झापासित सम्बन्धित केही प्रशंगहरु (२०७१ फागुन २१ गते १२:०८ मा प्रकाशित)
नेकपा एमालेलाई अहिले पनि कपितय व्यक्तिहरु ‘झापाली’ भन्न पछि पर्दैनन् । त्यस्ता व्यक्तिहरुले गर्ने यो संवोधनले एकै पटक धेरै अर्थ बोकेको हुन्छ भन्ने मलाई लाग्दछ । पुरानो एवं क्रान्तिकारी पृष्ठभूमि भएका केही केही साथीहरु आफ्नो राजनीतिको ऐतिहासिक निरन्तरता झल्काउन पनि ‘झापाली’ प्रशंग उठाउने गर्नु हुन्छ । कहीं ‘घृणा’ वा ‘विरोध’ तथा कहीं भने केही विरोधी मानसिकता बोकेकाहरुले ‘मजाक’ को भाव बोकेर पनि “झापाली” शब्द प्रयोग गर्ने गर्छन् । झापातिर घरायसी-पारिवारिक सम्बन्ध भएका साथीहरुको पनि पार्टीभित्र ‘झापाली’ चिनारी हुने नै भयो । यिनै प्रशंगहरुमा म पनि कहिलेकाहीं “झापाली” हुन पुग्छु।
नेपालको कम्युनिष्ट आन्दोलनमा झापाको विशेष चिनारी छ । कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी स्पिरिटकासाथ पुनःगठनको शुरुवात झापाली क्रान्तिकारीहरुले गरेका थिए । आधारभूत श्रमजीवी वर्गका बीचमा कम्युनिष्ट पार्टीको राजनीतिलाई पुर्याउने, स्थानीय वर्ग-संधर्ष कै बीचबाट पार्टी निर्माण गर्ने, क्रान्तिकारी शैलीमा पार्टी कामलाई अगाडि बढाउने र यसो गर्दै अगाडि बढेर मात्र कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी पार्टीको रुपमा पुनःगठन गर्ने-त्यसबेला झापाली क्रान्तिकारीहरुका घोषित उद्देश्य थिए । भनिरहनु पर्दैन, यस्तो उद्देश्य राखे पनि झापाली क्रान्तिकारीहरुका त्यसबेलाका कतिपय चिन्तन र आचरणमा उग्रता तथा दुस्साहसिकता भेटिन्थ्यो र व्यवहारका कतिपय प्रशंग अराजक लाग्ने खालका पनि थए । यसैकारण, त्यसवेलाका प्रारम्भिक दिनमै पनि ‘झापालीहरु’ ले गंभीर नोक्सानी पनि बेहोर्नु परेको थियो । अनावश्यक बलिदानका पिडाहरु पनि सहनु परेको थियो । तर संगसंगै, पंचायती निरंकुशतामा निस्सासिएकाहरुका लागि एउटा महत्वपूर्ण प्रेरणाको श्रोत पनि बनेका थिए झापाली क्रान्तिकारीहरु ।
स्कुले जीवन सकेर कलेजको पढाइमा प्रवेश गर्नासाथ म ‘झापाली क्रान्तिकारी’ प्रेरणाबाट अभिप्रेरित बनेको थिएँ । म त्यसवेला जनकपुरको कलेजमा पढ्थें । त्यहाँ पढ्ने प्रगतिशील विद्यार्थीहरुका बीचमा झापाली क्रान्तिकारीहरुका गतिविधि चर्चाका विषय बन्न थालेका थिए । सामन्ती शोषण-उत्पीडन तथा जाली फटाहा विरोधी संघर्षले जिल्लाव्यापी रुप लिंदै थियो । नौजवान विद्यार्थीहरुका शैक्षिक क्षेत्र र राष्ट्रियतासित सम्बन्धित अन्य मागहरु ज्वलन्त रुपमा उठ्न थालेका थिए । भारतीय शासकहरुको नेपालप्रति प्रकट हुने हेपाहा व्यवहार, नेपालको अभिन्न भूभाग- सुस्ता, महेशपुरमाथि भारतीयहरुको अतिक्रमण र भारतीयहरुका त्यस्ता व्यवहारप्रति तत्कालिन पंचायती शासकहरुको मौनता आदि वारेमा देशभक्तिको भावना बोकेका झापाली युवाहरु जुर्मुराउन थालेका थिए । शोषक, सामन्त तथा स्थानीय जाली फटाहा विरोधी स्थानीय संघर्षहरु विशेष चर्चामा आउने गरेका थिए । यी सवै गतिविधि निरंकुश राजतन्त्र र निर्दलीय पंचायती व्यवस्था विरोधी संघर्षको रुपमा विकसित भइरहेका थिए । यो सन्देश देशका अन्यत्र भागमा समेत फैलिन थालेको थियो ।
त्यसवेला मेरा माहिला दाइ चन्द्रगढी, झापा बस्ने भएका कारण अरु साथीहरु समक्ष झापाका क्रान्तिकारी गतिविधिका लागि म विशेष आधिकारिक मानिन्थे । यसप्रति म पनि नजानिंदो किसिमले गर्व गर्दै आफुले प्राप्त गरेको छिटफुट जानकारीलाई सुनाउने गर्थें । पछि हामीले थाहा पाउँदै गयौं – झापामास्थानीय वर्ग संघर्ष सञ्चालित हुने सिलसिलामा शोषक, सामन्त र जाली फटाहाहरुलाई क्रान्तिकारीहरुका स्थानीय संगठनहरुको अगुवाइमा ‘खतम’ गर्न थालियो । झापामा शुरु भएको ‘खतम’ संघर्षले देशैभरि गम्भीर तरंग पैदा गरेको थियो । प्रतिकृयावादी सत्तासीनहरुले भारतमा शुरु भएको ‘नक्सलवादी’ आन्दोलनको विस्तारित गतिविधिको रुपमा हेर्न थालेका थिए र परिवर्तनको पक्षमा रहेका प्रगतिशील विचार राख्नेहरुले भने न्यायपूर्ण तथा क्रान्तिकारी संघर्षको शुरुआतको रुपमा बुझ्न थालेका थिए । प्रायः दैनिकजसो नै हामी जनकपुरका केही साथीहरुबीच छलफल चलिरहन्थ्यो । हामी झापा संघर्षसित भावनात्मक रुपमा नजिकिंदै गएका थियौं ।
सधैं झैं, २०२९ फागुन २२ गते बेलुका हामी केही साथीहरु जनकपुरको भानुचोक दक्षिण रहेको एउटा कलभर्टमा जम्मा भयौं । प्रगतिशील साहित्यिक पत्रिका ‘आँखा’का सम्पादक लक्ष्मण खरेलले हातमा एउटा पत्रिका बेरेर ल्याएका थिए । उनले ल्याएको पत्रिकाप्रति अरु सवैको उत्सुकता पोखियो । उनले आफुले ल्याएको पत्रिका फैलाउँदै गंभीर मुद्रामा भने “झापामा सरकारले नेत्रहरुलाई गोली हानी हत्या गरेछ ।” गोधुली पार गरेर अँध्यारो भइनै सकेको भएपनि मैले त्यसबेला उनको हातमा रहेको गोरखापत्र तानेर लिएको थिएँ । नजिकै रहेको विजुलीको पोल छेउ उभिएर टिम्टिम गर्दै बलिरहेको उज्यालोमा मैले केही छिन त्यो समाचार पढेको थिएँ । केही छिन हामी कोही केही नबोली अँध्यारो अनुहार लगाएर बसेका थियौं । एकै छिनपछि हामी सबैका आँखा रसाएका थिए, हामी त रोएछौं पनि । हामीले एक अर्काको हात समातेका थियौं र आँसु पुछ्दै हत्याको बदला लिने संकल्प गरेका थियौं । हामीमा त्यो अठोट कसरी आयो – कसरी प्रकट भएको थियो – म अहिले पनि भन्न सक्तिन । त्यसबेला त्यहाँ रहेका हामी सवैको मन एकैचोटी बोलेको थियो । त्यसदिन हामी केही परसम्म संगै हिंडेर छुट्टनिे बेलामा हात मिलाउँदा पनि बोल्न सकेका थिएनौं । अहिले म सम्झन्छु – म त्यस रात अवेलासम्म सुत्नै सकेको थिइनँ । अहिले झण्डै ४२ वर्ष पुरा हुन लाग्दैछ । झापाली क्रान्तिकारीहरुको सम्मानमा आˆना आँखाबाट बगेको आँसुलाई मैले अहिलेसम्म विर्सन सकेको छैन ।
म बेलाबेलामा झापा चन्द्रगढीमा बस्नु हुने दाइकोमा जाने गर्थें । खासगरी कलेज पढ्न थालेपछि त्यहाँ मेरो आगमन अर्थपूर्ण हुन थालेको थियो । म झापाली क्रान्तिकारीहरुसित सम्पर्क-सम्बन्ध गर्न चाहन्थे, उनीहरुले प्रकाशित गरेका प्रकाशनहरुको खोजीमा पनि थिएँ । म यहाँ आउँदा प्रगतिशील जनवादी गीतहरुलाई राम्रो संकलन गरी कतिपयलाई त राम्रै गाउने गरी आएको हुन्थें । त्यहाँ टोल – छिमेकका भाई बहिनीहरुलाई जम्मा गरी सामुहिक गायनमा उतार्ने गरेको थिएँ । त्यसवेला मेरो त्यो गायन अभियानमा सहभागी हुने भाई वहिनीहरु अहिले को-को, कहाँ-कहाँ पुगे मलाई थाहा छैन । तर मलाई त्यसवेला लाग्दथ्यो – यी सवै भाइ-बहिनीहरु क्रान्तिकारी आन्दोलनका लागि होनहार सिपाही हुनेछन् । म त्यहाँ पुग्नासाथ रानोको वरिपरि झुम्मिएका मौरी झैं झुम्मिन्थे, उनीहरु । ‘घर छोडाएर मान्छे काट्ने कुरा सिकाउँदै छ रे’ भनेर कोही-कोही छिमेकीहरुले त मेरो झापा बसाइलाई विशेष चियो/चर्चो समेत गर्न थालेका थिए । त्यसवेला कोइराला थरका मेरै आफन्त पर्ने एक जनाले त टोलभरि नै ‘राहु पस्यो’ भनेर उछित्तो काढ्न समेत पछि पर्नु भएन।
यही क्रममा भूमिगत भई राजनीतिक काममा जुटिरहेका क्रान्तिकारीहरुसित छिमेकी केदार न्यौपाने, रमेश पौडेल आदिको सम्पर्क रहेको थाहा पाएँ । उहाँहरुसित मेरो विशेष सम्बन्ध बढ्न थाल्यो । उहाँहरुले मलाई ‘झापाली प्रकाशनहरु’ दिन थाल्नु भयो । ती प्रकाशनहरुलाई यति आदरपूर्वक अध्ययन गरें कि त्यसका शब्द शब्दप्रति म मोहित बनेको थिएँ । ती सामग्रीहरुले मलाई प्रकाश दिइरहेका र अगाडि बढ्न दिशा देखाइरहेका छन् जस्तो मलाई लाग्थ्यो । मैले पाएका ती सामग्रीहरु प्रायः हस्तलिखित थिए । अरु त के – लिखतमा पोखिएका अक्षरहरु पनि मलाई औधी सुन्दर लागेका थिए । ‘अहा-कति सुन्दर अक्षरहरु’ भन्दै त्यहीं बान्कीमा मैले ती लेखहरुको उतार समेत गरेको थिएँ ।
पछि, मैले ‘झापाली प्रकाशनहरु’ काठमाडौंमा संगै पढ्दै गरेका विश्वासिला साथीहरु समक्ष अत्यन्त मूल्यवान दस्तावेजकको रुपमा पुर्याएको थिएँ । त्यहाँ हामीले ती सामाग्रीहरुको सामूहिक अध्ययन चलाउन थाल्यौं । रत्नकुमार वान्तवा त्यस मध्ये एकजना अगुवा हुनुहुन्थ्यो ।
काठमाडौंमा पढ्दाका दिनमा झापा मेरो विशेष आकर्षणको केन्द्र बनेको थियो । म काठमाडौंमा पढिरहेको भए पनि मेरो मन मस्तिष्क झापातिरै हुन्थ्यो, झापाली क्रान्तिकारीहरुसित भेट गर्ने उत्कट अभिलाशा झन्झन् बढिरहेको थियो । म अहिले पनि त्यसवेला आफुमा प्रकट भएको ‘क्रान्तिकारी छट्पटी’ लाई विर्सन सक्दिन । गाउँमा जाने, जनताको बीचमा जाने, जनतालाई क्रान्तिकारी राजनीतिले सचेत पार्ने, नयाँ समाज बनाउने’ आदि मेरो त्यसवेलाका छ्टपटीका विषयहरु थिए । ‘झापा नेपाली क्रान्तिको केन्द्र हो’ ‘झापाली क्रान्तिकारीहरु त्यसका अगुवा हुन्’ भन्ने आˆनो निस्कर्षलाई म यति प्रचण्ड किसिमले अनुभूत गरिरहेको थिएँ कि त्यसवेलाका मेरो चिन्तन र दिनचर्या यही निस्कर्षका वरिपरि मात्र घुमिरहेका हुन्थे । यही क्रान्तिकारी आवेगमा मैले त्यसवेला धेरै निजी तथा पारिवारिक वन्धनहरु समेत चुँडाउने आँट गरेको थिएँ । त्यसबेला मेरो उमेर र अवस्था शुलभ चाहनाहरु पनि म भित्र सल्वलाइरहेका थिए । ‘एउटी मनले खाएकी सुन्दर युवतीसित माया पि्रति गर्ने, सुखी दाम्पत्य जीवन शुरुवात गर्ने, उच्च शिक्षा अध्ययन गर्ने, पेशा व्यवसाय आदिमा नाम चलेको व्यक्ति बन्ने’ आदि त्यसवेला मेरो दिमागमा बेलाबेलामा सल्बलाउने निजी विचारहरु थिए । फेरि त्यसैवेला स्वीट्जरलैण्ड जाने पाँच वर्षे छात्रवृत्ति मेरो लागि कम आकर्षक विषय थिएन । मैले त्यो अवसर पाइनै सकेको थिएँ । मलाई बेलाबेलामा ‘जाउँ कि क्या हो’ भन्ने लागेकै हो । तर मभित्र ‘क्रान्ति’, ‘परिवर्तन’ को उत्कट चाहना यति वेगवान बनिसकेको थियो कि मैले आफुमा आउने गरेका ती व्यक्तिगत इच्छाका डोरीहरुलाई चुँडाएरै छोडें । साँच्चै, त्यस घडी मलाई प्रश्रव बेदनामा परेकी आमाले सन्तान पैदन गरेपछिको पिडा-मिश्रति सुखानुभूती जस्तो भएको थियो ।
सौजन्य: OnlineKhabar.com (२०७१ फागुन २१ गते १०:२८ मा प्रकाशित)