दोलखामा पार्टी काम गर्दा
म मध्य उत्तरमा आएपछि मैले तुलनात्मक रुपमा केही खुकुलो वातावरणमा पार्टी काममा संलग्न हुने अवसर पाएँ । मैले हिंडडुल तथा भेटघाटमा केही सजिलो महसुश गरेको थिएँ । क्षेत्र अन्तर्गत पर्ने विभिन्न जिल्लाका पार्टी कमिटीहरुलाई–पार्टी कामलाई व्यवस्थित गर्ने काममा त म लागें नै । तर, मैले सिन्धुपाल्चोकलाई खासगरी पिस्कर क्षेत्रमा आफ्नो ध्यानलाई विशेष केन्द्रित गरेको थिएँ । त्यसवेला क. माधव पौडेल त्यहाँ हुनुहुन्थ्यो । हामीले संगै रहेर त्यहाँ भइरहेको दमनको सुक्ष्म अध्ययन गर्ने र दमनका विरुद्धमा जनप्रतिरोध संगठित गर्ने योजना बनाएका थियौं । योजनाहरु अनुसार नै जनप्रतिवादका कामहरु पनि भएका थिए । बनाएको योजना अनुसार नै हामीले “पिस्कर– दमन र प्रतिरोध कथा” नामक ठूलै पुस्तक प्रकाशित गरेका थियौं । अहिले पनि जव जव म त्यो पुस्तक पल्टाउँछु आफैंलाई एउटा राम्रो काम हुन सकेकोमा गौरव लागेर आउँछ ।
त्यसवेला पंचायती सरकारका गृह मन्त्री, अंचलाधिसदेखि पुलिसका हाकिमहरुका वारेमा पनि विशेष सूत्र मार्फत हामीहरु सूचना पाउँथ्यौं । स्थानीय सानातिना फटाहाहरुका त एक एक खवर हामी भए ठाउँ पुग्थे । यस्ता सूचनाले हामीलाई आफ्ना काम तथा गतिविधिहरु अगाडि बढाउन ठुलै सहयोग पुगेको थियो । यसरी काममा चुर्लुम्म डुबिरहेकै बेला २०४२ साल जेष्ठ ३ गते दोलखा जाँदै गर्दा सदरमुकाम चरिकोटमा म गिरफ्तार भएको थिएँ । ‘मध्य दक्षिण’ क्षेत्रबाट सरुवा भई यहाँ आएको भरखर डेढ वर्षजति मात्र भएको थियो ।
काठमाडौंमा पार्टी ‘हेडक्वाटर’सित सम्बन्धित कतिपय कामको व्यस्तता, श्रीमती मीरा झण्डै एक महिनासम्मको गंभीर अस्वस्थ्यता मै रहेकोबेला उनको लागि मिलाउनु पर्ने कतिपय चाँजोपाँचोका कारण २ गते राती अवेला मात्र सुत्न गएको र विहान ५ बजेको जिरी जाने बसबाट म दोलखा लागेको थिएँ । जेष्ठ ४ र ५ गतेको दोलखा जिल्ला स्तरीय कार्यकर्ता भेला सकेर ७ गते सिन्धुपाल्चोकको जिल्ला संगठन कमिटीद्वारा सिक्रे गाउँमा आयोजना गरिएको जिल्ला भेला सम्पन्न गरी ९ गते काठमाडौं फिर्ने मेरो योजना थियो ।
कतिदिन देखिको थकाई र काममा व्यस्तताका कारण बसको यात्रा मेरो लागि अत्यन्त आरामदायी भइरहेको थियो । बस हिंडेको केही समयपछि नै उँघ्दै अगाडि बढिरहेको म लामोसाँघुमा खाना खान रोकिंदा मात्र विउँझिएको थिएँ । मैले पनि अरु यात्रु सरह होटलमा भात खाएँ । करिव एक घण्टाको अलमलपछि बस जिरी जाने उकालो लागेको थियो । दिउँसोको घाममा, बस जति जति उकालो चढ्दै गयो, हिमालबाट आएको चिसो हावाले प्रायः सवै यात्रुहरुलाई लोलाउने बनाइसकेको थियो । मेरो त झन् कुरै भएन । म बेलाबेलामा विउँझिंदै वरपर हेर्दै, विचार गर्दै थिएँ । मुढेमा पुगेपछि एकछिन बस रोकियो । उत्तरतिर ऐनाजस्ता भएर मनै लोभ्याउने किसिमले उभिएका हिम श्रृंखलाहरुले आकर्षित गरेका थिए । विउँझिएर म केही सतर्क बने । अव केही समयपछि – लगभग आधा घण्टापछि सदरमुकाम चरिकोट आइपुग्छ भन्ने कुराले मलाई विशेष सतर्क बनाएको थियो । मैले आफ्नो हरियो र लाम्चो परेको चाइनीज कपडाको व्यागलाई व्यवस्थित बनाएँ । चरिकोट नपुगुन्जेल नउँघ्ने – नसुत्ने विचार बनाएर विशेष सतर्कताकासाथ चारैतिर हेर्न थालें । उत्तरतिर देखिने हिमश्रृंखला अत्यन्त मनमोहक देखिन्थे । बस हुईकिंदै र बाटोका साना साना मोडहरुमा गति कम बनाउँदै अगाडि बढिरहेको थियो । गर्मीको महिना र त्यस किसिमको मनमोहक वातावरणले प्रदान गरिरहेको चीसोपनाले फेरि प्रायः सवै यात्रुहरुलाई लोलाउने बनाईदियो । मैले पनि त्यो अवस्थाबाट आफुलाई जोगाउन सकिन । म कुन बेला भुसुक्क निदाएँ, पत्तै भएन ।
विउँझंदा सदरमुकाम चरिकोटमा बस पुगेर रोकिएको, बसका यात्रीहरु र उनीहरुले ल्याएका सामग्रीहरुलाई चेक गर्न बसको दुवै ढोकाबाट प्रहरीहरु भित्र चढिसकेको र तलासीको काम शुरु गसिकेको मैले देखें । यस्तो देखेपछि म मनमनै अत्तालिएँ तर अत्तालिएको कुरा भने देखाउन चाहिन, गम्भीर मुद्रामा आफ्नै सिटमा बसिरहें । चेक गर्ने प्रहरी क्रमशः मेरो सिटमा पनि आइपुग्यो । मलाई कहाँबाट आएको र कहाँ जाने भनी सोध्यो । मैले काभ्रेबाट आएको र जिरी जान हिंडेको भनें । उसले मेरो झोला हे¥यो । बस् ! झोला के खोतल्यो – उसले त्यहाँ मैले व्यवस्थित राखेका कागजपत्र देखिहाल्यो । मई दिवसको अवसरमा निकालिएका केही पर्चा, वेइजिङ रिभ्यू (पत्रिका) विभिन्न कुराहरु टिपोट गरिएको डायरी, मध्य उत्तर क्षेत्रको लेख्दै गरेको वार्षिक समीक्षा तथा कार्ययोजना प्रतिवेदन, एउटा चिटिक्क परेको रेडियो आदि सामग्री देखेपछि प्रहरीले मलाई झोलासहित तल ओरालीहाल्यो । बस स्टपमै रहेको पुलिस पोष्टमा पु¥याएर थप सोधखोज गर्ने र सामान हेर्ने काम गरेपछि त्यहाँ रहेको पुलिस प्रमुख असईले मलाई जिल्ला प्रहरी कार्यालयमा सुरक्षाकासाथ पु¥याउन एउटा हवल्दारलाई जिम्मा लगाईहाल्यो । यी सवै काम ५–७ मिनेटभित्रै पूरा गरिएका थिए । मलाई आदेश अनुसार तराईवासी सिंह थर भएको हवल्दारले अघि लगाएर हिंड्यो ।
मलाई लाग्यो – म अव अत्यन्त महत्वपूर्ण कागजपत्र सहित शत्रुको हातमा परें, मैले आफू बच्ने र गोपनियाता बचाउने अधिकतम् कोशिस नगरी हुन्न । मनभित्र जे जस्ता कुराहरु उम्लीरहेका भएपनि बाहिर अत्यन्त शान्त र सामान्य रुपमा आफुलाई प्रस्तुत गर्दै, लिएर हिंड्ने हवलदारसित फाट्टफुट्ट कुराहरु पनि गर्दै अगाडि बढिरहें । मलाई जिल्ला प्रहरी कार्यालय कति टाढा छ र कस्तो कस्तो बाटो हुँदै त्यहाँ पुगिन्छ भन्ने कुराको केही पनि जानकारी थिएन । म प्रत्येक पाइला गन्दै र ठाउँको अनुकलता–प्रतिकुलता विचार गर्दै अगाडि बढिरहेको थिएँ । मैले मनमनै अनुकुल प¥यो भने मेरो पछिपछि रहेको पुलिस हवल्दारलाई आफुले टेक्दै गरेको छाताले निर्णायक प्रहार गर्ने र भाग्ने योजना बनाएँ । यो योजनाप्रति पक्का मन बनाएर उपयुक्त समय र स्थानको टुंगो गर्ने कुरामा म लागें । मैले मनमनै सोचेको थिएँ – यो तराईवासी हवल्दार यहाँको भिरालो पाखोमा म जति के दौड्न सक्ला र ! म कुदेकै कुदै उम्कन सक्छु ! यही योजनामा पूर्ण विश्वस्त भएर, जिल्ला प्रहरी कार्यालय पुग्नु भन्दा एउटा मोड यतैको एउटा खोल्सी छेउ पुगेपछि हवल्दारलाई आफुसित रहेको छाताले सशक्त प्रहार गरी भिरालो बाटो हँुदै म कुदेको थिएँ । तर दुर्भाग्य ! म यसरी कुद्नासाथ हवल्दारले आपत्कालिन सिठी मात्र बजाएन, संगसंगै कुद्यो र आफुसंगै भएको लौराले झट्टी समेत हान्यो जसले मलाई लाग्यो पनि । म त खोल्सी परेको ठाउँ हुँदै पाखैपाखा तलै पुगौंला भनेको त प्रहरीहरु र सि.डी.ओ. अफिस लगायतका अन्य कर्मचारीहरुका क्वाटर क्षेत्रमा पो पुगेछु ! शत्रुहरुको सारा शक्ति ममाथि एकैपटक खनियो । मैले उम्कन सक्ने कुरै थिएन । म त त्यसवेला चील तथा वाजहरुको ठूलो हुलले घेरिएको एउटा निरीह चराजस्तो सावित भएँ । त्यसपछि म माथि उनीहरुले वर्षाएका लात्ती, मुड्की र लौराहरुको प्रहार भनी साध्य थिएन । मलाई जिल्ला प्रहरी कार्यालय र सी.डी.ओ. कार्यालयको संयुक्त रुपमा रहेको आँगनमा लगेर पछारियो । अचम्म ! त्यसवेला ममाथि भइरहेको प्रहारबाट मलाई पीडा महसुस हुन छोडिसकेको थियो ।
मैले पुलिसको गिरफ्तारीबाट फरार हुन गरेको प्रयत्नले चरिकोटभरि खासगरी सरकारी कार्यालयहरु रहेको त्यो डाँडोमा खैलावैला, उत्सुकता तथा आशंका छायो । चारैतिरबाट मानिसहरु ओइरो लागेर जम्मा भए, मलाई हेर्न – बुझ्न लागे । तत्कालै प्रहरी कार्यालयको कोठाभित्र लगी फलामका सिक्रीले मेरा हात खुट्टा बाँधियो, लाठी र बुटले हवल्दार लगायतका प्रहरीहरुले ममाथि रीस पोखे । तर म त्यसवेला पनि शत्रुको पंजाबाट उम्कने पहिलो प्रयास असफल भएपनि त्यसपछि के गर्ने होला भन्ने सोचाइमा डुबी सकेको थिएँ । चरिकोटमा मलाई चिन्ने कोही कर्मचारी हुन सक्छन् भन्ने लागेर मैले आफ्नो सही नाम नलुकाउने निर्णय गरें । अर्कै विकास क्षेत्र, अर्कै अंचल र अर्कै जिल्ला भएको तर त्यहाँ मेरो व्यवस्था विरोधी अवैधानिक राजनीतिक गतिविधि वारे जानकारी नभएका कारण मैले आफ्नो घर ओखलढुंगा बताउने निर्णय गरें । त्यसवेला मलाई लाग्यो – त्यहाँको बारेमा केही न केही विस्तारपूर्वक नै बताउन सक्छु । अव एक पटक आफुलाई केही थाहा नभएको, आफु लामो समय वाहिरै बसेर अघिल्लो दिन मात्र काठमाडौं आई आफ्नो घर ओखलढुंगा हिंडेको बताउनु पर्छ भन्ने मनमनै टुंगो गरें । साथमा भएको झोला र सामाग्री अरु नै मानिसका हुन् भनेर बताउने टुंगो पनि मैले मनमनै गरिसकेको थिएँ । कस्तो अचम्म ! त्यस्तो यातनाका बीचमा पनि शत्रुको सामना गर्ने सन्दर्भमा आफुले बनाएका योजनाका कारण केही हलुका पनि महशुस भएको थियो । मैले आफुलाई केही दह्रो पारें भन्ने लाग्यो ।
यत्तिकैमा मलाई त्यही हवल्दारले एक दुई डण्डा वर्षाउँदै बाँधेको कुकुरलाई झंै लतार्दै हिंडाउन खोज्यो । म केही प्रतिवाद नगरी लुरु लुरु हिंडें । एकै छिनमा थाहा भयो– मलाई सि.डि.ओ., इन्स्पेक्टर लगायत प्रहरी प्रशासनका प्रमुख मानिसहरुका अगाडि प्रारम्भिक बयानका लागि लगिएको रहेछ । एकैछिन मलाई उनीहरुका अगाडि उभ्याएर मानसिक यातना दिने कोशिस गरियो । त्यसवेलासम्म मेरो झोला उनीहरुका अगाडि आइसकेको थियो । सि.डि.ओ. ले झोला खोलेर कागजपत्र निकाले र त्यसभित्रबाट मेरो डायरी थुतेर अगाडि राख्दै सोधे – यो झोला कसको हो ? मैले ‘मसंगै आएको अर्कै साथीको हो’ भनेर जवाफ दिएँ । मैले दिएको जवाफलाई पत्याउने कुरै थिएन । सि.डि.ओ. ले भनिहाले – हेर ढाँटेको ! डायरीको पाना उल्टाउँदै सोधे – यो ‘ललित’ भनेको को हो ? मलाई ‘अर्कै मानिस’ कसलाई बनाउँ भइरहको बेलामा सि.डि.ओ.ले ललितको नाम लिनासाथ मलाई त ढुंगा खोज्दा देउता फेला पारे जस्तो भयो । ‘त्यही ललित को हो यो झोला’ मैले अत्यन्त सहजताकासाथ जवाफ दिएँ । उनीहरुले पत्याउने कुरै थिएन । तर म सोधे अनुसार भन्दै गएँ – ओखलढुंगाको मानिस पारिवारिक कारणले फ्रस्टेट हुँदै कसरी भारतको बनारस, मेघालय र नैनिताल पुगें, ती ठाउँमा कसरी काम गरें, कसरी पढाइलाई अघि बढाएँ, परिवारबाट अलग्गीएर लामो समयपछि आफुसंगै बनारसमा भेट गर्न आइरहने ललित सित, उनकै सल्लाह र सहयोगमा ओखलढुंगाको लागि हिंडे आदि कुरा मैले उनीहरुलाई सरसर्ती बताएँ । मेरो त्यो प्रारम्भिक बयानलाई उनीहरुले पत्याएनन् । तर त्यो दिन उनीहरुले त्यत्तिनै बयान लिए । मलाई भने उनीहरुसितको बयानको प्रारम्भिक रिहलसलमा आफु सफल भएको लाग्यो ।
त्यस रात रातैभरि म निदाउन सकिन । थकाई र कुटाईको कारण त छँदै थियो, तर त्यो भन्दा पनि चर्को कुरा अव गरिएको बयान अनुसार आफुलाई कसरी ढाल्ने, कसरी अभ्यस्त पार्ने, बयानसित सम्बन्धित अर्थात् त्यसलाई चाहिने तिथि, मिति, स्थान तथा अन्य कतिपय विवरणलाई कसरी मिलाउने आदि कुरामा म रातैभरि केन्द्रित रहें । गंभीर अस्वस्थता झेल्दै गरेकी मीरालाई मैले धेरै पटक संझिए । उनी मर्ने बाँच्ने दोषाध मै रहेको बेला, ९ गते कात्र्तिकसम्म फिरिहाल्छु भनेर म उनीसित विदा भएको थिएँ । मिरालाई सम्झँदै त्यो शंकटको रातमा धेरैवेर मेरा आँखाबाट आँसु बगेका थिए ।
भोलीपल्टदेखि मनमा तयार गरिएका प्रत्येक कुरालाई कसैले पनि र कहीं पनि सोद्धा हेरफेर नहुने किसिमले कण्ठै पार्ने काममा लागें । पुलिसले कोरेर फालेका सलाईका काँटीले भुई कोर्दै मैले ईस्वी सम्वत र विक्रम सम्वत लगायतका स–साना कुराहरुलाई तल माथि नपर्ने गरी लेख्दै – मेट्दै कण्ठै गर्न थालें । जति जति म यस किसिमको तयारीमा लागें – मेरो मनोवल बढ्दै गयो । पुलिस सुत्ने खाटका खुट्टामा फलामका सिक्रीेले बाँधेर मलाई लडाइएको भए पनि म बयानको लागि भनें मानसिक रुपले नै तयार बनें ।
दिन बित्दै जांदा पुलिसको कुटाई क्रमशः कम हुंदै गयो । प्रहरी प्रशासनका मानिसहरु तत्कालिन अधिराजकुमारी हेलेन शाहको भ्रमणको तयारीमा विशेष व्यस्त बन्नुपरेका कारण मसित बयान लिने दिन पर सर्दै गयो । बयानको काम यसरी पर सर्दै जाँदा एकातिर अनिश्चितता – के हुने हो – कसो हुने हो – ले मलाई छट्पटीमा पारिरहेको थियो भने अर्कोतर्फ बयानका प्रत्येक विषयमा म जतिबेला, जहाँ, जसले, जे सोधे पनि एउटै नबिराई भन्ने पूर्ण तयारीमा लागें । यसबीच म त्यहाँका पुलिसहरु सित कुरा गर्न थालें र हेमचेम बढाउन पनि थालें । कुरै कुरामा उनीहरु भित्रका अन्तरविरोध पत्ता लगाएर त्यसै अनुसार उनीहरुसित प्रस्तुत हुने विषयहरु खेलाउन थालें । त्यही स्थिति रहे पनि अधिकांश पुलिसहरुसित मेरो सम्बन्ध सुध्रिंदै गयो । म पनि प्रत्येक पुलिससित आपूmले बयानको लागि तयार गरेको घटना–प्रशंगलाई सुनाउन थालें । यसो गर्दा मलाई रिहर्सल राम्रै हुंदैछ जस्तो लाग्दथ्यो । पछि पछि त हिरासतमै प्रहरीहरु – एक एक गरेर आउंदै आफ्ना दुःखसुखका कुराहरु सुनाउन थाले । खासगरी तराई मूलका प्रहरीहरुलाई पहाडमा सार्ने कुराप्रति उनीहरुको धेरै असन्तुष्टी थियो । एकजना प्रहरीले त म त्यहीं रहेको बेला आपूm ‘सरुवा हुन लागेको बेला भएका कारण कहीं कतैं आफन्तलाई केही लेख्नु छ भने लेखेर दिए आपूmले पु¥याइ दिने’ कबोल गर्दै कागज, डटपेन समेत ल्याएर दिए । म केही समय असमंजस्यमा परे पनि आपूmले तयार पारेको ‘नक्कली’ बयान कै आधारमा काठमाडौं न्ह्यौखामा ‘लालिमा पुस्तक पसल’ मा बस्नुभएका उत्तम महतलाई एउटा पत्र तयार पारी तिनै प्रहरीलाई दिएँ । मैले आशंका कै बीचमा पत्र तयार पारेको थिएँ । ती प्रहरीले हाकिमलाई दिए वा कहीं कतै ‘लीक’ भए पनि फरक नपर्ने – तर पार्टी ‘हेडक्वाटर’मा पुग्दा चाहिं यथार्थ कुरा थाहा हुने हिसाबले तयार पारेको उक्त पत्र ती प्रहरीले उत्तम महतलाई पु¥याइ दिएछन् । उत्तम महत त्यसवेला उपत्यका पार्टी कमिटीको सदस्य हुनुहुन्थ्यो । चिठ्ठीले कमरेडहरुलाई मेरो गिरफ्तारी तथा त्यसको गम्भीरतालाई बुझ्न ठूलो सहयोग पु¥याएछ । अहिले मलाई तिनको नाम–ठेगाना समेत संझना छैन । धन्य हुन् ती प्रहरी भाई – जसले त्यत्रो ठूलो गुण लगाए ।
लगभग १५ दिनको प्रहरी हिरासत चरम यातनापछि एक दिन, एक हिसाबले सामान्य वयानपछि मलाई त्यहींको जिल्ला कारागारमा पठाइयो । बयानको लागि म यस्तो मानसिक तयारीमा थिएँ कि जेल पठाउनु भन्दा पहिले मसित लिएको बयान मलाई केही झैं लागेन ।
यसपछि शुरु भयो दोलखाको मेरो जेल – जीवन ! जेलमा पु¥याइएकै दिन त मलाई खास केही गरिएन । पुग्नासाथ अर्थात जेलभित्र पस्नासाथ बन्दीहरुले मप्रति हार्दिकता देखाए । त्यहाँभित्र त्यसवेला हाम्रो पार्टीसित–सम्बन्धित, शिक्षक संगठनसित सम्बन्धित कृष्ण दाहाल र काठमाडौंमा अध्ययनरत अनेरास्ववियूका विद्यार्थी नरबहादुर श्रेष्ठ र महेन्द्रबहादुर खड्का हुनुहुन्थ्यो । उहाँहरुले विशेष हार्दिकता देखाउनु भयो । त्यहाँ हामी पूर्व परिचित भएर पनि परिचित जस्ता देखिएनौं । जेलमा पुग्नासाथ मलाई पुलिस हिरासतको तुलनामा एक किसिमले स्वतन्त्र भएको अनुभव भयो । त्यसवेला मलाई लाग्यो – मैले एउटा ठूलो खड्को अव काटें ।
तर भोलीपल्ट विहानैदेखि स्वतन्त्रताको मेरो त्यो अनुभूतिमाथि घन प्रहार गरियो । विहानै जेलको क्रुर हवल्दार र ‘भाई नाइके’ले मेरो खुट्टामा नेल ठोके र हातमा हत्कडी लगाइदिए । यतिले मात्र नपुगेर घाँटीमा गलफन्दी पनि झुण्ड्याइदिए । त्यसवेला मेरो स्थिति अत्यन्त संत्रासपूर्ण बन्यो । शंकटको कालो बादलले नछोडेको मात्र होइन, त्यसलाई मैले गंभीर खतराको संकेत ठानें ।
जेलको नाइके चन्द्रबहादुरले मलाई धम्की दिंदै भन्यो – ‘यहाँभित्र यताउती नगर्ने, कोही कैदीसित विशेष कुराकानी नगर्ने, यताउती गरे यहाँ सिध्याइदिन्छन् – होस् गर्ने’ आदि । त्यसवेला मलाई लाग्यो – जेललाई मैले नयाँ ढंगले बुझ्नै पर्छ ।
चरिकोटको जेल यसै त जिल्ला जेल ! त्यसमा पनि राणाकालमा बनाइएकोमा त्यसको हालत अत्यन्त जीर्ण थियो । २००७ को आन्दोलनको बेला यो जेलका सम्पूर्ण बन्दीहरु जेलको ढोकै भत्काएर मुक्त भएका थिए । उनीहरुले अदालतका सम्पूर्ण कागजपत्र जलाई दिएका थिए । यसरी जेल खाली भएको थियो रे । तर पछि दोलखा सुर्केका १६ वर्षीय खत्री सुवेदीले नेपाली काँग्रेसको विरोध गरेबापत उनलाई काँग्रेसीहरुले त्यहीं ल्याएर बन्दी बनाएका थिए रे । तीन दिनसम्म खानपीन विना थुनिएका सुवेदीलाई उनका बाबु आई छुटाइ लिएर गएका थिए रे ।
म पुग्दा दश ओटा स–साना खोपाहरु भएको जेलमा ७० जना बन्दीहरु राखिएका थिए । यसमध्ये २० जना जति महिलाहरु थिए । महिला बन्दीहरु समेत एकै ठाउँमा, राती सुत्ने बेलामा मात्र उनीहरु अलग्गै एउटा खोरमा लहरै सुत्दथे । दिनभरि पुरुष बन्दीहरुसँगै एउटै आँगनमा आमने सामने भएर नै रहन्थे । पुरुष बन्दीहरुको संख्या लगभग ५० थियो । पुरुष बन्दीहरुले पनि २६६ फुटको खोरमा ठेलपेल गरेर सुत्नु पर्दथ्यो । बन्दीहरुले सुनाएका थिए – यो खोर पहिले त २०६ फुटको मात्र थियो रे ! सबै बन्दीहरुले दुईतिर टाउको फर्काएर खाँदाखाँद गरेर सुत्नु पर्दथ्यो । ८१ वर्ष पुगिसकेका जुँगु गाउँका बृद्ध नरबहादुर कार्कीदेखि १८ वर्षका मागादेउरालीका किशोर बीरबहादुर तमाङसम्म बन्दीको रुपमा थिए । नरबहादुरलाई आफ्नै श्रीमती मारेको आरोप थियो भने बीरबहादर आफ्नो बाबुमाथि घोर अत्याचार गर्ने अत्याचारीमाथि जाइलाग्दा केही समयपछि उ मरेको कारण ज्यान मुद्दामा जेलमा परेका थिए । अचम्म त के भने नरबहादुरका १६ वर्षे छोरालाई समेत बाबुसित मिलेर आमा मारेको अभियोग लगाइएको थियो । मकैवारीका बस्नेतहरु पुरानो मूर्ति चोरी गरी विक्री गर्न लागेको आरोपमा जेल परेका थिए । २०३८ साल कात्र्तिक १७ गते जुँगुको घोर अत्याचारी फटाहा ‘दले’ मारिएको थियो । त्यही दले काण्डमा परेका हरिबहादुर कार्कीहरुको एउटा टीमनै त्यहाँ थियो । २०४० माघ २७ गते जेलमा रहेका हरिबहादुरलाई थानामा लगी बेस्सरी कुटपीट गरी मरणासन्न पारियो र उनीसित भएको रु. एक हजार पनि त्यहीं खोसियो । यो सवै काम जेलको नाइके चन्द्रबहादुरको मिलेमतोमा तेजनारायण हवल्दारले गरेको थियो । मैले त्यहाँ यी सवैसित कुरा गर्दा, उनीहरुका आँखामा गहिरो गरी हेर्दा सवै निर्दोेष लाग्दथे । ती सवैले, आफुलाई कस कसले, कसरी कसरी फँसाए भन्ने कुराका लामा लामा कथाहरु सुनाएका थिए । नेपाली भाषा समेत नबुझ्ने लामाबगरका उर्गेन शेर्पा जेल परेको दुई वर्ष भैसकेको थियो । भरखर भरखर फाट्टफुट्ट नेपाली सिक्दै थिए । उनले कसरी आफुले पुलिसमा, अदालतमा नेपाली भाषा नजानेका कारण शेर्पा भाषामै बयान दिंदा नेपालीमा ठीक उल्टो लेखिदिए भन्ने कुरा सुनाए । पछि आफुले बयान मगाएर हेर्दा तीन छक् परेको कुरा उनले सुनाएका थिए । नेपालबाट भारतको आसाम बसाई हिंडीसकेका, देख्दा सुन्दर देखिएपनि लठेब्रा तालका देवेन्द्र बस्नेत आफ्नो पुरानो घर आई फिर्दै गर्दा गाउँकै एउटी युवतीसित मायाप्रिती गरी संगै लाँदै गर्दा बाटैबाट केटी बेच्न लैजानेका रुपमा समातिएका थिए । उनलाई केटी बेच्नेको आरोपमा १० वर्षको जेल सजायँ तोकिएको थियो ! यी सवै निर्दोष मानिसहरु हुन् भन्ने मलाई लाग्थ्यो । २०२७ साउन ६ गते सुर्के गाउँमा एक जना बुढी आमै, उनकी गर्भिणी बुहारी र उनका ५ र ७ वर्षका दुई छोरालाई राती बाहिरबाट ढोका थुनी आगोलगाई नृशंसतापूर्वक हत्या गर्ने र त्यो भन्दा पहिले त्यहाँको सम्पूर्ण सम्पत्ति डकैती गरी लैजाने ‘धामी’ हरु त्यहीं थिए । उनीहरु नै जेलभित्र नाइके र भाई नाइके भएर सवै बन्दीहरुमाथि शासन गरिरहेका थिए । जेलर तथा जेलका प्रहरीहरु यी अपराधीहरुका रक्षक बनेका थिए ।
जेलमा महिलाहरुको अवस्था त अत्यन्त दयनीय थियो । उनीहरुमध्ये प्रायः सवै अवैध गर्भ पतन गराएको आरोपमा बन्दी जीवन विताइरहेका थिए । ती मध्ये कति त अत्यन्त भद्र र असल लाग्दथे । उनीहरुमाथि त्यसरी लगाइएको आरोप म पत्याउनै सक्तिन थिएँ ।
केही समय पहिले मात्र दोलखाको मकैवारी गाविसमा एउटी केटीले आफ्नै आमा–बाबु, भाई–बहिनी र काका–काकीहरु सवै गरी सात जनालाई राती सुतेको बेलामा खुकुरीले काटेर मारेको सुनिएको थियो । त्यसवेला पत्रपत्रिकाहरुमा समेत बडो रहस्यमय कथाको रुपमा वर्णन भएको थियो त्यो घटना । चरिकोट जेलकी मीनालाई त्यही आमा–बाबु काट्ने केटी हो भनेर मलाई चिनाइयो । त्यसवेला म सारै अचम्ममा परें । लगभग २० वर्षकी, मुखमा कोठी धेरै भएकी, कसैसित प्रायः नबोल्ने, गंभीर स्वभावकी केटीलाई आमा–बाबु मार्ने भनेर चिनाइएको थियो । मैले कसरी पत्याउने ? तर हत्याकै अभियोगमा ऊ जेल काटिरहेकी थिई ।
नेल हथकडी लगाएकै अवस्थामा मैले जेलभित्र बन्दीहरुका लेखापढीका कामहरु गरिदिन थालें । राजालाई विन्तीपत्र लेखिदिनेदेखि लिएर घरमा जहान परिवारका नाममा पत्रहरु, दूरदराजमा रहेका मित्रहरुलाई पठाउने पत्रदेखि लिएर हिसाव–कितावका टिपोट समेत मलाई गराउन थाले बन्दीहरुले । महिला बन्दीहरु समेत डराई–डराई, नाइकेहरुको स्वीकृति लिएर मसित आफन्तहरुलाई पठाउने चिठ्ठीहरु लेखीदन अनुरोध गर्न थाले । बाबु–आमा मार्ने मीनाले समेत कक्षा ८ का पुस्तकहरु लिएर पढाइदिन अनुरोध गरिन् । यी सवै काम म विहानदेखि बेलुका भात खाएर सुत्न खोरमा पस्नु भन्दा पहिले प्रत्येक दिन गर्थे । यही नै मेरो दिनर्चा भैसकेको थियो ।
पढाउने सिलसिलामा एकान्तको मौका पारेर मीनालाई मैले विस्तारी–विस्तारी उनको जीवनसित खासगरी हत्यासित सम्बन्धित रहस्यबारे पनि जिज्ञासा राख्न थालें । शुरु शुरुमा त उनले केही बोलिनन् । तर पछिपछि उनले भनिन् ‘सर, थाहा पाएर के गर्नुहुन्छ, यो रहस्यमै रहन दिनुस् । म जेलबाट निस्कँदा बुढेसकालमा पुगिसकेकी हुन्छु । मैले तल माथि बोले तिनीहरुले मलाई पनि मार्छन् – म केही भन्दिन, भन्न सक्तिन ।’ यति भन्दै उनी रुन्थीन् मात्र । यस्तो स्थितिमा मैले उनलाई त्यति कर गर्न चाहिन । मीनाले गरेको हत्याको प्रशंगलाई अहिले पनि गंभीर रहस्यपूर्ण घटनाको रुपमा मेरो मानस पटलमा आइरहन्छ । म सोच्दछु – यस्तो घटना कसरी संभव हुन सक्छ ?
जेलभित्र रहेको चरम शोषण उत्पीडनले म साह्रै आक्रोषित भएको थिएँ । जेलरदेखि त्यहाँका कर्मचरीहरु, पुलिसहरु र नाइकेहरुले बन्दीहरुलाई आ–आफ्ना निजी कामहरु बेस्सरी गराउने तर पारिश्रमिक भने दिंदैनथे । अझ बन्दीहरुले पाउने सुविधा समेत कटौती गरेर उनीहरु खाने गर्थे । सिदाको पैसा नदिई खाइदिने, बन्दीले केही बोले त्यहीं कुटेर थला पारिदिने गर्थे उनीहरु । निर्माणका लागि छुट्याएर आएको सरकारी बजेट सवै आफुले खाएर बन्दीहरुलाई जेल बाहिरका निर्माण कार्यमा समेत लगाइन्थ्यो । गणेश डाँडामा बनाइएको पशुपति मन्दीर र त्यहाँदेखि दक्षिण धारासम्मको डेढ कि.मि.को बाटो, पुलिस थाना तथा चौकीहरु, इन्सपेक्टर तथा प्रहरीका क्वाटरहरु आदि सवै बन्दीहरुबाटै विना पारिश्रमिक बनाइएका थिए । यी सवै काममा बन्दीहरुले ठूल्ठूला ढुंगाहरु पन्छाउनु परेको थियो । पहराहरु फोर्नु परेको थियो । पहिले पारिश्रमिक दिने भनिए पनि पछि दिइएन । यस्ता काम गर्दा कति बन्दीले ज्यान समेत गुमाउनु परेको थियो । जुँगु गाविसका २२ वर्षे लक्काजवान बन्दी खड्गबहादुर खड्काको २०४१ असौज २४ गते यसैकारण मृत्यु भएको थियो ।
त्यसवेला चरिकोट जेल साँच्चै बन्दीहरुलाई चरम यातान दिने याताना गृह थियो । त्यहाँ पुगेपछि निकै धेरै मानिसहरु अकालमै मर्न बाध्य थिए । २०४१ भदौ ५ गतेदेखि २०४२ भदौसम्मको एक वर्षको अवधिमा मात्रै पाँच जनाका मृत्यु भइसकेको थियो । ७५ वर्षका लक्ष्मण दमाई औषधी नपाएर मरेका थिए । २२–२३ वर्षका खड्गबहादुर खड्का र जगमाया तमाङ्ग, पासाङ र डेढ वर्षकी बच्ची औषधी नपाएर सुकेरै मरेका थिए । यी सवैको मृत्यु अत्यन्त ह्रदयविदारक थियो ।
म चरिकोट जेलमा लगभग साँढे चार महिना बसें । २०४२ को कात्र्तिक ४ गते मलाई त्यसवेलको सि.डि.ओ. केशवराज राजभण्डारीले ‘हुस्सु रहेछ – अर्काको झोला बोकी हिंड्ने, ठेगान नभएको, पैसा मागेर गुजारा चलाउँदै हिंड्ने, आदि ठहर गरी छोडिदिएका थिए । मलाई रिहा गर्ने बेलामा उनले भनेका थिए – अव अरुको झोला नबोक्नु । मैले प्रत्यूत्तर स्वरुप भनेको थिएँ – म ‘अरुको’ झोला बोक्दीन !
जेलमै रहेको बेला एकपटक मलाई सि.डि.ओ. लगायतका हाकिमहरुले बोलाएर ‘ललित क्षेत्री’ का बारेमा निकै केरकार गरी सोधेका थिए । मैलै एउटा काल्पनिक व्यक्ति खडा गरी त्यसकै वारेमा बताएको थिएँ । उनीहरु सवैले खासगरी राष्ट्रिय अनुसन्धानको हाकिमले बडो महत्वकासाथ मैले भनेका कुरा टिप्दै – ‘यही कुरा शुरुमै भनिदिएको भए – यी सवै हुलिया बताइदिएको भए, हामीले समय मै त्यो ललित भन्नेलाई उम्कनै दिने थिएनौं । अहिले पनि ललितको बारेमा सवै हुलिया खुलाएर लेखेर दिनु प¥यो’ भनेका थिए । मैले सवैलाई आश्वस्त पार्दै भनेको थिएँ – म सवैकुरा सम्झीसम्झी एक दुई दिनमा लेखेर दिन्छु । मेरो कुराबाट उनीहरु सवै खुशी भएका थिए ।
बास्तवमा ‘ललित’ त्यसवेला मेरो भूमिगत नाम थियो । मैले आफ्नो नयाँ डायरी किनेपछि आफ्नो नाम ‘ललित’ भनेर लेखेको थिएँ । एउटा केन्द्रीय कमिटीको बैठकमा संगै बस्नु भएका मदन भण्डारीले ‘ललित’ पछाडि ‘क्षेत्री’ जोडिदिनु भएको थियो । गिरफ्तारीमा परेका प्रायः सवै हस्तलिखित कागजहरु मेरै हस्ताक्षरमा थिए । मैले बयानमा बडो नाटकीय रुपमा ललितसित मेरो बनासरमा परिचय भएको, उनले बेलाबेलामा आउँदा ल्याउने गरेका प्रायः सवै लिखतहरु मलाई उतार गर्न लागाउँथे र एक प्रति त्यहीं कतै राखी उतार गरिएको प्रति आफ्नो झोलामा राख्ने गर्थे, उनको दाहिने हात संभवतः कुनै दुर्घटनामा परी काम नलाग्ने भएका कारण रुमालले छोपिने गरी बाँधेर राखेका हुन्थे, यसपटक उनले बनारसदेखि मलाई संगै काठमाडौंमा ल्याई एक रात त्यहीं राखी आफ्नो घर – जिल्ला जानुपर्छ भनी बिहानै जिरी जाने बसमा संगै चढे पनि लामोसाँघु आएपछि उनले मलाई जिरी पुगी राख्न र बस स्टपमा ठुटे छाता बोकी रिसिभ गर्न आउने मानिससित जान र आपूm चाहिं भोलिपल्ट मात्र त्यहाँ पुग्ने कुरा बताएको कुरा बयानमा उल्लेख गरेको थिएँ । लामोसाँघु मै ‘झुक्किएर उनले मेरो झोला बोकेको र मैले चाहिं उनको झोला ल्याएछु’ भनेको थिएँ । यो बयान नाटकीय भए पनि मैले अत्यन्त सहज र स्वभाविक रुपमा बताएको थिएँ । मेरो यो नाटकीय बयानलाई सबै हाकिमहरुले अवाक् भएर सुनेका थिए । केहीले त ‘बिचरा परिबन्दमा परेका रहेछन्’ समेत भनेका थिए । २०४२ भदौ १३ गते तत्कालीन सी.डि.ओ.लाई ललित क्षेत्रीको सत्रवटा निम्न अनुसारको हुलिया लेखेर दिएको थिएँ –
‘उमेर झट्ट हेर्दा ४० जस्तो लागे पनि कुराकानीमा ३२–३३ बर्ष पनि बताउने गरेको, सामान्य खालको गोरो, उँचाइ बारे ठीक ठीक थाहा नभएको तर शारीरिक बनावट पातलो हुंदा विशेष अग्लो देखिने, टाउकाको अघिल्लो भागको कपाल प्रायः झरिसकेकाले होला प्रायः क्याप लगाउने, जुँगा लामै पाल्ने गरेको, चिउँडो अलिक अग्लो देखिने – केही अस्वभाविक जस्तो लाग्ने, आँखा ठूल्ठूला, आँखाको रंग निख्खर कालो, प्रायः गरेर छालाको जुत्ता लगाउने, नभए छालाकै स्लीपर लगाउने, अनुहार झट्ट हेर्दा रिसाहा मान्छे जस्तो लाग्ने, हिन्दी राम्रो बोल्ने, कहिलेकहीं लेखपढ गर्ने बेलामा सेतो चश्मा लगाउने, देबे्र कानको पछाडिपट्टि ठूलै खालको ग्लैण्ड (डल्लो) रहेको, नाकको डाँडीमा नसुहाउँदिलो किसिमको कालो कोठी, देबे्रपट्टिको ओठलाई दाँतले बेला बेलामा टोकीरहने, कानहरुमा रौं केही लामा, अक्षर लेखाइ राम्रो छैन, दाहिने हातका औंलाहरुमा केही विमारी भए जस्तो तर भनेर थाहा पाएको होइन, लागेको मात्र हो । लेख्ने काम नगर्ने र सानो रुमालले प्रायः छोपिरहने गरेकोले यस्तो लागेको, घर पूर्वतिर बताएको भए पनि खासै जिल्ला भने किटेर नभनेको’, आदि ।
यसरी आफूले काल्पनिक रुपमा तयार गरेको ‘ललित क्षेत्री’को हुलिया मैले सि.डि.ओ.लाई दिंदा राष्ट्रिय अनुसन्धानको प्रमुख खुसीले गद्गद् भएको थियो । यस्तै वातावरणलाई अनुकूल बनाउंदै जाँदा, मेरो बारेमा यथार्थ कुरा पत्तै नपाई प्रशासनले मलाई कार्तिक ४ गते रिहा गरेको थियो ।
दोलखाको जेलबाट रिहा हुनमा धेरै कुराको तालमेल मिलाउन संभव भएको थियो । मैले जेल पुग्नासाथ पार्टी केन्द्रले पाउने गरी सम्पूर्ण विवरण लेखी पत्र पठाएको थिएँ । जुँगुका हरिबहादुर कार्कीले आफ्नो भाई छुट्ने बेलामा कोटको वक्रम च्याती त्यसभित्र मेरो चिट्ठीलाई राखी बाहिर पशुपति चौलागाईंलाई पु¥याइदिनु भनेका थिए । दोलखाका कमरेडहरुले मेरो बयान अनुसार कै बाहिरी व्यवहार गरिदिनु भएको थियो । केन्द्रका जिम्मेवार कमरेडहरुले कुनै बेला दोलखामा जिल्ला न्यायाधिश भई काम गर्नु भएका मेरो भिनाजु मनुप्रसाद पौडेलसित सहयोग लिनुभएको थियो । मलाई बाहिर पठाएको पत्रकै आधारमा वहाँले चरिकोट गएर भूमिका खेलिदिनु भएको थियो । मेरो बयानसित मिल्दो गरी वहाँले त्यहाँ गई भूमिका नखेलिदिनु भएको भए – मेरो रिहाइ तत्काल संभव थिएन । मैले जेलमा रहुन्जेल आपूmले गरेको बयान अनुसारकै व्यवहार गरिरहें । मलाई रिहा गर्ने बेलासम्म प्रशासनका मानिसहरु – ‘घरबाट विरक्तिएर हिंडेको सोझो मानिसलाई अरुले प्रयोग गर्न खोजेका रहेछन् – आफै चाहिं केही नजान्ने रहेछ’ भन्ने टुंगोमा पुगेका थिए । मैले पनि रिहा हुने बेलामा सबै बन्दी साथीहरुलाई भनेको थिएँ – ‘लामो समयपछि बल्लबल्ल आफ्नो घर आएको थिएँ, यस्तो भयो, अब म रिहा भएपछि आसामतिरै लाग्छु, मेरो यता कोही छैनन् ।’ यसरी म झण्डै चार महिना रहस्यमय पात्रको रुपमा चरिकोट जेलमा रही फुत्कन सफल भएको थिएँ ।
‘मध्य उत्तर’ क्षेत्रको पार्टी सचिव भएर कामको जिम्मा लिएपछि मैले शुरुका दिनमा दोलखा जिल्लाको पार्टी कामलाई प्रत्यक्ष नेतृत्व दिन जिल्ला पार्टी सकृय दलको आफै सचिव थिएँ । पशुपति चौलागाईं, जीतवीर लामा, इन्द्रबहादुर खड्का आदि कमिटीमा हुनुहुन्थ्यो । त्यो कमिटीले राम्ररी काम गर्न थालेपछि म त्यहाँबाट मुक्त भई पशुपति चौलागाईंलाई सचिव बनाइएको थियो ।
दोलखाको पार्टी काममा मेरो प्रत्यक्ष संलग्नताको अवधि थोरै रह्यो । तर दोलखा मेरो पार्टी जीवनमा महत्वपूर्ण घटनासहितको अविस्मरणीय थलो रहिरहने छ ।
०६०/०८/०३