुनुपर्दछ । जब हामी यस्तो संविधानको परिकल्पना गर्छौं भने लोकतान्त्रिक र प्रगतिशील शक्तिहरुका बीच बृहद् गोलबन्दीका साथ नै संविधानसभाको नयाँ निर्वाचनमा जानुपर्ने जरुरत छ । यही विचारहरुद्वारा निर्देशित भएर नै नेकपा (एमाले) का नेता÷ कार्यकर्ताहरुले आफूलाई परिचालित गर्नुपर्छ ।
मोर्चा निर्माण गर्दाखेरि त्यसका केही आधारहरु स्पष्ट हुनुपर्छ । लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर मोर्चा बनाइनुपर्छ । मूलतः अब यो चुनावपछि बन्ने संविधानसभाले संविधानका मूलभूत् मुद्दाहरुमा ज–जसको बीचमा साझा सहमति हुन्छ, उनीहरुको बीचमा व्यापक गोलबन्दी गरिनुपर्छ । जस्तो किः अहिले एकीकृत माओवादीले अगुवाई गरेर एकल जातीय पहिचानको कुरा गरिरहेको छ, एक मधेसः एक प्रदेशको कुरा गरिरहेको छ, संघीयताको नाममा जातीय सद्भावलाई खल्बल्याउने कुरा गरिरहेको छ । अब यी मुद्दाहरुमा केन्द्रित भएर स्पष्ट आफ्नो दृष्टिकोण दिने हिसाबले लोकतान्त्रिक शक्तिहरुका बीच गोलबन्दी गरिनु जरुरी छ ।
अबको निर्वाचनमा एकातिर राष्ट्रिय एकतालाई कमजोर बनाउने र सामाजिक सद्भावलाई खल्बल्याउन चाहने शक्तिहरु उभिने छन् भने अर्कोतिर राष्ट्रिय एकतालाई मजबुत बनाउने, सामाजिक सद्भावलाई बलियोरुपमा कायम राख्ने र राष्ट्रिय अखण्डतालाई बचाउन चाहने शक्तिहरु उभिने छन् । यसरी आउने संविधानसभाको निर्वाचनमा यी दुईखाले विचार, मान्यता र शक्तिहरुको बीचमा व्यापक ध्रुवीकरण हुने स्पष्टै देखिन्छ । त्यसकारण हामी लोकतन्त्रको मूल्य मान्यतामा उभिने शक्तिहरु यो बृहद् राष्ट्रिय स्वार्थ÷मान्यतालाई ध्यान दिएर अझ बढी परिचालित हुनुपर्छ ।
पार्टी कार्यकर्ताहरुको दायित्व
ताजा जनादेशका लागि हाम्रो पार्टीका कार्यकर्ताहरु मूलतः मानसिक र भौतिक तयारीमा लाग्नुपर्छ । मानसिक तयारी भनेको के हो भने अब ताजा जनादेशबाट नै नयाँ संविधान बन्नेछ, त्यो नयाँ संविधानमा २०६२–२०६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएका उपलब्धि संस्थागत हुनेछन् । र, जननिर्वाचित प्रतिनिधि संस्थाबिहीन जो स्थिति छ, यस स्थितिको पनि अन्त्य हुनेछ । तसर्थः ताजा जनादेशका लागि हामी सबभन्दा बढी मानसिकरुपमा तयार हुनुपर्दछ । यो प्रमुख आवश्यकता हो भनेर हाम्रो पंक्तिले बुझ्नु अपरिहार्य छ । 
जहाँसम्म भौतिक तयारीको कुरा छ – निर्वाचनसँग गाँसिएका कुराहरु अघि चर्चा गरिएजस्तै मतदाता नामावलीलाई व्यवस्थित गर्नेजस्ता कुराहरुलाई आम मतदातालाई सचेत बनाउने अभियानका रुपमा अब व्यापक कार्यक्रम लिएर कार्यकर्ता÷जनतामाझ जानुपर्छ । खासगरी यसबीचका राजनीतिक मुद्दाहरु के रहे ? मुलुकभित्र चलेका बहस र विवादका मुख्य विषयहरु के रहे ? र, अब मुलुकले खोजेको कुरा के हो ? भन्ने कुराहरु बताउनुपर्छ – जनताको बीचमा गएर । यसको तयारीस्वरुप मतदात सचेतना कार्यक्रमलाई अभियानका रुपमा लैजानुपर्छ । यसरी नै हाम्रा कार्यकर्ताहरु परिचालित हुनुपर्छ । स्थानीय पार्टी कमिटीहरुले यही उद्देश्यलाई दिमागमा राखेर आफ्ना ठोस योजनाहरु बनाउन र आफ्नो सम्पूर्ण संगठित शक्तिलाई परिचालन गर्नुपर्ने छ । यो एउटा पार्टी विशेषको मात्रै कुरा नभएर राष्ट्रको आम सरोकारको विषय पनि हो । यही कुरालाई जनताको बीचमा अत्यन्त घनिभूतढंगले सिर्जनात्मक र प्रभावकारी कार्यक्रमहरु लिएर जानुपर्छ ।
अबका हाम्रा मुद्दाहरु
अग्रगामी लोकतान्त्रिक संविधानका सारतत्वहरुमा केन्द्रित भएर हामीले आम गोलबन्दीका लागि पहल र प्रयत्न गर्छौं । यतिबेलाको निर्वाचन संविधानसभाका लागि हो, त्यसैले यसले अग्रगामी र लोकतान्त्रिक संविधान बनाउने हो – यो उद्देश्यलाई नै केन्द्रबिन्दु बनाएर हामीले योजना बनाउनुपर्छ र यसअनुरुप परिचालित हुनुपर्छ । जानेर वा नजानेर यसलाई आम संसदीय निर्वाचनजस्तो ठान्ने गल्ती गर्नुहुँदैन । 
यदि यसलाई संसदीय निर्वाचनजस्तै गरी विकास निर्माणका कुराहरु आजै अगाडि राख्नेखालका कुरा गरियो भने संविधानसभाको महत्व र महिमा कमजोर हुनेछ । यसो भनिरहँदा संविधानका मूल अन्तरतत्वमा मात्रै केन्द्रित हुने होइन, अग्रगामी सोंच र मान्यताका कुराहरु पनि आउनुपर्छ । तर स्थानीय तहका पार्टी कमिटीहरुमाझ यतिबेला संविधानसभामा कस्ता व्यक्ति, कस्तो मान्यता भएका व्यक्तिहरु पठाउने, कस्तो मान्यता भएका व्यक्तिहरु कुनै पनि हालतमा संविधानसभामा जानुहुँदैन भन्ने कुराको सन्देश लैजान जरुरी छ । उनीहरु राष्ट्रिय हितविपरित नहोऊन्, राष्ट्रिय अखण्डतालाई आँच पु¥याउने खालका नहोऊन् भन्ने कुरा जनता र कार्यकर्ताको बीचमा पु¥याउनुपर्छ । एमाओवादीले अत्यन्त गैरजिम्मेवार र अपराधिक ढंगले राष्ट्रिय हित एवम् एकतामाथि आँच पु¥याउने, सामाजिक सद्भाव खल्बल्याउने र मुलुकको राष्ट्रिय अखण्डतालाई कमजोर बनाउनेजस्ता जुन काम र कुरा गर्दैछ, त्यसको सशक्त प्रतिवाद गरी असफल पार्न पहल गर्नुपर्ने जरुरी छ । हामीहरु यसो गरेर मात्रै मुलुकको आवश्यकताअनुरुप पार्टीको भूमिकालाई प्रभावकारी बनाउदै अघि बढ्न सफल हुनेछौं । र, मुलुकको नेतृत्व गरेर अघि बढ्न सक्नेछौं ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0