अपडेट: १४ साउन, २०७८

जनकपुर र मेरो राजनीतिक जीवन

मेरो जीवनको महत्वपूर्ण समय मैले जनकपुरसित प्रत्यक्ष सम्बन्धित भएर विताएको छु । मेरा सुन्दरतम् र अत्यन्त रहरलाग्दा जीवनका क्षणहरु मैले त्यहीं विताएको छु । जीवनका जिम्मेवारी बहन गर्ने सिलसिलामा मैले जहाँजहाँ पुग्नु परेपनि जनकपुरले ममा छोडेका धेरै छापहरु अहिलेसम्म पनि छँदैछन् । संस्मरणका तरेलीहरुमा अहिले पनि ती सवै ताजै छन् । ती सवै मेरो मस्तिस्कमा सलबलाइरहेका छन् ।

 म विकट पहाडी जिल्ला ओखलढुंगाबाट जनकपुर झर्दा १० वर्ष पुगेर ११ वर्ष लागेको थिएँ । विलकुल पहाडको सामाजिक परिवेशमा वाल्यकालका प्रारम्भिक दिनहरु विताएको मलाई त्यसवेला जनकपुरको वातावरण अनौठो लागेको थियो । भौगोलिक बनौट, मानिसहरु, रहनसहन, बोली भाषा आदि सवै मेरा लागि अत्यन्त अनौठो लाग्ने खालका थिए । जनकपुरको उत्तरमा पर्ने बेंगा शिवपुरबाट जनकपुर बजारमा प्रवेश गर्दै गर्दा मलाई लागेको थियो – म एउटा अजंगको घना वस्तीमा प्रवेश गर्दैछु । त्यसवेला प्रवेशद्वारमै सोभियतसंघको विशेष सहयोगमा जनकपुर चुरोट कारखानाको निर्माण भैरहेको थियो । यसरी, २०२० को पुस महिनामा जनकपुर रुपी अनौठो संसारमा मेरो प्रवेश भएको थियो । 
 पहाडबाट झरेको ६ महिना वित्दा नवित्दै मलाई त्यहींको एकजना भारतीय शिक्षकले पढाउने गरेको ‘घरेलु पाठशाला’ मा भर्ना गरिएको थियो । डेरा नजिकै रहेको, त्यही पढ्ने गरेको मेरै उमेरका वृषेशचन्द्रलालको सहयोगमा म त्यहाँको ‘निमगाछी’ मा पढ्न जान थालें । अग्लो, कालो अनुहार, व्यवहारमा कठोर देखिने ‘काइस्त मास्टर’ ले मलाई पढाएका थिए । म प्रत्येक दिन ओछ्याउने बोरा, झोलामा काठको पाटी, एउटा–दुईटा किताव र कापी बोकेर डराउँदै डराउँदै ती माष्टर सामु पुग्थे । सम्पूर्ण रुपमा हिन्दी भाषामा पढाउने ती माष्टरको कुरा मैले धेरै समयसम्म बुझ्दै बुझ्दिनथे । ‘मूँहजमानी’ (किताव नहेरी कण्ठ सुनाउनु पर्ने पाठ) छ कि छैन भनेर उनले सोद्धा मेरो एक किसिमले सातो नै जान्थ्यो । म पहाडे केटोले, भाषा नै नबुझ्ने विद्यार्थीले कसरी हिन्दीमा लेखिएको कितावको पाठ ‘मूँह जमानी’ सुनाउनु ! पाठ सुनाउन माष्टरका अगाडि उभिनु मलाई कालका अगाडि उभिए जस्तो हुन्थ्यो । त्यसवेलाका पाठका कुनैपनि अंश म अहिले सम्झन्न, त्यसवेलाको एउटा कुराको भने संझना अहिले पनि ताजै छ । पढाई शुरु हुने बेलामा ती माष्टरले हिन्दीमा हामी सवैलाई उभ्याएर राष्ट्रिय गीत गाउन लगाउँथे – “जनगण मन हे नायक भारत भाग्य विधाता ……” र पाठको बीच बीचमा “हमारा प्रधानमन्त्री जवाहरलाल नेहरु …..” भन्ने लेखिएका अंश उनले हामीलाई सुनाउँथे । यी कुराको, त्यसवेला मैले खासै केही अर्थ बुझ्न सकेको थिइन । बेलाबेलामा जनकपुर भारतकै अंग पो हो कि जस्तो पनि लाग्थ्यो । ती माष्टरले हामीलाई प्रत्येक दिन क्लास छुट्ने बेलामा ‘पाहाडा’ घोकाउँथे । शुरुका केही दिन मलाई अप्ठेरो लागेपनि लयात्मक लाग्ने भएका कारण पछि पछि मन पर्दै गयो । एक किसिमले यातनादायी पढाईका ती दिन मैले विताएँ । अहिले म सम्झन्छु – त्यो ‘घरेलु पाठशाला’ मलाई शिक्षाको उज्यालो दिने पहिलो मन्दीर थियो र ती ‘काइस्त मास्टर’ मलाई उज्यालोमा हिंड्न सिकाउने आदरणीय गुरु थिए ।

 त्यहाँबाट निस्कँदा मैले कक्षा चार पास गरेको प्रमाणपत्र पाएको थिएँ । त्यसपछि जानकी मिडिल स्कूल मा कक्षा ५ मा मेरो नाम लेखाइयो । म अहिले पनि संझन्छु – जानकी स्कूलमा पुग्दा मैले स्वतन्त्राताको सुखद सास फेरेको थिएँ । त्यहाँ पढ्ने विद्यार्थी तथा शिक्षकहरु, पाठ्य पुस्तकहरु, अन्य समग्र वातावरणले मलाई अत्यन्त प्रभावित बनायो । त्यहाँ पुगेपछि मात्र मलाई जनकपुर नेपालकै भूभाग हो भन्ने लाग्यो ।

 पाँच र छ कक्षाको पढाई पछि मैले जानकी स्कूल छोडेर जनकपुरको चर्चित सरस्वती हाइस्कूलमा कक्षा ८ मा नाम लेखाएँ । सरस्वती हाई स्कूलमा पुगेपछि मेरो ज्ञान, चेतना र गतिविधिहरुको क्षितीज धेरै उघारिएको थियो । त्यहाँ हामी सहपाठी – दौंतरीहरुका बीचमा मुलुकको राजनीतिक स्थितिको वारेमा केटौले हिसावले नै भएपनि कुराकानीहरु हुने गथ्र्यो । हामी प्रजातन्त्रका वारेमा पनि कुराहरु गथ्र्यौ । यही सिलसिलामा वि.पी. कोइराला, मनमोहन अधिकारी आदिका वारेमा कुराहरु हुने गर्थे । 

 केही समयपछि नै त्यस्ता कुरा गर्नेहरु मध्ये धेरैका विचार र आचरणलाई देखेपछि ती व्यक्तिहरु मलाई ठीक लागेनन् । सामान्य जनतासित र महिलाहरुसित उनीहरुको व्यवहार राम्रो हुँदैनथ्यो । उनीहरु मध्ये धेरै गुण्डागर्दीमा पनि संलग्न हुने र कहिलेकहीं त लुटपाटमा समेत संलग्न हुन्थे । भेषभुषा र खानपानमा पनि उनीहरु ठीक थिएनन् । तर कुरा भने प्रजातन्त्रका – काँग्रेसका गर्ने गर्थे । विस्तारी त्यस्ता साथीहरुको साथ मैले छोड्दै गएँ । मैले थाहा पाएँ – ती साथीहरु मध्ये धेरैजना नेपाली काँग्रेससित सम्बन्धित रहेछन् । तिनीहरुको मुखबाट मैले वि.पी. कोइराला, नेपाली काँग्रेस, प्रजातन्त्र, भारत आदिको खुवै नाम सुन्ने गर्थे । म छिटै त्यस्ता व्यक्तिहरुबाट टाढिंदै गएँ । नेपालजस्तो सानो मुलुकलाई चीनले हेप्दैन रे भन्ने थाहा पाएपछि म चीनप्रति आकर्षित भएँ । काम गरी खाने मानिसलाई माया गर्ने र साना ठूला सवैलाई बरावरीको दृष्टिकोण कम्युनिष्टले राख्छन् भन्ने थाहा पाएपछि म कम्युनिष्टप्रति आकर्षित हुँदै गएँ । कम्युनिष्ट पार्टी गरीव दुःखीको पार्टी भन्ने थाहा पाएपछि म त्यसैको नजिक हुनुपर्छ भन्ने ठान्न थालें । त्यस्ता साहित्यहरु खोजी खोजी पढ्न थालें । यसै क्रममा जनकपुरका चिनिएका कम्युनिष्ट नेता लेखनाथ शर्मासित मेरो परिचय भयो । उहाँसित म धेरै कुरा सिक्न, बुझन् थालें । यसरी सरस्वती हाईस्कूलको कक्षा आठ देखिनै मेरो संगत कम्युनिष्टहरुसित हुन थाल्यो । 

 जनकपुरको सरस्वती हाई स्कूलममा कक्षा ८ मा पढ्दा म पहिलो पटक राजनीतिक कारणले पुलिसको हिरासतमा पुगेको थिएँ । भारतले नेपालको अविछिन्न भूभाग – सुस्ता र महेशपुरमाथि अतिक्रमण गरेको थियो र त्यसवेला भारतको विस्तारवादी कार्यको देशव्यापी विरोध गरिएको थियो । विभिन्न समूहमा विभाजित भएपनि आ–आफ्ना ठाउँबाट राष्ट्रियता र प्रजातन्त्रका लागि कृयाशील कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु खासगरी नौजवान युवा विद्यार्थीहरु विरोध अभियानमा जुटेका थिए । जनकपुरको विरोध जुलुशमा पुलिसले टियर ग्याँसका धेरै गोला फालेको थियो र लाठी चार्जमा धेरैले कुटाई खाएका थिए । जुलुशको पछि पछि नै लागेको भए पनि पुलिसले दुई लाठी हिर्काएर मलाई पनि मुन्ट्याउँदै लगेको थियो । यो २०२५ को माघ वा फागुनतिरको कुरा हो । त्यसवेला मलाई २ दिनमै छोडिएको थियो । यही सिलसिलामा केही दिन पछिको अर्को कार्यक्रममा मैले पुलिसबाट नराम्ररी कुटाई खाएको थिएँ । त्यसवेला म एक किसिमले थलै परेको थिएँ ।

 २०२६ को आखिरीतिर भारतले नेपालसितको व्यापार तथा पारवाहन सन्धीको म्याद नथपी नाकाबन्दी गरेको थियो । भारतको यस किसिमको कार्यको विरोधमा पुनः देशव्यापी विरोध प्रदर्शन गरिएको थियो । जनकपुरका प्रगतिशील तथा देशभक्त व्यक्तिहरुले भारतीय नाकाबन्दीको विरोधमा प्रदर्शन गरेका थिए । कतिपय भारतीय उत्पादनहरुलाई सार्वजनिक ठाउँमा जलाइएको थियो । म त्यसमा संलग्न भएको थिएँ । पुलिसले प्रदर्शनकारीहरु मध्ये केहीलाई गिरफ्तार गरेर यातना समेत दिएको थियो । त्यसवेला म एस.एल.सी. परीक्षाको सम्मुख थिएँ । झण्डै मेरो परीक्षामा समेत असर गरेको ! कसो – एक हप्ताको सेरोफेरो मै मैले हिरासतबाट छुटकारा पाएको थिएँ ।

 एस.एल.सी. पास भएपछि, म राम्रै विद्यार्थीमा गनिए पनि, प्रमाणपत्र तहमा आर्टस् लिएर पढ्न थालें । कलेजमा पुगेपछि मेरो राजनीतिक कृयाशीलता बढेको थियो । कलेजको खुला राजनीति गर्न पाउने वातावरणले मलाई निकै प्रेरित गरेको थियो । म घोषित रुपमा अनेरास्ववियूको सानोतिनो नेता नै बनिसकेको थिएँ । कविता तथा निवन्ध प्रतियोगिता, गोष्ठी तथा सभाहरु, भाषण तथा जुलुशहरुमा मेरो अनेरास्ववियूको विद्यार्थी नेताको हैसियतले उपस्थिति तथा सहभागिता हुने गरेको थियो । 

 २०२८ को विद्यार्थीहरुको राष्ट्रव्यापी संयुक्त आन्दोलनमा मेरो सकृय सहभागिता रह्यो । उक्त आन्दोलनमा हामी अनेरास्ववियूका विद्यार्थीहरुले आन्दोलनलाई अगाडि बढाउन विशेष योजनाकासाथ लागेका थियौं । त्यसवेला संभवतः जनकपुरमा पहिलो पटक हामीले पंचायती सरकारको विरोधमा मसाल जुलुश निकालेका थियौं । म लगायतका केही विद्यार्थी साथीहरु लुकिछिपी आन्दोलनमा नेतृत्व गरिरहेको बेला गिरफ्तारीमा प¥यौं । त्यसवेला हामीले प्रहरी कष्टडीमा पाएको चरम यातनाको वर्णन गरी साध्य छैन । उँधोमुन्टो पारेर पैतालामा कुट्ने, पंखामा झुण्ड्याउने, हातखुट्टा बाँधेर लात्ते भकुण्डो गर्ने – के मात्रै गरिएन ! पहिलो पटक हप्ता–दस दिनको पुलिस कस्टडीको यातानपछि हामीलाई जलेश्वर जेल लागिएको थियो । हाम्रो तर्फबाट जेलमा रहनुभएका विष्णुबहादुर राउत लगायत अन्य केही साथीहरु थिए भने नेविसंघबाट आनन्द ढुंगाना, केशव कोइराला (शहिद)  आदि थिए । झण्डै दुई महिनाको जेल बसाइले मलाई भित्रैदेखि झन् मजबुत बनाएको थियो ।

 २०२९ को कलेजको विद्यार्थी चुनावमा पहिलो पटक सभापति लगायत बहुमत सीट अनेरास्ववियूले जितेको थियो । जनकपुरको रा.रा. क्याम्पसको इतिहासमै यो पहिलो पटक भएको थियो । त्यसवेला आइ.ए.को फाइनल वर्षमा भएकोले म सदस्यको रुपमा मात्र उम्मेदवार बनेको थिएँ । मैले त्यस चुनावमा विजयी विद्यार्थीहरुमध्ये सवैभन्दा ज्यादा मत प्राप्त गरेको थिएँ ।

 मैले जव एस.एल.सी. पास गरी आई.ए. मा अध्ययन गर्न शुरु गरेको थिएँ – त्यसैवेला कम्युनिष्ट सिद्धान्त सम्बन्धी कितावहरु खासगरी चिनियाँ प्रकाशनहरुको मैले अध्ययन गर्न थालेको थिएँ । जनकपुरका प्रतिष्ठित कम्युनिष्ट नेता लेखनाथ शर्मा मार्फत म त्यस्ता कितावहरु पाउँथे । उहाँ कहिलेकहीं हामीलाई क्लास पनि लिने गर्नुहुन्थ्यो । यही क्रममा उहाँले नै मलाई पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो । त्यसवेला रसिद काटेर पार्टी सदस्यता दिइन्थ्यो । मैले त्यसवेला गोजी टक्टक्याएर पाँच रुपैयाँ बुझाएको छु ।

 मैले जनकपुरबाट आई.ए. पास गरुन्जेल कम्युनिष्ट विचारप्रति मेरो प्रतिबद्धता झन् दृढ बनेको थियो । यसरी २०२० देखि २०२९ सम्म नौ वर्षको अवधिमा मैले कम्युनिष्ट पार्टीको प्रारम्भिक राजनीति मात्र होइन कृयाशील हुने सिलसिलामा कम्युनिष्ट पार्टीको सदस्य समेत जनकपुरमै प्राप्त गरेको थिएँ । यसरी जनकपुरसित मेरो प्रारम्भिक राजनीतिको भावभूमि निर्माण भएको थियो । 

 २०३२ को शुरुदेखि जब मैले कम्युनिष्ट पार्टीको क्रान्तिकारी राजनीति बोकेर भूमिगत पेशेवर कार्यकर्ताको रुपमा भुमिहीन–गरीव किसानहरुको वस्तीमा जानु प¥यो, संयोगले नै भन्नु पर्छ, मलाई धनुषा नै कार्यक्षेत्र तोकियो । काठमाडौंको पढाई सकेर म घरै नगई सिधै धनुषाका भूमिहीन–गरीव किसानहरुको वस्तीमा पुगेको थिएँ । गरीव–भूमिहीन किसान जनताका बीचमा जाने, उनीहरुसित एकाकार हुने र यसैक्रममा आफुलाई रुपान्तरित गर्नुपर्ने अनिवार्यतालाई आत्मैदेखि स्वीकार गरेर म गाउँ आएको थिएँ । हो, मेरो यो अग्रसारितामा सैद्धान्तिक – राजनीतिक स्पष्टता कम र क्रान्तिकारी भावना ज्यादा प्रकट भएको थियो । म अहिले पनि संझन्छु – त्यसवेला मेरो त्यो भावना यति प्रचण्ड र वेगवान थियो की मैले आफ्ना सवै व्यक्तिगत चाहना र आकाँक्षालाई विर्सन पुगेको थिएँ । मैले एक जोर लगाएका लुगा, एउटा लुँगी, माओत्सेतुङ्गका रचनाहरु, एउटा नोटबुक र एउटा कलम भएको झोला बोकेर म हिंडेको थिएँ । 

 खुला रहँदा धनुषा, जनकपुरबाट मैले जे कुरा थाहा पाएको थिएँ, सिकेको थिएँ, त्यसले मलाई खासै केही काम नदिने भयो । त्यहाँ मैले विल्कुलै नयाँ शुरुआत गर्नुप¥यो । भूमिहीन–गरीव किसानहरुसित एकाकार भएर मात्रै बुद्धिजीवी–विद्यार्थी क्षेत्रबाट आएका नौजवानहरुले आफुलाई रुपान्तरित गर्न सक्छन् भन्ने कुरालाई मैले मूल मन्त्र बनाएर भूमिगत भएको थिएँ । विद्यार्थी बुद्धिजीवीहरुका लागि श्रमजीवी जनतासित एकाकार हुने कुरा ठूलो परीक्षा तथा चुनौतीको विषय थियो – त्यसवेला । आफुलाई रुपान्तरित गर्न श्रमजीवी जनतासित एकाकार हुनै पर्छ र एकाकार हुन नसक्नेहरु रुपान्तरित हुन सक्तैनन् भन्ने मान्यता थियो । मेरो अनुभवमा श्रमजीवी जनतासित त्यो व्यक्ति मात्र एकाकार हुन सक्छ जसले उनीहरुलाई श्रद्धाको नजरले हेर्न सक्छ र जो उनीहरुसित सिक्न सधैं ललायित रहन्छ । मैले भूमिगत कालका प्रारभ्मिक दिनहरुमा अनेकौं कष्टकर तथा रोमान्चकारी अभ्यासका क्रममा श्रमजीवी जनतासित एकाकार हुने कुरालाई बुझ्न सकें – सिक्न सकें ।

 भूमिगत कामको अत्यन्त अनौठो अनुभव सँगालेको छु मैले । कसरी जनताको विश्वास जित्ने ? कसरी सधैं जनताकै योजना र पहलमा उनीहरुकै बीचमा टिक्ने ? तराईको ग्रामिण ईलाकाका अत्यन्त विपन्न किसानहरुको आर्थिक तथा साँस्कृतिक स्तरलाई बुझ्न र आत्मसात गर्न पनि मलाई निकै मिहिनेत गर्नु परेको थियो । मेरो त्यसवेलासम्मको संस्कार र कतिपय आदतलाई बदल्न मलाई कठिनाई नपरेको पनि होइन । खाने, सुत्ने, बस्ने, दिशा–पिसाव गर्ने आदि कुरामा म नयाँ ढंगले अभ्यस्त बन्नु पर्ने भयो । म अहिले पनि गर्व गर्छु कि थोरै समयमा मैले त्यहाँका श्रमजीवी किसानहरुको सहयोगले धेरै कुरा सिकें । ठेरा कचुरीका चुल्हाईराम र जीवछ, इकराही मुडिवाका जगदेव – रामदेव गोहिवार तथा रामऔतार पासवान, नुरजहाँ, हविव र …….. तथा चोराकोयलपुरका रामविलास, धवौलीका कुसेश्वर, सौखीलाल र अच्छेलाल खत्वे आदि – किसान साथीहरुको ठूलो सहयोग मैले पाएको छु । परिवर्तन ल्याउन यी लगायत अन्य धेरै किसान साथीहरुको अत्यन्त आत्मीय सहयोग मैले पाएको छु । मैले यिनै साथीहरुको सहयोगबाट आफुलाई रुपन्तरित गर्न सकेको हुँ । मलाई नयाँ जीवन दिने काममा यी साथीहरुको ठूलो हात छ । यही क्रममा भाषा, संस्कृति र संस्कारलाई पनि सिक्ने, बुझ्ने र आत्मसात गर्ने सुन्दर अवसर मैले प्राप्त गरें । यसरी धनुषा जिल्लाको भूमिनै मलाई क्रान्तिकारी भावना तथा उन्नत चेतनाले नयाँ जीवन दिने पवित्र थलो बन्यो ।

 प्रारम्भिक संगठित जीवनका अनुभवहरु मैले धनुषाकै भूमिमा प्राप्त गरेको हुँ । ‘एक एरिया, एक युनिट ……..’ को कार्य पद्धति मैले त्यहीं सिकेको हुँ । शुरुमा मैले एउटा एरियामा केन्द्रित भएर संगठित जीवन शुरु गरेको हुँ । एउटा गाउँको यूनिटमा संगठित भएर त्यसको सचिवको रुपमा त्यसलाई संचालन गरेर मैले बर्षौं विताएको छु । अनेक अन्तरविरोध तथा जटीलताका बीचमा संगठनहरुको निर्माण तथा संचालनमा शुरु शुरुमा त निकै धेरै विरसिला क्षणहरु पनि नआएका होइनन् । एउटा समय त यस्तो रह्यो – गाउँको युनिट देखि केन्द्रको सदस्यको रुपमा पनि बस्नु पर्ने भयो । साँगठनिक जीवनका यस्ता जटील  अनुभवहरु मैले जनकपुर मै पाएको हुँ । 

 जनकपुर क्षेत्रमा मैले झण्डै आठ वर्ष लगातार भूमिगत काम गरें । यस अवधिमा मैले धेरै अनुभव र शिक्षाहरु प्राप्त गरेको छु । त्यसवेला काम गर्दाका अनुभवहरुलाई म जब आजको उन्नत चेतना र विस्तारित जिम्मेवारीको बीचमा फर्केर हेर्दछु – मलाई लाग्छ, ती दिन मेरा लागि महत्वपूर्ण कलेज र विश्वविद्यालयका दिनहरु थिए । मैले तिनै दिनमा जनतासित परिचीत हुने मौका पाएँ । मैले श्रमजीवी जनतालाई नजिकबाट चिन्ने मौका पाएँ । 

 जनकपुर क्षेत्रमा भूमिगत काम गर्दा कैयौं पटक शत्रुको हातमा पर्दापर्दै पनि जनताले आफ्नो ज्यान हत्केलामा राखेर बचाएका छन् । मुडिवाकी सिवर्थी दिदीले २०३३ भदौमा हात हतियारले सुसज्जित शत्रुहरुको जत्थाबीचबाट बचाएको कुरालाई म कहिल्यै विर्सन सक्दिन । भौकै पर्दा जनताले गाँस काटेर मलाई बचाएका छन् । सधैंभरि अर्काकोमा जनबनी गर्ने धवौली गरटोलीका अच्छेलाल खत्वेले धेरै दिनदेखि खान नपाएर थला परेको मलाई आफुले बनी गरी ल्याएको चामल पकाएर त्यसको माड खुवाएर बचाएका छन् । यसरी खान पाई बाँचेपछि मैले आदरपूवर्क उनको हात समातेको थिएँ र आफ्ना आँखाबाट आँसु खसालेको थिएँ । धेरै पटक अर्काकोमा जन–मजदुरी गर्न जाने ठेरा–कचुरीका किसान महिलाहरुले आफुलाई खान दिएको खाजा, खाना बचाएर पोल्टामा हालेर ल्याई मलाई खुवाएका छन् । थुप्रै पटक सिकिस्त विरामी पर्दा आफ्नै भाई छोरा जस्तो गरी औषधीमूलो गरिदिएका छन् । अरु त के, कडा सुरक्षा समस्याका कारण दिउँसोका उज्यालोमा बाहिर निस्कन नमिल्ने समयमा, प्रायः सधैं भाँडामा दिसा पिसाव गराएर सुरक्षीत राखेका छन् । धेरै किसानहरुले आफ्नै घर–मझेरीमा खाल्डो खनी दिसा–पिसाव गराएका छन् । यी सवै कुरा भूमिगत हुँदा घटेका घटना मात्र नभएर, मलाई नयाँ जीवन दिने निस्च्छल तथा निस्वार्थ मन भएका श्रमजीवी जनताका पवित्र कामका केही उदाहरण मात्र हुन् । जव इकराही–मुडिवाका अच्छेलाल दासलाई पुलिसले गिरफ्तार गरी चरम यातना दियो, उनी अर्ध–विक्षिप्त बने । अच्छेलाल दास भूमिहीन किसान थिए र उनको घर २०३२ सालको शुरुदेखि नै को–अर्डिनेशन केन्द्र का महत्वपूर्ण काम गर्ने शेल्टर बनेको थियो । यातनापछि उनको अर्धविक्षिप्तताको खवर पाएर २०३५ को शुरुमा म र माधव नेपाल लुक्दै छिप्दै उनको घरमा पुगेका थियौं । उनी हामीलाई देखेर टोलाई मात्र रहे । उनको आँखाबाट आँसु मात्र झरिरहे । हामीले उनलाई हेरेर आफ्ना भाव थाम्न सकेनौं । म त डाकै छोडेर रोएको थिएँ । त्यो रात हामी अच्छेलालको झुप्रोमा उज्यालो नहुन्जेल बसेर रोयौं, आँसु पुछ्दै प्रतिकृयावादीहरुसित बदला लिने दृढ अठोटकासाथ भाले बासेपछि बाहिरिएका थियौं ।

 हामीले आफ्नो ‘पार्टी’ को मुखपत्र ‘वर्ग–संघर्ष’ निकाल्थ्यौंं । त्यसको अंक १ देखि ८ सम्मको संपादन गर्ने र भारतबाट छपाएर ल्याई वितरण गर्ने केन्द्र नै धनुषालाई बनाएका थियौं । यो काममा त्यहाँका धेरै साथीहरुले ठूलो योगदान पु¥याउनु भएको छ । पार्टीको मुखपत्रलाई भारतीय सीमाबाट छिराउन धेरैपटक धनुषाका किसान साथीहरुले दिन भरिभरि टाउकोमा भारी बनाएर ओसार्नु भएको छ ।

 त्यसवेला पार्टीको क्रान्तिकारी राजनीतिबाट प्रेरित भएर स्थानीय गरीव–भूमिहीन किसानहरुले स्थानीय वर्ग–संघर्षमा अगुवाई गरे । धेरै स्थानीय संघर्षमा जीत हासिल गरे । संघर्षलाई अगाडि बढाउने क्रममा नै कतिपय स्थानीय जाली फटाहहरु जनताको संघर्षको निशाना पनि बने । मुडिवाका केदार यादव, उमाप्रेमपुरका भुईलोटन यादव यसै क्रममा मारिएका थिए । दमनको सिलसिलामा उमाप्रेमपुरका झप्सी मंडल, मुडिवाका रामप्रीत  यादव तथा तारपट्टि सिरसियाका भोला साहले आफ्नो जीवन गुमाउनु परेको थियो । उहाँहरु तल्लो वर्गबाट अगाडि आएका अगुवा कार्यकर्ताहरु हुनुहुन्थ्यो । दुःखद संयोग नै मान्नु पर्छ – प्रतिकृयावादीहरुसित जुद्धाजुद्धै मेरै समीपमा वहाँहरुले वीरगति प्राप्त गर्नु भएको थियो । अहिले पनि म रामप्रीत यादव र झप्सी मंडललाई झल्झली सम्झी रहेको छु ।

 २०४० सालको आखिरीतिर मैले मध्यदक्षिण क्षेत्रको जिम्मेवारीबाट मुक्त भई ‘मध्यउत्तर क्षेत्र’ को जिम्मेवारी लिनु पर्ने भयो । पार्टीको निर्णय अनुरुप म सरुवा भए । मध्य दक्षिण क्षेत्रबाट विदा हुँदा म मूलतः धनुषाबाट विदा भइरहेको थिएँ । धनुषामा पाएको जनताको निश्चल माया, निस्वार्थ सहयोग तथा आँसु र रगतको साइनोलाई आफ्नो मुटुमा साँचेर म नयाँ ठाउँको नयाँ जिम्मेवारी बोक्ने आँट सहित बाटो लागेको थिएँ । जनकपुर क्षेत्रले मलाई पार्टी जीवन र राजनीतिक संघर्षमा केही मात्रमा पाको बनाइसकेको थियो ।

 

०६०/०७/२६