अपडेट: १४ साउन, २०७८

झापासित सम्बन्धित केही प्रशंगहरु

नेकपा (एमाले) लाई अहिले पनि कपितय व्यक्तिहरु ‘झापाली’ भन्न पछि पर्दैनन् । त्यस्ता व्यक्तिहरुले गर्ने यो संवोधनले एकै पटक धेरै अर्थ बोकेको हुन्छ भन्ने मलाई लाग्दछ ।  पुरानो एवं क्रान्तिकारी पृष्ठभूमि भएका केही केही साथीहरु आफ्नो राजनीतिको ऐतिहासिक निरन्तरता झल्काउन पनि ‘झापाली’ प्रशंग उठाउने गर्नु हुन्छ । कहीं ‘घृणा’ वा ‘विरोध’ तथा कहीं भने ‘मजाक’ को भाव बोकेर पनि “झापाली” शब्द प्रयोग गर्ने गर्छन् ।  झापातिर घरायसी–पारिवारिक सम्बन्ध भएका साथीहरुको पनि पार्टीभित्र ‘झापाली’ चिनारी हुने नै भयो । यिनै प्रशंगहरुमा म पनि कहिलेकाहीं “झापाली” हुन पुग्छु ।
 

 नेपालको कम्युनिष्ट आन्दोलनमा झापाको विशेष चिनारी छ । कम्युनिष्ट आन्दोलनलाई ‘क्रान्तिकारी स्पिरिट’का साथ पुनर्गठनको शुरुवात ‘झापाली क्रान्तिकारी’हरुले गरेका थिए । आधारभूत श्रमजीवी वर्गका बीचमा कम्युनिष्ट पार्टीको राजनीतिलाई पु¥याउने, स्थानीय वर्ग–संधर्ष कै बीचबाट पार्टी निर्माण गर्ने, क्रान्तिकारी शैलीमा पार्टी कामलाई अगाडि बढाउने र यसो गर्दै अगाडि बढेर मात्र कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी पार्टीको रुपमा पुनर्गठन गर्ने–त्यसवेला झापाली क्रान्तिकारीहरुका घोषित उद्देश्य थिए । भनिरहनु पर्दैन, यस्तो उद्देश्य राखे पनि झापाली क्रान्तिकारीहरुका त्यसवेलाका कतिपय चिन्तन र आचरणमा उग्रता तथा दुस्साहसिकता भेटिन्थ्यो र व्यवहारका कतिपय प्रशंग अराजक लाग्ने खालका पनि थए । यसैकारण, त्यसवेलाका प्रारम्भिक दिनमै पनि ‘झापालीहरु’ ले गंभीर नोक्सानी पनि बेहोर्नु परेको थियो । अनावश्यक बलिदानका पिडाहरु पनि सहनु परेको थियो । तर संगसंगै, पंचायती निरंकुशतामा निस्सासिएकाहरुका लागि एउटा महत्वपूर्ण प्रेरणाको सन्देश पनि बनेका थिए झापाली क्रान्तिकारीहरु । 
 

 स्कुले जीवन सकेर कलेजको पढाइमा प्रवेश गर्नासाथ म ‘झापाली क्रान्तिकारी’ प्रेरणाबाट अभिप्रेरित बनेको थिएँ । म त्यसवेला जनकपुरको आर. आर. कलेजमा पढ्थें । त्यहाँ पढ्ने प्रगतिशील विद्यार्थीहरुका बीचमा झापाली क्रान्तिकारीहरुका गतिविधि चर्चाका विषय बन्न थालेका थिए । सामन्ती शोषण–उत्पीडन तथा जाली फटाहा विरोधी संघर्षले जिल्लाव्यापी रुप लिंदै थियो । नौजवान विद्यार्थीहरुका शैक्षिक क्षेत्रसित सम्बन्धित र राष्ट्रियतासित सम्बन्धित अन्य मागहरु सशक्त रुपमा उठ्न थालेका थिए । भारतीय शासकहरुको नेपालप्रति प्रकट हुने हेपाहा व्यवहार, नेपालको अभिन्न भूभाग–सुस्ता महेशपुर माथि भारतीयहरुको अतिक्रमण र भारतीयहरुका त्यस्ता व्यवहारप्रति तत्कालिन पंचायती शासकहरुको मौनता आदि वारेमा देशभक्तिको भावना बोकेका झापाली युवाहरु जुर्मुराउन थालेका थिए । शोषक सामन्त तथा स्थानीय जाली फटाहा विरोधी स्थानीय संघर्षहरु उठिरहेका थिए र ती विशेष चर्चामा आउन थालेका थिए । यी सवै गतिविधि निरंकुश राजतन्त्र र निर्दलीय पंचायती व्यवस्था विरोधी संघर्षको रुपमा विकसित भइरहेका थिए । यो सन्देश देशका अन्यत्र भागमा समेत फैलिन थालेको थियो ।
 

 त्यसवेला मेरा माहिला दाइ धर्मराज पोखरेल चन्द्रगढी, झापा बस्ने भएका कारण र म स्वयं पनि बेलाबेलामा झापा गइरहेका कारण अरु साथीहरु दौंतरीहरुसमक्ष झापामा भइरहेका क्रान्तिकारी गतिविधिका लागि म विशेष स्रोत मानिन्थे । यसप्रति म पनि नजानिदो किसिमले गर्व गर्दै आफुले प्राप्त गरेको छिटफुट जानकारीलाई सुनाउने गर्थे । पछि हामीले थाहा पाउँदै गयौं – झापामा संचालित स्थानीय वर्ग संघर्ष संचालित हुने सिलसिलामा शोषक, सामन्त र जाली फटाहाहरुलाई क्रान्तिकारीहरुका स्थानीय संगठनहरुको अगुवाइमा ‘खतम’ गर्न थालियो । झापामा शुरु भएको ‘खतम’  संघर्षले देशैभरि गंभिर तरंग पैदा गरेको थियो । प्रतिकृयावादी सत्तासीनहरुले भारतमा शुरु भएको ‘नक्सलवादी’ आन्दोलनको विस्तारित गतिविधिको रुपमा हेर्न थालेका थिए र परिवर्तनको पक्षमा रहेका प्रगतिशील विचार राख्नेहरुले भने न्यायपूर्ण तथा क्रान्तिकारी संघर्षको शुरुआतको रुपमा बुझ्न थालेका थिए । प्रायः दैनिकजसो नै हामी जनकपुरका केही साथीहरु बीच छलफल चलिरहन्थ्यो । हामी झापा संघर्षसित भावनात्मक रुपमा नजिकिंदै गएका थियौं ।
 

 सधैं झैं २०२९ फागुन २२ गते बेलुका हामी केही साथीहरु जनकपुरको भानुचोक दक्षिण रहेको एउटा कलभर्टमा जम्मा भयौं । लक्ष्मण खरेलले हातमा एउटा पत्रिका बेरेर ल्याएका थिए । उनले ल्याएको पत्रिकाप्रति अरु सवैको उत्सुकता पोखियो । उनले आफुले ल्याएको पत्रिका फैलाउँदै गंभीर मुद्रामा भने “झापामा सरकारले नेत्रहरुलाई गोली हानी हत्या गरेछ ।” गोधुली पार गरेर अँध्यारो भइनै सकेको भएपनि मैले त्यसवेला उनको हातमा रहेको गोरखापत्र तानेर लिएको थिएँ । नजिकै रहेको विजुलीको पोल छेउ उभिएर टिम्टिम गर्दै बलिरहेको उज्यालोमा मैले केही छिन त्यो समाचार पढेको थिएँ । केही छिन हामी कोही केही नबोली अँध्यारो अनुहार लगाएर बसेका थियौं । एकै छिनपछि हामी सबैका आँखा रसाएका थिए । हामी मध्ये केही त रोएकै थियौं । हामीले एक अर्काको हात समातेका थियौं र आँसु पुच्छ्दै हत्याको बदला लिने कुरा गरेका थियौं । हामीमा त्यो अठोट कसरी आयो – कसरी प्रकट भएको थियो – म अहिले पनि भन्न सक्तिन । त्यसवेला त्यहाँ रहेका हामी सवैको मन एकैचोटी बोलेको थियो, एकचोटी रोएको पनि थियो । त्यसदिन हामी केही परसम्म संगै हिंडेर छुट्टिने बेलामा हात मिलाउँदा पनि बोल्न सकेका थिएनौं । अहिले म सम्झन्छु – म त्यस रात अवेलासम्म सुत्नै सकेको थिइन । अहिले झण्डै ३२ वर्ष पुरा हुन लाग्दै छ । झापाली क्रान्तिकारी शहीदहरुको सम्मानमा आफ्ना आँखाबाट बगेको आँसुलाई मैले अहिलेसम्म विर्सन सकेको छैन । आँखाका पोली मुनी आँसु बग्ने ठाउँमा अहिले पनि जब मेरा औंलाहरु पर्छन्, त्यसबेला बगेका आँशु स्पर्श गरेझैं लाग्छ ।
 

 म बेलाबेलामा झापा चन्द्रगढीमा बस्नु हुने दाइकोमा जाने गर्थे । खासगरी कलेज पढ्न थालेपछि यहाँ मेरो आगमन अर्थपूर्ण हुन थालेको थियो । म झापाली क्रान्तिकारीहरुसित सम्पर्क सम्बन्ध गर्न चाहन्थे, उनीहरुले प्रकाशित गरेका प्रकाशनहरुको खोजीमा पनि थिएँ । म यहाँ आउँदा प्रगतिशील जनवादी गीतहरुलाई राम्रो गरी संकलन गरी कतिपयलाई त राम्रै स्वर दिने गरी आएको हुन्थें । यहाँ टोल – छिमेकका भाई बहिनीहरुलाई जम्मा गरी सामुहिक गायनमा उतार्ने गरेको थिएँ । त्यसवेला मेरो त्यो गायन अभियानमा सहभागी हुने भाई वहिनीहरु अहिले को को, कहाँ कहाँ पुगे मलाई थाहा छैन । तर मलाई त्यसवेला के लाग्दथ्यो भने यी सवै भाई बहिनीहरु क्रान्तिकारी आन्दोलनका लागि होनहार सिपाही हुने छन् । म त्यहाँ पुग्नासाथ रानोको वरिपरि झुम्मिएका मौरी झैं झुम्मिन्थे, उनीहरु । ‘घर छोडाएर मान्छे काट्ने कुरा सिकाउँदै छ रे’ भनेर कोही कोही छिमेकीहरुले त मेरो झापा बसाइलाई विशेष चियो चर्चो समेत गर्न थालेका थिए । त्यसवेला कोइराला थरका मेरै आफन्त पर्ने एक जनाले त टोलभरि नै ‘राहु पस्यो’ भनेर उछित्तो काढ्न समेत पछि पर्नु भएन । 
 

 यही क्रममा भूमिगत भई राजनीतिक काममा जुटिरहेका क्रान्तिकारीहरुसित छिमेकी केदार न्यौपाने, रमेश पौडेल आदिको सम्पर्क रहेको थाहा पाएँ । उहाँहरुसित मेरो विशेष सम्बन्ध बढ्न थाल्यो । उहाँहरुले मलाई ‘झापाली प्रकाशनहरु’ दिन थाल्नु भयो । ती प्रकाशनहरुलाई यति आदरपूर्वक अध्ययन गरें कि त्यसका शब्द शब्दप्रति म मोहित बनेको थिएँ । ती सामग्रीहरुले मलाई प्रकाश दिइरहेका र अगाडि बढ्न दिशा निर्देश गरिरहे जस्तो लाग्थ्यो, मलाई । मैले पाएका ती सामग्रीहरु प्रायः हस्तलिखित थिए । अरु त के – लिखतमा पोखिएका अक्षरहरु पनि मलाई औधी सुन्दर लागेका थिए । ‘अहा–कति सुन्दर अक्षरहरु !’ भन्दै त्यहीं बान्कीमा मैले ती लेखहरुको उतार समेत गरेको थिएँ ।
 

 पछि, मैले ती ‘झापाली प्रकाशनहरु’ काठमाडौंमा संगै पढ्दै गरेका विश्वासिला साथीहरु समक्ष अत्यन्त मूल्यवान दस्तावेजकको रुपमा पु¥याएको थिएँ । त्यहाँ हामीले ती सामाग्रीहरुको सामूहिक अध्ययन चलाउन थाल्यौं । क्रान्तिकारी वीर शहीद रत्नकुमार वान्तवा त्यसमध्ये एकजना अगुवा हुनुहुन्थ्यो । 
 

 काठमाडौंमा पढ्दाका दिनमा झापा मेरो विशेष आकर्षणको केन्द्र बनेको थियो । म काठमाडौंमा पढिरहेको भए पनि मेरो मन मस्तिष्क झापातिरै हुन्थ्यो, झापाली क्रान्तिकारीहरुसित भेट गर्ने उत्कट अभिलाशा झन्झन् बढिरहेको थियो । म अहिले पनि त्यसवेला आफुमा प्रकट भएको ‘क्रान्तिकारी छट्पटी’ लाई विर्सन सक्दिन । गाउँमा जाने, जनताको बीचमा जाने, जनतालाई क्रान्तिकारी राजनीतिले सचेत पार्ने, नयाँ समाज बनाउने’ आदि मेरो त्यसवेलाका छ्टपटीका विषयहरु थिए । ‘झापा नेपाली क्रान्तिको केन्द्र हो’ ‘झापाली क्रान्तिकारीहरु त्यसका अगुवा हुन्’ भन्ने आफ्नो निस्कर्षलाई म यति प्रचण्ड किसिमले अनुभूत गरिरहेको थिएँ कि त्यसवेलाका मेरो चिन्तन र दिनचर्या यही निस्कर्षका वरिपरि मात्र घुमिरहेका हुन्थे । यही क्रान्तिकारी आवेगमा मैले त्यसवेला धेरै निजी तथा पारिवारिक वन्धनहरु समेत चुँडाउने आँट गरेको थिएँ । मेरो उमेर र अवस्था शुलभ चाहनाहरु पनि म भित्र सल्वलाइरहेका थिए । ‘एउटी मनले खाएकी सुन्दर युवतीसित माया प्रिति गर्ने, सुखी दाम्पत्य जीवन शुरुवात गर्ने, उच्च शिक्षा अध्ययन गर्ने, पेशा व्यवसाय आदिमा नाम चलेको व्यक्ति बन्ने’ आदि त्यसवेला मेरो दिमागमा बेलाबेलामा सल्बलाउने निजी विचारहरु थिए । फेरि त्यसैवेला स्वीट्जरलैण्ड जाने पाँच वर्षे पाइसकेको छात्रवृत्ति मेरो लागि कम आकर्षक विषय थिएन । मैले त्यो अवसर पाइनै सकेको थिएँ । मलाई बेलाबेलामा ‘जाउँ कि क्या हो’ भन्ने लागेकै हो । तर मभित्र ‘क्रान्ति’, ‘परिवर्तन’ को उत्कट चाहना यति वेगवान बनिसकेको थियो कि मैले आफुमा आउने गरेका ती व्यक्तिगत इच्छाका डोरीहरुलाई चुँडाएरै छोडें । साँच्चै, त्यस घडी मलाई केही छट्पटी र केही सुखद अनुभूति दुवै भएको थियो ।
 

 २०३२ शुरुदेखि मैले जव भूमिगत भएर पार्टी काम गर्न थाले – मेरो ‘झापाली क्रान्तिकारीहरु’ जस्तो बन्ने धोको केही पुरा भएको थियो । तर पनि झापाली भूमिमा ‘ क्रान्तिकारी कर्म’ को चाहना भने पुरा भएको थिएन । झापाली क्रान्तिकारीहरुका चर्चित नेता तथा २०३२ को जेष्ठमा गठित ‘को–अर्डिनेशन केन्द्र’ का संस्थापक सचिव सी.पी. मैनाली २०३२ माघ २९ गते देउनियाँबाट गिरफ्तार हुनु भयो । त्यो घटनाले म जस्ता ‘क्रान्तिकारी’ का लागि ठूलो धक्का महसूस गराएको थियो । गिरफ्तारीको केही महिना उहाँलाई चन्द्रगढी जेलमै राखिएको थियो । सी.पी. लगायतका त्यसवेलाका शीर्षस्थ नेताहरु धनुषा, सुनसरी आदि जिल्लाहरुबाट माधव नेपाल, रामचन्द्र यादव, आदि गिरफ्तार भएपछि उहाँहरुलाई कसरी जेलबाट छुटाउने भन्ने चिन्तामा हामी वाहिर रहेकाहरु प¥यौं । हामी सवैको केन्द्रमा सी.पी. हुनुहुन्थ्यो । 
 

 म त्यसवेला धनुषा – जनकपुरमा केन्द्रित रही भूमिगत काममा थिएँ । त्यसवेला केन्द्रमा रही नेतृत्व गरिरहनु भएका साथीहरु शत्रुको हातमा पर्नु भएका कारण पार्टी काममा अस्तव्यस्तता सिर्जना भएको थियो । यस्तो स्थितिमा हामी बाहिर रहेका केही साथीहरुले चन्द्रगढी जेलमा बन्दी बनाइनु भएका सी.पी. मैनाली लगायतका साथीहरुलाई बाहिर ल्याउनै पर्ने सोच बनायौं । त्यसको लागि बाहिरबाट सुरुङ्ग खनी जेलभित्र बन्दी साथीहरुलाई राखेको कोठासम्म पुग्ने योजना बनायौं । त्यो योजना निर्माणमा जेलभित्र रहनु भएका सि.पी. लगायतका कमरेडहरुको ठूलो सहयोग मिल्यो । उहाँहरुले जेलको पर्खाल प्रवेश भएदेखि आफु बसेको कोठासम्मको सवै मार्ग चित्र बनाएर पठाउनु भएको थियो । त्यसदिन हामी औधी रोमान्चित भएका थियौं । चुनौतीका शिरमा टेकेर जीत हासिल गरेरै छोड्ने अदम्य मनोवल प्रकट भएको थियो, त्यसबेला हामीमा ।

 सवै सूचनाको संकलन र जानकारी प्राप्त गरिसकेपछि सुरुङ्ग खन्ने कामको नेतृत्व म आफैंले गरेको थिएँ । म लगायत दश जना साथीहरु धनुषाबाट सुरुङ्ग खन्ने योजना र औजार सहित आएका थियौं । हाम्रो त्यो टोली सरासर आएर लक्ष्मीपुरमा रहनु हुने पोटनाथ खनाल (क. जे.एन. का दाइ) को घरमा पुग्यौं । त्यहाँ एक दिन बसेर हामी देउनियाँ भीम कुँवरको घरमा पुगेका थियौं । म त्यहाँ भूमिगत रुपमै बसेपनि अरु साथीहरु भने मजदुरी गर्न आएका मानिसको रुपमा रहन थाल्नु भयो । हामीले त्यहाँ बसेर सवै योजना बनाएका थियौं । यो सवै काममा डिल्ली मैनाली, लीला कुँवर, चैतन्य मैनाली, सीता खड्का, लीलाजीका भाई बहिनीहरुको ठूलो सहयोग थियो । आमाको हार्दिकतापूर्ण सहयोग त्यस्तै थियो । यसरी व्यवस्थित योजनाकासाथ हामीले सुरुङ्ग खन्न शुरु गरेका थियौं । चन्द्रगढी जेलको केही पर उत्तरतिरबाट खन्न थालिएको थियो । चैत्रको आखिरीतिरदेखि हामीले झण्डै एक महिना खनेका थियौं ।

 सुख्खा महिनामा पहिलो पटक जोतिएको खेतमा ठूला ठूला चपरीहरुको उरुङ्ग थियो । आवश्यक परेका औजारहरु सहित हामीले काम शुरु गर्दाको अदम्य साहस र उत्साहको सम्झनाले मात्र पनि अहिले रोमाञ्चको अनुभव हुने गर्छ । ठूला ठूला डल्लाहरुलाई बडो जतनका साथ पन्छाउने, त्यहाँ डेढ मान्छे गहिरो खाल्डो खन्ने, त्यहाँको माटोलाई व्यवस्थित रुपमा केही पर खात लगाएर राख्ने, दैनिक रुपमा राती ९ः३० – १० बजेदेखि खन्न थालेर विहान ३ः३० देखि ४ः०० बजेभित्र खन्ने काम सकेर सवै औजारहरु, ढाकीहरु, माटो तान्ने स–साना गाडीहरु त्यहीं सुरक्षित राख्दै केही पर सुरक्षित राखिएका ठूलठूला डल्लाहरुलाई पूर्वस्थानमा ल्याई राख्ने काम कम जोखिमपूर्ण थिएन । कार्यथलोमा पुगेपछि हामी कोही पनि एक आपसमा आवाज निकालेर बोल्दैनथ्यौं । ‘स्याउ–स्याउ’को साउतीमा मात्र हामी संवाद गथ्र्यौं । खोक्नसम्म हुँदैनथ्यो । किनभने त्यहीं नजिक जेलका सेन्ट्रीहरु बुर्जाहरुबाट रातभरि ‘खवरदार !, खवरदार !’ गरिरहेका हुन्थे । यो काममा धनुषाबाट जानु भएका किसान कमरेडहरुले गर्नु भएको मिहेनत प्रशंसनीय थियो नै । तर, त्यसवेला पार्टी संगठनलाई निभ्न नदिई जोगाइराख्ने काममा लाग्नु भएका डिल्ली मैनाली, लीला कुँवर र चैतन्यहरु प्रशंसाका पात्र हुनुहुन्छ । 

 तर दुर्भाग्य ! लगभग पच्चीस दिनको सुरुङ्ग खनाईपछि एकदिन ठूलो दुर्घटना आइप¥यो । हामीले शुरु गर्नुभन्दा पहिले देखि नै कालो बादलले गड्गडाउँदै मुसलधारे पानी बर्सायो । मुसलधारे पानी झण्डै दुई घण्टासम्म प¥यो । हामी त्यो दिन सुरुङ खन्न जान नसकेको मात्र होइन, झण्डै जेलको पर्खालको बाहिरी भागमा छुन लागेको सरुङ्ग भताभुङ्ग भयो होला भन्ने आशंकाले सुत्न पनि सेकेनौं । हामी मध्ये कति साथीहरु त रोएका पनि थियौं । मैले त्यस रात जेलभित्रका बन्दी कमरेडहरुसित बाहिर, खुला आकाशमुनी, जनताका बीचमा गर्वका साथ हात मिलाउने सपना चकनाचुर भइनै सकेको ठानें ।

भोलीपल्ट विहान लीलाजीको घरमा रहेका हामी सवै उदास थियौं । हामी कोही पनि एक अर्कासित बोल्न सकिरहेका थिएनौं । एक किसिमको कहालीलाग्दो सन्नाटा थियो – त्यहाँ । यो सवै मौनतालाई भङ्ग गर्दै मैले स्थिति बुझ्न कोही न कोही साथीलाई पठाउनु पर्ने विचार त्यहाँ सुनाएँ । सुरुङ्गको अवस्था बुझ्न लीला कुँवरका भाइ डम्बर र धनुषाबाट त्यस कामको लागि आउनु भएका एक जना साथीलाई पठाएका थियौं । 

 झण्डै एक घण्टापछि उहाँहरु झण्डै झण्डै रुने अवस्थामा आइपुग्नु भएको थियो । उहाँहरुले सुरुङ्ग खनेको प्रायः सम्पूर्ण भाग पानीका कारणले धसिसकेको, कामै नलाग्ने अवस्थामा पुगिसकेको कुरा सुनाउनु भएको थियो । यो खवर पछि हामी सवै स्तब्ध बनेका थियौं । हामी केही वेरसम्म केही बोल्न सकेनौं । चुप चाप रह्यौं । क्रान्तिकारी भावनाले ओतप्रोत भई अदम्य साहसका साथ शुरु गरेको हाम्रो अभियानमाथि बज्रपात भएको थियो । हामी सवै मर्माहत बनेका थियौं । प्रकृतिले हाम्रो अदम्य साहस र योजनालाई किन सहन गर्न सकेन !? मैले त्यसवेला दुष्ट प्रकृतिमाथि अनेकौं पटक धिक्कारेको थिएँ !

 ………. त्यसैदिन मध्यान्ह पछि मैले धनुषाका किसान साथीहरुलाई धन्यवाद दिंदै फिर्ता पठाएको थिएँ । किसान साथीहरुले दरोसित हात मिलाउनु भएपनि केही बोल्नु भएन । उहाँहरु सवै एक किसिमले भावशून्य देखिनु हुन्थ्यो । शायद ‘अभियान’ को असफलताका कारण उहाँहरु दुःखी हुनुहुन्थ्यो । अव पुनः बाहिरबाट सुरुङ्ग खन्न तत्काल सकिन्न भन्ने निस्कर्षमा हामी पुगेका थियौं । 

 पछि मैले डिल्ली – लिलाहरुसित बसेर सुरुङ्ग खन्ने हाम्रो कामको समीक्षा गरेको थिएँ । धेरै पक्षहरुलाई हामीले केलाएका थियौं । बाहिरबाट  थुप्रै प्रतिकुलताहरु हुँदाहुँदै पनि हामीले उल्लेखनीय रुपमा काम गरेका थियौं । अत्यन्त प्रतिकुलता र सीमाभित्र रहँदारहँदै पनि त्यसवेलाको हाम्रो प्रयत्न उल्लेखनीय रहेको हामीले निस्कर्ष निकालेका थियौं । जेलभित्रका बन्दीहरुलाई जेलमुक्त बनाउन बाहिरी पहलकदमी त्यति प्रभावकारी नहुने हामीलाई लागेको थियो । तर अचम्म ! त्यही बेला जेलभित्र रहनु भएका सी.पी. मैनालीले ‘वर्ग दृष्टिकोणलाई राम्ररी पक्रन नसकेका कारण’ सुरुङ्ग खन्ने काम सफल हुन नसकेको भनी हामीलाई गंभीर आलोचना गरी पत्र लेख्नु भएको थियो । सी.पी. को उक्त पत्र पढेपछि लीलाले अत्यन्त नमीठो मानी अनुहार कस्तो कस्तो बनाउनु भएको दृष्य अहिलेपनि म सम्झिरहेको छु । लिला र डिल्लीहरुले सी.पी. ले गर्नु भएको आलोचनाका वारेमा त्यसवेला केही बोली हाल्नु त भएन तर नेतृत्वमा रहनेहरुले मनोगत आग्रहको घोडा चढेर चलाएको अविवेकी चावुकको पीडा अनुभूत गर्दै हुनुहुन्थ्यो भन्ने मैले बुझें ।

 झापासित सम्बन्धित विगतका यी प्रशंगहरु मेरो मानसपटलमा ताजै छन् । अझ जब म पार्टी कामले झापा पुग्छु – ती सवै प्रशंगहरु झल्झली आउने गर्छन् । झापामा कुनै कार्यक्रममा सहभागी भइरहेका बेला होस् वा झापाको पार्टी काममा दत्तचित्तका साथ लागिरहनु भएका कुनै कमरेडसित समस्यासित केन्द्रित भई छलफल चलाइरहेको बेला होस् – विगतको ती संस्मरणहरु मेरो मस्तिष्कमा सल्बलाइरहेका हुन्छन् ।

०६०/१०/२५