एमसीसी, छिमेक सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा देखायो :
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको बताएका छन्।
काठमाडौं वडा नम्बर ३ स्थित रानीदेवी समूहले आज लाजिम्पाटमा आयोजना गरेको बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन्।
‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो,’ उनले भने, ‘हामीसँग दुईवटा ठूला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न हामीले जरुरी छैन्। तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामर्थ्य हाम्रो हुनुपर्छ।’
जनताका पक्षमा राम्रा जसले गरे पनि एमालेले समर्थन गर्ने पनि उनले बताए। तर, दलको विकल्प अर्को दल हुने पनि उनले स्पष्ट पारे।
‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ। राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ। राम्रा काम जोसुकैले गरुन, त्यसलाई हाम्रा काम बनाउनुपर्छ। सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले भने– ‘अहिले विभिन्न साथीहरु विभिन्न रुपले प्रकट हुनुभएको छ। तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन। एउटा दल खराब भए फेरि अर्को दल आउँछ।’
आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उनको दाबी थियो।