अपडेट: २२ असोज, २०७८

आस्थाका धरोहर अग्निशिखा

– ईश्वर पोखरेल

२०६५ असोज ६ गते बिहानै गम्भीर अपशकुनको समाचार बोकेको टेलिफोनको घन्टीले मलाई ब्युँझायो । भानुभक्त ढकालको घरको टेलिफोनबाट अग्निशिखाको निधनको दुःखद समाचार दिन विष्णु रिजालले ‘रिङ’ गर्नुभएको थियो । समाचारले म स्तब्ध बनेँ । ‘के गरौँ, कसो गरौँ भयो । ‘पत्याऊँ कि नपत्याऊँ भइरह्यो । म हतार–हतारमै उहाँलाई राखिएको सहिद गङ्गालाल हृदयकेन्द्रतिर हिँड्ने तयारीमा लागेँ ।

मेरो खुट्टा छिटोछिटो हिँडिरहेका थिए, तर बाटो काटेको मलाई केही पत्तो भइरहेको थिएन । मसँगै अस्पताल हिँडेकी मीरा मेरो हिँडाइसित तालमेल नमिलेर धेरै पछि परिसकेकी थिइन् । बाटोभरि कमरेड अग्निशिखाका स्मरणहरू सिनेमाका रिल घुमेझैँ घुमिनै रहे ।

अग्निशिखा र शार्दूल भट्टराईलाई मैले सँगसँगै चिनेको हुँ । हामी त्यसबेला काठमाडौँ उपत्यकामा भूमिगत किसिमले तत्कालीन नेकपा (माले) लाई विस्तार गर्ने काममा जुटेका थियौँ । हामी खुला आवरणमा भूमिगत राजनीतिलाई विस्तार गर्ने काममा लागेका थियौँ । हाम्रा तमाम गतिविधि यसै उद्देश्यद्वारा निर्देशित भइरहेका थिए । अनेक आवरणका सङ्गठनहरू मात्र होइन, ०३६÷३७ को परिवर्तनपछिको वातावरणमा नयाँ ढङ्गले देखापर्दै गरेका छापाहरूलाई समेत कुशलतापूर्वक प्रयोग गर्ने अभ्यासलाई हामीहरू अगाडि बढाउँदै थियौँ । हाम्रा यी सबै काम पञ्चायती व्यवस्थाको समाप्तिको उद्देश्यसित गाँसिएका थिए । यही क्रममा मेरो भेट अग्निशिखासित भएको थियो ।

पछि जब म त्यसबेला ‘मध्यउत्तर’ भनिने बागमती क्षेत्रको कामका लागि खटिएँ, त्यसबेला पञ्चायती दमनको सिकार बनेको थियो– सिन्धुपाल्चोकको पिस्कर । दमनका क्रममा हत्या, गिरफ्तारी, यातना, विस्थापन भनिनसक्नु किसिमले चलिरहेको थियो । काठमाडौँ लगायत बागमती अञ्चलअन्तर्गतका सबै जिल्ला त्यसमा पनि सिन्धुपाल्चोक दमनको मार खेपिरहेको थियो । त्यसबेला हामीहरू त्यसको विरुद्धमा प्रतिरोधलाई सशक्त किसिमले सङ्गठित गरिरहेका थियौँ । शार्दूल भट्टराईलाई समेत साथमा लिँदै कमरेड अग्निशिखा सबै किसिमका जोखिम उठाउँदै प्रतिरोधका लागि सहयोगी पङ्क्तिमा उभिनुभएको थियो ।

पिस्कर तथा त्यस वरपर भइरहेका दमन तथा अत्याचारका समाचारहरू सङ्कलन गर्ने, विभिन्न पत्रपत्रिकाहरूमा छपाउने, त्यसरी छापिएका समाचारहरू सङ्कलन गर्ने तथा तिनलाई प्रतिक्रियावादीहरूको विरोध र भण्डाफोर गर्ने काममा उपयोग गर्ने आदि काममा अग्निशिखा अग्रिम पङ्क्तिमा उभिनुभएको थियो ।

०४० सालको माघेसङ्क्रान्तिमा मेला भर्न तथा सांस्कृतिक रमाइलो गर्न आएका हजारौं जनतामाथि रातको अँध्यारोमा अन्धाधुन्ध गोली बर्साएर वीरबहादुर थामी र इले थामीको हत्या, पचासौंलाई घाइते तथा गिरफ्तारीबाट सुरु गरिएको प्रतिक्रियावादी दमनचक्रको विरोधमा हामीहरूले सुरुमा एउटा सानो पुस्तिका निकाल्ने योजना बनाएका थियौँ । यही सोच र योजनाका साथ हामीहरू त्यसको तयारीमा जुट्यौं । व्यवस्थाको विरोध गरेर एउटा पर्चासमेत निकाल्न प्रतिक्रियावादीहरूका आँखा छल्नुपर्ने बेलामा त्यस्तो पुस्तिका निकाल्नु कम जोखिमको काम थिएन । ‘मध्यउत्तर’ क्षेत्रको कामकै सिलसिलामा म र माधव पौडेल काठमाडौं आऊ–जाऊ गरिरहन्थ्यौं र त्यही बेला त्यो प्रकाशनको योजना लिएर हामीहरू अग्निशिखा–शार्दूल भट्टराईकोमा पुगेका थियौँ ।

अग्निशिखाले हाम्रो योजना सुनेपछि सुरुमै उत्साहपूर्वक तत्परता देखाउनुभयो । हाम्रो त्यो काममा सघाउने वाचा गर्नुभयो । उहाँको यो तत्परताबाट हामीलाई ठूलो बल मिलेको थियो ।

प्रकाशनको योजना लिएर अग्निशिखाहरूसित छलफल गर्दै जाँदा हाम्रो योजना र उत्साह त झन् थपिँदै पो गयो । विषय–वस्तुहरूको संयोजनको योजना बनाउँदै जाँदा त पुस्तिका होइन, एउटा राम्रै पुस्तक तयार गर्ने योजनामा पो हामीहरू पुग्यौं । अग्निशिखाले हामीलाई योजना सुझाउँदै जानुभयो– हामीहरू त्यसमा मिसिंदै गयौँ । यसरी हामीले त्यसबेला ‘पिस्कर: दमन र प्रतिरोधको कथा’ तयार पा¥यौँ ।

‘पिस्कर: दमन र प्रतिरोधको कथा’ नामको ऐतिहासिक दस्तावेज हामीले सँगै मिलेर निकालेका थियौं । अहिले पनि त्यो दस्तावेजलाई जबजब म हातमा लिन्छु, त्यसका पानापानामा मेरा नजर दौडिन थाल्छन् । र, प्रत्येक पानामा अग्निशिखाको दृढ र गम्भीर भावको तस्बिर मेराअगाडि टक्क उभिन आइपुग्छ । अहिले पनि मलाई गर्वबोध हुन्छ– ‘पिस्कर: दमन र प्रतिरोधको कथा’ निरङ्कुश राजतन्त्रले चलाएको पञ्चायती व्यवस्थाको आततायी चरित्रलाई भण्डाफोर गर्न धेरै हदसम्म सफल छ । कमरेड अग्निशिखाका सहयोगी हातहरू नलागेका भए त्यो सम्भव हुन सक्तैनथ्यो ।

पछि गएर त त्यही दस्तावेज प्रकाशन गरेको अनुभवका आधारमा हामीले पार्टीको केन्द्रीय मुखपत्र ‘वर्ग सङ्घर्ष’लाई समेत काठमाडौँबाटै प्रकाशन गर्ने अठोट लियौँ । त्यसबेला पञ्चायती व्यवस्थाको विरोधमा ‘चुँ’ सम्म गर्न नपाइने राजनीतिक वातावरण थियो, सङ्गठनका प्रचार सामग्रीहरूसमेत छाप्न र बाँड्न अत्यन्त कठिन थियो । तर, अग्निशिखा हामी भूमिगत भएर पार्टी काममा जुटेकाहरूसित मिलेर ‘वर्ग सङ्घर्ष’ प्रकाशन गर्ने कुरामा समेत सँगसँगै रहनुभयो । म अहिले सम्झन्छु– त्यसबेला भूमिगत भएर भूमिगत काम गर्नेभन्दा खुलै, आफ्नो सार्वजनिक चिनारीलाई कायमै राखेर अवैधानिक र भूमिगत काम गर्न वास्तवमा विशेष कठिनाइ थियो । तर, अग्निशिखा सचेततापूर्वक यही काम गरिरहनुभएको थियो । अत्यन्त जिम्मेवारीबोधका साथ उहाँयो काममा लागिरहनुभयो । कडा भूमिगत अवस्थामा क्रियाशील पार्टीको ‘हेडक्वार्टर’बाट त्यसको मुखपत्र ‘वर्ग–सङ्घर्ष’ प्रकाशनको जिम्मा मैले पाएको थिएँ, तर यो काममा म सँगै बसेर अग्निशिखा–शार्दूलहरूले मलाई सघाइरहनुभएको थियो ।

पछिल्ला दिनहरूमा कमरेड अग्निशिखाको लेखनशैलीबाट म विशेष प्रभावित बन्दै गएको थिएँ । खासगरी अन्तर्राष्ट्रिय कम्युनिस्ट र समाजवादी आन्दोलन–देशभक्तिपूर्ण आन्दोलनलाई उहाँले जसरी पाठकसमक्ष प्रस्तुत गर्ने विशिष्ट र सुरुचिपूर्ण शैली अपनाउनुभएको थियो, त्यो अतुलनीय थियो भन्ने मलाई लाग्छ । उहाँका ती लेख पढ्न बसेपछि छोड्नै सकिन्नथ्यो । नसकी उठ्नै मन लाग्दैनथ्यो । ती सबै सामग्रीहरू कोरा भावना बोकेर काँचो सिद्धान्तद्वारा निर्देशित हुँदैनथे । जीवन र यथार्थलाई छुने खालका हुने गर्थे ती रचनाहरू । ती चिजहरू पढिरहँदा पाठक स्वयम् त्यही ठाउँ र त्यही परिवेशमा पुगेको अनुभव गर्न सक्थ्यो । ती सबैमा अग्निशिखा स्वयम् पोखिनुभएको हुन्थ्यो । उहाँको निष्ठा, प्रतिबद्धता, इमानदारी र अत्यन्त निष्कपट मन पोखिएको हुन्थ्यो । ती लेखनमा न्यायपे्रमी र स्वतन्त्रतापे्रमी जनताका शत्रुहरूप्रतिको घृणा–भावको ज्वाला बनेर दन्किरहेको हुन्थ्यो– अग्निशिखाको मन । उहाँले यसबीचमा यिनै विचार र भावनाका साथ आफूलाई पोखिरहनुभयो, अगाडि बढाइनै रहनुभयो । निरन्तरता र दृढतामा उहा“मा एकैरति कहिल्यै कमी देखिएन । उहाँका ‘घनिष्ठ’ सहयोद्धाहरूमध्ये केहीले आफ्नो निष्ठाको धरहरा र विश्वासको पहाडलाई तुच्छ स्वार्थको आहालमा डुबाउन पछि परेनन् । तर, अग्निमा यस्ता कुराले किञ्चित पनि असर पार्न सकेन । उहाँमा त्यस्ता तत्वहरूप्रतिको घृणाभाव चुलिएको चुलियै भएको हामीले देख्यौँ ।

साङ्गठानिक जिम्मेवारी पालन गर्ने सम्बन्धमा अग्निशिखामा एउटा पृथक विशेषता मैले देखेँ । विशेष आग्रह गरेर, मागेर वा रोजेर जिम्मेवारी लिएको मैले कहिल्यै देखिनँ । साङ्गठानिक विषयहरूका छलफलमा पनि उहाँ आमरूपमा अगाडि देखिनुहुन्नथ्यो । तर छलफलपछि निकालिएको निष्कर्ष र निर्णयलाई भने उहाँ सधैँ शिरोधार्य गर्नुहुन्थ्यो । यसरी पाएको जिम्मेवारीको भारी उहाँले कहिल्यै बिसाउन चाहनुभएन । यति हुँदाहुँदै पनि, साङ्गठानिक परिचालनमा त्यति उम्दा मानिनुभएन अग्निशिखा । साङ्गठानिक परिचालनमा आवश्यक पर्ने ‘हस्तक्षेपकारी’, ‘नेतृत्वकारी’ र ‘आक्रामक’ चरित्र उहाँमा देखिएन । यी ‘चरित्र’लाई शायद उहाँले रुचाउनुभएन । यस्तो भूमिकामा हामी कसैले उहाँलाई पाएनौं ।

अग्निशिखासित गाँसिएको एउटा प्रसङ्गलाई म कहिल्यै बिर्सन सक्तिनँ । २०५८ साल जेठ १९ गते दिउँसो काठमाडौं वडा नं. ४, चण्डोलस्थित मेरो डेरामा दिउँसै चोरी भयो । झन्डै छ/सात लाखको धनमाल चोरी भयो । केही घरायसी गरगहना, घडी, क्यामरा, केही नगदसहित झन्डै पैंतालीस सय जति जर्मन मार्क (त्यसबेला युरो प्रचलनमा आइसकेको थिएन) र पन्ध्र सय अमेरिकी डलरको ट्राभलर चेक चोरिएको थियो । चोरीका कारण मैले ठूलै नोक्सानी त सहनै परेको थियो, तर यसैसँग ‘ईश्वर पोखरेलसँग त्यति वैदेशिक रकम कसरी ?’ भन्ने प्रश्नले पनि मलाई नराम्ररी आशङ्काको घेरामा पार्न चाहनेहरू देखिएका थिएँ । मैले धेरै ठाउँमा स्पष्टीकरण दिनुपरेको थियो । तर यस प्रसङ्गमा, अग्निशिखाले मसँग, कतिपटक त मेरै कोठामा आएर दुःख प्रकट गर्नुभएको थियो । आफ्ना कारणले ममाथि त्यस्ता प्रश्नहरू आएको, मैले तिनको सामना गर्नुपरेका कारण उहाँ दुःखी बन्नुभएको थियो । कारण– त्यसको केही दिनअगाडि मात्र म र अग्निशिखा पार्टीको तर्फबाट युगोस्लाभियाका राष्ट्रपतिको चुनावको पर्यवेक्षणका लागि गएका थियौँ । युगोस्लाभियाको सरकारले नै हामी दुवैजनाको आतेजाते हवाईखर्च बेहोरेको थियो । हामीले यताबाट जाने बेलामा ट्राभल एजेन्सीसित उधारोमा टिकट लिएका थियौँ, उताबाट फिर्ने बेलामा हामीलाई टिकटको पैसा डच मार्कमा दिइएको थियो । त्यो पैसा मैसित थियो र त्यसलाई बदल्न हामीहरू दुवैजना पासपोर्टसहित सँगै बैङ्कमा जानुपर्ने थियो । तर, हामीहरू दुवैजना सँगै जाने समय मिलाउन सकिरहेका थिएनौं । कहिले मलाई फुर्सद नहुने, कहिले अग्निजीलाई, कहिले उहाँ पासपोर्ट ल्याउन बिर्सने, कहिले मसित नहुने । यस्तैले अलमल भइरहेको थियो । र, यहीबीचमा चोरी भएको थियो र चोरीसित गाँसिएर मलाई लक्षित गरी प्रश्नहरूसमेत उठाइँदै थिए । मलाई सबैलाई के सफाइ दिनु भन्ने भइरहेको थियो । यस्तै अवस्थामा अग्निशिखाले पटकपटक मलाई भेटेर दुःख प्रकट गर्नुभएको थियो । उहाँले प्रत्येकपटक भनिरहनुभयो, ‘मेरै कारणले यस्तो भयो, कस्तो भवितव्य’ त्यसको धेरै दिनपछि एकपटक उहाँले भन्नुभएको थियो– युगोस्लाभियाका राष्ट्रपति मिलोसेभिचको चुनाव पर्यवेक्षणमा जाँदाका धेरै घटना–प्रसङ्गहरू, धेरै पार्टीका प्रतिनिधिहरूसित भएका भेटघाटका प्रसङ्गमा, युगोस्लाभियामाथि भएको ‘नाटो’ राष्ट्रहरूको हस्तक्षेपका बारेमा लेखौं भनेको त्यो (चोरी) को दुर्घटनाले मेरो त दिमाग नै बिथोलियो । यसो भने पनि, अग्निजीले युगोस्लाभियाका बारेमा केही लेखहरू, खासगरी मिलोसेभिचलाई पदच्यूत गर्न अमेरिका तथा पश्चिमा राष्ट्रहरूको हस्तक्षेपकारी भूमिकाको भण्डाफोर गर्दै लेखहरू लेख्नुभएको थियो ।

ढकमक्क फुलिरहेका फूलहरूजस्तै थिए अग्निशिखाका भावनाहरू । यी भावनालाई सँधै उहाँ बोलेर मात्र होइन, नबोलीकनै पनि, कहिले मुसुक्क हाँस्दै, कहिले साथीहरूका असल विचार र कामप्रति सम्पूर्ण रूपमा समर्थन जनाउँदै, कहिले चिन्तनशील भएर चिया–कफीका चुस्की र चुरोटको धूवाँमा उडाउँदै, कहिले प…र पर क्षितिजमा कुनै सुन्दर वस्तुको खोजी गरेझैँ व्यक्त भइरहनुहुन्थ्यो– अग्निशिखा ! र, यी सबै कुरालाई जब उहाँ आफ्नो लेखनीमार्फत पोख्नुहुन्थ्यो, ती सबैका जीवन बनेर सलबलाउँथे, बग्दथे । पत्तै नपाई सबै यी भावगङ्गामा नुहाइरहेका हुन्थे । मैले यी सबै अवस्थामा अग्निशिखालाई नजिकैबाट हेरेको छु र बुझ्ने कोसिस गरेको छु ।

अप्ठ्यारो अवस्थामा काम गर्दा, समर्पण र प्रतिबद्धतामा मुठ्ठी उठाउँदा, न्यायपे्रमी जनताको समर्थन र बैरीहरूका विरुद्धमा आगो ओकल्दा अग्निशिखा आफ्नो गौरवशाली पङ्क्तिको भरोसालाग्दो सदस्य रहिरहनुभयो ।

मलाई, एउटा कुराले मन पोलिरहेको छ । बेलाबेला अग्निले साह्रै मन दुखाउनुभएको पनि मैले पाएको छु । आफ्नो असल नियत र कामलाई नबुझी कसैले आफूमाथि अविवेकी टिप्पणी गर्दा, आफूसम्बद्ध सङ्गठन र साथीहरूले समेत आफूमाथि विवेक नपु¥याउँदा र न्याय दिन नसक्दा उहाँको मन दुःखेको मैले देखेको छु । त्यो दुःखलाई व्यक्त गर्दा उहाँको मन आँशु बनेर छचल्किएजस्तो लाग्थ्यो मलाई । तर अचम्म ! जब उहाँलाई सबै कुरा नलुकाईकन भनिन्थ्यो, उहाँ अबोध र निष्कपट बच्चाजस्तो खुसी पनि भइहाल्नुहुन्थ्यो । कति कञ्चन र भोलाभाला थियो उहाँको मन ! उहाँको यो मनलाई उहाँ नजिक रहेका धेरै साथीले नजिकै रहेर बुझेका छन् ।

अग्निशिखा एउटा विश्वास हो, प्रतिबद्धता र आदर्श हो, प्रतिबद्धताको सगरमाथा हो, स्वच्छ नदी हो र न्यायप्रेमी जनताको भरोसालाग्दो एउटा साथी पनि हो ।

कमरेड, अग्निशिखाका उदात्त विचार र असल कामहरू हामीबीच सँधै सँधै रहिरहनेछन् !

८ असोज २०६५

अग्निशिखा– आँखा र सपनाहरू

आफू परिचित भइरहँदा र आफूले परिचय लिइरहँदा मैले सबैजसोका आँखासित साक्षात्कार गरेको छु । आँखाहरु– जसले व्यक्तिलाई साँचो अर्थमा चिनाइरहेका हुन्छन्– आँखाहरु जसले पत्र–पत्रमा सुरक्षित तथ्यहरुलाई सशक्त बाणी दिइरहेका हुन्छन् । आँखाहरु जसले मौन भाषामा सशक्त आवाज निकालिरहेका हुन्छन् । वास्तविकता बोलिरहेका हुन्छन्–आँखाहरु । हो, मैले अग्निशिखाका यस्तै आँखासित कुरा गरेको छु– धेरैपटक, अग्निशिखाका आँखाबाट मैले धेरै कुरा पढेको छु अनगिन्ती पटक ।

झट्टा हेर्दा शान्त देखिने अग्निशिखाका आँखाहरुले प…र प..र को सुदू…र क्षितिजमा उज्यालो खोजिरहेको देखिरहेको जस्तो लाग्थ्यो मलाई । उज्यालो देखिने अटल विश्वास छचल्किरहेको जस्तो लाग्थ्यो मलाई । मैले अत्यन्तै आदरभावका साथ अग्निका आँखालाई नियाल्ने गरेको थिएँ । अग्निशिखाको भौतिक शरीर हामीबाट अलग्गिएको समय बितिरहेको छ । तर सुदूर क्षितिजमा उज्यालो खोजिरहेका ती आँखाहरुले तिनै कुराहरु बोलिरहेका छन् अहिले पनि ।

अहिले बाँचेका हामीहरूका आँखामा अग्निशिखा जीवन्त र मृदु मुस्कानकासाथ टल्पलाइरहनुभएको छ । हामी उहाँलाई सँधै आफ्नो आँखामा राख्न चाहिरहेका छौं । आदरणीय साथीका सपनाहरु हामी बाँचेकाहरु आफ्नो आँखामा सुरक्षित गर्न चाहन्छौं । त्यही प्रयासको परिणाम– अहिले हामीहरु ‘अग्निशिखा’ प्रकाशित गरिरहेका छौं । यो ‘अग्निशिखा’ अग्निशिखालाई–अग्निशिखाका सपनाहरुलाई सँधैका लागि सुरक्षित राख्ने र जनतासम्म परिचित गराउने हाम्रो सानो प्रयास हो । हामीहरु अग्निशिखाका उदात्त विचार र आदर्शको उज्यालोमा आफ्नो जीवन र गतिलाई निरन्तरता दिन चाहन्छौं ।

‘अग्निशिखा’मा धेरै साथीहरुले अग्निशिखालाई चिनाउने प्रयत्न गर्नुभएको छ । उहाँहरु सबैले कलमबाट आफ्नो मन पोख्नुभएको छ, अग्निशिखाप्रति श्रद्धाभाव व्यक्त गर्नुभएको छ । ‘अग्निशिखा’ भित्रको समग्रताले अग्निशिखाको व्यक्तित्वलाई बाहिर ल्याउने प्रयत्न गरेको छ ।

अग्निशिखा, त्यसबेला नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सदस्य हुनुहुन्थ्यो अर्थात् त्यसबेला हामी एउटै निकायमा थियौं । संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) ले अनपेक्षित असफलता र पराजयले त उहाँलाई झन् पार्टी काममा सरिक हुन, झन् थप जिम्मेवारी बहन गर्न उत्पे्ररित पो गरेको थियो । कस्तो निष्ठाको धरहरा !

…अग्निशिखा यस्तो हुनुहुन्थ्यो । अर्थात्, यस्तो विशिष्टता बोकेको आदरणीय कमरेड हुनुहुन्थ्यो अग्निशिखा । उहाँले सिंगो पार्टीलाई धेरैथोक दिएर जानुभएको छ । उहाँका तिनै मूल्यवान् विचार, आदर्श र व्यवहारलाई हामी सबैका अगाडि खासगरी पार्टीपंक्तिमा पु¥याउन चाहन्छौं । अग्निशिखा एउटा महत्वपूर्ण शिक्षा, प्रेरणा, आदर्श र आन्दोलनको पर्याय हुनुहुन्थ्यो, त्यसलाई हामीहरु संस्थागत गर्न चाहन्छौं । यही चाहनाले हामीलाई अग्निशिखा’ प्रकाशित गर्न प्रेरित गरेको हो । नेकपा (एमाले) केन्द्रीय प्रचार विभाग यो काम सम्पन्न गर्न सकेकोमा गौरवबोध गर्दछ ।

दिवंगत अग्निशिखाको समग्र व्यक्तित्वलाई उजागर गर्ने उद्देश्यका साथ ‘अग्निशिखा’लाई हामीले बाहिर ल्याउन चाह्यौं । यो अभियानमा धेरै साथीहरुले सघाउनुभएको छ । प्रचार विभागले सचिव सूर्य थापाको संयोजकत्वमा ‘स्मारिका तयारी समिति’ नै बनाएको थियो । खासगरी अग्निशिखाका अनन्य मित्र शार्दूल भट्टराईको यो प्रकाशनको लागि विशेष योगदान छ । शार्दूलसँगै वासुदेव अधिकारीलगायत अन्य सबै, जसले अग्निको व्यक्तित्वका पाटोलाई बाहिर ल्याउन सहयोग पु¥याउनुभएको छ, उहाँहरु सबै धन्य हुनुहुन्छ । उहाँहरु सबैप्रति हामी आभार व्यक्त नगरिरहन सक्तैनौं ।

अग्नि– आदर्शका अथक योद्धा † उहाँहामीबीच सधैंसधैं बाँचिरहनु हुनेछ । अग्निशिखा, जसले आफ्ना आँखामा सँधै न्यायपूर्ण लडाईं तथा त्यसले प्राप्त गरेको शानदार विजय र जनताका शत्रुहरुको पराजयको सपना देख्यो, तिनै सपनाहरु हामी बाँचेकाहरुले आफ्नो आँखामा सुरक्षित राखौं † ‘अग्निशिखा’ले यसमा थोरै भए पनि योगदान गरोस् !

१७ भदौ २०६६