जनताको बहुदलीय जनवादलाई सम्वृद्ध बनाउने हो भने

जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं– माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं’ भन्ने सारगर्भित उद्घोष गर्दै नेकपा (एमाले) ले जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमको रुपमा स्वीकार गरेको थियो । मानव जातिले अहिलेसम्म आर्जन गरेका सर्वोत्तम उपलब्धिहरुको संश्लेषित वैज्ञानिक निचोडको रुपमा स्थापित माक्र्सवादलाई सिर्जनात्मक रुपमा प्रयोग गर्ने र विकास गर्ने जीवन्त र अठोटपूर्ण सोचका साथ नेकपा (एमाले) ले यो विचारलाई प्रस्तुत गरेको थियो । प्रतिकूलताका झंझावातका कारण अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अगाडि देखापरेका निराशा, हतोत्साह र कुण्ठाले शीत लहरी छाउँदै गरेको बेला एकातिर विसर्जनवादी सोच र पलायनका प्रवृत्ति जबर्जस्त रुपमा हुर्कंदै–बढ्दै थिए भने अर्कोतिर जडसूत्रवादी विश्लेषण तथा अभ्यासहरुलाई अगाडि बढाउने प्रयत्न पनि जारी थियो । अनुचित र संगति नमिलेका यी दुवै चिन्तन र आचरणलाई चुनौती दिंदै नेपाली भूमिमा नेकपा (एमाले)ले जनताको बहुदलीय जनवादलाई अघि सारेको थियो । कम्युनिष्ट आन्दोलन तथा जनताको मुक्तिको अभियानलाई नयाँ स्तरमा जीवन र गति दिने उद्देश्यका साथ नेकपा (एमाले)ले यो साहसिक काम गरेको थियो । जननेता मदन भण्डारीको विशेष भूमिका र अगुवाइमा नेकपा (एमाले) ले आजभन्दा पन्ध्र वर्ष अगाडि औपचारिक रुपमा यो साहसिक उद्घोष गरेको थियो ।

नेकपा (एमाले)ले बितेका यी पन्ध्र वर्षमा कम्युनिस्टविरोधी दक्षिणपन्थी प्रतिक्रियावादीहरुबाट मात्र होइन, आन्दोलन भित्रैका जडसूत्रवादी तथा विसर्जनवादीहरुबाट प्रहार सहनु प¥यो । कोणमा भिन्नता देखिए पनि यी दुवैबाट हमला एमालेमाथि नै भइरह्यो । तर आफूमाथि गरिएका हमलाको मुकाविला गर्दै जनताको बहुदलीय जनवादको प्रकाशमा अगाडि बढ्ने द्विविधारहित र अविचलित यात्रामा नेकपा (एमाले) कायमै रह्यो । नेकपा (एमाले) भित्रै पनि जबजलाई बुझ्ने, व्याख्या गर्ने र अभ्यास गर्ने विषयमा छलफल, वहस र विवादहरु नचलेका होइनन् । यस क्रममा प्राप्त मिश्रित अनुभवहरु हामीसित संग्रहित छन् ।

...मूलत अहिलेसम्म हामीले जितेका नै छौं । २०४९ माघमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट जनताको बहुदलीय जनवादलाई हामीले कार्यक्रमको रुपमा स्वीकार ग¥यौं । २०५४ सालमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनमा आइपुग्दा जनवादलाई हामीले जबजको निरन्तरतालाई मात्र स्वीकार गरेनौं, त्यसलाई आफ्नो सम्पूर्ण विचार तथा कामलाई मार्गदर्शन गर्ने सिद्धान्तको रुपमा स्वीकार ग¥यौं । सातौं राष्ट्रिय महाधिवेशनमा हामीले त्यसको पुनर्पुष्टि ग¥यौं । र, अहिलेसम्म त्यसकै प्रकाशमा अगाडि बढ्दै गरेको सगर्व दावी हाम्रो छ । यसैमा आधारित भएर, यसबीचमा हामीले पार्टीलाई महत्वपूर्ण ढंगले विस्तार ग¥यौंं । समाजका हरेक तप्का, समुदाय र वर्गमा पार्टीलाई पु¥यायौं । पार्टीको प्रभावलाई विस्तार ग¥यौं । पार्टीलाई संसदको सबभन्दा ठूलो राजनीतिक दलको रुपमा स्थापित ग¥यौं र जनताबाट निर्वाचित कम्युनिष्ट पार्टीको लोकप्रीय सरकार बनायौं । आफूले अघि सारेका नीति, कार्यक्रम तथा व्यवहारका कारण त्यो सरकार लोकप्रिय बन्न सफल रह्यो । दक्षिणपन्थी  शक्तिहरुको गठबन्धनका कारण सरकारबाट हट्नु परे पनि जनसमर्थन र लोकप्रियतामा कमि आएन । दुई तिहाई बहुमत प्राप्त गरी ठूला, अग्रगामी र जनमुखी सुधार गर्दै राज्य र समाजमै आमूल परिवर्तन गर्ने ध्येय उद्देश्यका साथ नेकपा (एमाले) अगाडि बढिरहेको विषयप्रति राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रका सबै दक्षिणपन्थी शक्तिहरु सशंकित र त्रसित बनेका थिए । कम्युनिष्ट आन्दोलनको प्रजातान्त्रिकरण गर्ने दार्शनिक, सैद्धान्तिक मान्यतामा आधारित जनताको बहुदलीय जनवादबाट निर्देशित हुँदै नेकपा (एमाले) ले कम्युनिष्ट पार्टी कै रुपमा आफूलाई यसरी अगाडि बढाइरह्यो । आफूले लिएको विचार, हिंडेको बाटो, जनता र राष्ट्रप्रतिको आफ्नो प्रतिबद्धता र आचरणका कारण नेकपा (एमाले) परिवर्तनका पक्षधर–जनताको अगुवा शक्तिका रुपमा परिचित भइरह्यौं ।

तर आफूले अगाडि बढाउँदै आएका अभ्याससँगै थुप्रै किसिमका समस्याहरु पनि एमालेका अगाडि देखापर्दै गए । आफूले स्वीकार गरेको सिद्धान्त, आफ्नो कार्यक्रमिक प्रतिबद्धता, संघर्षका रुप, परिवर्तनका प्रक्रिया, संगठनात्मक सिद्धान्त आदि विषयलाई नयाँ परिस्थिति र सन्दर्भमा अध्ययन गर्नुपर्ने, छलफल चलाउनु पर्ने र निश्कर्षमा पुग्नुपर्ने आवश्यकता एमालेका अगाडि टड्कारो रुपमा देखापरिरहेको छ ।

परिवर्तित सन्दर्भमा पार्टी निर्माणको विषय नेकपा (एमाले)का लागि अत्यन्त महत्वपूर्ण कार्यसूचि बन्ने कि नबन्ने ? यतिबेला नेकपा (एमाले) को जागरुक पंक्तिले नयाँ ढंगले निर्माण गर्नुपर्छ भन्न थाल्दैछ । त्यो नयाँ किसिमले बन्ने पार्टी कस्तो हुने ? परिस्थितिलाई पुरानै देख्नेहरुले नयाँ किसिमले पार्टी निर्माणको आवश्यकता र महत्वलाई बुझ्नु सक्तैनन् । परिस्थितिमा महत्वपूर्ण परिवर्तन भएको त मान्ने तर नयाँ जीवनलाई ठोस ढङ्गले निर्देशित गर्न नयाँ सिद्धान्तलाई भने स्वीकार गर्न नसक्नेहरु, पुरानै सिद्धान्तमा टाँसिएर ‘बलिदान हुन’ चाहनेहरुले पनि नयाँ किमिसले पार्टी निर्माणमा भूमिका खेल्न सक्दैनन् । यस्तै, परिस्थितिमा आएको परिवर्तनलाई त देख्ने, त्यसअनुरुप सिद्धान्तको आवश्यकता पनि देख्ने तर पुरानो सिद्धान्त र परिस्थितिलाई राम्ररी थाहा नपाउनेहरुले पनि पार्टी निर्माणको साहसिक अभिभारा पुरा गर्न सक्तैनन् । पाँचौंदेखि सातौं राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा हामीले उल्लेख गर्दै आएको मार्गदर्शक सिद्धान्तका सम्बन्धमा नयाँ स्तरमा छलफल चलाउनु र हाम्रा आफ्ना बुझाइ र व्याख्यालाई नयाँ स्तरमा संगठित र व्यवस्थित गर्नु जरुरी छ । जनताको बहुदलीय जनवादलाई सम्वृद्ध पारेर मात्रै मार्गदर्शक सिद्धान्तको सवालमा अहिलेसम्म रहँदै आएका उल्झनहरुलाई दूर गर्न सकिन्छ । यसको लागि स्वयं जबजलाई थप व्यवस्थित, थप सुदृढ र थप संगतिपूर्ण सैद्धान्तिक–दार्शनिक आधारमा मजवुतीका साथ उभ्याउनु जरुरी छ । यसको लागि हामी तयार बन्नै पर्छ । यसैक्रममा राज्यसत्ता सम्बन्धी हाम्रा आफ्ना परम्परागत बुझाइ र मान्यतामा प्रकट हुने गरेका एकांगी दृष्टिकोणको पनि पुनर्गठन आवश्यक देखिन्छ । क्रान्ति वा परिवर्तनलाई बुझ्ने सम्बन्धमा रहेका अत्यन्त सतही दृष्टिकोण र अभिव्यक्तिहरु प्नि छ्यास–छ्यास्ती प्रकट हुने गरेका छन् । अहिले पनि क्रान्तिकारी परिवर्तनलाई केवल घटनाको रुपमा बुझ्ने चिन्तन र अभिव्यक्तिहरु बलशाली नै छन् । क्रान्तिकारी परिवर्तन एउटा निरन्तरको प्रक्रिया हो, परिवर्तन चाहने प्रत्येक क्रान्तिकारीले त्यो प्रक्रियालाई अगाडि बढाउने कुरामा सक्रिय भूमिका खेलिरहनुपर्छ भन्ने बुझाइ र मान्यतालाई राम्ररी स्थापित गरेर मात्र जनताको बहुदलीय जनवादको विचारद्वारा निर्देशित पार्टी बनाउन सकिन्छ । विचारको प्रतिस्पर्धालाई स्वीकार गरेको छ– एमालेले । योग्यता र क्षमता प्रदर्शन गरेर श्रेष्ठता हासिल गर्ने कुरामा विश्वास गर्छ – एमाले । तर अहिलेसम्मका अनुभवको उचाइमा उभिएर स्वीकार गर्नैपर्छ– पार्टीको सांगठनिक जीवनमा प्रतिस्पर्धाको अभ्यास सहज हुने गरेको छैन । र, त्यो असहजताले कहिलेकाहीं त सिंगो पार्टी जीवनलाई गम्भीर नोक्सानी समेत पु¥याएको अनुभव हामीसित छ । पार्टी जीवनको प्रजातान्त्रिकरण जनताको बहुदलीय जनवादको एउटा महत्वपूर्ण र बृहद आयाम हो । तर पार्टीभित्र केही औपचारिक र केही–केही अनौपचारिक छलफल सुरु भए पनि परिणाम दिने हिसाबले त्यसले गति भने लिन सकेको छैन । पदहरुको बाँडफाँडमा मात्र यसलाई बुझियो र जबजको बृहद् आयाम बनाउन सकिएन भने पार्टी जीवनको प्रजातान्त्रिकरण सम्भव हुन सक्तैन । धेरैभन्दा धेरै परिभाषित जिम्मेवारी पूरा गर्ने कार्यकर्ताहरुको पंक्ति तयार गर्नुपर्ने निर्देशन जवजले गरेको छ । यसै आधारमा कार्यकर्ता नीति बन्नु पनि पर्छ । भूमिगत वा अवैधानिक तरिकाबाट काम गरिरहेको कम्युनिष्ट पार्टीले अख्तियार गरेको कार्यकर्ता नीति परिवर्तन सन्दर्भमा उपयोगी हुन सक्तैन । अहिले विकसित विशिष्ट अवस्था, जवजले बोकेको क्रान्तिकारी परिवर्तनको सोचसित संगति राख्ने हिसावले कार्यकर्ता नीति व्यवस्थित गरिनु पर्दछ । यस्तै, अहिलेसम्म भएको संसदीय क्षेत्रभित्रको कामको समीक्षा र त्यसलाई व्यवस्थित, सन्तुलित र संगतिपूर्ण बनाउनु पर्छ । अहिलेसम्म भएका अभ्यासहरुमा सन्तुलन, समन्वय र संगति नमिलेको कुरालाई अब लुकाउन सकिंदैन ।

२०६२÷०६३ को राष्ट्रव्यापी आन्दोलनले शान्तिपूर्ण राजनीतिक जनक्रान्तिको स्वरुप लिएपछि विकसित भएको विशिष्ट परिस्थितिले लोकतान्त्रिक गणतन्त्र, राज्यको पुनःसंरचना, संघिय शासन र समावेशी लोकतन्त्रलाई अनिवार्य विषय बनाएको छ । अबको शासन व्यवस्थामा यी अभिन्न विषय हुने कुरा स्वीकार गरिएको छ । जनताको बहुदलीय जनवादले यी विषयहरुलाई बोक्नै पर्छ । लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिक नारालाई एमालेले अघिसारेको छ । जनताको बहुदलीय जनवाद र कार्यनीतिक नाराको रुपमा तय गरिएको लोकतान्त्रिक गणतन्त्रको अन्तरसम्बन्धलाई व्यवस्थित परिभाषामा समेट्नै पर्छ । लोकतान्त्रिक गणतन्त्रको प्राप्ति र त्यसमा कम्युनिष्टहरुको सक्रिय सहभागिता, पहलकदमी र भूमिकाले मात्र जबजको लागि मजबुत आधार निर्माण हुन सक्छ । यो अन्तरसम्बन्धका सैद्धान्तिक र राजनीतिक आधारहरुलाई व्यवस्थित बनाएर मात्र अब नेकपा (एमाले) अगाडि बढ्न सक्छ ।

आज जनताको बहुदलीय जनवातका प्रणेता र व्याख्याता दिवंगत जननेता मदन भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहँदा र जनताको बहुदलीय जनवादलाई अब नयाँ परिस्थितिमा दिशाबोध गर्न सक्ने विचारको रुपमा स्थापित गर्नका लागि माथि उल्लेख गरिएका केही विषयमा व्यवस्थित छलफल र समूचित निश्कर्षमा पुग्नका लागि नेकपा (एमाले) अब अगाडि बढ्नैपर्छ । यो कामको व्यवस्थित थालनीका लागि श्रद्धेय नेताहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्ने चौधौं स्मृति दिवसले प्रारम्भ गरोस । हामी चाहन्छौं– विचार प्रस्तोता कमरेडहरुले आफ्ना प्रस्तुतिमा यिनै विषयलाई सम्बोधन गर्नुहोस् । यसो गरेर जनताको बहुदलीय जनवादलाई सैद्धान्तिक लफ्फाजीका साथ तिरस्कार गरी हिंसात्मक बाटो समातेका माओवादीहरुलाई समेत इमान्दारीपूर्वक र स्पष्टताका साथ स्वीकार गर्दै अगाडि आउन सहयोग पु¥याओस् । जवजकै अन्तरत्व भन्न मिल्ने कतिपय विषयलाई लिएर पनि नयाँ आवरण दिने उनीहरुका व्यवहारलाई समेत सच्याउन सहयोग पुगोस् ।

हामीलाई मार्गदर्शन गर्ने विचारलाई समृद्ध बनाउने कामको थालनी यही स्मृति दिवसबाट सुरु होस् । श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई हार्दिक श्रद्धाञ्जली !

(चौधौं मदन÷आश्रित स्मृति दिवसका अवसरमा नेकपा (एमाले) उपत्यका समन्वय कमिटी, मदन÷आश्रित स्मृति प्रतिष्ठान र अनेरास्ववियूको आयोजनामा मिति २०६४ जेठ ३ गते काठमाडौंको राष्ट्रिय सभागृहमा भएको जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक गणतन्त्र विषयक विचार गोष्ठीमा प्रस्तुत मन्तव्य )

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0