अपडेट: १८ कार्तिक, २०७९

बरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममार्फत उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट आफू विजयी भएपछि गर्ने मुख्य–मुख्य कामको सूचीसहित लिखित प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरेलले ‘राष्ट्रिय स्वाधीनता र सर्वाङ्गिण विकासका लागि सूर्य चिन्हमा मतदान गरौँ’ भन्ने नाराका साथ आफ्ना मतदातासमक्ष महत्वपूर्ण २८ वटा प्रतिबद्धता जनाउनुभएको छ । उहाँले शान्ति, लोकतन्त्र, सङ्घीयता र स्वाभिमान, ‘समृद्ध नेपाल, सुखी नेपाली’ एमालेको मुल अभियान भएको बताउनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेको सरकार हुनुपर्नेमा जोड दिँदै बरिष्ठ उपाध्यक्ष  पोखरेलले नेकपा (एमाले) ले देखेको विकासका सपना र अधुरा काम सम्पन्न गर्न मंसिर ४ पछि संघ र प्रदेशमा समेत एमालेकै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिनुभयो ।

साथै निर्वाचन क्षेत्रभित्र रहेका शैक्षिक संस्थाहरूमा स्तरवृद्धि गर्दै आर्थिक र सामाजिक रुपमा निर्वाचन क्षेत्रलाई अब्बल बनाइने उहाँको भनाई छ ।बरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिबद्धतापत्र बमोजिम आफू अगाडि बढ्ने स्पष्ट गर्दै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन मतदातासमक्ष प्रतिवद्धतापत्र सार्वजनिक गरेको वताउनुभयो ।

उहाँले भन्नुभयो–‘नेकपा (एमाले) र मैले यो क्षेत्रको विकासका कामलाई निरन्तरता दिन र अधुरा कामलाई पूरा गर्न चाहेका छौँ । फेरि पनि यो क्षेत्रबाट देश विकासमा अगाडि बढ्न चाहन्छौँ ।’

निर्वाचन क्षेत्रबारे मसिनोगरी ज्ञान नराख्ने व्यक्तिबाट विकास निर्माण असम्भव रहेको प्रतिनिधि सभा सदस्यका उम्मेदवार पोखरेलको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताउनुभयो । छिमेकीले नाकाबन्दी लगाएको बेलामा र आफ्नो भूमि फिर्ता लिने सन्दर्भमा एमालेबाहेक अरु कुनै पार्टीले दृढ अडान लिन नसकेको जिकिर पोखरेलको छ ।

उहाँले नेपाली नागरिकले आमाको नामबाट पनि नागरिकता पाउनुपर्छ भन्नेमा एमाले रहेको स्पष्ट गर्नुभयो । नेता पोखरेलले अङ्गीकृत नागरिकताको सन्दर्भमा सतर्कता अपनाउनुपर्ने भन्दै ठीक ढङ्गबाट अडान लिन नसके देशको स्वाभिमान, अस्तित्व र स्वतन्त्रतामाथि समेत आँच पुग्नसक्ने वताउनुभयो ।

चीन सरकारको सहयोगमा दोस्रो चरणमा निर्माण हुने चक्रपथ विस्तारलाई कलङ्कीदेखि धोबीखोलासम्म पुर्याउन पहिलादेखि गरिरहेको पहलकदमीलाई तीव्रता दिने पोखरेलले प्रतिबद्धता जनाउनुभयो ।

नेता पोखरेलले स्थानीय निर्वाचनमा जारी एमालेको घोषणापत्र र प्रतिबद्धतापत्रको कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधहरूलाई विशेष सहयोग गर्ने बताउनुभयो । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ प्रदेश (१) मा एमालेबाट प्रदेश सभा सदस्यका लागि नारायण सिलवाल र क्षेत्र नं. ५ प्रदेश (२)   मा दीपक निरौला उम्मेदवार हुनुहुन्छ ।