अपडेट: १५ साउन, २०७८

मदनकै विचारबाट एमाले निर्देशित

विक्रम सम्बत् २०३३ सालको अन्त्यतिर म ‘कोअर्डिनेसन केन्द्र्र’ (कोके) को सदस्य थिएँ । हामी त्यसबेला भूमिगत रूपमा काम गरिरहेका थियौँ । आधारभूत वर्गका किसानहरूले दिएका आश्रयमा बस्ने र उनीहरूमै आश्रित भएर काम गरिरहेका थियौँ । जे दिन्थे त्यही खान्थ्यौँ, जहाँ बसाउँथे त्यही बस्थ्यौँ ।

त्यसबेला हामी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका विषयमा विशेष चासोका साथ अध्ययन गथ्र्यौं । बाहिरबाट मगाएर भए पनि भारतको नक्सलवाडी किसान सङ्घर्ष, चीनको सांस्कृतिक क्रान्ति र अन्य कतिपय समाजवादी मुलुकका बारेमा लेखिएका साहित्य पढ्थ्यौँ । त्यही बेला पुष्पलालले नेतृत्व गरेको कम्युनिस्ट पार्टीसम्बद्ध ‘मुक्ति मोर्चा’ का साथीहरूले त्यहाँबाट विद्रोह गरी ‘विद्रोह’ विशेषाङ्क प्रकाशित गर्नुभएको थियो । मैले त्यसमा समावेश भएका क्रान्तिकारीहरूको बारेका लेख रचना निकै महìवका साथ अध्ययन गरेको थिएँ । त्यसै अङ्कमा ‘जीवन शर्मा’ को नामबाट झापाली क्रान्तिकारीहरूको बारेमा लेखिएको एउटा लेख पनि थियो । हामी झापा आन्दोलनबाट प्रभावित थियौँ । झापाली क्रान्तिकारीहरू र झापा आन्दोलनको बारेमा विश्लेषणात्मक र स्तरीय लेख थियो त्यो । मलाई चित्त बुझेपछि त्यसका लेखक जीवन शर्मासँग पनि म प्रभावित भएँ । ‘जीवन शर्मा’ को हो भन्ने चिन्न जान्न मन लाग्यो । मलाई जीवन शर्मा मुक्ति मोर्चा समूहकै कोही होलान् भन्ने लागेको थियो ।

अब्बल प्रस्तोता मदन

‘कोअर्डिनेसन केन्द्र’ को तेस्रो सम्मेलन २०३५ साउन ४ देखि ९ गतेसम्म धनुषामा सम्पन्न भएको थियो । चमार जातिका भूमिहीन किसानहरूको बस्तीमा सम्पन्न भएको त्यस सम्मेलनको आयोजक/मूल व्यवस्थापक म थिएँ । सम्मेलनमा २०३३ साल चैत ११ गते नख्खु ‘जेल ब्रेक’ गरेर निस्केका सीपी मैनाली, प्रदीप नेपाल, वीरबहादुर लामा, गोपाल शाक्यसहित ‘मुक्ति मोर्चा’बाट विद्रोह गरेर ‘कोअर्डिनेसन केन्द्र’मा समावेश हुनेहरूलाई पनि सहभागी गराउनुपर्र्ने थियो । उहाँहरूलाई कार्यक्रम स्थलसम्म ल्याउने जिम्मेवारी पनि मेरै थियो । मोरङको इटहराबाट एक जनालाई ल्याउनुपर्ने थियो । त्यहाँ पुग्दा थाहा पाएँ– मुक्ति मोर्चाका उनै लेखक जीवन शर्मा हुनुहुँदो रहेछ । अर्थात्, मदन भण्डारी । जननेता भण्डारीसँगको मेरो पहिलो भेट त्यही थियो । त्यसपछि साढे १४ वर्ष (२०३५ असारदेखि २०५० जेठ १ सम्म) मदनसँग मेरो सामीप्य रहिरह्यो ।

‘कोअर्डिनेसन केन्द्र’को त्यो सम्मेलनमा गरिएको मदनको प्रस्तुतिले सबै सहभागी प्रभावित थिए । त्यसै सम्मेलनबाट उहाँ केन्द्रमा निर्वाचित हुनुभयोे । भूमिहीन किसानहरूको बस्तीमा कार्यक्रम थियो । त्यस क्षेत्रमा पञ्चायती प्रहरीको कडा निगरानी थियो । हामीसँग दुई थान भरुवा बन्दुक र केही घरेलु हतियार मात्र थिए । बन्दुक चलाउन जान्नेमा मदन र रत्नकुमार बान्तवा देखिनुभयोे । प्रहरी आइहालेमा घेरा तोड्ने योजना बन्यो । हामीले मदन भण्डारीलाई बन्दुक लिएर पोजिसन लिन सक्ने र प्रतिरक्षा गर्न सक्ने क्षमता भएको नेता भनेर त्यसैबेला देख्यौँ– चिन्यौँ । साथसाथै उहाँ सहभागीहरूका दृष्टिमा वैचारिक तीक्ष्णता र क्रान्तिप्रतिको समर्पणभाव भएको नेताको रूपमा चिनिनुभयो । पछि उहाँ ‘कोअर्डिनेसन केन्द्र’ मातहत रहेको ‘पूर्व–दक्षिण क्षेत्रीय कमिटी’को सचिव हुनुभयो । कोसी पश्चिमको क्षेत्रीय प्रमुखको जिम्मेवारी पहिले माधव नेपाल र त्यसपछि मलाई दिइयो । (त्यसबेला त्यो क्षेत्रलाई मध्य दक्षिण क्षेत्रीय कमिटी भनिन्थ्यो) यसै जिम्मेवारीमा रहँदा मदनसँग सामीप्य भएको थियो, जुन अन्तिम समयसम्म कायम रह्यो ।जडता तोड्न सक्ने नेता
२०३५ पुस ११ देखि १४ गतेसम्म कोकेको राष्ट्रिय सम्मेलनबाट नेकपा (माले) को गठन हुँदा सीपी मैनाली महासचिव बन्नुभयो । चर्चा र प्रतिष्ठाको शिखरमा रहनुभएको सी.पी.मैनाली विस्तारै विस्तारै पार्टी नेतृत्वमा एक्लिँदै जानुभयो । पार्टीभित्र देखापरेका अन्तरविरोधहरू समाधान गर्न र व्यवस्थापन गर्न असमर्थ बन्दै जानुभो । फलस्वरूप, पार्टी कमिटीमा एक्लिदै पनि जानु भो । नेकपा (माले) भित्र नेतृत्वमा सङ्कट पर्दै गयो । यसैक्रममा २०३९ साल असोजमा महोत्तरीमा आयोजना गरिएको नेकपा (माले) को नवौँ बैठकबाट मैनाली महासचिवबाट हट्ने स्थिति बन्यो । तर उहाँपछि नेतृत्व कसले गर्ने भन्ने अवस्था सिर्जना भयो । त्यसै बैठकबाट मदन पोलिटब्यूरो सदस्यमा चुनिनुभयो र सी.पी. महासचिवबाट हटेपछि झलनाथ खनाल महासचिव हुनुभयो ।

मदन अध्ययनशील हुनुहुन्थ्यो । अध्ययन गर्न र बहस छलफल गर्नमा उहाँको विशेष रुचि र क्षमता थियो । २०४६ को भदौमा नेकपा (माले) को चौंथो महाधिवेशन सिराहामा सम्पन्न भयो । त्यहीँ महाधिवेशनबाट मदन महासचिवमा निर्वाचित हुनुभयो । मदन समस्यालाई केन्द्रमा राखेर अध्ययन गर्ने र समाधान खोज्ने गर्नुहुन्थ्यो । मदनले कम्युनिस्टभित्रको परम्परावादी जडतालाई तोड्नुभयो । कम्युनिस्टहरूका पनि विभिन्न समूह थिए । ती समूहहरू एकअर्कालाई विरोध गर्न र खुइल्याउनमै उद्यत थिए । यस्तो अवस्थामा पनि मदनले चौंथो महाधिवेशनमा संयुक्त वाम मोर्चा बनाउने प्रस्ताव गर्नुभयो र सो प्रस्ताव पारित गरियो । २०४६ सालको आन्दोलनताका सहाना प्रधानलाई अध्यक्ष बनाएर संयुक्त वाम मोर्चा गठन भयो र काँग्रेससँग वार्ता गरेर कार्यगत एकताको पहल भयो । जसले गर्दा २०४६ सालको परिवर्तन सम्भव भयो । संयुक्त वाम मोर्चा बनाउने र प्रजातन्त्र प्राप्तिका लागि नेपाली काँग्रेससित समेत कार्यगत एकता गर्ने ऐतिहासिक निर्णय नेकपा (माले) को चौंथो महाधिवेशनले मदनकै अगुवाइमा गरेको थियो ।


मदनमा मान्छेलाई चिन्ने र बुझ्ने विशेष क्षमता थियो । मदनकै प्रस्तावमा म त्यतिबेला केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा आएको थिएँ । २०४८ सालको निर्वाचनमा काँग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नुभएपछि मदनको उचाइ पार्टीभित्र र बाहिर झन् बढेको थियो । पछि २०४९ माघमा सम्पन्न पाँचौं महाधिवेशनताका मदनको लोकप्रियताले शिखर चुम्दै थियो । मदन दूरदृष्टिसम्पन्न नेता हुनुहुन्थ्यो । २०४८ को प्रतिनिधि सभाको निर्वाचनपछि च्याम्बर हाउसमा पार्र्टी संसदीय दलको बैठक बस्यो जहाँ मदनले कतिपय साथीहरूको विरोध हुँदाहुँदै पनि मनमोहन अधिकारीलाई संसदीय दलको नेताका रूपमा प्रस्ताव गर्नुभयो र सर्वसम्मतिले पारितसमेत गराउनु भयो । कम्युनिस्ट आन्दोलनमा इतिहास र ऊर्जाको एकता आवश्यकता छ भनेर उहाँले साथीहरूलाई सम्झाउन भएको थियो । गलत चिजसँग जुध्ने तर बुद्धिमत्तापूर्ण तरिकाले समस्या समाधान गर्न सामन्जस्य कायम गर्ने अदभूत क्षमता थियो उहाँमा ।

त्यतिबेला मदन नक्सालमा बस्नुहुन्थ्यो । २०५० जेठ ३ मा जुन अकल्पनीय दुर्घटना भयो, त्यसको दुई दिनअघि उहाँले मलाई बोलाउनुभयो । मदनले मलाई आफू पोखरा र अन्य विभिन्न ठाउँ जाने कार्यक्रमको तालिका दिनुभयो । तर मलाई दिएको कार्यतालिकाभन्दा एकदिन अघि नै उहाँ पोखराबाट हिँड्नुभयो । २०५० साल जेठ ३ मा जब दासढुङ्गामा घटना भयोे, किन र कसको सुझावमा उहाँ एकदिन अघि पोखराबाट हिँड्नुभयो भन्ने प्रश्न मेरा दिमागमा अझै अनुत्तरित छ ।

मदनले पूर्वीय साहित्यको गहिरो अध्ययन गर्नुभएको थियो । मलाई लाग्छ, त्यही अध्ययनले नै उहाँलाई बौद्धिक रूपमा तीक्ष्ण बनाएको हुनुपर्छ । पछिल्लो समय मदनले माक्र्सवादसम्बन्धी उपलब्ध शास्त्रीय रचना र कम्युनिस्ट आन्दोलनका आरोह अवरोहसम्बन्धी अध्ययन गर्नुभयो । पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्नमा उहाँमा अदभूत क्षमता थियो । पार्टीको समस्याले मदनलाई अध्ययनमा थप उत्प्रेरित गरेको थियो । पढ्ने लेख्ने उहाँको रुचिको मुख्य विषय थियो नै, उहाँमा वैचारिक सिर्जनशीलता पनि थियो । सिद्धान्तमा अटल र क्रान्तिकारी आन्दोलनमा सिर्जनशील हुन त्यत्तिकै आवश्यक छ भन्ने कुरामा थप दृढ बनाएको थियो, उहाँलाई ।

२०४६ सालको आन्दोलन लगत्तै पछि एक दिन काठमाडौँको टोखामा पार्टीको केन्द्रीय कमिटी बैठक बस्यो । सबैले पार्टी खुला हुनुहुन्न भने, तर मदनले ‘पार्टी भनेको खोपीमा राखेको देवता होइन’ यसले खुलै रहेर, घामपानी सहेर, आँधी तुफानसित जुधेर आफूलाई योग्य बनाउनुपर्छ, खरो उत्रनुपर्छ भन्ने विचार खुलेर व्यक्त गर्नुभयो । यसरी पार्टीलाई खुला गर्दा ‘पार्टी सिध्याउने भए, प्रतिक्रियावादीहरूले थाहा पाउने भए’ भनेर पार्टीका कतिपय नेताहरूले चिन्ता व्यक्त गरे । तर प्रतिस्पर्धाबाटै पार्टीले श्रेष्ठता हासिल गर्नुुपर्छ भन्ने विचार राख्नुहुन्थ्यो मदन । यसरी नेकपा एमाले राजनीतिक प्रतिस्पर्धाको मैदानमा उत्रिएको थियो ।

जबजको भ्रुण

२०४६ सालमा सम्पन्न पार्टीको चौंथो महाधिवेशनबाट जनताको बहुदलीय जनवाद (जबज) सम्बन्धी अवधारणा औपचारिक रूपमा अगाडि आएको थियो । त्यही महाधिवेशनमा उहाँले ‘बहुदलीय प्रतिस्पर्धासहितको जनवादी व्यवस्था’ को अवधारणा अघि सार्नुभयो । पार्टीका अन्य नेताहरूले उहाँमा सिर्जनशीलता, कार्यक्षमता र पार्टीमा नेतृत्वको प्रस्फुटन भइरहेको कुरा बुझिरहनुभएको थियो । २०४७ मा संविधान जारी भएपछि पार्टीले त्यसको आलोचनात्मक समर्थन ग¥यो । ‘प्रतिक्रियावादी संविधान हो, किन समर्थन गरेको’ भन्दै धेरै कार्यकर्ता र शुभेच्छुकहरू पार्टी कार्यालय घेर्न आएका थिए । आलोचनात्मक समर्थनको तात्पर्यबारे धेरैलाई चासो रहेको देखिए पनि व्यक्ति व्यक्तिलाई जवाफ दिएर साध्य थिएन । त्यसैले मदनकै योजना र निर्देशनमा पर्सिपल्ट नै संविधानबारे पार्टीको धारणा स्पष्ट गर्न टुँडिखेलमा एक आमसभाको आयोजना गरियो । त्यसै आमसभामा पार्टीका प्रवक्ताले धारणा राख्नुहुनेछ भनेर प्रचार भयो । त्यतिबेला प्रवक्ता मात्र लेखिन्थ्यो, प्रवक्ताका रूपमा मदन भण्डारीको नाम लेखिदैनथ्यो । उहाँको विचार सुन्न सबै उत्साहित थिए । मदनले करिब दुई घण्टा भाषण गर्नुभयो । उहाँमा जनतालाई आफ्नो विचारको पक्षमा आकर्षित गर्ने अद्भूत क्षमता थियो, जसले गर्दा टुँडिखेलमा उपस्थित भएका नेता, कार्यकर्ता, शुभेच्छुक र आम जनता संविधानको आलोचनात्मक समर्थन किन गरियो भन्ने कुरा बुझिरहेका थिए र मदनले राख्नुभएको विचारबाट सन्तुष्ट बनेका थिए । उहाँले एउटै जनसभाबाट प्रत्यक्ष रूपमा हजारौँ हजारलाई ‘कन्भिन्स’ गर्नुभएको थियो ।

जननेता मदन भण्डारी जबजका प्रमुख व्याख्याता हुनुभयो । तर यसका प्रमुख तीन वटा स्रोत वा आधार रहेका छन् भन्ने कुरालाई हामीले बिर्सनुहुँदैन । पहिलो, जबज नेपालका कम्युनिस्ट आन्दोलनका अग्रजहरूले लिएका सकारात्मक विचारहरूको उन्नत निष्कर्ष हो ।


२००६ साल वैशाख १० गते कम्युनिस्ट पार्टीको पहिलो पर्चा निस्क्यिो । त्यसमा निरङ्कुशताको विरुद्ध र प्रजातन्त्रको पक्षमा वकालत गरिएको थियो । पहिलो पर्चा अग्रजहरूको विचारको प्रारम्भ थियो । त्यही विचारबाट निर्देशित हुँदै निरङ्कुश जहानियाँ राणा शासनविरोधी सङ्घर्ष, २००८ सालको स्थानीय नगरपालिकाको निर्वाचनमा सहभागिता र पार्टीमाथि प्रतिबन्ध लागेपछिको आन्दोलन आदि त्यही विचारबाट निर्देशित थिए । धेरै आन्दोलन र सङ्घर्षको परिणामस्वरूप २०१३ सालमा आएर मात्र प्रतिबन्ध खुला भयो । नेकपाले २०१५ सालको संसदीय निर्वाचनमा भाग लियो । २०४३ सालमा जनपक्षीय उम्मेदवार उठाएर पञ्चायविरुद्ध पञ्चायती चुनावमा भाग लिएर पञ्चायत ढाल्ने योजना बनाएर अघि बढ्यो । २०४६ सालको चांैथो महाधिवेशनमा बहुदलीय प्रतिस्पर्धासहितको जनवादी व्यवस्थाको कार्यक्रम नै पारित भयो । यसरी कम्युनिस्ट पार्टीका अग्रजहरूका सकारात्मक विचारहरूका उन्नत निष्कर्षका रूपमा जबजको विकास भएको हो । दोस्रो, जबज अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नकारात्मक अनुभवहरूको निचोड पनि हो । अन्तर्राष्ट्रिय स्तरमा कम्युनिस्ट पार्टी जनताको विश्वासले जित्ने तर टिक्न नसक्ने विचित्रको अवस्था थियो । जनताबाट अनुमोदित नहुने कुनै पनि विचार, प्रणाली र सत्ता टिक्दैन भन्ने अनुभव अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले नै नेपालका कम्युनिस्टहरूलाई सिकाएको थियो । यो सिकाइ जबजका रूपमा प्रकट भएको हो ।

तेस्रो, दर्शन र सिद्धान्तको आधारमा निचोडमा पुग्नु हो । द्वन्द्व सर्वत्र छ । प्रकृतिमा छ, मानव समाजमा छ, राजनीतिमा छ, राजनीतिक प्रणालीमा छ– जहाँसुकै छ । विधिसम्मत ढङ्गले द्वन्द्वलाई प्रकट हुन दिनुपर्छ नत्र त्यसले समाजलाई ध्वंस गर्छ । जबजले सकारात्मक परिवर्तनका लागि द्वन्द्वलाई विधिसम्मत प्रकट हुन दिनुपर्छ भन्ने मान्यता राख्तछ र यसको दार्शनिक आधार द्वन्द्ववाद नै हो । जबजका प्रमुख व्याख्याताका रूपमा आज मदन भण्डारी हामीसँग भौतिक रूपमा नरहनुभए पनि यसको विकासको मार्ग उहाँकै निर्देशनमा झन् बढी खुल्दै गइरहेको अनुभव भएको छ ।

एकताको नाममा असङ्गति

२०७५ साल जेठ ३ गते नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता गरिरहँदा जनताको जनवाद भनिए पनि त्यसमा अन्तरवस्तु जबजकै छ । तर सङ्गति नमिलेको सूत्रीकरण उचित थिएन । त्यो ‘महान् र ऐतिहासिक’ भनिएको एकता सङ्गति नमिलेको वैचारिक सूत्रीकरणकै कारण अल्मलिन पुगेको थियो ।

हामीले बुझेका छौँ – एकताका सन्दर्भमा माओवादी केन्द्रले अवलम्बन गरेको पहिलेको प्रचण्डपथ र पछिको २१ औँ शताब्दीको जनवाद र एमालेले अवलम्बन गरेको जनताको बहुदलीय जनवाद (जबज) का राम्रा सकारात्मक पक्षलाई ग्रहण गर्दै जाने र उपयुक्त समयमा महाधिवेशन गरी टुङ्गो लगाइने भनिएको थियो । यस अर्थमा, ‘जनता’ भन्नाले वर्गीय पक्षधरताको प्रश्न थियो, ‘बहुदलीयता’ भनेको हामी अधिनायकवादी होइनाँैं भनी प्रमाणित गर्नु थियो र ‘जनवाद’ भन्नाले परम्परागत होइन बरु नयाँ किसिमको लोकतन्त्र होे । यस अर्थमा त्यो सूत्रीकरण भएको थियो । एकतामा तर त्यो ‘डाइलुटिङ टोन’ मा आयो । त्यसले वैचारिक रूपमा थप अस्पष्टता सिर्जना गर्दै लग्यो । मैले त्यस सूत्रीकरणलाई उचित ठानिनँ । सारतः जबजकै कुरा भए पनि त्यो सूत्रीकरण कमजोर थियो । ‘हामी जबजबाटै निर्देशित छौँ ।’ यसमा विचलित हुने– विचलित बनाउने कुरा स्वीकार्य हुन सक्तैन । हाम्रो काम र विचार त्यसबाटै निर्देशित छ । हाम्रो देशको सन्दर्भमा माक्र्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार हो जबज । त्यस रूपमा हामी बुझ्छौँ र अघि बढाउँछौँ ।

विशेष योगदान

समाजको लोकतान्त्रिक रूपान्तरण, कम्युनिस्ट आन्दोलनको लोकतन्त्रीकरण र शासन प्रणालीको लोकतन्त्रीकरणमा मदन भण्डारीको महìवपूर्ण योगदान छ । त्यसले कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिएको छ र हामीलाई स्पष्ट मार्गनिर्देश गरेको छ ।

आज मदन हामीमाझ नरहनु भए पनि हामी उहाँकै सिद्धान्तअनुसार उहाँले व्याख्या र विश्लेषण गर्नुभएको सिद्धान्तअनुसार चलिरहेका छौँ । कम्युनिस्ट आन्दोलनमा सु्रुदेखि वैचारिक सङ्घर्ष थियो तर त्यसलाई उहाँले क्षमता साथ समाधान गर्ने, सही दिशा प्रदान गर्ने योग्यता प्रस्तुत गर्नुभयो । पार्टीभित्रको सङ्घर्षमा उहाँले बेलाबेला अपमान पनि झेल्नुप¥यो तर योग्यतापूर्वक त्यसको सामना गर्नुभयो र डटेरै अनुचित कुराहरूको सामना गर्नुभयो । अत्यन्त सहज, सरल, अनौपचारिक र मित्रवत् व्यवहार गर्नु उहाँको विशेषता थियो । बाहिरबाट झट्ट हेर्दा असहजजस्तो लागे पनि व्यवहारमा उहाँ निकै सहज हुनुहुन्थ्यो । त्यही गुणले उहाँलाई महान् बनाएको हो ।

मदन भन्नुहुन्थ्यो ‘विचारलाई कमजोर बनाएर पार्टी कहिल्यै बलियो हुँदैन ।’ विचारमा दृढता र स्पष्टता तथा व्यवहारमा लचकता भयो भने पार्टीमा देखिएको जस्तोसुकै विवाद पनि समाधान हुन्छ । मदन यस्तो मान्यता राख्नुहुन्थ्यो । आज पनि पार्टीभित्र देखापरेको विग्रहको समस्या समाधानका लागि यही मान्यतालाई पालना गर्नुपर्छ । तर यस मान्यताबाट पछि हटेर आज ‘विचारलाई दरोसँग नसमाउने र व्यवहारमा आवश्यकताअनुसार लचकता पनि प्रदर्शन नगर्ने’ समस्या टड्कारोसित देखिएको छ ।

समाधानको बाटो

अहिले जुन उचाइमा पार्टीमा समस्याहरू देखिएका छन्, हामीले त्यही उचाइमा समाधान गर्ने सामथ्र्य देखाउनुपर्छ । परिस्थितिले त्यही माग गरेको छ । मलाई लाग्छ, समस्याहरू अग्ला अग्ला भए, समाधान गर्ने हाम्रो सामथ्र्य भने पुड्को पुड्को भयो । पार्टीको आन्तरिक विवाद बलियोे भयो, समस्या समाधान गर्ने हाम्रो सामथ्र्य कमजोर भयो । यस्तो हुँदा समाधान कसरी हुन्छ ? अहिले विवादका मुख्य नेताहरूले समस्या समाधानका लागि त्यो सामथ्र्य देखाउन सक्नुपर्छ । आफ्नो पार्टीको अध्यक्ष प्रधानमन्त्री रहँदा पार्टीकै नेताहरू विपक्षी गठबन्धनसँग मिलेर विरोधमा उत्रेपछि समस्याको समाधान कसरी हुन्छ ? सामथ्र्य कहाँबाट आउँछ ? यसको उत्तर त्यही उचाइबाट हेर्दा मात्र पत्ता लाग्नेछ ।

स्पष्ट छ, पार्टीको विवाद समाधान गर्ने मुख्य थलो महाधिवेशन हो । हामीले त्यहाँसम्म पुग्ने क्षमता र प्रतीक्षा गर्ने सामथ्र्य पनि देखाउन सकेनौंँ । त्यसो किन भयो ? प्रधानमन्त्रीको काम गराइमा कमजोरी छन् भने पार्टीभित्रै छलफल गरेर समाधान खोज्न किन सकिएन ? मान्छे पार्टीभित्र छन्, व्यवहार पार्टी बाहिर गइसकेको छ । यसलाई सामान्य रूपमा लिन मिल्दैन । यो त आन्दोलन तथा पार्टीमाथिकै प्रहार हो । यो पार्टी विधान र सर्वस्वीकृत राजनीतिक मान्यता विपरीतको अक्षम्य अपराध हो र पार्टी जीवनका लागि यस्तो अभ्यास स्वस्थकर हुन सक्तैन भन्ने कुरामा हामी प्रष्ट हुनैपर्छ । त्यसरी हेर्ने हो भने हामी समाधानको बाटो पहिल्याउन सक्नेछौँ । विधि विपरीत गएर विधिको पालना हुन सक्तैन । जहाँ गल्ती भयो, त्यहीँबाट सच्याउनुपर्छ । एकताका लागि यही एक अनिवार्य सर्त हो ।

आज मदन भण्डारीको ७० औँ जन्मजयन्ती मनाइरहँदा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरिरहँदा– सम्मान व्यक्त गरिरहँदा उहाँको बहुविध घटनापूर्ण जीवन तथा उहाँले कम्युनिस्ट आन्दोलनमा पु¥याउनुभएका योगदानहरूको सम्झना गरिनुपर्छ । उहाँका असल कुराहरूबाट सधैँ सिकिरहने प्रण गर्नुपर्छ र त्यही आलोकमा पार्टीलाई एकताबद्ध राख्ने प्रण गर्न सक्नुपर्छ ।

(गोरखापत्रका पत्रकार लक्की चौधरीले गर्नुभएको कुराकानीमा आधारित)